खुसी जीवनका लागि ‘आर्ट थेरापी’

उपासना घिमिरे

असार ३, २०७७

नेपाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत गोमा बन्जाडेलाई कला चिकित्सा विधिको प्रयोग गर्दा रमाइलो र अनौठो अनुभव भयो । केही समयअघि यस्तो थेरापी गर्न अफिसका अन्य सहकर्मीसहित  आरोग्य नेपाल गएका थिए । सुरुमा नौलो लागेको यो थेरापीले मन हल्का भई बच्चा जस्तो महसुस हुनुका साथै समय मिलाएर सबैले गरेमा राम्रो हुने उनले बताइन् । उनकी साथी राधालाई पनि मनमा लागेका कुरा चित्रमार्फत् व्यक्त गर्न पाएकाले मन हल्का भएको अनुभूत भयो । स्ट्रेस म्यानेजमेन्टअन्तर्गत पर्ने यो थेरापीले मनलाई चंगा बनाउने धारणा आरोग्य नेपालकी चिकित्सक बिहानी सन्ज्याल बताउँछिन् ।

व्यस्त दैनिकीमा कला चिकित्सा (एक्सप्रेसिभ आर्ट थेरापी) सहयोगी हुन सक्छ । यसले दिमागलाई हल्का बनाइदिन्छ । नाचेर, गाएर, चित्र कोरेर वा नाटकीय अभिनय गरेर गरिने चिकित्सा विधि कला चिकित्सा हो । आफ्नो समस्या नृत्य, गीत, संगीत, नाटक, लेखन, कलाकारिता आदिका माध्यमबाट व्यक्त गर्न सकिन्छ । विश्वमा निकै चर्चित बन्दै गएको यो चिकित्सा विधिकोे बारेमा नेपालमा अहिले चर्चा र प्रयोग हुन थालेको छ । यो थेरापीको बारेमा धेरै चर्चा  नभएपनि  प्रयोग चाहिँ पहिलेदेखि नै हुँदै आएको छ ।

संगीतकार, कवि, रचनाकार, चित्रकारहरुले आफ्नो पीडा गीत, संगीत, चित्र, कविता, नाटक आदिमार्फत व्यक्त गर्दै आएका पनि छन् । यसबाहेक आत्मकथा, जीवनी आदि पनि यो थेरापीकै भिन्न स्वरुप मान्न सकिन्छ ।

यसको सुरुवात २०औं शताब्दीमा भएको थियो । फ्रायड र जंगले केही बिरामीमा प्रयोग गरेका थिए । जसमा बिरामीलाई चित्र बनाउन लगाएर आफ्नो भावना व्यक्त गर्न लगाइयो । तर यसको चिकित्सकीय प्रयोग भने जो वाल्देन आर्ट टिचरले आफ्ना विद्यार्थीमा गरिन् । १९६९ मा अमेरिकन आर्ट थेरापी एसोसिएसनको सुरुवात भयो ।

कसरी गर्ने ?

बिरामीले आफ्नो रोग तथा मनमा लागेका कुरा कथा, कविता, गीत, नाटक वा चित्रको माध्यमबाट व्यक्त गर्न सकिन्छ । यसमा एउटा मात्र नभएर एकभन्दा बढी कलाको प्रयोग गर्न सकिने डा. बिहानी बताउँछिन् । जस्तै, एउटै मानिसलाई नृत्य गर्न र चित्र कोर्न पनि लगाउन सकिन्छ ।

नेपालमा बालबालिकामा, महिला हिंसा र रोगले निम्त्याएको मनोसामाजिक असर हटाउनका लागि प्रयोग गर्न थालिएको छ । यसमा कलाका विभिन्न आयामको प्रयोग गरिन्छ । जस्तै नृत्य, चित्रकला, कथावाचन, सडक नाटक, ध्यान, संगीत इत्यादि । भूईंचालोपछि पनि धेरै स्कुल तथा अफिसमा यसको प्रयोग गरिएको थियो ।

कला चिकित्साको मुख्य कार्य मष्तिष्कमा सन्तुलन ल्याउनु हो । कुनै पनि मानिसको भावनात्मक सम्बन्धमा आउने उतारढाव, गहिरो चोटपटक, मानसिक आघात आदिले मष्तिष्कको भावनात्मक  केन्द्रलाई प्रभाव पार्छ । यो केन्द्रमा अधिक असर पर्नाले शरीरमा स्ट्रेस हर्मोनको मात्रा बढी हुँदा क्रोनिक इन्फ्लामेसन मार्कर बढ्छ । यसबाट नसर्ने रोग उत्पन्न हुनुको साथै भइसकेको अवस्थामा व्यवस्थापन गर्न गाह्रो पर्छ । कला चिकित्साले मष्तिष्कका भावनाहरुलाई व्यवस्थित गरी खुसी हुन सिकाउँछ । जसबाट मानसिक शान्ति उत्पन्न भई मनोदैहिक रोगको रोकथाम गर्न सकिन्छ । खुशी हुनासाथ रोग ५० प्रतिशत त्यतिकै कम हुन्छ ।

के का लागि उपयोगी ?

