बिदाको दिनहुनाले मुग्धा अलि ढिलो उठेकी थिइन् । उनको पति शिवम्, बि.बि.ए प्रथम वर्षमा अध्यनरत छोरो सुशान्तर कक्षा बाह्रमा पढ्दै गरेकी छोरी सुस्लिे राति अबेरसम्म टीभी हेरेको हुनाले बिहान सात बज्न लाग्दासम्म पनि सुतिरेहका थिए । शिवमको त बानी नै थियो ढिलो उठ्ने ।
मुग्धा उठेर बाथरुममा पसिन् र नुहाइवरी गुलावी रङको मेक्सी लगाएर बैठककोठाको दक्षिणपट्टि रहेको बार्दलीमा गएरकपालबाँधेकोे तौलिया हटाइन् । त्यसपछि उनले आफ्नो बाक्लो कालो केशलाई आंैलाले बिस्तारै–बिस्तारै छुट्याउँदै तौलियाले पुछ्न थालिन् । भिजेको केशबाट तप–तप पानी तप्किएर उनको ढाड भिजाइरहेको थियो ।
त्यसरी नै एकाग्र भएर केश पुछ्ने क्रममा हठात् मुग्धाको दृष्टि आफ्नो नयाँ छिमेकीको बार्दलीमा गएर अडियो । त्यहाँ एउटो नौलो युवक, जो सत्ताइस अठ्ठाइस वर्षको झैं देखिन्थ्यो, जसले बार्दलीमा उभिएरनिर्बिमेष दृष्टिले मुग्धालाई हेरिरहेको थियो । त्यसरी त्यो युबकले आफूलाई एकोहोरो किसिमले हेरिरहेको देखेर मुग्धालाइ असजिलो लाग्यो । एकछिन पछि मुग्धाले फेरि नजर उठाएर छिमेकीको बार्दलीमा हेर्दा त्यो युवक अझै पनि उस्तरी नै उनी भएतिर नै आँखा गाडेर हेरिरहेको थियो । युवकको एकोहोरो हेराईले उनलाई असजिलो लाग्यो र त्यसै कारण अन्यदिन जस्तो अलिबेरसम्म त्यहाँ उभिएर केश सुकाउन छोडेर उनी घरभित्र पसिन् ।
अलि बेरपछि शिवम् र छोराछोरीहरु पनि उठे र आ–आफ्नो नित्यकर्म सिध्याइवरी बिहानको खाजा खानको लागि डाइनिङ टेबल वरिपरि बसे ।
‘बजार गएर मैले के–के ल्याउने हो एउटा लिस्ट बनाएर देऊ’ शिवम्ले पत्नीतिर हेरेर भने ।
‘बाबा....! आज रहु माछा ल्याउनुस न.. मलाई त माछाको झोलसंग भात खान मन लागेको छ’ शिवम् सामान किन्न जान लागेको देखेर सुस्मिताले भनेकी थिई ।
‘हुन्छ, हुन्छ ।आज माछा नै लिएर आउँला । माछा त तिम्री मम्मीलाई पनि मन पर्छ’, शिवमले छोरीका कुरोलाई सहर्ष स्वीकार्दै भने ।
‘तिमीलाइ त यो मेक्सी खुबै सुहाएको छ नि । गोरो मान्छेलाई गुलाबी रङ निकै सुहाउँछ’, शिवम्ले चिया पिउँदै गरेकी मुग्धातिर प्रशंसाको दृष्टिले हेर्दै भनेका थिए ।
‘मम्मी ! म आज कलेजको साथीहरुसँग दिउँसोको शो हेर्न जान्छु है !’ चिया खाजा खान बसेको क्षणदेखि नै हातमा भएको मोबाइल चलाईरहेको सुशान्तले अचानक मम्मीतिर हेरेर भनेको थियो ।
‘बिदा भयो कि तिमीहरु आफैं प्रोगाम बनाउँछौ र हामीलाई सूचना मात्र दिन्छौ । कुन हलमा जाने ? कोसँग जाने ? तेरो साथीहरुको मोबाइल नम्बर त्याँ नोटबुकमा लेख्नू’, छोरोको कुरोको प्रतिउत्तरमा अलि गम्भीर भएर बोलेकी थिइन्मुग्धा ।
