कोभिड–१९ को प्रभावमा महिला

यमुना घले

वैशाख १८, २०७७  

 

कुनै पनि विपत्ति र असहज परिस्थितिहरुमा महिलालाई फरक तरिकाले असर पर्छ भन्ने कुरा हालको कोभिड–१९ ले पनि प्रष्ट पारेको छ । महिलालाई परेको बहुआयामिक र भिन्न तरिकाका प्रभावहरुको समयमा नै मिहिन र सही तवरले विश्लेषण गर्न सके नकारात्मक असरहरुलाई न्यूनिकरण गर्न, राम्रा पक्षलाई उजागर गर्न र विभिन्न चुनौतीहरुलाई सारभुत रुपमा सम्बोधन गर्न पनि सहयोगीसिद्ध हुन सक्दछ । युएन वुमनका अनुसार महिलाहरु आर्थिक र सामाजिक रुपले विभेदित भएका र प्राय: अनौपचारिक क्षेत्रमा कार्यरत भएका कारण पनि उनीहरुलाई फरक प्रकारले असर पर्नुका साथै बढी जोखिममा पर्दछन् । कोभिड र महिलासँग सम्बद्ध केही प्रमुख पक्षलाई यहाँ छोटकरीमा समेटिएको छ ।

महिला र खाद्य सुरक्षा

परिवारका सबै सदस्य घरमा हँुदा भान्छाको खर्च बढ्ने, बन्दाबन्दीको कारण सबै खाद्य सामग्री सर्वसुलभ तरिकाले नपाईने र बजारमा आपूर्ति कम भएर भाउ बढ्ने हुँदा भान्छाको खर्च बढ्छ । त्यसमाथि पनि दैनिक श्रम गरेर गुजारा चलाउनुपर्ने अवस्था भएका परिवारमा त अझ रोजगारीका बाटोहरु बन्द वा कटौती हुँदा अझ बढी समस्या आइपर्छ । प्राय: भान्छा र खाद्य व्यवस्थापन गर्ने भुमिकामा रहेका महिलाले फरक र चुस्त रुपमा भुमिका निभाउनुपर्ने हुन्छ । 

महिला र कृषि

नेपालको कृषिमा ६६ प्रतिशत जनसंख्या संलग्न भएकोमा करीब ७० प्रतिशत कृषि श्रमिक महिला रहेका छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार चीनको वुहानमा भएको सबै संक्रमितमध्ये २१.६ प्रतिशत कृषक तथा श्रमिक भएको तथ्यबाट पनि पुष्टि हुन्छ कि महिलाहरु कोरोना भाइरसबाट संक्रमण हुने संभावना बढी छ । यसका साथै बन्दाबन्दीका कारण खेतबारीमा काम गर्ने श्रमिकको अभाव भएकाले कृषक महिलाको काम बढ्नुका साथै घर र खेती गर्दा दुवैतिर आवश्यक मात्रामा समय दिन नसक्ने अवस्था आउँछ ।

आर्थिक सशक्तिकरणका लागि महिलाहरुको उद्यमशीलतातर्फ चासो बढ्दो छ । उद्यमशीलतामध्ये पनि अधिकांश महिलाहरुले घर र परिवार व्यवस्थापन गर्न सहज हुने, कम पूँजी लगानी हुने, आफूले घर व्यवहारबाट सिक्दै आएको क्षेत्रमा छिटो सफल हुने संभावना देखेको हुँदा कृषि र खाद्यमा आधारित उद्यमशीलता, घरबासमा आधारित पर्यटन, सौन्दर्य क्षेत्र र हस्तकलाका क्षेत्रमा बढी संलग्नता देखाएका छन् । कोरोनाको संक्रमणपछि महिलामा परेका मुख्य असरहरु निम्न छन् :– 

– पहिला समूह मिलेर थोकमा सामान पठाउने गरेकोमा हाल थोक पसलहरु बन्द हँुदा आफ्ना कृषि उत्पादन एक्ला एक्लै पठाउन नसकिएकाले खेर फाल्नु परेको छ । 

– विभिन्न प्रविधिहरुसँग साक्षात्कार हुन नसक्दा अनलाइन सेवा पुर्‍याउन नसकिएकोले अभावको समयमा हुने मागको चापको फाइदा उठाएर बढीभन्दा बढी उपभोक्तासँग जोडिन पाउने अवसर पनि गुमेको छ ।  

–अधिकांश महिला कृषकहरुसँग आफ्नै सवारी साधन नभएको र पासको समस्या भएकाले आफ्नो उत्पादन उपभोक्तासम्म पुऱ्याउन सकेका छैनन् । 

– महिलाहरुको उद्यम प्राय: खाद्य वस्तुमा आधारित हुँदा सामानको म्याद नाघेर खेर जाने संभावना बढी भएको छ । 

– व्यावसायिकताका लागि छानिएको बाली जस्तै फूल अत्याधिक खेर गएकाले अब सोही बाली लगाउने कि अन्य बाली लगाउने भन्नेबारे पिरोलिएको आदि जस्ता छन् ।

