महिला किन टार्गेटमा ?

नारी संवाददाता

भाद्र १५, २०७७ यो विषय अहिलेसम्मको परिवेश हेर्दा पुरुषप्रधान समाजमा महिला हावी हुने भयो भन्ने त्रासयुक्त सोचको उपज हो । महिला बोल्ड भएर बोल्न थालेपछि असुरक्षाको भावना जागृत भयो । यसअघि यही कुरा अरूले पनि बोलेका थिए, तर तिनीहरू पुरुष भएकाले टार्गेटमा परेनन् । मैले बोलेको कुरालाई अर्को अर्थ लगाई बङ्ग्याएर मलाई गालीगलौज गर्ने र गलाउने काम भयो । अपशब्द प्रयोग गरी मलाई कमजोर पार्न खोजियो । घरपरिवार सम्हालेर बसेकी मलाई क्षणभरका लागि गलायो । यो निरन्तर रूपमा अगाडि बढिरहेकी छे । यसलाई ठीक पार्न पाए पुरुष हावी कायमै रहन्थ्यो भन्ने थियो । जति मलाई गाली बर्साइयो, त्यति राम्रा चलचित्र लिएर आउँछु, अब म । यहाँ पुरुषप्रधान दबदबा कतिसम्म छ भने म पनि मान्छु महानायक तर खोइ त महानायिका ? भारतमा सुचित्रा सेनलाई महानायिका घोषणा गरियो, बाबा फाल्के पुरस्कार छोडेर उनले जनताले दिएको महानायिका पद लिइन्, खोइ नेपाली नारीले हाम्रो देशमा त्यो महसुस गर्न पाएको ? प्रायः देशको इतिहासमा चलचित्रमा महानायक छैनन् ।

हामीकहाँ हेडलाइन हेरेर गाली गर्ने प्रवृत्ति छ । दुई–तीन दिन यसले मलाई अत्यन्तै गाह्रो बनायो । किनकि म परिवारसँग बसेकी केटी हुँ । मलाई बहिष्कार गर्नेसम्मका शब्दहरू प्रहार गरियो । म पनि ३० वर्ष यही क्षेत्रलाई योगदान दिएकी मान्छे हुँ । आज पुरुषलाई सम्मान गर्ने निहुँमा महिलालाई अपमान गरियो । खै कहाँ भयो त कलाकारको सम्मान ? मेरा चलचित्र बहिष्कार गर्ने, मलाई गोली ठोक्ने, बाटोमा भेटे बलात्कार गर्नेजस्ता तुच्छ शब्दहरू ममाथि प्रहार भए । दरिद्र मानसिकता भएकाले यसो गरे । सुशान्त सिंह राजपूतको घटनामा किन त्यसो गरेको होला भन्ने मान्छे मै हुँ । किन मान्छे आत्महत्या गर्छन् भन्दा यस्तै भएर रहेछ, जुन म आफू स्वयंले भोग्नुपर्‍यो तर मैले हार मानिन । मेरो टिमले, परिवारले सम्झाएपछि ‘मान्छे चिन्नु पर्छ’ भन्नेमा अडिग रहें । अब त म झन बलियो भएकी छु । दर्शक मेरा देउता हुन् । चाणक्यका अनुसार अप्ठ्यारोमा मानिस सधै संयमित भएर बस्नुपर्छ । म यसरी नै बस्छु, यसैगरी काम गर्छु । मलाई संसार गुलियो मात्रै लाग्थ्यो तर होइन रहेछ भन्ने पाठ सिकें ।

 

डा. रेणु अधिकारी, महिला अधिकारकर्मी

समग्रमा, भन्नुपर्दा यो विषय मानसिकताको उपजबाहेक अरू केही होइन । महिला भनेको निश्चित दायराभित्र बस्नुपर्छ भन्ने मानसिकता हामी कहाँ छ । समाजले दिएको स्थानको दायराभित्र महिला बस्नुपर्ने भएकाले यस्ता इस्यु उठ्छन् । हामीलाई सरसर्ती हेर्दा–सुन्दा लाग्छ अशिक्षित, चेतना नभएका मानिसले महिलामाथि हिंसा गर्छन् तर होइन महिलामाथि हिंसा गर्ने समूह भनेको पढेलेखेका र बुझेका मान्छे हुन्,जसलाई महिलाको नेतृत्व स्वीकार्य हुँदैन । एउटा तीज गीतमार्फत महिला आन्दोलनको उद्घोष गरिएको थियो त्यसलाई सबैभन्दा पहिला विश्व हिन्दु महासंघले प्रहार गर्‍यो । जबकि त्यो धर्मसँग जोडिएको विषय नै होइन, महिलाको अस्तित्व र अधिकारसँग जोडिएको कुरा हो । गीतले महिलाको समान अस्तित्व बोलेको थियो । तर त्यसैमा प्रहार गरियो । निडर भएर बोल्ने हिम्मत गर्ने महिलालाई कमजोर पारिन्छ । मलाई नै पनि अत्यन्तै छुच्ची, प्रतिकृयावादी भनेर व्याख्या गर्छन्, अहिले पनि । यी सब महिलालाई झुकाउन, गलाउन, आफ्नो वर्चस्व कायमै राख्न गरिने व्यवहार हुन् । मेरो स्पेस रहिरहन्छ नत्र यस्ता बोल्ड महिला बोल्न थाले भने मेरो स्थान गुम्छ भन्ने सोच भएका मानिसहरूले महिलाका विचार र धारणाका विरुद्ध प्रहार गर्छन् ।

 

सुनीता राउत, समाजशास्त्री, समाजशास्त्र विभाग त्रि.वि.