Successfully Copied

कोरोना हटस्पटकी योद्धा

सधै विवाद र चर्चामा रहिरहने अप्ठेरो जिल्ला मानिने पर्साको प्रहरी संगठनको नेतृत्व सम्हाल्नु आफैमा एउटा ठूलो चुनौती मानिन्छ । त्यसमाथि नेपालकै प्रमुख नाका र २ नम्बर प्रदेशकै एक मात्र महानगर भएको जिल्लाको सुरक्षाको जिम्मेवारी सम्हाल्नु पक्कै पनि चानचुने काम होइन ।

सधै विवाद र चर्चामा रहिरहने अप्ठेरो जिल्ला मानिने पर्साको प्रहरी संगठनको नेतृत्व सम्हाल्नु आफैमा एउटा ठूलो चुनौती मानिन्छ । त्यसमाथि नेपालकै प्रमुख नाका र २ नम्बर प्रदेशकै एक मात्र महानगर भएको जिल्लाको सुरक्षाको जिम्मेवारी सम्हाल्नु पक्कै पनि चानचुने काम होइन ।

तर पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले त्यो चुनौतीलाई सहजै स्वीकार गरिन् । कुनै समय रमेश खरेल, राजेन्द्रमान श्रेष्ठ यो जिल्लाको एसपी हँुदा बनाएको उच्छ छवि र कमाएको वाहवाहीको लिगेसीलाई ७ महिनाअघि यहाँ सरुवा भएर आउँदा उनले पनि निरन्तरता दिनु थियो ।

वीरगन्जदेखि ठोरीसम्म करिब ८० किलोमिटर लामो जिल्लामा सुरक्षा व्यवस्था सधैं चुस्त–दुरुस्त राख्नु उनका लागि सहज पनि थिएन । अपराध र परम्परागत तस्करी दुवैलाई नियन्त्रण गर्दै जिल्लाबासीलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउने चुनौतीको सामना गर्दागर्दै उनले जिम्मेवारी सम्हालेको सुरुवातमै सीमापारि रक्सौलबाट वीरगन्जसम्म पोके तस्करी गरेर जीविका चलाइरहेका महिला पोके तस्करहरूको आक्रोशको शिकार बन्नुपर्‍यो । ७महिनाअघि एसपी पन्तले परम्परागत पोके तस्करीमा लगाम लगाउन खोज्दा आफूहरूको रोजीरोटी खोसिएको गुनासो गर्न महिला पोके तस्करहरूको ठूलो समूह उनको कार्यालयमै आयो । आफ्नै कार्यकक्षमा बसाएर महिला पोके तस्करहरूको पीडा सुनेकी पन्तको महिला मन त्यतिबेला पग्लिएन । बरु तस्करीमा संलग्न महिलाहरूलाई जीविकोपार्जनको विकल्प खोज्न उनले सुझाइन् ।

उनले जिल्लाको वस्तुस्थिति बुझ्दै सुरक्षाको जिम्मेवारी सम्हालेपछि विश्वव्यापी रूपमा फैलिएको कोरोनाको महामारीले उनकै कर्म जिल्लालाई नराम्रोसँग गाँज्न पुग्यो । समयसँगै पर्सा रेड जोन बन्दा २ हजार बढी संक्रमित र जिल्लाका ४२ संक्रमितले ज्यान गुमाइसकेको अवस्था थियो । पहिलो चरणमा वीरगन्जको छपकैयामा धमाधम कोरोना संक्रमित फेला पर्दै गएर दोस्रो चरणमा संक्रमितहरूले एकपछि अर्को गर्दै ज्यान गुमाउन थाले । कोभिड अस्पतालको अभाव र भएका अस्पतालमा पनि उपचारको अभावले अत्याउने अवस्थाआयो । लकडाउन र निषेधाज्ञाको व्यवस्थापन मात्र नभई कोरोना संक्रमित मृतकहरूको शवको दाहसंस्कार गर्न जाँदा स्थानीय बासिन्दाको विरोधलाई मत्थर गर्न हवाई फायर नै गर्नुपर्ने चुनौतीलाई पनि उनले सहजै पार लगाइन् ।

कसैले कहिल्यै सामना नगरेको रोगले एक्कासि विश्वलाई हल्लाइरहँदा कुनै समय उनी जिल्लाको ‘वन उम्यान आर्मी’ समेत बन्न पुगिन् । जुन कालखण्ड उनका लागि अकल्पनीय हुनुपर्छ । वीरगन्जका मेयर विजयकुमार सरावगी सपरिवार कोरोना संक्रमित भई राजधानी उपचार गर्न जानु, यस क्षेत्रका संघीय सांसद प्रदीप यादव पनि कोरोना संक्रमित भई होम आइसोलेसनमा बस्नु, कोभिड विरुद्ध सुरुदेखि उनको सहयोद्धा रहेका नारायणी अस्पतालका तत्कालीन मेसु डा. मदनकुमार उपाध्यायको सरुवा हुनु, प्रमुख जिल्ला अधिकारी विष्णु कार्की र सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतदेखि सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवर पनि सरुवा भएर जिल्लाबाट हिँड्दा उनी करिब एक्लै हुन पुगिन् । त्यतिबेला कोभिड विरुद्धको लडाइँ लड्ने टिममा उनी एक्लो अनुभवी लडाकु हुन पुगिन् ।

