लकडाउनः बालबालिकालाई सँस्कार सिकाउने अवसर

सिर्जना दुवाल श्रेष्ठ

चैत्र २०, २०७६

कुमालेले बनाउने माटोको भाँडा जस्तै हुन्छन् बालबालिका । उनीहरुलाई कस्तो बनाउने, कस्तो व्यवहार सिकाउने भन्नेमा अभिभावक र विद्यालयकै मुख्य भूमिका हुन्छ । बालबालिकाको स्वभाव भनेकै चकचके र नयाँ कुरा सिक्ने प्रवृत्तिको हुन्छ । केही नयाँ कुरा थाहा पाए भने त्यस प्रति उनीहरुको उत्सुकता अझै बढ्छ । 

विद्यालय खुल्दा त उनीहरुको जीवनशैली व्यस्त हुन्छ । जब लामो समय विद्यालय बिदा हुन्छ तब उनीहरुलाई समर क्याम्प र विन्टर क्याम्पमा भर्ना गर्ने चलन छ । यसले सहरका बालबालिका पारिवारिक जिम्मेवारीबाट पर भएको देखिन्छ । बालमनोविद् सुमना खकुरेलका अनुसार यसो गर्दा बालबालिकाहरु अभिभावकप्रति भन्दा साथीप्रति बढी नजिक र आत्मीय हुन्छन् ।

अहिले कामकाजी आमाबुबाहरु व्यस्त जीवन शैलीको कारण छोराछोरीलाई होस्टेलमा राखेर पढाउन खोज्छन् । सानो हुँदा नै उनीहरुलाई परिवारप्रतिको महत्व, माया र जिम्मेवारीबाट टाढा राख्दा नानीबाबुले भविष्यमा परिवार, आमा, बुबाप्रति कस्तो व्यवहार गर्लान् वा सोच्लान् ? यो विचरणीय विषय हो । अहिले खकुरेलको क्लिनिकमा दैनिक दर्जनौं अभिभावकहरु आफ्ना नानीहरुका अनेक समस्या लिएर आउने गर्छन् । खकुरेल भन्छिन्, ‘प्राय अभिभावको एउटै खाले समस्या छन्, मेरो नानी एक्लै बस्न रुचाउँछन्, पढाइमा त्यति मन गर्दैन, मोबाइल, ल्यापटप भए पुग्छ । हामीसँग झर्किन्छ आदि ।’ त्यति बेलाउनलाई समाज कतातिर गइरहेको छ भन्ने चिन्ताले सताउँछ । उनी यो निष्कर्षमा पुगेकी छिन् कि, समस्याको एउटा मुख्यकारण हो, व्यस्त जीवनशैली ।

प्रायःबालबालिकाहरुको एउटै गुनासो हुन्छ, ‘अभिभावकले हामीलाई समय दिंदैनन्, हाम्रो चाहनालाई बुझ्दैनन् ।’ पर्याप्त निगरानी र माया नपाउँदा उनीहरु नशामा भुल्छन् । अहिलेको बालकालिकाको मुख्य नशा हो, इन्टरनेट । उनीहरु पढाई छाडेर युट्युब र टिटकमा बढी व्यस्त रहन्छन् । 

मेकअप आर्टिस्ट आस्था सिपालीकी छोरी सराना पाठशाला स्कूलमा ६ मा पढ्छिन् । उनलाई स्कूलबाट फर्केपछि टिकटक बनाउनै पर्छ । न त ड्रेस चेञ्ज गर्छिन्, न त खाजा नै खान्छिन् । यो लतवाट आस्था निक्कै चिन्तित छिन् । तर उनको लत सराना आफैंले लगाएकी होइनन् । समस्या लिएर आस्था मनोचिकित्सक रचना श्रेष्ठकोमा पुगिन् । श्रेष्ठले भनिन्, ‘कुनै पनि कुरा बालबालिका आफैं सिक्दैनन्, उनलाई हामी आफैंले रमाइलो र सजिलोका लागि मोबाइल दिन्छौं । अनि उनीहरुले सुरुसुरुमा टिकटक बनाउँदा खुसी हुन्छौं । पछि उनीहरु लतमा  फसेपछि चिन्तित हुन्छौं ।’

अभिभावकहरु आफू सधैं मोबाइल, ल्यापटपमा रमाइरहेका हुन्छन् । अनि बच्चालाई चाहिँ नचलाउनू भनेर भन्छौं । श्रेष्ठ भन्छिन्, ‘घरमा घर जस्तै वातावरण दिनु पर्यो । हामी आफैंले बालबालिकालाई कुलतमा सामेल गराइरहेका छौं । यो निकै डरलाग्दो स्थिति हो ।’ अहिले समाज होडबाजीमा चलेको छ । यसले बालबालिकालाई कुन दिशामा लगिरहेको छ ? भन्ने भुलेका छौं । 

