खप्तड :  प्रकृतिको उपहार

- वसन्तप्रताप सिंह, विद्या राई

पुस ९, २०७६

पारिपट्टि नजिकै जसरी लहरै हिमशृंखला । यता वारि फराकिला पाटनमा तपतप चुहिने सेताम्मे हिउँ । मधुर स्वरमा चिरबिर गर्दै भुर्र–भुर्र उड्ने चरा । जिस्क्याएझैं गरी झाडी र पाटनमा लुकामारी खेल्दै आगन्तुकहरूलाई स्वागत गर्ने मृग एवं कस्तूरी । अञ्जुलीमा उठाएर पिउँदा अमृत बिर्साउने कञ्चन अनि कलकल बग्ने खोलाको पानी । कतै पहाड, कतै खोंच, कतै पाटन अनि सिमसार । 

सुदूरपश्चिमका चार जिल्ला बझाङ, बाजुरा, डोटी र अछामको थाप्लोमा पर्ने भूस्वर्ग खप्तडले अनेकौं विविधता बोकेको छ । पर्यटन पत्रकार अमृत भादगाउँले भन्छन्–‘प्राकृतिक, धार्मिक, ऐतिहासिक एवं पर्यटकीय तवरले छुट्टै अस्तित्व बोकेको सुदूरपश्चिमको श्रीपेच हो ।’ उनी थप्छन्–‘२ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाइमा पर्ने खप्तड जैविक विविधताको राजधानी हो ।’

वास्तवमा खप्तड अलौकिक छ । सुन्दर छ । अनुपम छ । धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक सबै हिसाबले अद्वितीय छ । खप्तडमा सिजनअनुसार जंगली फूल, हिउँ फूल तथा हिमाल हेर्न पाइन्छ । अपी र साइपाल हिमाल प्रस्टै देखिन्छन् । अन्य थुप्रै हिमशृंखला खप्तडको समानान्तर देखिँदा मन प्रफुल्ल हुन्छ । यहाँका फराकिला ठूला पाटनले बेलायतको घाँसे मैदानलाई बिर्साउँछ । खप्तडमा वर्षभरि घुमे पनि अघाइँदैन । दुर्लभ जीवजन्तु, वनस्पति एवं अनुपम प्राकृतिक छटायुक्त खप्तडले भूस्वर्गको उपमा त्यसै पाएको होइन । खप्तड काव्ययात्रा पुस्तकमा राष्ट्रिय गानका रचनाकार तथा गीतकार व्याकुल माइलाले खप्तड घुमफिरपछि लेखेका छन्–‘नेपाल कति पवित्र, सुन्दर र धनी छ भन्ने कुराको एउटा ज्वलन्त उदाहरण हो–खप्तड ।’ 

थरीथरीका फूल फुलेर रंगीन हुने खप्तडका पाटनको दृश्य उत्तिकै लोभलाग्दो हुन्छ । महँगो अत्तर बिर्साउने फूलको मगमग वासनाले खप्तड पुग्ने जोसुकैको आँत हरर्र बनाइदिन्छ । चैतदेखि कात्तिकसम्म फूलैफूलले ढाकिने खप्तड हिउँदमा सेतो आँचलमा छोपिन्छ । चिसो भए पनि परिवेश रोमाञ्चक भैदिन्छ । पर्यटकहरू खप्तडमा जुनसुकै बेला रमाउन सक्छन्, खप्तडबाट प्राकृतिक प्रेम सिक्न सक्छन् । 

०४३ असार ९ मा स्थापना भएको खप्तड राष्ट्रिय निकुञ्जको क्षेत्रफल २ सय २५ वर्गकिलोमिटर छ । निकुञ्ज कार्यालयका अनुसार यो निकुञ्जअन्तर्गत वन क्षेत्र १ सय ९९ दशमलव ७३, घाँसे मैदान १३ दशमलव ४७, कृषि भूमि ९ र झाडी बुट्यान २ दशमलव ८० वर्गकिलोमिटर छ । यहाँ ५२ पाटन (चौर), ५३ थुम्का तथा २२ वटा दह छन् । खप्तडमा ३ सय ८२ प्रकारका रुख, वनस्पति तथा जडीबुटी पाइन्छन् जसमा रूख ५७, बुट्यान ७८, घाँसपात २ सय ३, लहरा ८ र उन्यू १९ प्रजातिका छन् । यो क्षेत्र कालकूट, पाँचऔंले, नीरमसीजस्ता जडीबुटीको भण्डार मानिन्छ । लेकसल्लो, भोजपत्र, खस्रु, गुराँस, रानीसल्लो, उत्तीस, महुवा, लौठसल्ला आदिका रूख–वनस्पति पनि त्यहाँ पाइन्छन् । 