‘मम्मी पनि बिनासित्तिमा.....!.हामी त अब ठूलो भइसक्यौं नि......., साना केटाकेटी होइनौं के । होइन त बुबा?’ सुशान्तले शिवम्तिर हेरेर हाँस्दै भन्छ ,
‘हो ठिक भन्यो छोरोले । अब हाम्रा छोराछोरी ठूला भइसके । यिनीहरुले अब आफूले के गर्नु पर्छ र के गर्नु हुँदैन भनेर बुझिसकेका छन्’, शिवमले भने ।
‘तपाईं चाहिँ जहिले पनि छोराछोरीलाई उचाल्नुस् । पछि कतै केही भयो भने मलाई दोष नलागाउनुस्’, मुग्धाले पतितिर हेरेर भनिन् ।
‘म त आज मम्मीसँग बानेश्वर, सानो मम्मीको घरमा जान्छु र उताबाट फर्किदा काठमाडौं मलमा पसेर आफ्नो लागि जुत्ता पनि किन्छु’, उत्साहित हुँदै बोलेकी थिई सुस्मिता ।
अर्को दिन बिहान मुग्धा सबेरै उठेर आफ्नो नित्यकर्म सिध्याइवरी घरायसी काममा व्यस्त भइन् ।
प्रायः साँढे सात बजेतिर मुग्धाको घरमा काम गर्ने घरेलु कामदार शर्मिला आउँथिन् । त्यो दिन आइन् र मुग्धाले अह्राएको काम गर्न थालिन् ।
कामको सिलसिलामा त्यो दिन पनि बार्दलीमा पुग्दा उनले हिजाकै युवकलाई देखिन् । ऊ उसै गरी मुग्धालाई हेरिरहेको थियो । मुग्धालाई त्यो युवकसँग भित्र–भित्रै रिस उठ्यो । उनले कठोर दृष्टिले त्यस युवकको आँखामा हेरेकी हुन्छिन् । तर पनि युवक एकटक मुग्धातिरै हेरिरहेको थियो ।
‘कस्तो सोमत नभएको मान्छे रहेछ....!’ युवकको अटेरपना देखेर मनमनै रोष प्रकट गर्दै मुग्धा घरभित्र पसेकी थिइन् ।
पहिलेका छिमेकीसँग मुग्धाको परिवारको राम्रो परिचय थियो । उनीहरुमाझ बोलचाल मात्र होइन, कहिलेकाहीं एकअर्काको घरमा आवतजावत पनि हुन्थ्यो ।
विशेष गरेर आ–आफ्ना करेसा बारीमा उब्जनी भएका तरकारी, फलफूल थोरै मात्रामा भए पनि उनीहरु बाँडीचुँडी खान्थे तर कुनै कारणवश उनीहरु त्यो घर अरुलाई बेचेर अन्तै गए ।केही दिनपछि नयाँ मानिसहरुले त्यो घरको मर्मत गरेर रङरोगन गरेपछि नयाँ छिमेकी बस्न थालेको १५–२० दिन भएको थियो ।
‘त्यो घरमा बस्ने श्रीमान्–श्रीमतीले पनि हजुरहरु जस्तै जागिर खाँदा रहेछन् । छोराछोरी सबै विदेशमा पढ्न गएका छन् अरे । धनी रहेछन् । गाडी पनि छ’, शर्मिलाले सूचना ल्याएकी थिई मुग्धाको घरमा।
‘यो दिदीलाई त टोलको सबैघरको कुरो थाहा हुन्छ । होइन मम्मी ?शर्मिलाको कुरो सुनेर सुस्मिताले हाँस्दै आफ्नी ममीसँग भनेकी थिई ।
त्यसपछिका दिनहरुमा चाहिँ घर बसेको बेला भित्र बाहिर गर्नु पर्दा साँच्चै नै बढो असहज महसुस हुन लागेको थियो मुग्धालाई । ‘कस्तो मोरो रहेछ, बार्दलीमा त निस्कनै भएन, जति बेला पनि यतैतिर आँखा ओछ्याएर उभिएको हुन्छ’ युवकको एकोहोरो हेराइबाट आजित भएकी मुग्धाले दिग्ग्दार मान्द सोचिन् ।