पर्सा जिल्ला कोरोना हटस्पट र रेडजोनसम्म पुगिसक्दा त्यतिबेला दलका अगुवा तथा नागरिक अगुवाहरूबाट पनि उनले सहयोग पाउने अवस्था थिएन । धेरै राजनीतिक दलका नेताहरू संक्रमित भएर कोही घरमा त कोही अस्पतालमा आइसोलेट भएर एक महिना सम्म बसे । नागरिक अगुवा तथा सामाजिक अभियन्ताहरूको उपस्थिति सामाजिक सञ्जालसम्म मात्र देखिन्थ्यो ।

यस्तो स्थितिमा कोही घरबाट बाहिर निस्कन नसकिरहेको अवस्थामा ‘फ्रन्ट लाइनर’ बन्न पुग्यो केवल उनको नेतृत्वको प्रहरी । धेरै दिन त उनले अघोषित रूपमा जिल्लाको सर्वेसर्वा बनेरै एक्लै जिल्ला हाँक्ने अवस्था आयो । यस बीचमा एकातिर बिरामीलाई अस्पतालले  भर्ना गर्न नमान्दा बिरामीका आफन्तको तर्फबाट अस्पतालका संचालक र डाक्टरहरूसँग झगडा गर्नुको पीडा र अर्कातिर बिरामीको अकाल मृत्यु हुँदा बिरामीका  आफन्तले नारा–जुलुस गरी डाक्टरका गाडी र अस्पतालमा तोडफोड गर्दा  तिनै डाक्टर र अस्पतालको बचाउ गर्दै बिरामीका आफन्तमाथि लाठी चार्ज गर्नुपर्ने अवस्थालाई पनि उनले आफै फ्रन्ट लाइनमै रहेर पार गरिन् । प्राय: कोरोना संक्रमितको मृत्युपछि दाह संस्कार गर्न खोज्दा स्थानीयले गर्ने विरोधका क्रममा ढुङ्गा लागेर उनी घाइते हुन पुगिन् । तैपनि उनी आफ्नो जिम्मेवारीबाट विचलित भइनन् ।

अझ रोचक कुरा त के छ भने जिल्लाको सुरक्षा प्रमुखको जिम्मेवारी सम्हालेको करिब ७ महिना बितिसक्दा पनि उनले कामको सिलसिलामा एकपटक पनि बिदा लिएकी छैनन् । एउटा राष्ट्र सेवक सेवक भएर फिल्डमा निरन्तर काम गर्ने क्रममा उनले आफू एक छोराकी आमा भएको कुरा पनि बिर्सिनुपर्‍यो । उनी वीरगन्ज आएदेखि छोरा भेट्न पनि गएकी छैनन् र कोभिडले गर्दा छोरालाई पनि वीरगन्ज बोलाउन सकेकी छैनन् ।

पर्सा जिल्ला आएदेखि एकपटक पनि घर बिदा लिन नपाएकी उनलाई राजधानीमा बहिनीको घरमा बसिरहेका १४ वर्षे नाबालक छोरालाई भेट्न मन लागेको छ । तर जिम्मेवारीका कारण उनको आमा मन कठोर बनेको छ । ‘छोराले आमा भेट्न नपाएको निक्कै भइसक्यो, मलाई पनि छोरो भेट्ने मन नभएको होइन,’ उनी भन्छिन्, ‘तर के गर्ने, जिम्मेवारी पहिलो, अब स्थिति बिस्तारै साम्य हुँदै गएकाले दसैंमा आमा–छोराको भेट हुन्छ कि ?’

