भर्चुअल खरिदमा फाइदा र जोखिम

दर्जनौं अनलाइन पसलले खाद्यान्नदेखि सागसब्जी घर–घरमा पुर्‍याइरहेका छन् । चिकित्सकको सेवा पनि अनलाइनबाटै लिन सकिन्छ । ‘जिभी एप’ ले सबै प्रकारका औषधी र मेडिकल उपकरण उपलब्ध गराउँदै आएको छ । अनलाइन प्लेटफर्ममार्फत हुने कारोबारलाई ‘खल्ती’, ‘ई–सेवा’, ‘आईएमई–पे’, ‘प्रभु–पे’ लगायतले सहज बनाइदिएको छ ।

सुजाता मुखिया

आश्विन १४, २०७७मःम र पिज्जा खान रेस्टुरेन्ट धाइरहनु पर्दैन । लुगाफाटो चाहियो वा खाद्यान्न, बजार दौडिनु पर्दैन । विद्युतीय उपकरणदेखि फर्निचरसम्म, सौन्दर्य प्रसाधनदेखि गरगहनासम्म आफ्नै ढोकासम्म आइपुग्छन् । यी सरसामान हेर्ने, खोज्ने, मगाउनेदेखि पैसा भुक्तानीसम्म कुनै झन्झट व्यहोर्नुपर्दैन । किनभने अहिले अनलाइनमार्फत सबै काम छिटो र छरितो गर्न सकिन्छ ।

अहिले घरेलु सरसामानदेखि लत्ताकपडासम्म चाहिएमा ‘सस्तो डिल’, ‘दराज’ ग्यापु जस्ता अनलाइन प्लेटफर्मले यो क्षेत्रमा काम गरिरहेका छन् भने कुनै पनि रेस्टुरेन्टको परिकार खान मनलागे ‘फुडमान्डु’, ‘फुडमारियो’ फुडमानिया लगायत चलायमान छन् । ‘मेरो सपिङ’, ‘भाटभटेनी’, ‘केक सेवा’ लगायत दर्जनौं अनलाइन पसलले खाद्यान्नदेखि सागसब्जी घर–घरमा पुर्‍याइरहेका छन् । चिकित्सकको सेवा पनि अनलाइनबाटै लिन सकिन्छ । ‘जिभी एप’ ले सबै प्रकारका औषधी र मेडिकल उपकरण उपलब्ध गराउँदै आएको छ । अनलाइन प्लेटफर्ममार्फत हुने कारोबारलाई ‘खल्ती’, ‘ई–सेवा’, ‘आईएमई–पे’, ‘प्रभु–पे’ लगायतले सहज बनाइदिएको छ ।

त्यसैगरी, फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमार्फत पनि अनलाइन खरिदारी हुँदै आएको छ । हुन त नेपालमा अनलाइन खरिदारीको यो ट्रेन्ड दुई दशकअघि नै सुरु भएको मानिन्छ । ठमेल डटकम, मुन्चा डटकम आदिले उपभोक्तालाई घर–घरमै किनमेलको सुविधा उपलब्ध गराइदिएका थिए । यी प्लेटफर्मबाट विदेशमा रहेका आफन्त एवं साथीभाइले नेपालमा रहेका परिवारजनलाई खासगरी उपहार पठाउने चलन सुरु गरेको थियो । अहिले भने प्रविधिले छलाङ मारेसँगै अनलाइन खरिदारीको तीव्रता र फैलावट अझ बढ्न पुग्यो ।

हातहातमा मोबाइल हुनु, घर–घरमा इन्टरनेट जोडिनु, बिजनेस एप्लिकेसन्स प्रयोगमा आउनु, सामाजिक सञ्जालले व्यापकता पाउनु, बैंकिङ प्रणाली डिजिटलाइज्ड हुनुले खरिदारीको परिपाटी नै परिवर्तन गरिदिएको छ । चाहे रेस्टुरेन्टको खानेकुरा होस् वा कुनै ब्रान्डको सरसामन, अनलाइनबाट सहजै र सोझै खरिद गर्न सकिन्छ । यस्तो अवस्थामा बजार धाइरहने झन्झट किन उठाउने ?

