निर्मलाले न्याय नपाउने नै हुन् त ?

डा. नम्रता पाण्डे

पुस ३, २०७६

जुन कुरा समाज र राष्ट्र विकासमा बाधक छन्, जनताको स्वतन्त्र जीवनका लागि आवश्यक छन् र राष्ट्र र राजनेता, प्रशासनबाट ती कुरालाई प्राथमिकतामा राखिँदैन तब अभियान सुरु हुन्छन् नागरिकहरूबाट । जुन अभियान नागरिकहरूबाट सुरुवात हुन्छन् ती असफल हुने कुनै पनि कारण हुँदैन । नागरिक शक्ति यस्तो शक्ति हो, यस्तो ऊर्जा हो जसले जस्तोसुकै शक्तिलाई परास्त गरेका उदाहरण सबैका सामु छर्लड्ड छन् ।  

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको अभियान यो वर्ष पनि चल्नेछ तर यसले निर्मलालाई न्याय देला त ? २०७५ साउन १० गते कञ्चनपुरकी अबोध १३ वर्षीया निर्मला पन्तको बलात्कार र त्यसपछि हत्या भयो तर १६ महिना बितिसक्दा पनि कसले, कसरी, किन हत्या गर्‍यो भन्ने तथ्य बाहिर आउन नसक्नु दु:खको कुरा हो । यो अपराधको छानबिन हुन्छ र सत्य–तथ्य जनतामाझ आइपुग्छ भन्ने आशाका साथ अनेकौं जन अभियान, संचारमाध्यमहरूद्वारा खोजी, अनेकौं संघसंस्था, मानव अधिकार आयोगको खोजी, छानबिन र प्रतिवेदन, कयौं महिला अधिकारकर्मीको आवाज र प्रतिवेदनपछि पनि सत्य–तथ्य बाहिर आउन सकेको छैन । सबैभन्दा मुख्य भूमिका हुनुपर्ने अभिभावकसरहको राज्य, सरकारले यो घटनाको सत्य–तथ्य बाहिर ल्याउन चाहेन वा सकेन ? गम्भीर प्रश्न अझै बाँकी छ । अरू सरोकारवाला र जनताको सुनुवाइ (पब्लिक अडिट) मा पनि कमी भएको हो वा सेलाएको हो ? यो घटना यत्तिकै बिर्सिने हो वा अझै पनि सत्य–तथ्य बाहिर आओस् भनेर स्मरण गराइरहनुपर्छ ? प्रश्न र अन्योलताबीच पनि निर्मलालाई कसैले बिर्सन सकेका छैनन् । महिला हिंसाविरुद्धको अभियान मात्र कहाँ हो र अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, अन्तर्राष्ट्रिय मानव अधिकार दिवस पनि गत मंसिर महिनामै मनाइए । के कुराको स्मरण गराउलान् र के न्याय देलान् यी दिवसले निर्मला पन्त र निर्मलाजस्तै अन्यायमा परेका हाम्रा सयौं चेलीलाई ?

विचार गरौं त निर्मलाजस्तै आफ्ना सन्तान र छोरीको अनुहार, तिनीहरूले सोचेको भविष्य अनि राज्यले गुमाउनुपरेका भविष्यका कर्णधारहरूलाई ? छाती चिरिएर आउँछ, कहाली लागेर आउँछ । नेतृत्वमा रहेकाहरूबाट यस्ता घटनालाई सामान्यीकरण गरिनु, निर्मला पन्तका जस्ता घटना भैरहन्छन् भन्ने अभिव्यक्ति दिइनु, प्रहरी प्रशासनले पनि १६ महिना बितिसक्दा र पर्याप्त प्रमाण हुँदा पनि बेवास्ता गर्नु अनि भएका प्रमाण नष्ट गरिनुले हिंसा र अपराधजन्य क्रियाकलापले राज्यस्तरबाटै प्रश्रय पाइरहेको त छैन भन्ने आशंका हुनु स्वाभाविक हो । मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक नगरिनु, जन अभिमतलाई नसुनिनु जस्ता धेरै विषयले घटनाका दोषीलाई लुकाउन वा जोगाउन खोजेको अनुमान गरिनु अन्यथा होइन । 

राज्यले यस्ता घटनाका दोषीलाई सार्वजनिक गर्न चाह्यो भने त्यसका अनेकौं उपाय छन् तर यो घटना १६ महिनादेखि गुपचुप नै छ । यो वर्षको अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको अभियानले निर्मला बलात्कार र हत्याका दोषीलाई सार्वजनिक गर्न जनदबाब सिर्जना गर्न सकोस् र पीडित एवं पीडितका परिवारले न्याय पाए भन्ने कुराको प्रत्याभूति दिलाउन सक्यो भने मात्र अभियानको सार्थकता झल्किनेछ । न्याय मरेको छैन, नेपालमा कानुनको शासन छ भन्ने प्रत्याभूति दिलाउन कुनै पनि कसर बाँकी रहनु हुँदैन । यस्ता घटनालाई पुनस्मरण गरेर न्याय बिउँताउन सकिएन भने हामी सबै अन्यायमा परेका छौं भन्ने अनुभूति भैरहनेछ । हुन त रानीबारी हत्याकाण्डका दोषी १२ वर्षपछि फेला परे । रौतहट नरसंहारको पनि १२ वर्षपछि नै भण्डाफोर भएको छ । निर्मलाले न्याय पाउने कुरामा त शंकै छैन तर १२ वर्षसम्म कुर्नु नपरोस् ।