‘ए छोरी ! तिमी बार्दलमिा धेरै ननिस्किनू है ! बार्दलीमा बसेर पढ्नु पनि पर्दैन । घरभित्र बसेर पढ्नू’ एकदिन मुग्धाले छोरीसँग भनेकी हुन्छिन् ।
‘किन मम्मी किन बार्दलीमा बसेर नपढ्ने ?’ सहजस्वरमा सोधेकी थिई सुस्मिताले ।
‘किन सोध्नु प¥यो दशवटा कुरा ? भित्रै बसेर पढे त भै गो नि.. ! बार्दलीमै बसेर पढ्न पर्छ ?’ एकाएक उत्तेजित भएर बोलेकी थिइन मुग्धा ।
‘ल...... मम्मी त यसै रिसाउनु भयो । मैले त किन बार्दलीमा नबस्नु भन्नु भएको भनेर सोधेकी मात्र त हुँ नि...!’ अँध्यारो अनुहार लाएर सुस्तरी भनेकी थिई सुस्मिताले ।
‘होइन, होइन म तँसँग रिसाएकी होइन । त्यो छिमेकीको बार्दलीमा जहिल्यै एउटा केटो उभिएर हाम्रै घरतिर आँखा गाडेको हुन्छ । मलाई त त्यस्तो बानी मनै पर्दैन । त्यै भएर भनेको’ मुग्धाले भनेकी हुन्छिन् ।
‘ए...साँच्चै हो ? खोइ हेरौं त म पनि’ भन्दै जुरुक्क उठेर बार्दलीमा जान तम्सेकी हुन्छे सुस्मिता ।
‘लौ हेर न, कस्ती उत्ताउली भएकी । मैले न जा भनेपछि चुप लागेर बस् आफ्नो ठाउँमा’ मुग्धाले अलि कठोर स्वरमा छोरीलाई हप्काएकी हुन्छिन् ।
हप्ता दिन जति हुन लागेको थियो त्यो अपरिचित युवकको अस्वभाविक र उदण्ड स्वभावको कारणले मुग्धाको मनमा त्यो युवकप्रति ज्यादै नै रोष उत्पन्न भएको थियो ।
‘के म यो विषयमा शिवम्सँग कुरा गरुँ ? के भनुँ म उनलाई ? कतै शिवम्ले मेरो कुरोलाई त्यसै हाँसोमा उडाइदिने त होइनन्........? यो अडचालिस वर्षे उमेरमा मलाई केटोले हेर्यो भनेर कसरी पोल लाउने ? के गरौं .......?उहँ, सहाउँदैन मलाई यस्तो कुरो गर्न’ उनी आफ्नै मनसँग तर्क गरिन् ।
‘मम्मी ! म एउटा कुरो भन्छु है त । नरिसाउनु नि...!’एक दिन बेलुकापख घरमा मुग्धा र सुस्मिता मात्र भएको बेला सुस्मिताले आफ्नो ओठको कुनाबाट अलि–अलि मुस्कान फुस्काउँन खोज्दै भनेकी थिई ।
‘रिसाउँदिन–रिसाउँदिन भन्न के कुरो हो ?’ उत्सुकतापूर्वक प्रश्न गरेकी थिइन् मुग्धाले छोरीसँग ।
‘त्यो केटो छ नि....... बार्दलीमा उभिने..... त्यसले के.....!’ भन्दा भन्दै सुस्मिताले आफूले भन्दै गरेको कुरोलाई बीचैमा रोकेकी थिई ।
‘भन न् भन्या कुरो खालेर ...!’ मुग्धाले दिग्दार मान्दै भनेकी थिइन् ।
‘ल, ल, भन्छु । मैले आफैले टेष्ट गरेर के पत्तो लगाएँ भने नि, त्यो केटोले मलाई होईन तपाईलाई पो हेरिरहँदो रहेछ । मलाई पक्का थाहा भयो ।’ कुरो जति सबै बेगपूर्वक भनेपछि मुग्धाको अनुहारमा हेरेर चुप लागेकी थिई सुस्मिता ।
‘के भन्छे यो केटी...यस्तो कुरो पनि हुन्छ ? मलाई किन हेरोस् उसले ?मनमनै छोरीले भनेको कुरोलाई समर्थन गरेकी भएता पनि बहिरी तौरमा जति सक्दो शान्त र स्थिर स्वरमा बोलेकी थिइन मुग्धा ।