सामान्य लाग्ने यस किसिमका कलात्मक कार्यहरु अहिले पश्चिमा मुलुकमा विभिन्न रोगका उपचारमा   समेत प्रयोग गरिएका छन् । बोलेर व्यक्त गर्न असमर्थताका लागि यो विधि प्रभावकारी छ । यो चिकित्साले क्षमता वृद्धि गराउनुका साथै रोगको पीडाबाट मुक्ति हुने बाटो देखाउँछ ।

मुख्यतयाः आर्ट थेरापीको प्रयोग संवेगात्मक रोग, मनोरोग, क्यान्सर, एन्जाइटी, डिप्रेसन, बच्चाहरुमा हुने ढिलो विकास, आवश्यकताभन्दा बढी चञ्चलता, खाना नखाने, रिसाउने, एक्लोपना, दीर्घरोग, तनाव, मानसिक असुन्तलन आदिमा गर्दा प्रभावकारी हुन्छ । यो गर्न कलाकार नै हुनुपर्छ भन्ने छैन, सामान्य मानिसले पनि गर्न सक्छ । हाँसेर, गाएर, रोएर, नाचेर गर्न सकिने यो थेरापीको कुनै साइड इफेक्ट छैन ।

कसरी गर्ने ?

बिरामीलाई उसको रोगको बारेमा लेख्न वा चित्र कोर्न दिनुपर्छ । त्यसपछि त्यसको व्याखा गर्न लगाउनु पर्छ । उसले कस्तो रङको प्रयोग गर्छ त्यसको  विश्लेषण गरी अवस्था थाहा पाइन्छ । उदाहरणका लागि कुनै बिरामीले कालो अथवा गाढा खैरो रङको प्रयोग गर्छ भने ऊ निराश छ भन्ने जनाउँछ ।

यसका प्रयोग तथा प्रकार  

– खाली कागजमा आफ्नो मनमा भएका तनाव चित्रमा उतार्न सकिन्छ यसलाई आर्ट थेरापी भनिन्छ ।

– यसैगरी मनमा भएको कुरा लेखेर पनि व्यक्त गर्न सकिन्छ । जसलाई जर्नलिङ भनिन्छ । कविताको माध्यमबाट व्यक्त गर्न सकिन्छ, यसलाई पोयट्री भनिन्छ ।

– नृत्यबाट पनि मनमा गुम्सिएका भावना बाहिर निकाल्न सकिन्छ । नाटक, सडक नाटक पनि गर्न सकिन्छ ।

त्यसपछि बनाएका चित्र, लेखेका कुरालाई व्याख्या गर्न लगाउनुपर्छ । यसो गर्दा मानिसको मन हल्का हुन्छ । बोलेर व्यक्त गर्न असमर्थ भएका कुराका लागि आर्ट थेरापी उपयुक्त हुन्छ । भावनात्मक कारण पत्ता लगाई सोही अनुसार नै उपचारमा आवश्यक कलाका विधिको प्रयोग गर्नुपर्छ ।

एक सफल उदाहरण

‘एनाटोमी अफ इलनेस’ भिडियोमा एकजना मानिसलाई ढाडको रोग लागेको हुन्छ । चिकित्सकले यसको मेडिकल उपचार छैन तिम्रो आयु दुई चार वर्ष मात्र हुन्छ भन्छ । त्यसपछि उक्त मानिस घरमै  दिनको दुई घन्टासम्म हाँस्ने, कमेडी फिल्म लगाएर मज्जाले हाँस्ने गर्छ । यसले गर्दा उसको रोग निको भयो । अन्त्यमा उक्त मानिस ‘फादर अफ ह्युमर थेरापी’ बन्छ ।

यो चिकित्सालाई अन्य अवस्थामा समेत प्रयोग गर्न सकिन्छ । कम स्रोत र साधन लाग्ने कला चिकित्सालाई चिकित्साका अन्य विधासँग समन्वय गरी रोगको रोकथाम तथा उपचारमा प्रयोग गर्दा प्रभावकारी हुन्छ ।

सामान्य मानिसले कसरी प्रयोग गर्ने ?

– एक्लै कोठामा चित्र कोेरेर गर्न सकिन्छ । पछि त्यो कागज च्यातेर वा बेलुन बनाएर फालिदिन सकिन्छ । एकदम रिस उठ्यो गीत गाएर पनि आफ्नो मन हल्का बनाउन सकिन्छ । ऐना हेरेर पनि रिस व्यक्त गरी शान्त हुन सकिन्छ ।

– यसैगरी नाटक पनि गर्न सकिन्छ ।

– यो थेरापी गर्दा अरुलाई नोक्सान पुर्‍याउनुहुँदैन । यसले सिर्जनशील बनाउँछन । यो भावना व्यक्त गर्ने माध्यम मात्र हो । महिला तथा पुरुष दुवैका लागि यो थेरापी उपयोगी छ । यसले जीवनको गुणस्तरलाई वृद्धि गर्छ । अन्य उपचारसँगै यसलाई जोड्न सके प्रभावकारी हुन्छ ।

    

(डा. बिहानी सन्ज्याल आयुर्वेद चिकित्सक हुन् )

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>