जातजातिका दसैं

मंगलश्री धुन बज्न, आकाशमा चंगाहरू उड्न र ठाउँ–ठाउँमा लिंगे पिङ खेल्न थालेपछि सबैमा उत्साह छाउँछ । नेपालीहरूको यो महान् चाड मनाउने आफ्नै तौरतरिका छन् । फूलपाती भित्र्याउने, जमरा राख्ने, मार हान्ने, टीका र आशीर्वाद थाप्ने ।

सुजाता मुखिया

कार्तिक ६, २०७७दसैं यस्तो पर्व हो, जसले सारा नेपालीको घर–घरमा उल्लास ल्याइदिन्छ । पश्चिम वैतडीदेखि पूर्व ताप्लेजुङसम्म, सोलुको हिमाली गाउँघरदेखि सर्लाहीका बस्तीसम्म यसले खुसी भित्र्याउँछ । त्यति मात्र पनि होइन, विश्वभर रहेका नेपालीलाई यसले एउटै सूत्रमा बाँध्छ । युरोप, अमेरिकादेखि थाइल्यान्ड, म्यानमारसम्म जहाँ–जहाँ नेपालीको बसोबास छ, त्यहाँ–त्यहाँ दसैंको रौनक सुरु हुन्छ ।

त्यसैले त मंगलश्री धुन बज्न, आकाशमा चंगाहरू उड्न र ठाउँ–ठाउँमा लिंगे पिङ खेल्न थालेपछि सबैमा उत्साह छाउँछ । नेपालीहरूको यो महान् चाड मनाउने आफ्नै तौरतरिका छन् । फूलपाती भित्र्याउने, जमरा राख्ने, मार हान्ने, टीका र आशीर्वाद थाप्ने ।

हिन्दू समुदायले यो पर्वलाई ‘सत्यको जीत’ को उल्लास मान्ने गर्छन् । आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दसैंको दिन बिहान आफ्ना मान्यजनको हातबाट रातो टीका र दक्षिणा ग्रहण गरी दसैं मनाइन्छ । दसैंका प्रखुम चार दिन छन्, महासप्तमी, महाष्टमी, महानवमी र विजया दशमी ।

नवरात्रिको सातौं दिन फूलपाती हो । यस दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, उखु, केरा आदि नौ प्रकारका पल्लव घरमा भित्र्याउने परम्परा छ । नवरात्रिको आठौं दिनलाई महाष्टमी भनिन्छ । यस दिन विशेष पूजाआजा गरी राँगो, हाँस, बोका आदि बलि दिने गरिन्छ । शाकाहारीहरूले नरिवल, कुभिन्डो, केरा, घिरौंला आदिको बलि दिन्छन् । यो रातलाई कालरात्रि मानेर रातभर गुप्तपूजा गरिन्छ ।

नवरात्रिको नवौं दिन महानवमीमा कलपुर्जा, हातहतियार, सवारी साधनको पूजा गरिन्छ । यस दिन अन्य पूजाका साथै नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । नवरात्रिका दसैं दिनलाई विजया दशमी भनिन्छ । यही नै दसैंको खास दिन हो ।

घटस्थापनामा विधिपूर्वक जमरा राखेसँगै दसैं सुरु हुन्छ । त्यसपछिका हरेक दिनलाई भिन्न देवीको प्रतीक मानी पूजाआजा गर्ने चलन छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गरिन्छ । विजया दशमीका दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र जमरा लगाउने चलन छ ।

तर, भूगोल, समुदाय, जातजातिअनुसार दसैं मनाउने चलनमा एकरूपता भने पाइँदैन । खासगरी जनजातिहरूमा दसैं मनाउने विधि–विधान निकै फरक छ । आफ्नो परम्परा, संस्कार, रीतिरिवाजअनुसार जातजातिले आफ्नै शैलीमा दसैं मनाउने गरेका छन् । कतिपयले दसैं मनाउँदैनन्, यद्यपि अन्य विधि–विधानबाट खुसी साट्छन् ।

हिमाली एवं उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा, तामाङले मनाउने दसैं, मध्यपहाडी क्षेत्रमा बस्ने राई–लिम्बू, गुरुङले मनाउने दसैं र तराई क्षेत्रमा बस्ने थारुहरूले मनाउने दसैंमा विविधता पाइन्छ । अझ पूर्वेली थारु र पश्चिमा थारुमै पनि विविधता पाइन्छ ।

पश्चिम तराईमा बसोबास गर्ने थारु जातिले दसैंलाई अलग तरिकाले मनाउँदै आएका छन् । पत्रकार एवं साहित्यकार कृष्णराज सर्वहारी भन्छन्, ‘हाम्रो विधि–विधान निकै पृथक् छ । चाहे टीकाको रंग होस् वा टीका थाप्ने चलन, अरूको भन्दा अलग छ ।’