‘हो के ! मैले भनेको कुरो एकदमै सही हो । त्यसले जतिखेर पनि तपाईलाई हेरिरहेको हुन्छ’, दृढतापूर्वक भनेकीथिई सुस्मिताले ।
‘तैले कसरी थाहा पाइस भन त ?’ मु्ग्धाको प्रश्न ।
‘दुई दिन भइसक्यो मैले लुकेर उसलाई हेर्न लागेको । जब तपाईं कुनै कामले भित्र बाहिर गर्नुहुन्छ तब उ त्यहीं बार्दलीमा उभिएर तपाईलाई हेरिरहन्छ तर जब मलाई देख्छ तब तुरुन्तै घरभित्र जान्छ । नपत्याए तपाईंले पनि म बाहिर बार्दलीमा गएको बेला त्यो केटोले कसो गर्दो रहेछ हेर्नोस त !’ ढुक्क संग बोलेकी थिइ सुस्मिता ।
छोरीको कुरो सुनेर मुग्धा केहीबेर चुप लागिन् र फेरि भनिन्, ‘भो छोडि दे यस्ता वाहियात कुरा ! कसैकसैको स्वभाव नै त्यस्तो हुन्छ । हामीले त्यस्तो कुरामा ध्यान दिनुहुन्न ।’
‘म यो कुरो दादालाई भनुँ ? दादाले त यो कुरो थाहा पाउनु भयो भने त त्यहीं गएर ठिक पार्नुहुन्छ त्यसलाई’, अलि उत्तेजित हुँदै बोलेकी थिइ सुस्मिता ।
‘पर्दैन.........! पर्दैन भन्नु । त्यसको रिस ठूलो छ । गएर हात हालाहाल गर्यो भने ठिक हुँदैन । फेरि यस्तो कुराअरूले थाहा पाए भने के भन्लान् ?’ तटस्थ भएर भनेकी थिइन् मुग्धा ।
त्यो युवक प्रायः दिनहुँ जसो छिमेकीको बार्दलीमा उभिएर मुग्धालाई हेर्न लागेको पनि धेरै दिन भइसकेको थियो ।
‘हत्तेरिका.............! बार्दलीमा त निस्कनै नहुने भयो । कस्तो निर्लज्ज केटो रहेछ । अब त भित्र बाहिर गर्दा पनि शरीरमा उसैको आँखा टाँसिएको जस्तो लाग्न थाल्यो । के गरुँ?’युवकको एकोहोरो हेराईबाट हैरान भएकी मुग्धा मनमा कुरा खेलाउँथिन् ।
एक दिन मुग्धा कलेजबाट अलि चाँडै घर फर्केकी थिइन् । कपडा फेरेर एक कप कफी बनाएर, लिएर उनी बैठक कोठामा गइन् । अनायसै उनको आँखा छिमेकीको बार्दलीमा पुग्यो । त्यो युवक त्यहाँ देखिएन । ‘थ्याङस गड ! आज चाहिँ यहाँ छैन’, मुक्तिको सास फेर्दै मुग्धाले सोचिन् ।
त्यसपछि उनले बार्दलीपट्टिको ढोका खोलिन् र कफी हातमा लिएर बार्दलीमा गइन् । मुग्धालाई आफ्नो घरको बार्दलीमा बसेर पत्रपत्रिका पढ्नु, कफी पिउनु अनि त्यहीं बसेर परिवारका सदस्यहरुसँग यताउताका कुरा गरेर बस्नु बडो आनन्द आउँछ । त्यसैले पनि होला उनलाई घरको यो बार्दली अत्यन्त प्रिय लाग्छ । केही दिन यतादेखि भने उनको त्यो प्रिय बार्दली उनीबाट खोसिएको जस्तो अनुभूत गरेकी थिइन् ।
‘आज के भयो उसलाई.......? कतै गयो कि......?’’ त्यस अपरिचित युवकको अनुपस्थितिले प्रश्न उब्जाएको थियो मुग्धाको मनमा ।
