Successfully Copied

कोरोनाबाट क्यान्सर रोगीलाई बढी जोखिम, जोगिने कसरी ?

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको बेला क्यान्सरका रोगीले के गर्ने ? विभिन्न शोध र अनुसन्धानको प्रमाणका आधारमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले  विरामीलाई निम्न सुझाव दिनु भएको छ । 

संसारभर महामारीका रुपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस)को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले गत मंगलबारदेखि देशभर लकडाउन गरेको छ । लकडाउनको पाँचौ दिन काठमाडौंका बजार सुनसान र शान्त छन् । सबैलाई त्रसित बनाएको कोरोना भाइरसका कारण अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ । विरामीलाई अत्यावश्यक अवस्थामा मात्र अस्पताल आउन भनिएको छ । यस्तो अवस्थामा क्यान्सरका रोगीले के गर्ने ? विभिन्न शोध र अनुसन्धानको प्रमाणका आधारमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले  विरामीलाई निम्न सुझाव दिनु भएको छ । 

– सामाजिक दूरीको अनुसरण गर्नुपर्छ र सकेसम्म घरभित्रै बस्नुपर्छ । 

– केमोथेरापी लिइरहेका क्यान्सरका बिरामीलाई विभिन्न संक्रमणलगायत कोरोना भाइरसको उच्च जोखिम हुन्छ । किनकी सामान्य रोगभन्दा क्यान्सरका बिरामीको प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ । 

–वृद्धवृद्धा, रगतको क्यान्सर भएका तथा बोनम्यारो प्रत्यारोपण गरेका बिरामीलाई कोरोनाको प्रकोपको अवधिमा संक्रमणको जोखिम उच्च हुन्छ । 

– यतिबेला आफूले देखाइरहेको क्यान्सर रोग विशेषज्ञ (अंकोलोजिष्ट)को परामर्शमा प्यालिएटिभ किमोथेरापीमा ढिलाई गर्ने हो कि भनेर विचार गर्नुपर्छ । क्यान्सर बढ्ने र कोरोना भाइरस संक्रमणको जोखिमबीचको सन्तुलनका आधारमा केमोथेरापी जारी राख्ने, रोक्ने वा ढिलाइ गर्ने विषयमा आफ्नो अंकोलोजिस्टसँग छलफल गर्नुपर्छ । फोन, इमेल, भाइबर वा ह्वाट्स एपबाट परामर्श लिन सकिन्छ । बाहिर निस्कन जोखिम भएकाले अंकोलोजिस्ट वा अन्य चिकित्सकका साथै अनावश्यक भेटघाट स्थगित गर्नुपर्छ । 

– केमोथेरापी जारी राख्ने विचार गर्नुभएको छ भने आइलाग्ने जटिलता र जोखिमको बारेमा राम्ररी बुझ्नु जरुरी छ । 

– यतिबेला रेस्टुराँ, सार्वजनिक यातायात, क्लिनिक तथा अस्पतालको पर्खाइ कक्षबाट टाढै रहनु वेश हुन्छ । 

– इम्युनो, टार्गेटेड, एन्टि–एजियोजेनिक, मेन्टिनेन्स थेरापी उपचारमा संलग्न बिरामीको हितमा आफ्नो अंकोलोजिस्टसँग परामर्श लिएर उपचार रोक्ने वा नियमित जारी गर्ने निर्णय केस–टु–केसका आधारमा गर्नुपर्ने हुन्छ । 

– पल्मोनरी फंक्सन टेस्ट, ब्रोन्कोस्कोपी, इन्डोस्कोपी, दन्त मूल्यांकन जस्ता जाँचहरु विरामी एवं स्वास्थ्यकर्मीबीचको सल्लाहमा जोखिम÷लाभ अनुपातको हिसाब गरेर गर्नुपर्छ ।

– संभावित कोरोना इन्फेसन संक्रमणको लक्षण (अधिक ज्वरो, घाँटी दुखाई, खोकाइ र सास फेर्न गाह्रो) देखिए आफूले उपचार गराइरहेको चिकित्सक र स्थानीय सरकारी स्वास्थ्य अधिकारीलाई जानकारी गराउनुपर्छ ।

– यसको प्रकोपबाट बँच्न साबुन पानीले हात मिचिमिची धुनुका साथै व्यक्तिगत सुरक्षाका नियमको पालना गर्नुपर्छ । सरकार तथा स्थानीय अधिकारीले दिएका सबै निर्देशन र सिफारिसको पालना गर्नुपर्छ । 

माथिका सल्लाह तथा सुझाव अस्थायी तर संभावित जीवन बचाउने उपाय हुन् । यसलाई कोरोना भाइरसको प्रकोप नियन्त्रण नगरेसम्म अनुसरण गर्न जरुरी छ । 

 

 Image