जनआवाज र खोजीनीतिले यसलाई छिट्टो भन्दा छिट्टो निर्मला एवं निर्मलाको परिवारलाई न्याय प्रदान गरोस् । अहिलेको परिस्थितिमा, सूचना र संचारको युगमा संचारमाध्यम र जनआवाज, जनताको सुनुवाइ महत्वपूर्ण छ । संचारमाध्यम एवं सामाजिक सञ्जालमार्फत जनताको आवाज र अन्यायको प्रतिकारले आज सरकारी र उच्चस्तरीय व्यक्तिले समेत आफ्नो अपराध लुकाउन पाएका छैनन् । यसलाई जनताको पक्षमा ठूलो उपलब्धि मान्नुपर्छ । न्यायका लागि, खराब आचरण र अपराधविरूद्ध आवाज उठाउन र सत्य–तथ्य सार्वजनिक गर्न पब्लिक अडिट जत्तिको शक्तिशाली माध्यम अरू हुँदैन भन्ने धेरै उदाहरण प्रस्तुत भैसकेका छन् । यसबाट जनताको चेतनाको स्तर, सामाजिक न्याय एवं विकासमा जनताको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने छर्लङ्ग हुन्छ ।

जुन कुरा समाज र राष्ट्र विकासमा बाधक छन्, जनताको स्वतन्त्र जीवनका लागि आवश्यक छन् र राष्ट्र र राजनेता, प्रशासनबाट ती कुरालाई प्राथमिकतामा राखिँदैन तब अभियान सुरु हुन्छन् नागरिकहरूबाट । जुन अभियान नागरिकहरूबाट सुरुवात हुन्छन् ती असफल हुने कुनै पनि कारण हुँदैन । नागरिक शक्ति यस्तो शक्ति हो, यस्तो ऊर्जा हो जसले जस्तोसुकै शक्तिलाई परास्त गरेका उदाहरण सबैका सामु छर्लङ्ग छन् । नागरिक शक्ति सूर्यको तेजजस्तै ऊर्जा हो जसलाई कसैले हत्केलाले छेक्ने प्रयास नगरेकै राम्रो । बर्सेनि अन्तर्राष्ट्रिय रूपमै चल्ने महिला हिंसाविरुद्धको अभियान नेपालमा पनि प्राथमिकताका साथ चल्ने गरेको छ र यसको उद्देश्य महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षणमा निरन्तरता, उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने हक–अधिकारको सुनिश्चितता तथा विकासका समान साझेदारका रूपमा महिला तथा बालबालिकालाई स्थापित गरी लैङ्गिक हिंसाविरुद्ध विविध सचेतना जागृत गराउनु हो । आममहिला एवं बालबालिकाहरूको नजरमा, ह्दयमा निर्मला पन्त तथा उनको परिवार सबैलाई थप संवेदनशील बनाउँदै लगेको छ । यसपटकको महिला हिंसाविरुद्धको अभियानले निर्मला र निर्मलाको परिवारलाई न्याय दिन सकेन भने यसको सार्थकता र महत्व न्यून हुनेछ । निर्मलाले न्याय नपाउँदासम्म कुनै पनि अभियानको सार्थकता रहने छैन ।

आखिर किन बर्सेनि कयौं निर्मलाहरू दुव्र्यवहारको सिकार हुन्छन् ? मानवीय संवेदना र राष्ट्रको समृद्धिको मापनमा महिला तथा बालबालिकामाथिका यस्ता यौनजन्य हिंसा एवं दुव्र्यवहारले कस्तो असर पार्छ ? नारीत्व र मातृत्वको सम्मान नभएको समाजमा समृद्धता कहाँबाट आउँछ ? आत्मविकास हुन नसकेको व्यक्ति र समाजबाट राष्ट्र विकासको अपेक्षा कसरी गर्ने ? महिला भएकै कारणले गरिने हिंसा, हत्या र चरित्र हत्याजस्ता संवेदनहीन क्रियाबाट समाजलाई मुक्ति दिलाउन चेतना जागरणको अभियान कहिलेदेखि लागू हुन्छ ? असल चरित्र मानवीय गुण हो, यो महिला–पुरुष दुवैमा आवश्यक हुन्छ भन्ने बोध कहिले जाग्छ ? सुन्दर, प्रेमल, खुसी र आनन्दित जीवनलाई बोझ बनाउने र अरुमा बोझ थप्ने आफ्नो स्वभावमा जिउने व्यक्तिलाई ढिला नगरी राष्ट्र्रलाई सुन्दर बनाउने व्यावहारिक शिक्षा र अभियान कसले संचालन गर्ने ? धेरै माग, विकासका एजेन्डा र सुधारसहितका अभियान, अनशन एवं आन्दोलनहरू हुन्छन् तर मानिसलाई मानिस नै बनाउने अभियान कसले सुरु गर्ने ? यो राष्ट्रमा अपराधी त लुकाइन्छन् भने अरु चीज कसरी नलुकाइएका होलान् ? अपराधी र हत्यारालाई खुलस्त पार, हत्यारालाई मृत्युदण्ड देऊ भन्दै धेरै पटक माग गरिएका छन् तर मृत्युदण्ड नै लागू गरे पनि भित्री चेतना जागृत हुन सकेन भने मानिस भित्रबाट शान्त हुन सक्दैन । भित्र शान्त नहुँदासम्म वासना र क्रोधबाट मुक्ति पाउँदैन । महिला हिंसामा परिसकेपछि कानुनी न्याय खोज्दै आन्दोलनमा उत्रिनु र पीडित भएपछि हक–अधिकारका मुद्दा अगाडि ल्याउनुभन्दा महिला होस् वा पुरुष समाजमा, घर–घरमा र राष्ट्रमै हिंसा उत्पन्न हुन नदिने वातावरण सिर्जना गर्न कति वर्षसम्म अभियान चलाउनुपर्ने हो ? 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>