Successfully Copied

म आफूलाई  सुन्दर ठान्छु 

म सौन्दर्यलाई व्यक्तिपरक मान्छु । सुन्दरताका आ–आफ्नै परिभाषा हुन्छन् । म भित्री र बाहिरी सुन्दरता भनेर छुट्याउँदिन । आत्मविश्वास, स्वतन्त्र र विभिन्न विषयमा दक्ष हुनु नै वास्तविक सुन्दरता हो । यसर्थ म आफूलाई सुन्दर नै ठान्छु । 

२४ वर्षीया दुर्गा कार्कीको जन्मस्थान लमजुङको भोटेवडार हो । लमजुङमै एसएलसीसम्म अध्ययन गरेर उच्च अध्ययनका लागि काठमाडौं आएकी दुर्गाले कानुनमा स्नातक गरेकी छिन् । उनी अहिले संघीयता र स्थानीय सरकारसँग सम्बन्धित काम गर्छिन् । दुर्गाले लेखेको कथाहरूको संगालो ‘कुमारी प्रश्नहरू’ हालै प्रकाशन भएको छ । टेलिभिजन कार्यक्रम प्रस्तोतासमेत रहेकी उनी तीन वर्षअघिदेखि विभिन्न मिडियामा सामाजिक, महिला मुद्दा, राज्यको नीति निर्माणमा उठेका सवालप्रति टिप्पणी गर्दै फिल्म समीक्षासम्म गर्दै आएकी छिन् ।

 तपाईं वकिल कि लेखक ? 

वकालत गर्ने विषय पढे पनि त्यो क्षेत्रमा काम नगरेकाले अहिलेसम्म लेखक हुँ ।

 तपाईंले आफ्नो पुस्तकको नाम “कुमारी प्रश्नहरू” राख्नुको कारण ?

अहिले पनि समाजमा कतिपय प्रश्नमा छलफल हुन सकेका छैनन् । समाजले खुला रूपमा छलफल नगरेका, चर्चा नभएका ‘भर्जिन प्रश्न’ पुस्तकमा समावेश गरिएको छ । त्यसैले पुस्तकको नाम ‘कुमारी प्रश्नहरू’ राखिएको हो । प्राय: कथामा युवा उमेरका पात्र छन् । यसैगरी ३०–३५ वर्षदेखि ६० वर्षे उमेरका कथा पनि छन् । 

 मनपर्ने लेखक ? 

मलाई जति पढे पनि स्वाद नजाने भएकाले पारिजात र बीपी मन पर्छन् । 

 तपाईं भित्री सुन्दरी कि बाहिरी ?    

म सौन्दर्यलाई व्यक्तिपरक मान्छु । सुन्दरताका आ–आफ्नै परिभाषा हुन्छन् । म भित्री र बाहिरी सुन्दरता भनेर छुट्याउँदिन । आत्मविश्वास, स्वतन्त्र र विभिन्न विषयमा दक्ष हुनु नै वास्तविक सुन्दरता हो । यसर्थ म आफूलाई सुन्दर नै ठान्छु । 

 नेपालमा मिटुको मुद्दा अघि बढ्न नसकेको कारण के होला ? 

सामाजिक वृत्तकै कारण चाहेर वा नचाहेर व्यक्तिगत वा व्यावहारिक कारणले महिलाले खुलेर आफ्ना कुरा बाहिर ल्याउन सकेका छैनन् । बाहिर आए पनि विभिन्न कारणले यो आवश्यक कुरा हो भनेर सबैले चासो नदिएकै कारण अगाडि नबढेको जस्तो लाग्छ ।

 प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ ? 

(हाँस्दै) राजनीतिमा मलाई चासो छ । यसका लागि पहिले त राजनीति बुझेको हुनुपर्छ । ठूला–ठूला सपना नदेखाई जनताको जीवनमा प्रत्यक्ष असर पार्ने काम गर्छु । जस्तो बाटोको सुविधा, स्वास्थ्य, सामाजिक विषयका कुरा अघि बढाउँछु । यसैगरी जनताले बिनाझमेला कुनै पनि कुरामा पहुँच पुग्ने वातावरण तयार पारिदिन्थें ।

 अहिले नेपाली महिलाको स्थिति कस्तो छ ? 

पहिलेको तुलनामा महिला शिक्षित, जागरुक तथा सशक्त बन्दै गइरहेका छन् । जुन सकारात्मक हो । 

 नेपाली महिलालाई सुझाव ? 

प्रत्येक नारी जागरुक छन् । आफ्ना कुरा बोलेर, लेखेर वा व्यवहारबाट बाहिर ल्याउनु जरुरी छ । जसरी हुन्छ आफ्नो आवाज बुलन्द गर्नुहोस् ।

 

 Image