महिला पनि बुद्धत्वमा उपलब्ध हुन सक्छन्  

  • बुद्ध जयन्ती बिशेष

डा. नम्रता पाण्डे

वैशाख २५, २०७७ प्रत्येक वर्षको बुद्ध पूर्णिमा अर्थात् बुद्ध जयन्ती नेपालमा धुमधामले मनाउने गरिन्छ । यसपटक कोरोना कहरको परिस्थितिले बाहिर सभा समारोह, भजन, कीर्तन र समूहमा ध्यान नहोला । लुम्बिनी लगायतका प्रख्यात बुद्ध क्षेत्रहरूमा मानिसको चहलपहल र भिडभाड हुनेछैन । त्यसैले घरभित्रै रहेर, बुद्धको महिमा व्यक्तिमा होइन व्यक्तिभित्र रहेको बुद्धत्व (बुद्ध तत्व) मा हुन्छ जसलाई के महिला, के पुरूष, के युवा, के बृद्ध सबैले बोध गर्न सक्छन् भन्ने अनुभूति दिलाउन पनि यसपटकको बुद्ध जयन्तीले मद्धत गर्ला । 

महिला अन्तर्मुखी स्वभावका हुनुको कारण सृष्टिको शुरुवाती देखि नै घरभित्रका कामकाज, परिवार, बालबच्चाको स्याहारसुसार, घरको व्यवस्थापनमा व्यस्त भए भने पुरूष स्वभाव बहिर्मुखी हुनाको कारण देश, विदेश, राज्य संचालन, राजनीति, जनता, धर्म, सम्प्रदाय, ध्यान, योग, परम्परा, रितिरिवाज सबैको व्यवस्थापन र तर्कसंगत भई बाहिरी संसार चलाउन पुरूष अगाडि परे । राजा, महाराजाको प्रसंग होस् या नेता, महानेता, धर्म गुरू, विद्वान, विदुषी, ऋषि र सन्तहरूको उदाहरणमा होस् या ध्यानी, योगी भनेर प्रचारप्रसार गर्नुमा पुरूषकै नाम अगाडि आउने गर्यो । यसको अर्थ यो थिएन कि महिलाले राज्य व्यवस्था चलाउन, राजनीतिमा सक्रिय रहेर आफ्नो योगदान दिन र धर्म सम्प्रदाय देखि लिएर ध्यान, ज्ञान, प्रज्ञा, योगमा समेत महिला सन्तहरू अगाडि नै थिए । 

बुद्धत्व अर्थात् चेतनाको उच्च स्थान जहाँ उपलब्ध हुन महिलालाई झनै सहज हुन्छ किनकी त्यो चेतनाको बोध गर्न अन्तर्मुखी स्वभावको हुनैपर्छ । आफ्नो अन्तरमनमा हेर्ने कला, आफैभित्र रमाउने, आफैमा स्थिर रहने र भित्रै घोत्लिने, भित्रैबाट सत्य र रहस्यको उजागर गर्न सक्ने व्यक्ति नै बुद्धत्वको नजिक पुगेको हुन्छ ।

त्यसैले ज्ञान र प्रज्ञाको आधारमा महिला र पुरूषलाई लैंगिकताको हिसाबले छुट्टयाउन सकिन्न । बुद्ध एउटा नाम हो जसलाई पुरूषको नाम भनेर जानिन्छ तर ज्ञान, प्रज्ञा, योग, ध्यान, आर्य सत्य, आर्य मार्ग यिनको कुनै लिङ्ग हुँदैन । यि त विशेषण हुन्, गुणवत्ता हुन्, चेतनाको उच्च शिखर हुन् । मानिसको सतही स्वभाव र चेतनाबाट माथि उठेर परमार्थ, परम चेतना र परम रहस्यलाई उजागर गर्ने आधार हुन् । आफ्नै प्रयासले आफ्ना मनभित्रका विकारहरूलाई त्यागी आफ्नो स्वभावमा रूपान्तरण हुनु बुद्धत्वमा उपलब्ध हुनु हो । बुद्धत्व महिलाको पनि गुणवत्ता हो, स्वभाव हो, परम चेतना हो जसमा महिलाहरू पनि सहजै उपलब्ध हुन सक्दछन् ।

सन्त अर्थात् शान्त, सन्यासी–जसमा त्याग गर्ने क्षमता छ । मुनि, गुरू अर्थात् ऋषिको अर्थ हो सज्जन, सत्यलाई जान्नेवाला, तन, मन र भित्रको ब्रम्हलाई देख्नेवाला भनेर जानिन्छ । साधु (साधना गर्नेवाला) जो निरन्तर आफ्ना कर्ममा साधना सरह अभ्यस्त रहन्छ । त्यसैले यो गुणवत्ता, यो परम ज्ञान महिला पुरूष सबैमा खुल्न सक्दछ । मिरा, गार्गी, राविया, विश्वआरा, अपाला, घोषा, लोपामुद्रा, मैत्रेयी, सिकता, रत्नावली, सीता, पार्वती लगायतका सन्त महिलाहरू पनि थिए जसको नाम धार्मिक पुराण, कथा, महात्म्यमा कमै उदाहरण भए होलान् तर यि सबै महिलाहरू ब्रह्मज्ञानी थिए । बुद्धको धर्म एउटा नैतिक शिक्षाको शसक्त माध्यम हो ।

