Successfully Copied

अंग्रेजी माध्यम : भ्रम र यथार्थता 

समस्या कहाँ निर छ त ? समस्या त  त्यहाँ, छ जहाँ नेपालीमा लेख्दा तल्लो ग्रेड प्राप्त गर्ने अघोषित मापदण्डको विक्षिप्त मानसिकताले काम गर्न सुरू गर्छ । अंग्रेजीमा जाने ज्ञान, नजाने अज्ञान को मानसिकता संग छ ।

भाषा एउटा माध्यम हो  । आफ्नो भोगाई अनुभवहरु आदानप्रदान गर्ने, माग र आवश्यकताहरु प्रस्तुत गर्न भाषा जरूरी छ । जो व्यक्ति भाषाको बोलाई पक्षको प्रयोगमा निपूर्ण छैन, उसले विभिन्न प्रकारका सांकेतिक भाषाको प्रयोग गरेको पाइन्छ । भाषा सिक्ने र सिकाउने प्रक्रिया घरबाट नै सुरु हुन्छ । आमा र घरपरिवारबाट सिकेको मातृभाषा र अरु सबै दोस्रो, तेस्रो भाषा । आफ्नो  मातृभाषामा व्यक्ति जति सहजै निपूर्णता र दक्षता हासिल गर्न सक्छ त्यसको तुलनामा दोस्रो वा अर्को भाषा स्वाभाविक रुपले असहज हुन जान्छ । अभ्यास र अनुभवले  बताएअनुसार अनौपचारिक तवरले सिकिएको भाषाको दखलता प्रभावकारी र फलदायी  हुन्छ ।  

भाषामा आफ्नो नागरिकहरुलाई पोख्त बनाउन हरेक राज्यले गम्भिर ध्यान दिएको  हुन्छ । औपचारिक माध्यमलाई जोड दिई प्रश्रय गरिरहेका हुन्छन । नेपालको संबिधानले धारा ३१ को शिक्षा सम्बन्धि मौलिक हक अन्तर्गत उपधारा ५ मा ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन   बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने  र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र संचालन गर्न पाउने हक’ सुनिश्चित गरेको छ । त्यस्तै गरिधारा ६ मा “नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन’’ भनी सम्पूर्ण भाषालाई समान मान्यता दिएको छ भने धारा ३२ मा  भाषा तथा संस्कृतिको हक’ सुनिश्चित गरी  “प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक’’ हुने व्यवस्था गरेको छ । यसैको कार्यान्वयन को लागि शिक्षा ऐन २०२८ (संसोधन सहित) ले दफा ७ (१) मा विद्यालयमा शिक्षाको माध्यम नेपाली भाषा, अंग्रेजी भाषा वा दुवै भाषा हुने व्यवस्था गरेको छ भने उपदफा २(क) मा  प्राथमिक शिक्षा मातृभाषामा दिन सकिने उल्लेख छ । मा यसबाट प्रस्ट  हुने कुरा के हो  भने  शिक्षा ऐनले नेपालमा नेपाली र अंग्रेजी दुवै भाषालाई बराबर प्राथमिकतामा राखेको देखिन्छ । यस अनुसार हेर्ने हो भने कानुनतः नेपालका शैक्षिक संस्थाहरुलाई नेपाली वा अंग्रेजी वा दुवै भाषामा अध्यापन गर्न पाउने स्वतन्त्रता दिएको बुझाई छ । मातृभाषालाई प्राथमिक तहसम्मको सिमानामा राखियो । यसको कार्यन्वयनको लागि बहुभाषिक शिक्षा कार्यान्वन  निर्देशिका–२०६६पनि जारी छ । पाठ्यक्रम विकास केन्द्रको कुरा मान्दा २०७५ को अन्त्य सम्म २५ ओटा विभिन्न मातृभाषामा पाठ्यपुस्तक बनेका छन् भने १५ भाषामा बाल सन्दर्भ सामग्री विकास भएका छन्  । यी मध्ये पनि कतिले  समुचित  प्रयोगको सु–अवसर पाएका छन् वा पुस्तकालयको कुनामा थन्किएका छन्, अनुशन्धानको विषय छ । 

