Successfully Copied

‘प्रविधि प्रयोगमा नेपाली निकै उत्सुक ’

सोनिका मानन्धर कम्प्युटर इन्जिनियर तथा फिनटेक एलोईकी सह–संस्थापक हुन्् । सन् २०१९ मा संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमबाट ‘योङ च्याम्पियन्स अफ द अर्थ’ अवार्ड विजेता मानन्धरले नेपालमा परम्परागत रूपमा चलिरहेका उद्यमलाई प्रविधिसँग जोडेर त्यसको प्रवर्द्धन र बजारीकरणमा परिवर्तन ल्याउने काम गरेकी छन् ।


सोनिका मानन्धर कम्प्युटर इन्जिनियर तथा फिनटेक एलोईकी सह–संस्थापक हुन्् । सन् २०१९ मा संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमबाट ‘योङ च्याम्पियन्स अफ द अर्थ’ अवार्ड विजेता मानन्धरले नेपालमा परम्परागत रूपमा चलिरहेका उद्यमलाई प्रविधिसँग जोडेर त्यसको प्रवर्द्धन र बजारीकरणमा परिवर्तन ल्याउने काम गरेकी छन् । एलोईले मुख्य रूपमा महिलालाई प्रविधिमैत्री बनाउन जोड दिँदै आएको छ ।

प्रविधितर्फ कसरी चासो बढ्यो ?
बाल्यकालदेखिकै सपना अन्तरिक्षमा जाने थियो । १० कक्षा पढ्दा नेपालमा भर्खर कम्प्युटर आएको थियो । कम्प्युटरमा डायलअप जोडेर (इन्टरनेट चलाउने पुरानो तरिका) ‘हाउ टु बिकम अ एस्ट्रोनट ?’ भनेर सर्च गरेको सम्झना छ । पहिलेदेखि तिहारको बत्ती टुक्र्याएर नयाँ रूप दिई फेरि जोड्नमा रुचि राख्थें । प्लस टु साइन्समा गरें । हैदरावाद गएर एरोनोटिक मेन्टेनेन्स इन्जिनियर पढ्छु भन्ने योजनामा थिएँ । तर धेरैले पाइलट बन्नु भने, मेरो ब्रेन वास भयो । तर मेरो दिमागको अन्तिम गोल नै अन्तरिक्षमा जाने थियो । काठमाडौं इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङमा ब्याचलर गरेपछि माइक्रोसफ्ट इनोभेसन सेन्टरमा ७ वर्ष काम गरें । त्यसपछि सिङगुलारिटी युनिभर्सिटी सिलिकन भ्यालीमा ग्लोबल सलुसन्स प्रोग्राममा भाग लिएँ । यसले म, मेरो सोच र लक्ष्यलाई निकै फराकिलो बनाइदियो । नेपाल फर्किएर १ वर्षपछि (२०१९ मा) एलोई खोलें, अनि दत्तचित्त भएर काम गरिरहेकी छु ।
स–साना उद्यमलाई प्रविधिसँग जोड्ने आइडिया कसरी आयो ?
यसको पछाडि धेरै कुराले प्रभाव पारेको छ । मेरा बुवा लघुउद्यमी हुनुहुन्थ्यो । विक्रम टेम्पो चलाउनुहुन्थ्यो । त्यस्तो टेम्पोबाट असाध्यै धूवाँ आउने र वातावरण प्रदूषण गराउने भएर सरकारले बन्द गरायो । पछि बुवा माइक्रोतिर सिफ्ट हुनुभयो । परिवारमै यस्तो समस्या देखिराखेको र सिलिकन भ्यालीमा गएर प्रविधिमा यत्तिको ज्ञान हासिल गरिसकेपछि केही नयाँ गर्ने सोच आयो । मेरा पार्टनर टिफ्नीको झुकाव पनि ग्रासरुटमा काम गरौं भन्ने पाएँ, अनि दुईजना मिलेर नेपाल आई ग्रामीण क्षेत्रका स्थानीयसँग काम गर्न थाल्यौं । जुनसुकै साना तथा लघु उद्यम किन नहुन्, अहिले हामीले तिनलाई प्रविधिसँग जोडिदिएका छौं ।