जसमा जागृति (आफ्ना हरेक कर्म र मनको स्वभावप्रति जाग्नु, होश पूर्ण रहनु) ध्यान/विपश्यना (आफूलाई फर्केर हेर्नु, आफ्नो स्वभावमा स्थिर रहनु), प्राणायाम (प्राण–श्वासको आयाम, श्वासलाई प्रयोग गर्नु, लामो गहिरो श्वासमा आफ्नो जीवन्तता देख्नु), अहिंसा (कुनैपनि प्राणीलाई पनि मन, वचन, कर्म र व्यवहारद्वारा हिंसा नगर्नु, चित्त नदुखाउनु, चोट नपुर्‍याउनु), क्षमाशीलता, धन्यवादको भाव, खुसी हुने कला, धैर्यता, कृतज्ञता र बोध जस्ता नैतिक शिक्षालाई बुद्धले जोड दिनुभयो । यि सूत्रहरू महिला पुरूष दुबैलाई अत्यावश्यक छन् । यि कलाहरू, सूत्रहरू हामीले हाम्रो जीवनमा अपनाउन सक्यौं भने मात्र बुद्ध प्रतिको सच्चा सम्मान हुन सक्दछ । अन्यथा हामीले बुद्धको मूर्तिमा फूल, भेटि, नैवेद्य चढाएर मात्र उहाँका देशनालाई सार्थक पार्न सकिंदैन ।

भगवान बुद्धले दिनुभएको अर्को महत्वपूर्ण वास्तविक सत्यताको सूत्र हो– हिलो माथिको कमल बन । बुद्धको ध्यान अर्थात् आफ्नो स्वभाव जान्नलाई हिलो माथिको कमल बन्नैपर्छ । कमल हिलोमा उम्रन्छ तर फक्रिदा ऊ हिलो माथि हुन्छ । दैनिक जीवनको भाग–दौडले बहिर्मुखी भएको चित्तलाई आफ्नो स्व–केन्द्रमा फर्काउन पनि हिलो माथिको कमल नै बन्न सक्नुपर्दछ ।

ध्यान हाम्रो सहज आन्तरिक स्थिति हो जहाँ शरीर, मन र ह्दय एक गहन विश्रामपूर्ण, सरल र स्वभाविक अवस्थामा रहन्छन् । ध्यानस्थ अवस्थामा हामी आफैभित्र लुकेको अनन्त शान्ति, ज्ञान, सत्य, प्रेम, सम्पन्नता, सौन्दर्य र रहस्यमा डुब्ने र एकाकार भई स्वस्थ, सफल र मस्त जीवन जिउने सूत्र प्राप्त गर्दछौं । यो नै हिलो माथिको कमल बनेर रहने कलाको माध्यम हो । मानिसको सोचाईको शक्ति अजिव हुन्छ । धन चाहेको हो या पद, सुख शान्ति चाहेको हो या जे पनि चाहेको हुन्छ व्यक्तिले त्यो सजिलै प्राप्त गर्न सक्छ । आफ्ना विचारहरुलाई जे निर्देशन दियो त्यो पुरा हुन्छ ।

सबै कर्मको फल हाम्रै विचारका परिणाम हुन् भने नराम्रो कर्मको फल पनि नराम्रा विचारका फल हुन् । सुनेको भरमा यि कुराहरुको बोध हुदैन, हामीले आफै आर्जन गर्नुपर्छ । आर्जन गर्नको लागि सधै जागृत भएर के गरिरहेका छौँ ? के को लागि गरिरहेका छौँ ? र कहाँ गैरहेका छौँ ? थाहा पाउनु जरूरी छ ।  

हामी कहाँ दौडिरहेका छौँ थाहा छैन भने हामी कहिँ पनि गैरहेका छैनौँ । एउटा हिन्दी फिल्ममा सम्बाद थियो– ‘मैले मान्छे ओलम्पिक या सेनामा भर्ति हुदा दौडेको देखेको थिएँ तर तिमी सधै केको लागि दौडिरहेका छौ ?’ के हामी पनि यस्तै गन्तब्य विनाको दौड दौडिरहेका त छैनौँ ? जानेर पनि व्यवहारमा लागू हुदैन भने त्यो जानेको हुदैन । हामीले जानेका र गर्न सक्ने कुराहरु मध्ये सबैप्रति सकारात्मक सोच राख्ने, सबैको भलो चिताउने, दोस्रोले राम्रो देख्दैन भने पनि उसलाई माफी दिने र उसको नकारात्मकतासँग सम्बन्ध नै नराख्ने, उपेक्षा गरिदिने अर्थात् अनावश्यक कुरासँग अमैत्री गरिदिने ।

बितेका कुरा बिती सके, त्यसबाट शिक्षा मात्र ग्रहण गर्ने हो, त्यसमै अल्झेर काम छैन । अनि भविष्य, आउनेवाला समय कहिले के भएर आउछ त्यो पनि अनिश्चित छ । त्यसैले अहिलेको क्षण, वर्तमान हाम्रो हातमा छ यहीं नै खुसी पूर्वक जिउने र अरुलाई पनि खुसी बाँड्न सक्ने अवसर हो ।

जीवन बनाउन होइन जिएर हेर्न जान्नेले मात्र हिलो माथिको कमल बनेर देखाउन सक्छ । सुख र समृद्धि कहिँ कुनै वस्तुमा छैन मानिसले गरेका हरेक कर्ममा सुख र समृद्धि लुकेका छन् । यो बोध महिलाले पनि गर्न सक्दछन् । महिलाको जीवनमा पनि सुख, शान्ति, ध्यान, प्रज्ञा आवश्यक छ । महिलापनि बुद्धत्वमा उपलब्ध हुन सक्दछन् । बुद्धलाई भन्दापनि बुद्धत्वलाई आफ्नो स्वभाव बनाउन निरन्तर अभ्यासरत बनौँ । 

(लेखक, ध्यान, योग प्रशिक्षक एवं स्वतन्त्र सामाजिक परामर्शदाता हुन्)

email:pranamu4@gmail.com

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>