Successfully Copied

खुशी दाम्पत्य जीवनका लागि परिपक्व श्रीमती

‘उमेरान्तरकै कारण यति खुसी दाम्पत्य जीवन हुन्छ भने म त सबैलाई परिपक्व श्रीमती रोज्न सल्लाह दिन्छु,’ फिल्ममेकर संगीता श्रेष्ठले कुराकानीको सुरुवातमै भनिन्, ‘हामीले देख्नेबित्तिकै प्रेममा परेर भोलिपल्टै विवाह गरेका होइनौं, लामो संगतमा एक–अर्कालाई राम्ररी चिनेपछि विवाहको निर्णयमा पुगेका हौं ।

संगीता श्रेष्ठ, फिल्ममेकर / भूमिराज श्रेष्ठ, मिडियापर्सन 

‘उमेरान्तरकै कारण यति खुसी दाम्पत्य जीवन हुन्छ भने म त सबैलाई परिपक्व श्रीमती रोज्न सल्लाह दिन्छु,’ फिल्ममेकर संगीता श्रेष्ठले कुराकानीको सुरुवातमै भनिन्, ‘हामीले देख्नेबित्तिकै प्रेममा परेर भोलिपल्टै विवाह गरेका होइनौं, लामो संगतमा एक–अर्कालाई राम्ररी चिनेपछि विवाहको निर्णयमा पुगेका हौं । एक–अर्काको उमेरको हेक्का हुँदा हामीबीच ‘वोन्डिङ बिल्डअप’ भइसकेको थियो । त्यसपछि उमेर माइनर बन्यो ।’ 

पढाइ, लेखाइ, कमाइ, उमेरमा श्रीमानै अगाडि हुनुपर्छ भन्ने हाम्रो सामाजिक मान्यतामा यो जोडी आफै एउटा चुनौती हो । यो जोडी यस्तो परिवर्तन आफैंबाट सुरु गर्नुपर्ने बताउँछ । कतिले उमेरान्तरका कारण परनिर्भर हुनुपर्ने तर्क गर्छन् । तर, संगीता भन्छिन्, ‘बालबच्चा जन्माउने, परिवार सम्हाल्ने, इष्टमित्र–आफन्त व्यवस्थापन गर्ने काममा हिजो पुरुषहरू महिलामै निर्भर थिए, त्यसलाई हामी किन स्वीकार नगर्ने ?’

आर्थिक पाटो मात्रै दाम्पत्यको निर्णायक तत्त्व होइन भन्ने संगीता पछिल्लो समय महिला व्यावसायिक बन्दै गएकाले यस्ता विषयमा चासो बढेको स्वीकार गर्छिन् । महिलाको फेरिँदो स्तर र भूमिकाका कारण अहिले व्यक्तिगत वा पारिवारिक विषय पनि सामाजिक बन्न पुगेको बताउँदै भूमिराज भन्छन्, ‘महिला सधै उही स्थान र उस्तै भूमिकामा रहनुपर्छ भन्ने मान्यता अब फेरिनुपर्छ । मैले नआँटे कसले आँट्ने ? सूत्रमा हामी युवा अगाडि बढ्नुपर्छ । मैले आफूभन्दा बढी उमेरकी श्रीमती भित्र्याएर कहिल्यै असहज वा अपमानित महसुस गर्नुपरेको छैन । बरु मेरा हरेक कदममा दरिलो साथ र भरोसा पाएको छु ।’ 

उनीहरूबीच यो काम श्रीमतीले मात्रै गर्ने वा यो श्रीमान्ले मात्रै गर्ने भन्ने छैन । भ्याएको बेला जसले जुन काम पनि गरिरहेकै हुन्छन् । छोरी (५ वर्षीया समृद्धि) हुर्काउन दुवैले उत्तिकै समय दिन्छन् । संगीताको सुटिङले कति रात बाहिर बस्नै परे पनि उनलाई ढुक्कै छ । ‘मेरो पेसालाई यति धेरै बुझ्ने र महिलालाई सम्मान गर्ने श्रीमान् कमै हुन्छन्, यसमा म भाग्यमानी छु,’ संगीता भन्छिन्, ‘हामी श्रीमान्–श्रीमती कम, बेस्ट फ्रेन्ड बढी छौं । स–साना कुरा आपसमा सुनाउन आतुर हुन्छौं, बेलुका भेट हुने समय कुर्न नसकेर कति कुरा फोनैमा सुनाउँछौं ।’ 

 

 Image