यसका अलावा उच्च शिक्षामा पनि भाषिक तालमेल डामाडोल छ । यद्यपी  अंग्रेजी भाषालाईनै प्राथमिकता दिएको उदाहरणहरू प्रशस्त छन । पठनपाठनमा स्वतन्त्रता, परीक्षामा प्रश्नपत्रको एकलौटी माध्यम तर उत्तर लेखनमा माध्यमको स्वतन्त्रमा  पनि तालमेल को अवस्था कताकता रुमलिईरहेको देखिन्छ । अंग्रेजी भाषाको चासो, मतलब र आवश्यकता नहुने विद्यार्थीहरूले पनि जवर्जस्ती अंग्रेजी माध्यमका प्रश्न पत्रको सामना गर्नु परिरहेको छ । कतिपय विद्यार्थीहरुको नतिजा  कमजोर हुनुमा यो तत्वले पनि असर गरिरहेको छ । हुनत तहको उच्च शिक्षालिनु भनेको उच्च दक्षता हासिल  गर्नु हो  । त्यो तहमा अधिकतम् ज्ञानको गहिराइको अपेक्षा गरिएको हुन्छ । एउटामात्र भाषाको ज्ञानले शिक्षा पुरा नहुने भएकोले बहुभाषिक ज्ञान आवश्यक पर्न सक्छ ।  उच्च तहमा दोस्रो वा तेस्रो भाषाको माध्यमबाट  ज्ञान हासिल गर्नु घाटा त हैन तरपनी रूचि नभएको  विषय प्रतिको दबाबले राम्रो नतिजा पक्कै दिएको छैन र दिदैन । सबै विश्वशक्ति राष्ट्रहरु अंग्रेजी भाषामा पढाएर मात्रै विकसित बनेका हैनन् ।  आफ्नो भाषाकै अध्ययनलाई राज्य, समाज र संस्थाहरूलेनै उपेक्षा गर्नु चाहि नेपाली भाषालाई  लोपोन्मूखको  बाटोमा धकेल्नु हो, भाषाको विनाशसंगै  संस्कृतिको लोप पनि  सुनिश्चित गराउनु हो  ।

कानुनतः गरिएका व्यवस्थाहरु र त्यसको पछाडी अस्वभाविक चाहनाको उपज अबोध बालबालिकाहरू बढि मारमा परेका छन् । पारिएको छ । घरमा बोलिने एउटा  भाषा, बाटोमा साथीसंगीहरुसँग अर्को भाषा र उता विद्यालयमा अर्को भाषा, अनि उसको कलिलो मस्तिष्कले कति विश्लेषण गरोस् । उनीहरुले कति ओटा भाषाको भारी बोकुन् । अंग्रेजीप्रति अभिभावकको तिव्र अपेक्षाको कारणले गहन रुपमा भाषिक अस्तव्यस्तता  र जटिलता थपिदै गएको छ । उता नजिता पनि सकारात्मक आइरहेका छैनन् । विद्यार्थीहरु न यो न त्यो भाषाको बन्न पुगेका छन् । कुनै पनि भाषामा दक्ष बनेका छैनन । नेपाली भाषा नै कमजोर भएको वास्तविकता हामीले महसुस गरीरहदा USAID AID ले नेपाली नै सिकाउने रास्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रम ( NEGRP) ल्याइदियो । हेर्नुस हाम्रो अवस्था, हाम्रो भाषा सिक्नु पर्छ भनेर अरुले बताउने अवस्थामा पुगिसकेका हामीहरुको हालत । मानौ ५० वर्ष पछि  कस्तो होला ? प्रश्न गम्भीर छ । हाम्रो धोती खुस्केको हामी स्वयम् लाई पत्तो नहुदै अर्कोले समालि दिनुपर्ने ? हामीले हाम्रो स्वाभिमानता कता पुर्याउदै छौ ?नेपाली भाषाको पदसंगति नमिलाउने हाम्रा विद्यार्थीलाई हामी अंग्रेजीको Reported Speech का फर्मूला सिकाउदै छौ्र । कस्तो अंग्रेजीको मोहमा किन फस्दै छौ ? छलफल र बहस जरूरी छ ।  

अंग्रेजी माध्यमको बहसको अपरिहार्यता संस्थागत रूपमा संचालन भएका विद्यालयले प्राप्त गरेको विद्यालयको नाजिताको उपज  हो भन्ने लाग्छ ।  वोर्डिंग स्कुल वा अंग्रेजी माध्यममा अध्ययन गर्ने विद्यालयका विद्यार्थीहरूले अंग्रेजीमा  Hello, Hi भन्न सिक्छन, ठुठे–मुटे अंग्रेजी उत्तरको फेहरिस्त तयार पार्छन । परीक्षा सकिन्छ, उत्तरपुस्तिका परीक्षकहरू दंग पर्छन ,“आहा अंग्रेजीमा लेखेछ , यो विद्यार्थी कति जान्ने छ, कति जानेको छ्’’ उसको content को थोरै मात्र मतलब हुन्छ । परीक्षण कुन्जिका बिर्सन्छ, अनि परीक्षकको अन्तस्करणले तुरुन्त काम गर्छ कि “अंग्रेजी मा यत्तिको लेख्ने ले त A+, वा A ल्याइहाल्छ नि ! दिइन्छ, पाउँछ, ल्याउछ्र अब विद्यार्थी दङ्ग, अभिभावक मख्ख, अरू दाया बाँया थाहा छैन । अंग्रेजी माध्यममा  पठनपाठन गराउने विद्यालयको त कुरै छोडौ । अब नेपाली माध्यममा अध्ययन–अध्यापन गराउने स्कुलहरुको उछितो काट्न सुरु हुन्छ । हुन पनि हो, राज्यले त्यत्रो लगानी गरेको छ, विद्यार्थीले आफ्नो जीवनको एक अंश बिताएको छ, अभिभावकले विद्यार्थीहरू जिम्मा लगाएक छन्, तर नजिता शून्य प्राय छ ,कुरा अनपेक्षित र नमिल्दो पनि छैन । 