१२ वटा गुफा भएको खप्तड क्षेत्रमा २ सय ८७ प्रजातिका पन्छी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप तथा ६ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् । हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तूरी, चितुवा आदि जनावर खप्तडमा उपलब्ध हुन्छन् । कस्तूरी मृग, चरीबाघ तथा ब्वाँसोजस्ता संरक्षित जीव खप्तडका सम्पत्ति नै हुन् । 

खप्तडको धार्मिक एवं पौराणिक महत्व छ । स्कन्द पुराणमा खप्तडलाई ‘खेचराद्री’ पर्वत भनिएको छ । खेचर शब्द अपभं्रश हुँदै जाँदा खप्तड भएको स्थानीय बासिन्दाहरू बताउँछन् । पौराणिक कालमा मायावी शक्ति भएका देवीदेवताहरू गगनचरीको भेष धारण गरी खप्तडको आकाशमा रमाउने आर्षपुराण आदि विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । देवीदेवता एवं सिद्धहरूको क्रीडास्थल खप्तड ऋषिमुनिहरूको पनि तपस्थल हो । युधिष्ठिर र पाण्डव पनि यतैबाट स्वर्ग गएको पौराणिक मान्यता छ । खप्तडको त्रिवेणी धाममा लाग्ने गङ्गा दशहरा मेला भरे मोक्ष प्राप्त हुने जनविश्वास छ । सहस्त्रलिङ्ग, केदार ढुङ्गा, नागढुङ्गा, भुदेउ ढुङ्गालाई शिवस्वरूप मानेर पूजा गर्ने चलन अहिले पनि कायमै छ । 

सुदूरपश्चिम लोकसंस्कृतिमा धनी छ । खप्तड आसपासमा ब्राह्मण, क्षेत्री, ठकुरी तथा जनजातिहरूको बसोबास छ । उनीहरूको छुट्टै वेशभूषा र परिचय छ । खप्तडमा हरेक वर्ष जेठ शुक्ल दशमीका दिन लाग्ने गंगा दशहरा मेलामा उनीहरूको संस्कृति एवं मौलिकता हेर्न पाइन्छ । उक्त मेला भर्न देश तथा विदेशका मानिसहरू भेला हुन्छन् । यो विशेषत: चेलीबेटीले मनाउने पर्व हो । यो पर्वमा महिलाहरूले रंगीचंगी कपडाका टुक्राबाट पुतली बनाउने, पूजा गर्ने अनि साँझपख पानीको मुहान नजिकै सेलाउने काम गर्छन् । मेलामा पुतला नाच देखाउने र गीत गाउने काम हुन्छ । यसैगरी सुदूरपश्चिमको चर्चित देउडा गीत पनि यो मेलाको विशेषता हो । यतिबेला यहाँ घोडा दौडाउने प्रतिस्पर्धा पनि चल्छ ।

यिनै विविधता बोकेको खप्तडले अहिले पर्यटकहरूलाई तान्न थालेको छ । कुनै बेला गौचरनमा सीमित खप्तडका पाटनहरू अहिले पर्यटकले भरिन्छन् । बझाङको खप्तडछान्ना गाउँपालिका दारुगाउँका पुष्कर रावल भन्छन्–‘हाम्रा लागि खप्तड त गोठालो गर्ने, खर्क बस्ने ठाउँ न थियो, अहिले ‘टुरिस्ट’ घुम्ने ठाउँ भयो । खप्तडको बढ्दो प्रचार–प्रसारले गर्दा पर्यटकहरू बर्सेनि बढ्दै गएका छन् । १७ वर्षदेखि खप्तड राष्ट्रिय निकुञ्जमा कार्यरत कृष्णदत्त अवस्थीका अनुसार पछिल्ला वर्षहरूमा नयाँ अनुहार र विभिन्न उद्देश्य बोकेका मानिसहरू आउने क्रम बाक्लिएको छ । यहाँ दिनहुँ ६० देखि ८० पर्यटक आउँछन् । त्यसमध्ये पनि आन्तरिक पर्यटक बढी छन् ।

