Successfully Copied

कोरोना त्रासः अभिभावकले कस्तो व्यवहार गर्ने ?

सामान्य अवस्थामा त बालबालिकालाई विशेष हेरविचार र वातावरण आवश्यक पर्दछ भने यो विषम र असहज परिस्थितिमा त अझ संयमित र संवेदनशील भएर बालबालिकासँग व्यवहार गर्नु आवश्यक हुन्छ । यस्तो समयमा बालबालिकामा मानसिक तनाव तथा डर त्रास बढेको हुन्छ । यसप्रति अभिभावक सचेत हुन

चीनको वुहानबाट सुरु भएको कोभिड १९, कोरोना भाइरसको संक्रमणले अहिले विश्वव्यापी महामारीको रुप लिइसकेको छ । यो भाइरसको संक्रमणले संसारभर सबैलाई आतंकित र सशंकित बनाएको छ । विद्यालय कलेजहरु बन्द भएका छन् भने हाम्रो दैनिकी नै प्रभावित भएको छ । 

समाचार तथा सामाजिक सञ्जालमा आउने विभिन्न सूचनाले सबैमा त्रास उत्पन्न गराएको छ । बिनाअध्ययन, अनुसन्धान सामाजिक सन्जालमा सम्प्रेशित खबरले झन् त्रास बढाएको छ । 

सामान्य अवस्थामा त बालबालिकालाई विशेष हेरविचार र वातावरण आवश्यक पर्दछ भने यो विषम र असहज परिस्थितिमा त अझ संयमित र संवेदनशील भएर बालबालिकासँग व्यवहार गर्नु आवश्यक हुन्छ । यस्तो समयमा बालबालिकामा मानसिक तनाव तथा डर त्रास बढेको हुन्छ । यसप्रति अभिभावक सचेत हुन जरुरी छ ।

अभिभावक तथा अन्य वयस्कले गरेका कुराह सुनेर बालबालिकाहरु अझ धेरै त्रसित भएका हुन सक्छन् । यस्तो त्रास र तनावका असरलाई तुरुन्तै सम्बोधन गर्न सकिएन भने बालबालिकामा नकारात्मक असर पर्न सक्छ । तसर्थ अभिभावकले बालबालिकासित यस परिस्थितिलाई मनन गरी निम्नअनुसार व्यवहार गर्न गराउन सक्नुहुनेछ । 

१. सामाजिक दूरी कायम

सामाजिक दूरी कायम गर्ने भनेको भाइरसको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने माध्यमलाई रोक्नु हो । तसर्थ सकेसम्म बाहिर कसैलाई पनि भेट्नु हुँदैन । तर परिवारका सदस्यहरु भने सँगै बस्ने, कुराकानी गर्ने गरौं । एक अर्कालाई सुनौं । बालबालिकाको कुरा सुनौं, जिज्ञासाको सही उत्तर दिने बानी गरौं । 

२. सिकाइको अवसर

बालबालिकाले विद्यालय र किताबबाट मात्र सिक्छन् भन्ने कुरालाई पुनर्विचार गरौं ।  बालबालिका जति बेला पनि सिक्न तयार हुन्छन् र सिकिरहेका हुन्छन् । तसर्थ यस समयलाई पनि बालबालिकाले जीवनपर्यन्त आवश्यक सीप सिक्ने अवसरका रुपमा प्रयोग गरौं । जस्तो कि, घरमा उपलब्ध सामग्रीको प्रयोगबाट सिकाई क्रियाकलाप गर्ने, सरसफाई, खाना तयारी आदि । यस्ता क्रियाकलापबाट बालबालिकालाई भाषा, विज्ञान, गणित सजिलै सिकाउन सकिन्छ । 

३. स्वस्थ्यबानीको विकास 

हामीले सधैं नै अवलम्बन गर्नुपर्ने बानीहरुको अभ्यास र निरन्तरता अहिलेको आवश्यकता हो । तसर्थ पटक–पटक राम्रोसँग २० सेकेण्ड लगाएर मिचीमिची हात धुने गरौं । यसैगरी जथाभावी नथुक्ने, नाक, मुखमा हात नलैजाने बानी गरौं । यसबाट संक्रमण रोक्न र फैलिन नदिन धेरै सहयोग पुग्दछ । डराउने भन्दा पनि सजगता अपनाऔं । 

(डा. दाहालले काठमाडौं बिश्वबिद्यालयबाट ‘ओरल ल्यांग्वेज एण्ड अर्ली लिटरेसी’मा बिद्याबारिधि गरेकी छन् ।)

 Image