समस्या कहाँ निर छ त ? समस्या त  त्यहाँ, छ जहाँ नेपालीमा लेख्दा तल्लो ग्रेड प्राप्त गर्ने अघोषित मापदण्डको विक्षिप्त मानसिकताले काम गर्न सुरू गर्छ । अंग्रेजीमा जाने ज्ञान, नजाने अज्ञान को मानसिकता संग छ ।

गुणस्तर र नतिजा सँग सम्बन्धित समस्या पठनपाठन को माध्यमले निम्त्याएको समस्या हुँदै होइन । समस्या त हाम्रो सोचले बनाएको हो । दृष्टिकोणले हो, हेराईले र गराइले हो । हेरौ त कतिपय विद्यालयमा समान कक्षामा दुईओटा अलग अलग समुह बनाइएको छ । अंग्रेजी समुह र नेपाली समुह । यो मात्रै त आपत्ति को कुरा त हैन यस्तो कक्षा मा देखिएका फरक पना पनि हेरौ न । नेपाली माध्यामको कक्षामा पुरानै ढांचा र  ढर्रा यथावत छ । तरिका उही छ । उता अंग्रेजी समुहको कक्षाकोठा मा आन्तरिक भौतिक व्यवस्थापन, शिक्षण सामग्री तथा सूचना प्रविधिको प्रयोग, शिक्षकको खटाई र सिकाउने तरिका, व्यवस्थापनको ध्यान र सक्रियता, आदि सबैमा फरक छन् । मेहेनती शिक्षकहरू सबै अंग्रेजी समुहमा खटाइन्छन् । बिदा र छुट्टि पनि घटाइन्छ । अझ भनौ विद्यार्थीलाई २/४ दिन भए पनि शिक्षकलाई छुट्टी नै हुदैन । सामग्री  निर्माण, तयारी र छलफल गर्नुपर्छ रे । अनि हिउँदे बर्षे वा लामो अवधीको बिदा चाहि त्यो नेपाली  समुहले मात्र बस्नु पर्ने ?  उसलाई चाहि अरुले जत्तिकै पढ्न र अभ्यास गर्न नपाउने र नगराउने अनि ग्रेड चाहि उसले  ल्याईदिनुपर्ने ? यहानेर गराई र अपेक्षा मिलेन कि ?  पक्षपात भयो कि ? वर्गीय विभेद भयो कि ? अधिकार हनन् भयो कि ? बहस गर्ने कि नगर्ने ? अब यस्ता अनुभवबाट के सिक्ने ? गुणस्तर नहुनमा समस्या के हो ? माध्याम कि व्यस्थापन ?

उत्कृष्ट नतिजा हाँसिल गरेका विद्यालयहरू (सामुदायिक वा संस्थागत) हेर्दा माध्यम भाषाले मात्र सफल भएका हैनन् । त्याहाँको कुशल व्यवस्थापन, शिक्षकको लगनशीलता, अभिभावकको नियमित सक्रियता र चासो जस्ता विषयहरु अग्रपंगतीमा  मूल्यांकन गरिनुपर्छ । शिक्षकहरूलाई परिश्रमी र जिम्मेवार बनाउन उत्प्रेरित वातावरण सिर्जना गर्न सफल विद्यालयहरू व्यवस्थापनको कारण ले राम्रा बन्न पुगेका हुन भन्ने समझ सबैमा हुनुपर्दछ । यधपी देखिएको अन्तिम सत्य कुरा के हो भने अंग्रेजी माध्यम भन्ने बित्तिकै विद्यार्थीले मेहनत गर्ने, शिक्षकले पूर्वतयारीका साथ कक्षामा जानुपर्ने, विद्यार्थी सँग बढी समय दिनुपर्ने, शैक्षिक सामग्रीको खोजि र प्रयोग गर्नुपर्ने, व्यवस्थापन बढि सक्रिय हुनुपर्ने, अभिभावकहरु निरन्तर आफ्ना वालबच्चाको सिकाइ प्रक्रियामा सहभागी हुनुपर्ने, प्रधानाध्यापक बढि सक्रिय बन्नुपर्छ भन्ने जस्ता  संस्कार बसेको हुँदा त्यसको प्रतिफल लोभलाग्दो नतिजा निकाल्न सफल भएका हुन । सबैले त्यो बाटोमा अबलम्बन गर्नु जरूरी छ । 

(लेखक धमला श्री वाल्मिकेश्वर मा.वि. चाँगुनारायण–८, चरेली, भक्तपुरका प्रधानाध्यापक हुन् ।)

    

 Image