सोचाईमा तल्लीन मुग्धाको दृष्टि केही बेरपछि अचानक फेरि बार्दलीमा पुगेको थियो । त्यो युवक त कतिखेर आएर सदाको झैं निर्मिमेष दृष्टिले उनैलाई हेरिरहेको थियो ।
अब भने मुग्धाले जानीबुझी सोझै उसको आँखामा हेरिन् । यसपटकभने त्यो युवक पहलिोपटक उनको आँखामा हेरेर मुसुक्क मुस्कुराएको थियो ।
युवकको अप्रत्याशित मुस्कानले मुग्धाको शरीरमा सुस्तसँग तरङ्ग पैदा हुन्छ ।
वर्षैदेखि आफ्नो ग्राहस्थ्य जीवनमा सन्तुष्टीकासाथ रमाइरहेकी मुग्धाको जीवनमा अचानक त्यो अपरिचित युवकको आगमनले एउटा नौलो प्रकारको रोमाञ्चक अनुभूति दियो ।
त्यसपछिका दिनहरुमा मुग्धाले आफ्नो पहिरन र श्रृंगारमा अलि बढी ध्यान पु¥याउन लागेको स्पष्टसँग देखिन्थ्यो ।
‘तपाईलाई त दुई सन्तानकी आमा भन्न पनि सुहाउँदैन । के छ यसको रहस्य ? कसरी मेन्टन गरेर राख्नु भएको छ आफ्नो शरीरहलाई ?’कलेजका सहकर्मी महिलाहरुसोध्दथे मुग्धासँग ।
मुग्धालाई लाग्दछ, त्यो युवक अवश्य पनि उनको दैहिक लालित्यको आकर्षणमा आकर्षित भएर नै त्यो सब हाउभाउ प्रदर्शित गरिरहेको छ ।
हिजआज युवकको एकोहोरो हेराईले मुग्धाको मनमा पहिलेकोजस्तोकुण्ठा उत्पन्न हुँदैन । बरु उसको कोमल दृष्टिलाई सम्झनासाथमन त्यसैत्यसै पुलकित हुन्छ ।
जति–जति दिनहरु बितिरहेका थिए उति–उति नै त्यो अल्लारे स्वभाव भएको युवकको मायालु हेराइले मुग्धाको मनमा रोमाञ्चकताथप्दै थियो ।
‘उफ........! यो के भइरहेको छ मलाई ? किन मेरो मन यसरी बरालिदै छ ? म कतै दिशाहीन त भएकी छैनँ ? उहँ मैले आफूलाई र आफ्नो अनियन्त्रित भएको मनलाई सम्हाल्नै पर्छ’, उनी बारम्बार आफूलाई सचेत गराउने प्रयास गर्थिन् ।
एकदिन अचानक त्यो युवक बार्दलीमा देखिएन ।
‘कतै गएको होला..’,एक दुई दिन युवकलाई बार्दलीमा नदेख्दा मुग्धाले साचेकी थिइन् ।त्यसपछिका दिनहरुमा पनि त्यो युवक देखिएन । ‘आखिरऊ को थियो ? काहाँ गयो ?’ यस्ता अनेक प्रकारका प्रश्नले मुग्धाको हृदयलाई डस्न थालेको थियो ।
वर्षौदेखि एकैनासको जीवनयापन गरिरहेकी मुग्धाको जीवनमा त्यो अपरिचित युवकको अप्रत्यासित आगमनले नजानिँदो किसिमले एकप्रकारको स्पन्दन उत्पन्न गरेको थियो । उसको आकस्मिक प्रत्यागमनले पनि उनको जीवनमा मधुरो किसिमले भएको भए पनि केही नैराश्य र रित्तोपन ल्याएको थियो ।
प्रायशः घर भित्र–बाहिर गर्ने क्रममा मुग्धाको दृष्टि छिमेकीको रित्तो बार्दलीमा पुग्दा अनायसै अपरिचित युवकको सम्झना हुन्थ्यो ।
एक दिनको कुरो हो ।बिदाको दिन परेको हुनाले मुग्धाले अलि विशेष प्रकारको ब्यञ्जन तयार पारेकी थिइन् ।
‘आहा ! आज त कति थोक पकाउनु भएछ मम्मीेले त........!’ टेवलमा राखिदिएका ब्यञ्जनहरु हेर्दै भनेकी थिई सुस्मिताले