थारु जातिले सेतो टीका लगाउँछन् । रातोलाई उनीहरू हिंसाको प्रतीक मान्छन् । सर्वहारी भन्छन्, ‘हामी आफ्नो जातिलाई शान्तिका प्रवर्द्धक र बुद्धका सन्तान मान्छौं । त्यसैले सेतो टीका लगाइन्छ ।’ त्यसैगरी थारु जातिले सुरुमा आफ्नो गुरु जसलाई गुरुवा भनिन्छ, उनीहरूको हातको टीका थापेपछि मात्र अन्यत्र टीका लगाउँछन् । गुरुवाकहाँ टीका थाप्न जान एक बोत्तल रक्सी, टीका, जमरा र दक्षिणा लिएर जानुपर्छ ।

त्यसपछि गाउँको अगुवा ‘वर्घर’ कोमा गएर टीका थाप्नुपर्छ । ‘वर्घर’ स्वयंसेवक भएकाले दक्षिणा भने दिनुपर्दैन तर बाँकी सबै दिनुपर्छ । त्यसपछि आ–आफ्नो घरमा टीका लगाइन्छ । टीका सेतो लगाइन्छ, । टीका लगाउन जानुपर्ने भएकाले दसैंको साइत महत्वपूर्ण मानिँदैन ।

घटस्थापनामा आफ्नो घरलाई सेतो माटोले लिपपोत गरी नुहाएर जमरा राख्ने चलन छ । त्यस्तै उनीहरूले घटस्थापनामा जमरा राखे पनि त्यो मकैको मात्र हुनुपर्ने विधान छ । जमरा राख्ने कोठालाई देहुरार भनिन्छ, जुन शुद्ध र अलग हुनुपर्छ । अष्टमीका दिन ढिकरी अनिवार्य रूपमा बनाइन्छ । पूजाआजामा देवतालाई ढिकरी चढाउने गरिन्छ । नवमीका दिन बलि दिइन्छ जसलाई ‘मुर्गी पूजना’ भनिन्छ ।

उनका अनुसार थारु जातिको दसैं घटस्थापनादेखि नै सुरु हुन्छ । दसैं सुरु हुनुअघि नै गाउँ–टोल मिलेर सरसफाइ गर्ने, धारा, बाटो बनाउने आदि काम गर्छन् । देउता हिँड्ने बाटो सफा भए देउता घर–घरमा भित्रने मान्यता छ । दसैंमा ढिकरी, सुकेको माछा पाक्नैपर्छ । पोई (साग), घुँगी, सुंगुरको मासु अनिवार्य हुनुपर्छ । त्यसका अतिरिक्त आफ्नो इच्छानुसार पकाइन्छ । त्यसपछि सखीया, लठ्ठी, वर्का नाच नाचिन्छ ।

हिमाली भेग एवं उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा र तामाङ जातिले भने दसैं मनाउँदैनन्, तर त्यस अवधिमा आफ्नै विधिअनुसार खुसी साट्ने काम गर्छन् । जमरा राख्दैनन्, टीका लगाउँदैनन् । यद्यपि उनीहरू आफ्नै शैलीमा रमाउँछन्, नाच्छन्, गाउँछन्, मीठोमसिनो खान्छन् । दसैंमा काटमार नहोस् भनी कामना गर्छन् ।

पासाङ वाङ शेर्पा भन्छन्, ‘बुद्ध धर्म मान्ने भएकाले हामी दसैंलाई उति महत्व दिँदैनौं । तर सप्तमी, अष्टमी र नवमी तीन दिन घरमै अथवा सम्भव भए गुम्बामा गएर लामा पढाउँछौं । सप्तमीका दिन गाउँका सबै गुम्बामा भेला हुन्छौं । अष्टमीका दिन एक किसिमको नाच नाच्छौं । तर बाजा–गाजा, गीत बजाएर होइन लामाले पढ्ने र त्यही तालमा नाच्ने गरिन्छ । पासाङ वाङ शेर्पा भन्छन्, ‘यो खुसीले नाचेको भन्दा पनि दुःख प्रकट गरिएको हो । आजको दिन काटमार नहोस् र जति पनि काटमार भयो र तिमीलाई दुःखी बनायौं भनेर दुःखी भएको हो ।’

नेवार समुदायले दसैंलाई ‘मोहनी नखः’ भन्छन् । उनीहरू आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म यो पर्व मनाउँछन् । नेवार समुदायले दसैंमा रातो टीका र जमरा मात्र लगाउँदैनन्, मोहनी सिन्हा अर्थात् एक किसिमको कालो टीका पनि लगाउँछन् । सरिता लयालु भन्छिन्, ‘यो टीकामा मोहनी लगाउने तान्त्रिक शक्ति रहेको छ भनी विश्वास गरिन्छ ।’