भक्तपुरकी शुभेच्छा खरेलले लुगाफाटो र मुखको तलतल मेट्न रेस्टुरेन्टको खानेकुरा अनलाइनबाटै अर्डर गर्छिन् । ‘अर्डर गरेपछि ढोकामै आइपुग्ने भएकाले आफूलाई कुनै झन्झट हुँदैन,’ उनले भनिन्, ‘घर बाहिर निस्कने मुड नहुँदा वा समय नहुँदा अनलाइनबाट सामान मगाउनु उपयुक्त हुन्छ ।’

अहिले मान्छेको दैनिकी व्यस्त र धपेडीमा बित्नु, किनमेलका लागि बजार धाउने, मोलमोलाइ गर्ने फुर्सद नहुनुले पनि अनलाइन खरिदारी सहज विकल्प बनेको छ । बदलिँदो सहरी जीवनशैलीको एउटा हिस्सा यसलाई मान्न सकिन्छ । त्यसो त कोरोना महामारीका कारण अहिलेको हिँडडुल र भीडभाड गर्न अनुकूल स्थिति छैन । किनमेल गर्न पनि सहज छैन । यही कारण पनि अहिले अनलाइन खरिदारीले फैलिने र मौलाउने मौका पाएको छ ।

अनलाइन खरिदारीको सुविधा काठमाडौं जस्ता सहरी क्षेत्रमा मात्र नभई देशभरि फैलिँदै गएको पाइन्छ । टेलिभिजन, ल्यापटप, मोबाइल, घडी, लत्ताकपडादेखि तरकारी, फलफूलसम्म अनलाइनबाट देशभर नै खरिदबिक्रीको सुविधा दिएको ‘ग्यापु मार्केट प्लेस’ का अपरेसन प्रमुख प्रतीक नापित बताउँछन् । ‘अहिले लकडाउनले गर्दा हामीले बाहिर सेवा दिन सकेका छैनौं, अरू बेला सर्वसुलभ मूल्यमा सुविधा दिइरहेका थियौं’ नापितले भने ।

कोरोना संक्रमण बढेसँगै आफ्नो सेवा राजधानी केन्द्रित गरेको र खासगरी स्वास्थ्य उपकरण एवं सामग्रीहरू बिक्री गरिरहेको उनले बताए । ‘अहिले हामी पीपीई, मास्क, पञ्जा, सेनिटाइजर लगाएर सेवा दिरहेका छौं’ उनी भन्छन् । उनका अनुसार अनलाइन खरिदारी भरपर्दो, छरितो र सस्तो पनि हुन्छ । सटर भाडा तिर्न नपर्ने भएकाले उपभोक्ताले कुनै पनि सामग्रीमा अतिरिक्त मूल्य चुकाउनु नपर्ने उनको दाबी छ ।

‘फुडमारियो’ ले सहरवासीलाई घर–घरमा खानेकुरा उपलब्ध गराइरहेका छन् । अनलाइनबाट अर्डर तथा भुक्तानी गरेपछि खानेकुरा उपलब्ध गराइरहेको संस्थापक तथा कार्यकारी निर्देशक रोहित तिवारीले बताए । चार सयभन्दा बढी मूल्यको खानेकुरामा डेलिभरी शुल्क नलाग्ने उनी बताउँछिन् । तिवारीका अनुसार लकडाउनका बेला काठमाडौंमा दूध, दही, मोही, घिउ, सागसब्जी जस्ता दैनिक उपभोग्य वस्तुको अनलाइन खरिदारी बढेको छ । काठमाडौं, पोखरा, धरान, विराटनगर जस्ता ठूला सहरी क्षेत्र हुँदै अहिले यस्तो सेवा समग्र देशभर फैलिँदै छ ।

ठगिने डर

अनलाइन खरिदारी छरितो र सहज भए पनि यसले अझै उपभोक्तालाई निर्धक्क बनाउन सकेको छैन । बेलाबखत अनलाइन किनमेलमा ठगिएको भन्दै उजुरी पर्ने गरेको छ । ‘दराज’ जस्तो आधिकारिक कम्पनीले नै यस्तो आरोप खेपिरहेको छ ।

खासगरी घरायसी सरसामान र लत्ताकपडा कमसल हुने वा ठगिने भय छ । ‘फेसबुक पेजमा राखिएका लुगाहरू जति राम्रो देखिन्छ, किनेका बेला त्यस्तो नहुन सक्छ’ शुभेच्छा भन्छिन् । फेसबुक पेजमार्फत समेत अहिले छ्याप्छ्याप्ती अनलाइन कारोबार भए पनि यसको गुणस्तरमा भने ध्यान दिइएको छैन । आफूखुसी र मनोमानी ढंगले फेसबुकबाट अनलाइन सेवा दिने एवं कारोबार गर्ने भएकाले यिनीहरूको सेवामा ढुक्क हुन सक्ने स्थिति छैन ।

