Successfully Copied

अझै चेतनाको कमी

आँखाको दृष्टि कमजोर हुन थाल्छ, घाममा निस्कँदा हेर्न असजिलो हुन्छ र नजिकको कुरा पनि देख्न गाह्रो हुन्छ । यी मोतीबिन्दुका लक्षण हुन् । मोतीबिन्दुको उपचार भनेको शल्यक्रिया नै हो ।


डा.सुरेशराज पन्त
अकुलोप्लास्टी तथा मोतीबिन्दु शल्य चिकित्सक, गेटा आँखा अस्पताल, धनगढी


गेटा अस्पतालले के–कस्ता सुविधा उपलब्ध गराइरहेको छ ?
यहाँ मुख्यतः मोतीबिन्दुको शल्यक्रिया गरिन्छ र पर्दा, जलबिन्दु, अकुलोप्लास्टी एवं नानी प्रत्यारोपण गरिन्छ । त्यसबाहेक बालबालिकाका आँखासम्बन्धी सबै समस्या समाधान गरिन्छ । यो नानी प्रत्यारोपण गर्ने तिलगंगापछिको दोस्रो अस्पताल हो । गेटाका सुदूरपश्चिममा १८ वटा केयर सेन्टर छन् भने २३ वटा शाखा बिस्तार भइसकेका छन् ।
गाउँ–गाउँमा यसका सेन्टर भएकाले बिरामीले आधारभूत उपचार पाएका छन् । यो गैरनाफामूलक संस्था भएकाले यहाँको उपचार खर्च पनि त्यति महँगो छैन । अस्पतालले बेला–बेलामा सर्जिकल क्याम्प सञ्चालन गरिरहेको हुन्छ । ४६ वटा क्याम्पमा हालसम्म ३५ सय जनाको मोतीबिन्दुको सफल शल्यक्रिया भइसकेको छ ।


सुदूरपश्चिममा मोतीबिन्दुको अवस्था कस्तो छ ?
मोतीबिन्दु धेरै किसिमको हुन्छ । मुख्यतः उमेर बढ्दै जाँदा हुने मोतीबिन्दु धेरै देखिन्छ । अर्को जन्मजात र चोटपटक लागेर पनि मोतीबिन्दु हुने गरेको छ । अन्धोपनको कारण नै मोतीबिन्दु हो । यहाँ पहिलेको तुलनामा मोतीबिन्दुको कारण अन्धोपन हुने संख्या घटेको छ । नेपालमै पहिलो पटक सन् १९८०÷८१ मा नेसनल अन्धोपनले सर्भे गरेको थियो । जसमा नेपालभरि ० दशमलव ८४ प्रतिशत अन्धोपन देखिएको थियो भने सुदूरपश्चिममा मात्र १ दशमलव २ प्रतिशत देखिएको थियो । त्यसैगरी सन् २००८÷९ को सर्भेले नेपालभरि ०दशमलव ३५ प्रतिशत र सुदूरपश्चिममा ० दशमलव ४१ प्रतिशत देखियो । यो तथ्यांकले पहिलेको तुलनामा अन्धोपन आधा घटेको देखायो । प्रतिशतमा आधा कम भए पनि संख्या बढ्यो किनभने पहिलेको तुलनामा जनसंख्या बढिरहेको छ । फेरि सन् २०२०÷२१ मा गरेको सर्भेमा सुदूरपश्चिममा अन्धोपन घटेर ० दशमलव २१ प्रतिशत पुगेको छ । अहिले पनि अन्धोपनका कारण मोतीबिन्दु नै देखिएको छ । पहिले ६२ प्रतिशत अन्धोपन भएको थियो भने अहिले घटेर ३३ प्रतिशत भएको छ ।



यहाँ आँखासम्बन्धी सचेतना कस्तो पाउनुभएको छ ?
एकदमै न्यून छ । गाउँ–गाउँमा अझै मोतीबिन्दुको उपचार हुन्छ भन्ने थाहै छैन । मानिसहरू मोतीबिन्दु पाकिसकेपछि आउँछन् । वर्षमा एकपटक आँखा जँचाउनुपर्छ भन्ने चेतना अझैसम्म आइसकेको छैन ।


मोतीबिन्दुको उपचारमा कुन प्रविधिको प्रयोग गरिन्छ ?
आँखाको दृष्टि कमजोर हुन थाल्छ, घाममा निस्कँदा हेर्न असजिलो हुन्छ र नजिकको कुरा पनि देख्न गाह्रो हुन्छ । यी मोतीबिन्दुका लक्षण हुन् । मोतीबिन्दुको उपचार भनेको शल्यक्रिया नै हो । यहाँ फाकोइमुल्सिफिकेसन प्रविधिबाट उपचार गरिन्छ । जसमा सानो चिरा पारेर शल्यक्रिया गरिन्छ । यो घाउ सानो हुन्छ र संक्रमण हुने डर हुँदैन । अस्पतालमा हप्तौं भर्ना भएर बस्नुपर्ने झन्झट हुँदैन । नयाँ प्रविधिबाट मोतीबिन्दु नपाक्दै शल्यक्रिया गरिन्छ ।



आँखाको हेरचाह कसरी गर्ने ?
वर्षमा एकपटक आँखा जँचाउनुपर्छ । ४० वर्ष कटेपछि छ–छ महिनामा जँचाउनुपर्छ । बालबालिकाहरूको विद्यालय जानुअघि नै एकपटक आँखा जँचाउनुपर्छ । आठ वर्षभन्दा बढी उमेरमा पावरवाला चस्मा लगाए अल्छीपन देखिन्छ । कतिपय बालबालिकाको आँखा जन्मजात नै कमजोर हुन्छ । चाँडै पत्ता लाग्यो भने उपचार सम्भव हुन्छ ।

(डा. पन्तसँग सुजाता मुखियाले गरेको कुराकानीमा आधरित)

 Image