उतिबेला यो काम कत्तिको चुनौतीपूर्ण थियो ?
निकै चुनौतीपूर्ण थियो । बैंक तथा वित्तीय संस्थाले दिएको पैसा कहाँ, कतिबेला र कसरी प्रयोग भएको छ, भनेको कुरामा प्रयोग भएको छ वा छैन भनेर देखाउने प्लेटफर्म (प्राविधिक प्रणाली) हो यो । हामी दुवै जना महिला भएकाले उतिबेला अलि पत्याएनन् । तपाईंहरू एनजिओकर्मी नै हो भन्नेहरू धेरै भेटिए । म अलि कम उमेरको देखिने भएकाले विश्वासमाथि प्रश्न नउठेका होइनन् । यति सानो मान्छेले कहाँ बैंकिङ र प्रविधिको कुरा गरेको भन्नेहरू धेरै थिए तर हामीले आफ्नो कामले प्रमाणित गर्दै गयौं । अहिले केही हदसम्म सफल भएझैं लाग्छ ।
एलोईको मूल उद्देश्य के हो ?
लघु उद्यमीलाई औपचारिक बैंक तथा वित्तीय संस्थाले जहिले धितो खोज्ने तथा परम्परागत वित्तीय प्रणालीमा परिवर्तन ल्याउनु हाम्रो मूल उद्देश्य हो । उहाँहरूलाई पत्याउने माध्यम प्रविधि हुनसक्छ भन्ने विश्वास बढाउन यसले मद्दत गरेको छ । कोही व्यक्ति कत्तिको विश्वासयोग्य छ, प्रविधिले डिफाइन गर्छ, जसको सारथि हामी बनेका छौं ।
यसले महिलाको जनजीवनमा पारेको प्रभाव बताइदिनुस् न ?
इलोईका युजर्समध्ये ८० प्रतिशत महिला सेवाबाट लाभान्वित छन् ।
परम्परागत रूपमा चलिरहेका व्यापार–व्यवसाय तथा उद्यममा प्रविधि जोडिएपछि के–कस्तो परिवर्तन आउँदो रहेछ ?

सुरुवाती क्रममा म पनि प्रविधि प्रयोग गर्न सक्छु भन्ने हौसला मिल्छ । यसले मेरो वित्तीय पहुँच बढाउँछ भन्ने सोच बढ्छ । प्रविधिमैत्री भइसकेपछि आज एक लाख लिएको छ भने भोलि दुई लाख लिनसक्ने विश्वसनीयता सिर्जना गर्छ । व्यावसायिक बजार बढाएको छ । सेल्स पनि बढाएको छ ।
नेपाली महिला प्रविधिमैत्री छन् ?
हामीले काम गर्ने स्थानीय तहका महिला प्रविधिसँग डराउने गरेको पाएका छौं । म त सक्दिन, मेरो छोरा, श्रीमान्ले चलाउने हो यो त भन्नुहुन्छ । हामीले फाइनान्सियल एन्ड डिजिटल लिटरेसीका कक्षा पनि सञ्चालन गरिरहेका छौं । यो ज्ञान पाइसकेपछि कतिपय महिला प्रविधि प्रयोग गर्न तम्सिनुभएको पनि पाइएको छ । हाम्रो त मुख्य माध्यम भनेकै मोबाइल एसएमएस हो ।
दृष्टिविहीनहरूका लागि कस्तो काम गरिरहनुभएको छ ?
सन् २०१३ मा सुरु गरेको ‘ग्वाहाली’ नामक संस्थामार्फत नेवाः समुदायमा गरिने भिन्तुना र्‍यालीबाट उठेको रकम दृष्टिविहीनको होस्टेलमा सहयोग गरेका थियौं । त्यसपछि त्यहाँका बालबालिकाहरू देखेर मन छोयो । ब्रेल किबोर्ड चाहिने भएकाले उनीहरूलाई केही परिवर्तन हुनुपर्छ भन्ने सोच आयो । भएकै साधारण किबोर्डबाट किन नगर्ने भनेर स्क्रिन रिडिङ सफ्टवेयरबाट भ्वाइस निकाल्ने अनि किबोर्डमा उठेको भागबाट उनीहरूलाई सिकाउने भनेर त्यतिबेला ग्वाहालीमार्फत १० वटा कम्प्युटर किनेर दिएका थियौं । म हरेक शनिबार कम्प्युटर सिकाउन जान्थें । म अझै पनि त्यहाँका बालबालिकाहरूसँग जोडिएकै छु ।
धेरै समय केमा बित्छ ?
एलोईमै शतप्रतिशत समय दिन्छु । गीत गाउनमा सौखिन छु ।

 Image