ग्यापु मार्केट प्लेसका नापित अनलाइन खरिदारीबाट ठगिने जोखिम रहेको स्विकार्छन् । ई–कमर्स व्यवसाय नेपालमा फस्टाउँदै गए पनि यसबारे स्पष्ट कानुन नहुँदा ठगिने जोखिम बढेको उनको निष्कर्ष छ । उनी भन्छन्, ‘यसलाई व्यवस्थित र नियमन गर्ने कानुन भए सबैले त्यही अनुसार हिँड्ने थिए र अहिलेको जस्तो ठगिने जोखिम रहने थिएन ।’ अनलाइन कारोबारमा धेरैले हात हाले पनि यसको नियमावलीबारे सबै जानकार नहुँदा यसमा विकृति बढ्दै गएको उनको बुझाइ छ । ‘दर्ता नगरी चलाएका फेसबुक पेज, इन्स्ट्राग्राम जस्ता सामाजिक सञ्जालका अनलाइन व्यापारलाई ई–कमर्स भन्न मिल्दैन । ई–कमर्स भनेको मध्यस्थकर्ता जस्तै हो’ नापित भन्छन् ।

अनलाइन प्लेटफर्मबाट खरिदारी गर्दा उपभोक्ताले मोलमोलाइ गर्न नपाउने, वस्तुको मूल्य बढी राख्ने, गुणस्तर भनेजस्तो नहुने, खरिद गरिएको सामग्री कमसल भएमा क्षतिपूर्ति नदिने र साट्ने सुविधा पनि नहुने जस्ता कुराले अनलाइन खरिदारीलाई जटिल पनि बनाएको छ ।

 

ध्यान दिनुपर्ने कुरा

- सपिङ गर्नुभन्दा पहिला वेबसाइटको सेक्युरिटी भेरिफाइ गर्नुपर्छ ।

- उत्पादनकर्ताबारे जानकारी लिनुपर्छ । सम्पर्क ठेगाना एवं उत्पादनकर्ताबारे पुरै जानकारी ठगी व्यापार गर्नेले उपलब्ध गराउन सक्दैनन् ।

- विश्वसनीय कम्पनी एवं प्लेटफर्मबाट खरिद गर्नुपर्छ । उनीहरूले भनेजस्तो सामान बिक्री गरेका छन्/छैनन् भन्ने कुरा ध्यान दिनुपर्छ ।

- मूल्य, गुणस्तर, स्ट्यार्न्डड चेक गर्नुपर्छ । हेर्दा उस्तै देखिए पनि बजारमा एउटै सामान धेरै किसिमका हुन सक्छन् । सक्कली सामान हो/होइन, त्यसको स्रोत कहाँ हो भनेर बुझ्नुपर्छ ।

- सामान खरिद गर्दा २–३ वटा अनलाइनबाट तुलना गर्नुपर्छ । त्यही ठाउँबाट सामान किन्नुपर्छ, जहाँ छिटो र सस्तो पाइन्छ ।

- अस्पष्ट नियम र सर्त भएका वेबसाइटबाट टाढै रहनुपर्छ ।

- अत्यधिक छुट दिएका वेबसाइटको विश्वास गर्नुहुँदैन । यस्ता वेबसाइटले कम गुणस्तरको सामान बिक्री गरी ठगी गरिरहेका हुन्छन् ।

- सपिङ गर्दा प्रयोग गरिएका कुनै पनि सूचनालाई स्टोर गरेर राख्नुहुँदैन । सपिङ प्रक्रिया समाप्त भएपछि मेटिदिनुपर्छ ।

- अनलाइन सेफ्टीको ख्याल गर्नुपर्छ । तपाईंले ‘लग इन’ गरिरहेको वेबसाइटमा ठेगानाका बारेमा ‘एचटीटीपीएस’ हुन्छ, त्यसलाई सुरक्षित मान्न सकिन्छ ।

- अनलाइन किनमेलमा प्रयोग गरिने डेबिड कार्ड, क्रेडिट कार्ड, नेट बैंकिङको बैंक एकाउन्ट बेला–बेला जाँच गर्नुपर्छ ।

- ठगीबाट जोगिने उपाय भनेको हेर्दै नहेरी बिल भुक्तानी गर्नुभन्दा चित्त बुझेमात्र भुक्तानी गर्नुपर्छ । त्यस्तै, सामान मगाउँदा नै केही सर्त राखेर सपिङ गर्दा सजिलो हुन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>