 

त्रिवेणीधाम

खप्तड स्वामीद्वारा लिखित धर्मविज्ञानमा उल्लेख भएअनुसार सोलिङ्ग खोला सहस्त्रलिङ्ग भएर बग्दै आउँछ । यसलाई ‘गङ्गा नदी’ भनिन्छ । डाँफेकोट भएर डाँफेकोट खोला बग्दै आउँछ । यसलाई ‘यमुना’ भनिन्छ । यसैगरी प्राचीन धर्मशाला मुन्तिर गुप्त बगेकी नदीलाई ‘सरस्वती नदी’ भनिन्छ । गङ्गा, यमुना र सरस्वतीको संगमस्थललाई नै त्रिवेणी भनिन्छ । निकुञ्जको बीच भागमा रहेको त्रिवेणी क्षेत्रमा हरेक वर्ष गङ्गा दशहराका दिन मेला लाग्छ । उक्त त्रिवेणीमा स्नान गर्दा इच्छित फल प्राप्त हुनुका साथै पाप मोक्ष हुने जनविश्वास छ । 

सहस्रलिड्ड

समुद्री सतहबाट करिब १२ हजार फिटको उचाइमा रहेका तीनवटा चुचुरा भएको ठूलो शिलालाई सहस्रलिङ्गका रूपमा पूजा गरिन्छ । यसलाई स्थानीय बासिन्दाहरूले शंकरी शिला पनि भन्छन् । उक्त शिलाको पहिलो चुचुरोमा भगवान् शिव, दोस्रोमा पार्वती तथा तेस्रोमा भगवान् गणेश विराजमान भएको धार्मिक विश्वास छ । चुचुरोभन्दा तल शिवलिङ्ग आकारका सयौं स–साना चुचुरा छन् । धार्मिक ग्रन्थहरूमा उक्त सहस्रलिङ्गको महत्व काशी विश्वनाथजत्तिकै बताइएको छ । तीर्थालुहरूले श्रद्धा–भक्तिका साथ त्यहाँ पूजाआजा गर्छन् । मनोकामना पूरा होस् भनेर सहस्रलिङ्गमा घण्ट चढाइन्छ ।

 

खप्तड दह र जगन्नाथको मन्दिर

करिब १ सय मिटर चौडाइ तथा ५० मिटर लम्बाइको यो तालको उद्गम र निकास छैन । यद्यपि यो दहमा बार्‍है महिना पानीको सतह भने एकनास रहन्छ । अर्काे अनौठो कुरा यो दहका दुईवटा नाम छन् र त्यसमा दुई रंगको पानी देखिन्छ । आधा दहमा निर्मल सेतो पानी हुन्छ । यसलाई खापर दह भनिन्छ । यसलाई दुधिर वीरको रूप मानिन्छ भने धमिलो पानी भएको आधा दहलाई अशंखी भनिन्छ र त्यसलाई नीलकण्ठ कालीको रूप मानिन्छ । 

यो दहको उत्तरमा काठैकाठले बनेको जगन्नाथको मन्दिर छ । छेवैमा हवनकुण्ड छ । यो मन्दिर तेर्‍हौं शताब्दीभन्दा पहिले नै निर्माण भएको खप्तडको धार्मिक महत्वका अनुसन्धानकर्ता एवं पूर्व सचिव विष्णुप्रसाद खत्रीको भनाइ छ । 

अर्काे अनौठो कुरा दलितलाई छोइछिटो गर्ने चलन रहेको सुदूरपश्चिममा यो मन्दिरका मूल पुजारी सार्की जातिका मानिसहरू हुनु हो । यति मात्र होइन त्यहाँ सार्की जातका पुजारीले दाँतले चपाएको चामलको अक्षता प्रसादका रूपमा चढाइन्छ । हरेक वर्ष भदौमा त्यहाँ ठूलो मेला लाग्छ । पूर्णिमाका दिन पुजारी गाउँ, बझाङबाट खापर जगन्नाथको डोली आउँछ । 

