Successfully Copied

लकडाउनमा बढ्यो सूचना प्रविधिको प्रयोग

कलाकारहरूले सामाजिक सञ्जाल मार्फत नै गाना बजाना सुनाए, कवि लेखकले आ–आफ्ना लेख रचना पोखे, कृषकले फलफूल बारी बगैंचा देखाए भने गृहणीले मिष्टाङ्ग पकवान पस्के । जोसंग जे प्रतिभा छ त्यो देखाए । यस्तै रमाईलो गर्नेहरूले टिटटक बनाए, जोक्स सुनाए, मजाक बनाए, अरूलाई पठाएर

बिश्व कोरोना भाईरस संक्रमणबाट आक्रान्त रहेको अवस्थामा सूचना प्रविधिले महत्वपूर्ण भूमिका निभाई रहेको छ । बिहान उठे देखि बेलुका नसुते सम्म विश्वमा कोरोनाको समाचार सुन्न मानिसहरू आतुर रहि रहेका छन् । प्रत्येकले रेडियो, टिभि, ईन्टरनेट, मोबाईल अनेकन बिभिन्न सूचना प्रविधिका स्रोत साधनहरू प्रयोग गरि रहेका छन् । हस्पिटल, घर, कार्यालय र आ–आफ्नै कार्यस्थलमा यहि सूचना प्रविधिका साधनहरुले नै काम गरिरहेको छ । 

कोरोना भाईरसको माहामारी चीनको वुहानबाट शुरू भएको कुरा सूचना प्रविधिकै माध्यमवाट संसारभर जानकारी भयो । त्यस पछि यूरोप अमेरिका, अरब राष्ट्र हुँदै एशिया तिर फैलदैछ भन्ने सूचना प्रत्येक देशका दुरदराजसम्म प्रविधिकै कारण थाहा हुँदै गयो । रोग कहाँ कसरी बढ्दो छ, कसरी यसको समाधान गर्न सकिन्छ भन्ने कुराको जानकारी विश्व स्वास्थ्य संगठनले सूचना प्रविधिकै प्रयोग गरेर जानकारी दिदैं आएको छ । यसै सूचनालाई पछ्याउदै हरेक देशले आ–आफ्नो तवरले महामारी फैलिन नदिन बिभिन्न उपायहरू अपनाएका छन् । 

साबुन पानीले हात धुने, स्यानिटाईजर प्रयोग गर्ने, मास्क लगाउने, सामाजिक दुरी कायम राख्ने, लक्षणको आधारमा विरामी पत्ता लगाउने, रोग लागेको छ–छैन जाँच गर्ने, सही उपचार गर्ने र रोग एकबाट अर्कोमा छिट्टै फैलिन नपाओस भनेर लकडाउन बिधी अपनाउने जस्ता कार्यहरू संसारभर उस्तै तवरले लागू गर्न सूचना प्रविधिकै विभिन्न माध्यहरुवाट सम्भव भएको हो । सय बर्ष अघि फैलिएको यस्तै किसिमको महामारीको बेला पनि यस्तै तवरले सावधानी अपनाईएको थियो भन्ने कुरा हामी गुगल गरेर थाहा पाउन सक्छौं ।

देश चलाउने सरकार देखि स्वास्थकर्मी, प्राविधिक, कृषक, प्रशासन, सेना, प्रहरी, शिक्षक, कलाकार, गृहणी, खेलाडी, ब्यबसायी जस्ता अनेकन कार्यस्थलमा काममा खटिने प्रत्येक ब्यक्तिको हात हातमा सूचना आदान प्रदान गर्न मोवाईल नभै नहुने भएको छ । यो महामारीको अवधिमा मोवाइल फोनको अत्याधिक प्रयोग भएको तथ्याङ्कले पनि देखाउछ । यो माहामारीको अवस्थामा सामाजिक दुरी कायम गर्न जरूरी भएकोले पनि सूचना आदान प्रदान गर्न यि सूचना प्राविधिका साधनहरूले मुख्य सहयोगीको भूमिका खेलेको थियो । 

स्वाथ्यकर्मीहरू बिरामीको सम्पर्कमा सकेसम्म कम अवधी रहनको लागि बिभिन्न यस्ता उपकरणहरू प्रयोगमा ल्याईएका छन् । सामान्य कोरोना बिरामीको ज्वोरो नाप्न र स्वास्थ्य अवस्थाको जानकारी फोन मार्फत नै गराउने कार्य, बिरामी कक्षमा मोनिटर स्क्रिन राखेर अनुगमन कक्षबाट विरामीको उपचार गर्ने, औषधी खुवाउने, खाना खाने समय बताउने जस्ता कार्यविधि बिभिन्न स्वास्थ्य संस्थाहरूले अपनाउदै आईरहेका छन् । 