महिला र रोजगारी

प्राय: महिलाहरु अनौपचारिक क्षेत्र जस्तै कृषि, होटल, रेष्टुराँहरु र अन्य सेवामूलक क्षेत्रमा संलग्न भएका र बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाएका छन् । यस्ता अनौपचारिक क्षेत्रहरुको प्रकृति अनुसार फेरि उनीहरुले नै काम पाउने सुनिश्चितता नहुने हुनाले रोजगारी गुम्ने संभावना तुलनात्मक हिसाबले बढी नै हुने गर्छ । यसका साथै उनीहरुमा भएको सीप, अनुभव र दक्षता अनुसार तुरुन्तै बजारले चाहेको नयाँ खालको काममा जोडिन त्यति सहज हुँदैन ।

महिला र सेवामूलक काम

सबै परिवार घरमा नै भएको अवस्थामा काम बढ्छ नै । यस्तो बेलामा कामको बोझ परिवारका सदस्यहरुले मिलेर उठाएका छन् कि छैनन् भन्नेले बढी महत्व राख्दछ । यसका साथै घरायसी सहयोगीहरुको अनुपस्थितिमा थप सेवामूलक कामहरु समेत महिलामा थोपरिने हुनाले अझ बढी समय र लगानी गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा घरका सबैले काम नसघाउने प्रवृतिले गर्दा महिलाहरुले आफ्ना लागि समय पाउन नसकेको समाचार पनि आइरहेका छन् ।

महिला र स्वास्थ्य

विश्वव्यापी रुपमा स्वास्थ्य क्षेत्रमा कार्यरतमध्ये ६७ प्रतिशत महिला छन् । यसले उनीहरु संक्रमणका हिसाबले पनि जोखिममा छन् भन्ने इंगित गर्छ । यसका साथै गर्भवती र अन्य महिलासम्बन्धी स्वास्थ्य समस्या भएकाहरुको नियमित स्वास्थ्य सेवामा सीमित पहुँच हुँदा आउन सक्ने समस्या, स्तनपान गराउने र पैदलै घर हिडेका महिला श्रमिकको समस्या त अझ विकराल नै भएको देखियो । 

महिला र हिंसा

विभिन्न अध्ययनअनुसार बन्दाबन्दीको एक महिनाका अवधिमा घरायसी हिंसा ६० प्रतिशतले बढेको देखियो । बन्दाबन्दीको समयमा हिंसामा परेको महिलाहरुलाई सेवा लिन समस्या नहोस् भनेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि सेवा लिने व्यवस्था मिलाएको पाइन्छ । तर यस्ता सेवाबाट कसरी लाभ लिन सकिन्छ, त्यसबारे सहजीकरण गर्न आवश्यक देखिन्छ ।

महिला र राहत

स्वास्थ्य नै प्रमुख चुनौती भएको अवस्थामा राहतका कार्यक्रमहरु स्वभावत: आधारभूत कुराहरुमा केन्द्रित हुनु स्वभाविक जस्तो लाग्दछ । तथापि विपन्न परिवारलाई खाद्य राहत दिने क्रममा सुत्केरी र दूधे बालबालिकामा ध्यान नपुगेको तथ्य बाहिर आइरहेका छन् । त्यसका साथै महिलाहरुले समयमा जानकारी पाउन गाह्रो भएको, भीडभाडमा गएर राहत लिन नसक्ने अवस्था आएको जस्ता पक्षहरुलाई पनि सूक्ष्म रुपमा हेरिनुपर्दछ । 

महिला र मनोविज्ञान

समग्रतामा विविध कारणले महिलामा मनोवैज्ञानिक असर परेको देखिन्छ । घर परिवार व्यवस्थापन, अनावश्यक दवाब, आगामी दिनका लागि उद्यमशीलताको लागि प्रष्ट खाका नहुनु, अचल सम्पत्ति नहुँदाको तनाव, आदिले गर्दा फेरि उद्यमशीलतातिर उठ्न सकिन्छ कि सकिँदैन वा तुरुन्तै अब व्यवसाय कसरी उकास्ने भन्ने तर्फ कमै ध्यान गएका महिला उद्यमीहरुको अनुभव छ । यस्तो अवस्थामा समग्रमा मनोवैज्ञानिक स्वास्थ्यमा पर्ने असरको विशेष निगरानी राख्नुपर्ने हुन्छ ।

महिला र नेतृत्व

विश्वभरमा १० प्रतिशतमात्र महिला राष्ट्र प्रमुख वा सरकार प्रमुखमा रहेको र निर्णय प्रकृयामा उनीहरुले पार्ने प्रभावले विशेष अर्थ राख्दछ । विश्वव्यापी रुपमा महिला प्रमुख रहेका देशहरुमा कोरोनाको निराकरणका लागि व्यवस्थित रुपले काम भएको समाचारहरु आइरहेका छन् । द लण्डन ईकोनोमिक्सका अनुसार न्यूजिल्याण्डले कोरोनाको खराब असरलाई परास्त गरेको प्रधानमन्त्री ज्याकिन्डा आर्डेर्नले बताएकी छन् । 

निचोड

त्यसैले यस्तो विषमपरिस्थितीमा महिलालाई पर्ने असर, आउन सक्ने चुनौती र संकटलाई अवसरमा लानका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन सबै खालका कार्यक्रम जस्तै राहत, संरचनागत समीक्षा, नीतिगत पहल र क्षमता विकासमा महिलाहरुको सहभागिताको सुनिश्चितता र आवश्यक सम्बोधन गरेर लैजानुपर्दछ ।

(लेखिका कृषि खाद्य सुरक्षा तथा लैंगिक विश्लेषक हुन् ।) 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>