पछिल्लो समय वीरगन्जमा विद्युतीय शवदाह गृह निर्माणमा समन्वयकारी भूमिका खेलिरहेकी उनले आफ्नो कार्यकालमै शवदाह गृहको निर्माण सम्पन्न गराउने जमर्को गरेकी छन् । ‘परिस्थितिले वीरगन्जमा एउटा शवदाह गृह निर्माणको समन्वयकारी भूमिका खेल्ने जिम्मेवारी मेरै काँधमा ल्यायो,’ उनले भनिन्, ‘यसमा वीरगन्ज महानगरपालिकाको कार्यालयको भूमिका र जनस्तरको अग्रसरता पनि छ, तर समन्वय खेल्ने जिम्मेवारी मलाई आइपर्‍यो, त्यसअनुरूप भूमिका खेल्दैछु, सफलता मिल्नेमा आशावादी पनि छु ।’

एसपी पन्त पनि कोरोना संक्रमितको मृत्युसँगै प्रत्येक पटक शवको दाहसंस्कार गर्न समस्या हुने र स्थानीयसँग झडप नै गर्नुपर्ने अवस्था आएकाले यो समस्याको दीर्घकालीन समाधान नै विद्युतीय शवदाह गृह रहेकाले आफू यो अभियानमा लागिपरेको बताउँछिन् । ‘प्रत्येक पटक संक्रमितको दाह संस्कार गर्न स्थानीयसँग झडप गर्नुपर्ने भयो,’ उनी भन्छिन्, ‘म आफै पनि यस क्रममा एकपटक घाइते हुन पुगें, यो समस्याको दीर्घकालीन समाधान हुनु आवश्यक भएको छ ।’

शवदाह गृह निर्माणमा भूमिका खेल्दै आएको ग्रिनसिटी सामुदायिक संस्था आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान एसपी पन्तकै अगुवाइ र समन्वयकारी भूमिकाका कारण छोटो समयमा सफलता मिलेको बताउँछन् । ‘उहाँले कोभिड महामारीमा अभिभावकको भूमिका खेल्नुभयो,’ उनी भन्छन्, ‘विद्युतीय शवदाह गृहको निर्माणका लागि जग्गा चयनलगायतको काम अघि बढी सकेको छ ।’

कोभिड महामारीको समयमा वीरगन्जका चिकित्सक, स्वास्थ्यकर्मीदेखि अस्पतालका सरसफाइकर्मीका लागि बसोबासको व्यवस्था र संक्रमितका लागि सामुदायिक आइसोलेसनको व्यवस्था गर्ने काममा एसपी पन्तसँग सहयात्रा गरेका होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त पनि जिल्लाको प्रहरी प्रमुखका रूपमा मात्र नभई एसपी पन्तले अघोषित रूपमा जिल्लाकै अभिभावकको भूमिका खेलिरहेको बताउँछन् । ‘एसपी पन्तको भूमिका केवल जिल्लाको प्रहरी प्रमुखका रूपमा मात्र मैले देखिन’ उनले भने, ‘संकटले जेलिएको जिल्लामा उहाँले धेरै पटक बहुआयामिक भूमिका खेलेको मैले अनुभव गरेको छु ।’

सामाजिक अभियन्ता प्रकाश थारूपर्साले पहिलो पटक प्रहरी प्रमुखका रूपमा महिला प्रमुख पाउँदा कतिपयले एसपी पन्तको योग्यतामाथि शंका गरेको सम्झिन्छन् । तर कोभिड संकटमा एसपी पन्तले खेलेकै भूमिकाकाकारण उनले सबैको मन जितेको थारूको बुझाइ छ । ‘पर्साको कोभिड महामारी एसपी पन्तका लागि चुनौती र अवसर दुवै बनेर आयो,’ उनी भन्छन्, ‘जसको उहाँले पूर्ण सदुपयोग पनि गर्नुभयो, चुनौतीलाई स्वीकार गरेर उहाँले खेलेको अग्रगामी भूमिकाले पर्सेली जनताको मन जितेको छ ।’

एसपी पन्त आफै पनि खुल्ला सिमानाका कारण हुने अपराध नियन्त्रणसँगै जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई नियन्त्रणमा राख्नु अत्यन्त चुनौती रहेकोमा आफूले त्यसमा धेरै हदसम्म सफलता पाएको बताउँछिन् । ‘कोभिड महामारीमा खेल्नुपर्ने भूमिकासँगै अपराध नियन्त्रण, खुल्ला सिमाना नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने चुनौती एकसाथ सामना गरियो र धेरै हदसम्म सफलता पनि मिल्यो,’ उनले भनिन्, ‘जिल्लाकै इतिहासमा यो अवधिमा अपराध नियन्त्रण र न्यूनीकरणको पनि इतिहास बन्न गएको छ, ७ महिनायता जिल्लामा अपराधको ग्राफ निक्कै तल झरेको छ ।’   

तर पछिल्लो समय जनविश्वास बढ्दै गएपछि उनलाई झनै जिम्मेवारी बोध हुँदै गएको छ । ‘जनविश्वास बढेसँगै जनताको आशा र भरोसा बढेपछि चुनौती पनि बढेको अनुभव गर्दैछु,’ उनले भनिन्, ‘सेवाग्राही आफ्नो समस्या र गुनासा लिएर मलाई भेट्न आउने क्रम ह्वात्तै बढेको छ, यसले थप जिम्मेवारी बोध भएको छ ।

तस्बिर : शंकर आचार्य

 Image