बिकसित देशतिरको स्वास्थ्य संस्थातिर स–साना रोबोटलाई बिरामी कक्षमा खाना पानी र औषधीहरू पठाउने गरेको हामीले विभिन्न संचारमाध्यमवाट देख्यौं । त्यस्तै सर्वत्र लकडाउन भएको अवस्थामा ड्रोनको प्रयोग गरेर औषधी र अन्य अत्यावश्यक सामानहरू समेत पठाएको थाहा पायौं क्यामेरा जडित ड्रोनको सहायताले कुनै ठाँउको वस्तुस्थिती बुझ्न समेत सहयोग मिलेको छ ।

बैंक बित्तिय संस्थाहरूमा सूचना प्रविधि बिनाको कार्य सेवा अबको समयमा कल्पना पनि गर्न सकिदैन । पैसाको कारोवार इन्टरनेट र मोबाईल मार्फत सजिलै भईरहेको छ ।  बैक, एटियम बुथ, ग्राहकको मोवाईल वा कम्प्यूटर, ल्यापटप, डेबिड क्रेडिट कार्डहरू, पासवर्ड, पिनकोड जस्ता अनेकन सुरक्षाका विधी अपनाई लिंक गराईएको छ । 

विश्वका ठूला अनलाइन ब्यापारिक संस्थाहरू जस्तै आमाजोन, अलिबाबा, गुगलको ब्यापार यो लकडाउनमा अझ बढी प्रभावकारी भयो । हाम्रै देशमा पनि लकडाउनमा अनलाईन बजार सेवाले धेरैको जिवन सहज बनाईदियो । 

अबका दिनहरूमा बिकसित देशहरूमा जस्तै प्रत्येक देशमा सूचना प्रविधिको महत्व अझ बढ्दै जानेछ । लकडाउनको समयमा इन्टरनेटमा  पहुँच भएकाहरूले आ–आफ्ना परिवारका सदस्यहरूसंग बिभिन्न सामाजिक संजाल मेसेन्जर, फेसबुक, ह्वाट्सएप, स्काईप, ईन्स्टाग्राम, जुम आदि बाट सम्पर्क, कुराकानी, भिडियो च्याट गरेर मनलाई हलुंगो बनाउन पाए । कतिले फोन बाटै भएपनि चित्त बुझाए । कति ले आ–आफ्ना कथा ब्यथा सुनाए । कतिले बिगतका पाना पल्टाएर देखाए । 

कलाकारहरूले सामाजिक सञ्जाल मार्फत नै गाना बजाना सुनाए, कवि लेखकले आ–आफ्ना लेख रचना पोखे, कृषकले फलफूल बारी बगैंचा देखाए भने गृहणीले मिष्टाङ्ग पकवान पस्के । जोसंग जे प्रतिभा छ त्यो देखाए । यस्तै रमाईलो गर्नेहरूले टिटटक बनाए, जोक्स सुनाए, मजाक बनाए, अरूलाई पठाएर भाइरल बनाए । 

लकडाउनकै समयमा बिश्वमा कतिले अनलाईन कोर्स चलाई रहेका छन्, विद्यार्थी पढिरहेका छन्, कतिको मिटिङ्ग सहज रूपमा नै चलिरहेछ, कोही आफुलाई मनपर्ने सिनेमा यूट्यूब र बिभिन्न अनलाईन माध्यममा हेरिरहेका छन् । चित्त नबुझ्नेहरू सामाजिक संजालबाटै आवाज बुलन्द गरिरहेका छन् । सरकार पनि बिभिन्न सूचना प्रविधिको माध्यमद्वारा समाचार प्रवाह गरिरहेको छ । 

लकडाउनको यो समयमा यसरी सूचना प्रविधिको भरपूर प्रयोग भएको छ । यो नहुने हो भने कति पागल सरी नै हुन्थे होलान् । देश चलिनै रहेको छ, संसार चलि नै रहेको छ । यसरी सूचना प्रविधीको प्रयोग गरी आ–आफ्नै जीवनलाई सहज ढङ्गले अगाडि बढाउन सकिने देखियो । आत्तिन पर्ने केही छैन् । बिस्तारै मोबाईल चलाएको जस्तै अनलाईनबाटै बिल तिर्ने, बैंकिङ कारोबार, किनमेल लगायत सबै काम सर्वसाधारणले पनि सजिलै गर्न सक्दछन् । अब सबै वर्गले यसमानै बानीपार्दै लैजानु उत्तम हुने देखिन्छ । यो क्षेत्र दिन प्रतिदिन सुरक्षित तबरले बिकास हुदै गईरहेको कारण अहिलेको युग, आवश्यक्ता भनेकै सूचना प्रविधि हो । 

(लेखिका ईलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेसन ईन्जिनियर हुन् ।)

 Image