Successfully Copied

जोखिम न्यूनीकरण बिमा

विश्वव्यापी रूपमा कोरोना महामारी फैलिएको करिब आठ महिना पुगिसकेको छ । महामारीले लाखौंको ज्यान लिइसकेको छ । संक्रमित र मृत्यु हुने दर बढिरहेको छ । विभिन्न देशबाट निर्माण भइरहेको खोप परीक्षणकै तयारीमा रहेका छन् ।

विश्वव्यापी रूपमा कोरोना महामारी फैलिएको करिब आठ महिना पुगिसकेको छ । महामारीले लाखौंको ज्यान लिइसकेको छ । संक्रमित र मृत्यु हुने दर बढिरहेको छ । विभिन्न देशबाट निर्माण भइरहेको खोप परीक्षणकै तयारीमा रहेका छन् । औषधि वा खोप कहिलेसम्म बन्ला भनेर अनुमानसमेत लगाउन सकिने अवस्था छैन । भाइरसको जोखिम बढ्दै गइरहेका बेला जोखिम न्यूनीकरणका लागि यतिबेला कोरोना बिमा उपयुक्त बनेको छ ।

नेपालका २० निर्जीवन कम्पनी मिलेर सामूहिक रूपमा जोखिम बहन गर्ने व्यवस्था मिलाएको छ । नेपाल पुनर्बिमा कम्पनीले २० प्रतिशत र बाँकी ८० प्रतिशत निर्जीवन कम्पनीले आम्दानी र जोखिम बहन गर्ने व्यवस्था गरेका हुन् ।

यस बिमा योजना अन्तर्गत दुईवटा पोलिसी छन् । यस अन्तर्गत एक लाख र ५० हजार रुपैयाँका बिमाङ्क रहेका छन् । त्यसमा पनि एकल र सामूहिक बिमा गर्न सकिन्छ । एक लाखको बिमा गर्न चाहनेका लागि प्रतिव्यक्ति एक हजार प्रिमियम रकम तिर्नुपर्छ । सामूहिक बिमा गर्नेहरूका लागि ६ सय रुपैयाँ बिमा शुल्क लाग्छ । अर्को बिमाङ्क रकम ५० हजार रुपैयाँ रहेको छ । यसमा यो बिमा गर्न प्रतिव्यक्ति पाँच सय रुपैयाँ र समूहका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ ।

काठमाडौं स्वयम्भूका योगेश साउदले कोरोना महामारी फैलिएपश्चात् कोरोना बिमा गराए । उनले व्यक्तिगत एक लाखको बिमा गराएका हुन् । उनी भन्छन्, ‘कोरोनाको औषधी छैन, बिमाले केही मात्रामा जोखिम न्यूनीकरणका लागि सहयोग पुर्‍याउँछ भन्ने लागेर गराएको हुँ ।’ अहिले मासिक रूपमा उनले प्रिमियम तिरिरहेका छन् । उनले परिवारको पनि सामूहिक बिमा गराइदिएका छन् । उनी कोरोना बिमा अभियानसमेत चलाउँछन् । ‘जीवन अमूल्य छ, त्यसकारण हरेकको बिमा गर्न आवश्यक ठानेर यसको अभियान नै चलाएँ’ उनले भने । उनले हालसम्म करिब दुई सय जनाको बिमा गराइसकेका छन् ।

बिमा कम्पनीहरूको तथ्याङ्क अनुसार भदौ १५ सम्म कोरोना बिमा गराएकाको संख्या १० लाख नाघिसकेको छ । महामारी बढ्दै गए पनि संक्रमितको संख्या पनि बढ्दो रूपमा नै रहेको छ । त्यसकारण बिमा भुक्तानी दाबी गर्नेको संख्या पनि बढ्दो छ । तथ्याङ्क अनुसार भुक्तानी दाबी गर्नेहरूको संख्या एक लाख नाघिसकेको छ ।

बिमा भुक्तानी दाबी गर्नेमा भक्तपुरकी सरिता महर्जन पनि एक हुन् । महिनाअघि एक लाखको बिमा गराएकी उनको भदौको पहिलो साता कोरोना पोजिटिभ आएपछि उनले बिमा भुक्तानी दाबी गरेकी हुन् । कोरोना पुष्टिपश्चात् मात्र बिमा दाबी गर्न पाइन्छ । बिमाको रकमले भने केही राहत मिलेको उनले बताइन् ।

कोरोना बिमाले कोरोना पुष्टिपश्चात् जोखिम बहन गर्ने हुनाले बिमाप्रतिको आकर्षण बढ्दै गइरहेको बिमा कम्पनीहरूले जनाएका छन् । सगरमाथा इन्स्योरेन्सका कार्यकारी निर्देशक चङ्की क्षेत्री भन्छन्, ‘महामारी फैलँदै गएपछि बिमा गराउनेहरूको संख्या पनि बढ्दै गइरहेको छ ।’ उनका अनुसार कोरोनाको सुरुवाती दिनमा बिमा गर्न हिचकिचाउनेहरू पनि पछिल्लो समय बिमा गराउन थालेका छन् । यो बिमा योजना स्वास्थ्य उपचारको बिमा नभई बिमा कम्पनीले महामारीको समयमा सामूहिक रूपमा जोखिम बहन गर्ने उद्देश्यका साथ अघि बढाइएको योजना भएको उनले बताए । उनी भन्छन्, ‘यस उद्देश्य अनुसार निर्जीवन बिमा कम्पनीहरूले सामूहिक रूपमा बिमा गर्ने र सामूहिक रूपमै भुक्तानी गर्ने गर्दछन् ।’

कसरी गर्ने कोरोना बिमा ?

आवश्यक कागजातका साथ बिमा कम्पनीमा सम्पर्क गर्नुपर्छ । नेपालमा २० वटा बिमा कम्पनीमार्फत कोरोना बिमा गर्न सकिन्छ । अहिलेको समयमा अनलाइनमार्फत पनि बिमा गर्न सकिन्छ । कम्पनीका अनलाइनमार्फत साइटहरूमा गएर पनि बिमा फाराम भर्न सकिन्छ ।

भुक्तानी कसरी लिने ?

यो कोरोना बिमा योजना भएकाले कोरोना पुष्टि भएको रिपोर्ट चाहिन्छ । यसका लागि कोरोना (पीसीआर) पोजिटिभको रिपोर्ट आवश्यक पर्छ । रिपोर्ट पेस गरेपछि बिमा दाबी गर्न सकिन्छ । बिमा दाबी गर्न बिमा गरेको १५ दिन पुगेको हुनुपर्छ ।

 Image