‘सुशान्त, कति मोबाइल चलाइरहेको ?’ खाना खान भनी डाइनिङ टेबलको छेउमा राखिएको कुर्सीमा बसिसकेर पनि हातमा भएको मोबाइल चलाइरहेको छोरोलाई हेरेर भनेका थिए शिवमले ।
‘ए साँच्ची मम्मी ! मैले त तपाईंलाई एउटा कुरो भन्नै बिर्सिएको रहेछु ।’ मुग्धाले खाना पस्किदैं गरेको बेला केही सम्झेझै गरेर बोलेको थियो सुशान्त ।
‘क कुरो ?’ सहज स्वरमा सोधेकी थिइन् मुग्धाले।
‘हाम्रोे नयाँ छिमेकीको घरमा अस्ति भर्खरै एउटो नयाँ केटो आएको थियो नि, देख्नुभएको थियो तपाइले ?’ सुशान्तले प्रश्न गरेका थियो आफ्नी मम्मीसँग ।
‘हँ ?अ भन्न ।’ छोरोको प्रश्नले केही हडबडाएकी जस्ती भएकी मुग्धाको मुखबाट त्यति मात्र निस्किएको थियो ।
‘हो, हो ।मैले देखेकी थिएँ । त्यो केटो बार्दलीमा उभिइरहन्थ्यो, होइन ?’ दाजु र आमाले अरु बोल्न नभ्याउँदै बीचमै बोलेकी थिई सुस्मिता ।
‘अँ भत्र त, के भन्न खोजेको छस् ।’ शिवम्ले छोरोतिर हेरेर भनेका थिए ।
‘हो............त्यो त उ..........पर, हाम्रो टोलको पुछारमा घर भएको बस्नेत अंकल हुनुहुन्छ नि? हो त्यै अंकलको छोरा दीपक दाई क्यात ? म भन्दा सिनियर हुनुहुन्छ नि....? हामी खेल्न जाने फुटसलमा पनि आउनु हुन्छ । हो त्यै दीपक दाइसँग त्यो बार्दलीमा उभिने केटाको दोस्ती भएको रहेछ क्या । अहिले त त्यो केटो जापान फर्किसक्यो हो?त्यस्ले दीपक दाइसँग हाम्रो मम्मीको बारेमा कुरा गरेको रहेछ ।’ त्यति भनेपछि सुशान्त केही क्षणको लागि अडिएको थियो ।
‘यसको चाहिँ यै बानी नराम्रो ।जुन कुरा गर्नु प¥यो भने पनि लामो मूमिका बाँध्न पर्ने । जुन कुरो भन्नु छ खुलस्त गरेर छोटकरीमा भन् न । बेकारमा जस्तो कुरालाई पनि जेरी घुमाएको जस्तो घुमाएको घुमाएकै गर्छ ।’छोरोले कुरा लम्बाएर बोलेकोमा रिसाउँदै भनेका थिए शिबम्ले ।
यता मुग्धालाई भने त्यो युवकको प्रसङ्गगमा आफू पनि जोडिन पुगेकोमो मनमा अनेक खाले आशंकाले घेर्न थालेको थियो ।
‘उसले जापान फर्कनुअघि दीपक दाइसँग भनेको थियो अरे, उसलाई त हाम्रो मम्मी ठ्याक्कै उसको आफ्नी मम्मी जस्तै लाग्यो अरे । मम्मीको उमेर, जिउडाल, रंगरुप सबै उसको मम्मीसँग मिलछ अरे । तर, बिचरा उसको मम्मी त हाम्रो मम्मीकै उमेर हुँदा क्यान्सर भएर मरेकी रहिछन्’, त्यति भनेपछि सुशान्तले आफनो भागको खाना खान लाग्छ ।
‘ए बिचरो...!’शिबम्को मुखबाट संवेदनापूर्ण ध्वनी निस्किएको थियो ।
छोराको कुरा सुन्नासाथ क्षणभरको निम्ति जड बनेकी मुग्धाको शरीरबाट हुँदै गएको अदृश्य कम्प उनको हृदयको गहिराइसम्म पुगेको थियो ।
त्यसपछि मुग्धा र सुस्मिताले अर्थपूर्ण दृष्टिले एकअर्कालाई हेरे ।