नेवार समुदाले घटस्थापनाका दिन घर–घरमा चोखो बालुवा ल्याएर जमरा

राख्छन् । यसलाई उनीहरूले ‘नःलस्वाँ पियू’ भन्छन् । जमरामा मकै, गहुँ, जौ, तिल राखिन्छ । नेवार समुदायमा नजिकका नौ वटा तीर्थ जाने र देवी–देवताको दर्शन गर्ने प्रचलन पनि छ, जसलाई नवरथ जाने भन्छन् । उनीहरू प्रतिपदादेखि नवमीसम्म दाफा भजन गाउँछन् । मालाश्री धुन बजाउँछन् । त्यसैगरी दुर्गा भवानीका विभिन्न नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्रीको पूजाआजा गर्छन् । आश्विन शुक्ल पञ्चमीका दिन पचिमह्र भनेर पचली भैरवको जात्रा गरिन्छ । पचली भैरवको जात्रा गर्ने खलकहरूले भने दसैंमा जमरा राख्दैनन् ।

आश्विन शुक्ल अष्टमीका दिन उनीहरूले विशेष भोज खान्छन्, जसलाई कुछि भ्वय् भनिन्छ । त्यस दिन बिहानै समयबजी राखेर गणेश र घरको मूलढोकामा पूजा गर्छन् । साँझ घर–परिवार एकसाथ बसेर कुछि भ्वय् खान्छन् । एक कुरुवा चिउरा राखेर खाने भएकाले यसलाई कुछि भ्वय् भनिएको हो ।

आश्विन शुक्ल अष्टमीदेखि एकादशीसम्म अशोक विनायक मरु गणेशको खट जात्रा गरिन्छ । सोही राति ३२ थरी अन्न होम गरी गणेशलाई राँगाको बलि दिइन्छ । नवमीका दिन जाँड, रक्सी, समयबजी राखेर अण्डाको बलि दिन्छन् । दशमीका दिन आफूभन्दा ठूलाबडाको हातबाट टीका र आशीर्वाद थापेर भोज खान्छन् ।

किराँत समुदायभित्र पर्ने राई, याख्खा, सुनुवार र लिम्बूले पछिल्लो समय दसैं पर्व मनाउन छाड्दैछन् । उनीहरूले आफ्नो संस्कृतिमा दसैं नभएको तर्क गर्छन् । इन्डिजिनियस भ्वाइस डटकममा डीबी आङ्बुङ लेख्छन्, ‘नेपालमा पहिचानका लागि संघर्षरत आदिवासी जनजातिहरूले दसैंमा आफ्नो पहिचान पाएनन् । दसैंका अनेक कथा र गाथाभित्र यहाँका आदिवासी जनजातिहरूले गर्व र गौरव गर्नुपर्ने कुनै मिथक वा मूल्य–मान्यताका मूलहरू छैनन् । अझ विगतका शासकले प्रत्यक्ष र अहिलेका शासकले परोक्ष रूपमा हिन्दू संस्कृतिको द्योतक दसैंलाई मान्न बाध्य पारेका तथ्यहरूलाई हेर्दा दसैं मान्ने प्रेरणा पनि जाग्दैन । उनीहरूको मुन्धुम, धार्मिक ग्रन्थ र संस्कृतिको कुनै पाटोमा दसैं प्रसंग आउँदैन ।’

यद्यपि कतिपयले सेतो टीका लगाएर भए पनि आफ्नै विधिले दसैं मनाउँछन् । किराँत मुन्धुममा पनि सेतो रंगलाई पवित्र मानिन्छ । मिश्रित समुदायमा रहेका किराँतहरूले भने धुमधामका साथ दसैं मनाउने गरेको पाइन्छ । दसैं मान्ने वा नमान्ने दुवैथरीले यो पर्वमा खुसी भने साटासाट गर्छन् । आफन्तकहाँ आएर भेटघाट गरी मीठोमसिनो खान्छन् । पाँचथरका रविन राई भन्छन्, ‘किराँतहरूको आ–आफ्नै शैली छ । कसैले दसैं मनाउँदैनन्, कसैले सेतो टीका मात्र लगाउँछन्, कसैले भने रातो टीका लगाएर दसैं धुमधाम मनाउँछन् ।’ यद्यपि किराँत समुदायमा ‘दसैं’ भन्ने कुनै पर्व नै नरहेको संचारकर्मी देवकुमार सुनुवार बताउँछन् ।

सुदूरपश्चिमका धामी जातिले दसैंलाई विशेष चाडका रूपमा मनाउँदैनन् । चन्द्रकला धामी भन्छिन्, ‘हामी दसैं एकदिन मात्र मनाउँछौं ।’ उनका अनुसार घरमा दसैंको जमरा राखिँदैन । ब्राह्मणले जमरा राख्छन् । उनीहरूले नै जमरा लिएर घर–घरमा आएर टीका लगाइदिन्छन् । यसपछि आफ्नो गच्छेअनुसार ब्राह्मणलाई दक्षिणा दिने गरिन्छ । चन्द्रकला धामी भन्छिन्, ‘ब्राह्मणको हातबाट टीका थापेपछि घरमुलीको हातबाट परिवारका अरु सदस्यलाई टीका लगाइन्छ ।’ आफन्तकहाँ भेटघाट, खानपिनसँगै एकदिनको दसैं सम्पन्न हुने उनले बताइन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>