बालबालिकामा ग्याजेटको असर

  • रामपुकार साह, क्लिनिकल साइकोलोजिस्ट, कान्ति बाल अस्पताल 

उपासना घिमिरे

चैत्र १८, २०७६

ज्ञानेश्वरकी विसाता उपाध्याय युट्युबमा बिहान उठेदेखि बेलुकीसम्म आइप्याडमा विभिन्न कार्टुन हेर्छिन् । त्यस्तै नक्सालकी अनिशाको दैनिकी पनि युट्युबमा कार्टुन हेरेर दिन बिताइरहेकी छिन् । विसाता र अनिशा मात्रै होइनन्, अहिले अधिकांश बालबालिका विभिन्न सञ्चार उपकरण तथा सामाजिक सञ्जालमै बढी समय बिताइरहेका छन् ।

अहिले विद्यालय बन्द छन् । बालबालिकाहरु घरमै बसिरहेका छन् । उनीहरुले समय बिताउन विभिन्न प्राविधिक उपकरणको प्रयोग गरिरहेका छन् । उनीहरुले स्मार्टफोन, आइप्याड तथा टेलिभिजन हेरेर समय बिताइरहेका छन् । 

मानवजातिसँगै सञ्चारको विकास भएको हो । मानिसले पहिला विभिन्न माध्यमबाट सूचना तथा जानकारी प्राप्त गर्थे । अहिले यन्त्रको युग आइसकेको छ । घरमै बसेर संसारको एक कुनाबाट अर्को कुनामा वार्तालाप गर्ने, जानकारी पाउने गर्छन् । यसको एकातिर फाइदा छ भने अत्याधिक प्रयोगले बेफाइदा पनि छ । यस्ता किसिमको उपकरणकोे विकाससँगै रोग, हिंसा र अपराध पनि निम्तिरहेको छ । संचार उपकरण (ग्याजेट) को बढ्दो प्रयोगले सामाजिक सञ्जाल र सञ्चारमाध्यमा आउने कतिपय कुराले बालबालिकामा नकरात्मक असर परिरहेको हुनसक्छ । यसबारे अभिभावक सचेत हुनु जरुरी देखिन्छ ।

प्रविधिको बढी प्रयोगले बालबालिकामा पार्ने असर यस्तो छ :

तनावः 

स्मार्टफोन धेरै समय हेर्दा यसबाट निस्कने तरंगले बालबालिकालाई धेरै तनाव हुने गरेको पाइन्छ । यसका साथै सामाजिक सञ्जालमा बढ्दो प्रतिस्पर्धाले बालबालिकालाई अझ तनाव थपिरहेको हुने गर्छ । 

रिसः 

धेरै ग्याजेटमा समय ब्यथित गर्ने बालबालिकामा बढी रिस उठ्ने गर्छ । उनीहरुमा आफूमाथि हुनुपर्ने नियन्त्रण र भावनालाई बुझ्ने क्षमता कम समेत हुने गर्छ । 

मानसिक रोग : 

अध्ययन अनुसार धेरै ग्याजेट प्रयोगले विभिन्न मनोरोग तथा मानसिक रोग लाग्ने गर्छ । जस्तो एटेन्सन डिफिसिट हाइपर एक्टिभिटी डिसअर्डर, स्मरण शक्ति कम हुने र शारीरिक विकास कम हुने गर्छ ।  बालबालिकामा प्राकृतिक संवेदना चाहिने हुन्छ त्यो पर्याप्त नभएपछि विकासको कमी हुन सक्छ । 

स्वयंमाथिको नियन्त्रण कम हुनु : 

बालबालिकालाई जे कुरा पनि भन्नासाथ चाहिन्छ । यसले गर्दा आफूमाथिको नियन्त्रण गुमाउँछन् । फलस्वरुप धैर्यधारण गर्न सक्दैनन् । 

अत्यन्त जोखिम लिने :

बालबालिकाहरु धेरै मिडियाको प्रभावमा परेर चोरी, लुटपाट, कम उमेरमै जोखिम लिन तयार हुन्छन् । जस्तो गाडी तथा मोटरसाइकल स्पिडमा चलाउने । साथीभाइसँग भिड्नका लागि मोटर रेस गर्छन् । 

लागूऔषधको प्रयोग :

प्रचार र मिडियाको पछाडि लागेर सानै उमेरमा जाँड, रक्सी, चुरोट, खैनी खाने गर्छन् । यसैगरी सिनेमाको पर्दामा देखाइने पात्रको नक्कल गर्दै गाँजा, चरेश समेत सेवन गर्न सक्छन् । 

सानैमा शारीरिक सम्बन्ध : 

कौतुहलता र सामाजिक परिवर्तनले किशोर–किशोरीहरु शारीरिक सम्बन्धमा पर्न सक्छन् । अनैतिक सम्बन्ध राख्न सक्छन् । सजिलै उपलब्ध हुने यौन, सिनेमा तथा फोटोका कारण पनि त्यसबारे उनीहरुको रुचि बढ्छ । 

डराउने तथा उदासिनता : 

विभिन्न डरलाग्दा खबरले बालबालिकामा डर उत्पन्न गर्न सक्छ । लामो समय स्मार्टफोनमा बस्दा अन्य कुरामा रुचि हुँदैन । अनिद्राका कारण उदासिनता निम्तिन सक्छ । 

सामाजिक सञ्जालको सिकाई : 

सामाजिक सञ्जालको अधिक प्रयोगले विकृति निम्तिएको छ । बालबालिकाले फेक आइडी बनाएर, नचाहिने चित्र तथा भिडियो बनाएर अरुलाई जिस्काउने तथा अनैतिक कार्य गर्न विवश बनाउँछन् । 

यसैगरी आफ्नो स्वतन्त्रता, रहस्य र अन्य भय, समयको दुरुपयोग, अनिद्रा, सामाजिक परिस्थितिको डर र आँखामा समस्या पनि उत्पन्न हुन सक्छ । अहिले कोरोनाको त्रास छ, यस्तो अवस्थामा सुरक्षाका लागि बालबालिका घरमै बस्न बाध्य छन् । धेरै मोबाइल तथा टेलिभिजन हेरेर बस्नुभन्दा योग गरेर, चित्र बनाएर, कथा– कविता लेखेर समय व्यतित गर्न सकिन्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>