अहिले अन्तिम चौमासिक परीक्षा सकिएसँगै बालबालिकाहरु घरमा छन् । लकडाउनका कारण नतीजा सार्वजनिक भएको छैन । नयाँ भर्ना सुरु भएको छैन । यो फुर्सदको समयलाई अभिभावकले भरपूर उपयोग गर्न सक्नेछन् । अघिपछि व्यस्तहुने बाआमा पनि अहिले घरमै हुनुहुन्छ । उनीहरुलाई असल सँस्कार र शिक्षा सिकाउनका लागि यो उपयुक्त समय हो । 

बच्चाहरुले रुचाएको खाना बनाउने, खुवाउने, खेल्ने, खेलाउने गर्नाले आत्मीयता बढ्छ । यसअघि उनीहरुलाई अनुभूति भएको अभाव पूर्ति गर्नका लागि पनि यो मौका हो । बालबालिकाहरु टेलिभिजनका समाचार, सामाजिक सञ्जालमा आएका सन्देशहरू प्रति बढी नै उत्सुक हुन्छन् ।  त्यहीं उत्सुकताले गर्दा अहिले उनीहरूमा कोरना भाइसरको प्रकोपबाट आत्तिने, डराउने अवस्था पनि आउन सक्छ । उनीहरूका हरेक जिज्ञासालाई सहज ढंगबाट मेटाउँदै सकारात्मक सञ्चार गराउनु अभिभावकको कर्तव्य हो । 

यसरी बालबालिकालाई जानकारी दिँदा डब्लूएचओ, स्वास्थ्य मन्त्रालय, नेपाल सरकारले जारी गरेका सत्य र उपयुक्त सन्देशहरू बालबालिकाले बुझ्ने भाषामा बताइदिनु पर्छ । रोगबाट हुनसक्ने क्षति, असर र यसको नकारात्मक प्रभावका बारेमा उनीहरूको मनमा आतंक ल्याउने ढंगबाट प्रस्तुत हुनुहुँदैन । उनीहरुलाई सकभर सिर्जनात्मक काममा व्यस्त राखेर घर भित्रको वातावरणमा रमाउन दिनु अभिभावकहरुको दायित्व हो ।

बालबालिकाको उमेर अनुसारका चित्रकथा देखाउने, कविता सुनाउने, लेख्न सिकाउने, माटो तथा कागजका सामग्री बनाउन प्रेरित गर्ने गर्नु पर्दछ । उनीहरुले सिर्जनाको प्रशंसा गरी हौसला प्रदान गर्नु पर्दछ । बालबालिकालाई रुचि र क्षमता अनुसार सिर्जनशील काम सिकाउनु पर्दछ । वाद्यवादन, गायन, नृत्य जस्ता रमाइला क्रियाकलापमा संलग्न गराएर उनीहरुलाई थप सिर्जन शीबनाउन सकिन्छ । त्यस्तै घरभित्रै ब्याडमिन्टन, बास्केटबल, डोरी, चुंगी, टेबुलटेनिस जस्ता विभिन्न शारीरिक व्यायम हुने खेल खेलाउन सकिन्छ । अभिभावकको फुर्सदको समयमा बालबालिकाको साथमा प्रेरणामूलक फिल्म हेर्ने, कथा–उपन्यास सुनाउने आदि गरेमा पनि उनीहरुमा थप प्रेरणा मिल्नेछ ।

नानीबाबुहरुलाई खाना बनाउन सिकाउनका लागि पनि यो उपयुक्त समय हो ।  त्यस्तै दैनिक जीवनमा अभ्यस्त गराउन उनीहरू लाई जुत्तामा पालिस लगाउने, तरकारी काट्ने, कोठा तथाघर सफा राख्ने, कितावमा कभर हाल्ने जस्ता सामान्य तथा जीवनका लागि महत्त्वपूर्ण ज्ञान र सीप रमाइलो गर्दै सिकाइ उनीहरूलाई स्वाभलम्बी बनाउने अवसरको रूपमापनि यो समयलाई उपयोग गर्न सकिन्छ ।

पारिवारिक, सामाजिक सम्बन्ध, संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनाले बालबालिका र अभिभावककाबीचको सम्बन्ध थप प्रगाढ हुनेछ । यसले टाढिएको र ग्याजेटमय जीवनबाट आपसी सद्भाव र आत्मीयता बढाउन सहयोग पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>