खप्तडबाबाको कुटी

घोडादाउना पाटनको पूर्वमा करिब ११ हजार फिटको उचाइमा खप्तडबाबाको कुटी छ । बझाङ राज्यका अध्येता विष्णुभक्त शास्त्रीका अनुसार माझको झुत्ती भन्ने ठाउँमा अवस्थित यो कुटी २००३ सालमा तत्कालीन बझाङी राजा रामजंगबहादुर सिंहले खप्तडबाबाका लागि निर्माण गरिदिएका थिए । 

स्लेटले छाएको यो कुटीमा योग साधना कक्ष, गर्भगृह तथा तप योग कक्ष आदि छन् । खप्तड स्वामीले त्यहाँ झन्डै ५० वर्ष साधना गरेका थिए । सुदूरपश्चिमको परम्परागत शैलीमा निर्माण गरिएको उक्त कुटीमा खप्तडबाबाले प्रयोग गरेका सामग्री, उनले लेखेका तथा अध्ययन गरेका पुस्तकलगायत अरू विभिन्न सामग्री अहिले पनि सुरक्षित छन् । 

केदारढुंगा

केदारढुंगा त्रिवेणीधाम नजिकै छ । यसको कथा महाभारतसँग जोडिएको छ । महाभारतको युद्धकालमा वंश विनाश र गोत्रहत्याको पापमोचन गर्न पाण्डवहरू खप्तडको पाटन आइपुगे । पाण्डवहरूले त्यहाँ पूजा, होम, तर्पण आदि गरेपछि उनीहरू शिवजीको दर्शनका लागि एकाग्र भए । राँगा–भैंसीको बथानमा राँगाको भेषमा विचरण गरिरहेका शिवको दर्शन टाढैबाट गरे पनि नजिकै पुग्दा ती शिवस्वरूप केदार विशाल शिलामा परिणत भैसकेका थिए । तीर्थालुहरू अहिले त्यसको पूजाआजा गर्छन् । 

माईकाथान

बझाङको खप्तड छान्ना गाउँपालिका तथा थलारा गाउँपालिकाबाट खप्तड प्रवेश गर्ने पहिलो पाटन नजिक खडुली र दुदुली देवीका दुई अलग–अलग मन्दिर छन् । ती दुईवटा मन्दिरको बीचमा एउटा यज्ञमण्डप छ । मन्दिर नजिकै तीनवटा धर्मशाला छन् । यहाँ हरेक चैत तथा असोज महिनाको अष्टमीका दिन पूजाआजा हुन्छ । 

कसरी पुग्ने ?

काठमाडौं–धनगढी ६ सय ८० किलोमिटर बसबाट तय गर्न १६ घन्टा लाग्छ । हवाई यात्रामा १ घन्टा १० मिनेट लाग्छ । धनगढीबाट चारवटै जिल्ला भएर खप्तड पुग्न सकिन्छ । ती चारै जिल्लामा काठमाडौंबाट सीधा बस सेवा पनि छ । दुई दिन सीधा बस यात्रा गरेपछि सदरमुकाम हुँदै खप्तडको यात्रामा लाग्न सकिन्छ । डोटीको बाटो भएर जानेले सिलगढी–झिग्राना डेढ घन्टा जिपको यात्रा गर्नुपर्छ । झिग्रानाबाट १० घन्टा पदयात्रा गरेपछि निकुञ्ज हेडक्वार्टर पुगिन्छ । बझाङ हँुदै जानेले सदरमुकाम पुग्नुअगावै तमैल बजारबाट दारुगाउँसम्म २ दशमलव ५ घन्टा जिप यात्रा गर्नुपर्छ । त्यहाँबाट करिब चार घन्टा पदयात्रा गरेपछि निकुञ्ज हेडक्वार्टर पुगिन्छ । चार जिल्लामध्ये बझाङको बाटो सबैभन्दा छोटो छ । दम्साइलो उकालो पर्ने भएकाले जोसुकै यो बाटो भएर खप्तड पुग्न सक्छन् । 

खप्तडबाट फर्किएपछि

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×