Successfully Copied

नयाँ वर्षे प्रतिबद्धता

हाम्रो घर–आँगनमा आफ्नै नयाँ विक्रम सम्वत् भित्रिएको छ । आफ्नै किन भनेको भने पछिल्ला केही वर्षदेखि हामी वर्षभरिमा धेरै थरिका नयाँ वर्ष मनाउन अभ्यस्त भइसकेका छौं ।


प्रा.डा. सुमनराज ताम्राकार

हाम्रो घर–आँगनमा आफ्नै नयाँ विक्रम सम्वत् भित्रिएको छ । आफ्नै किन भनेको भने पछिल्ला केही वर्षदेखि हामी वर्षभरिमा धेरै थरिका नयाँ वर्ष मनाउन अभ्यस्त भइसकेका छौं । विक्रम सम्वत्सँगै नेपाल सम्वत् र ह्याप्पी न्यू ईअर मनाउँदै आएकोमा अन्य जातीय नयाँ वर्ष पनि स–सम्मान मनाउन थालेका छौं । जोकोहीले आफ्नो जीवनमा नयाँ वर्षको आगमनसँगै केही प्रतिबद्धता गरी वर्षर्भैरिमा केही सकारात्मक परिवर्तन ल्याउनुको सार्थकता के नै हुनसक्छ र ? केटी (छोरी), युवती एवं किशोरी (कसैको गर्लफ्रेन्ड), नारी वा महिला (श्रीमती एवं आमाको भूमिका) सँगै अधवैंसे अनि वृद्धावस्था (हजुरआमा अनि जिजुआमा) सँगै अधिकतर महिलाको जीवन व्यतित हुन्छ । एकपटकको नयाँ वर्ष अर्थात् विक्रम सम्वत् २०८१ को आगमनसँगै यी विभिन्न उमेर समूहका महिलाहरूले के, कस्ता प्रतिबद्धता गर्न सकिन्छ त्यसको मोटामोटी खाका पस्किदैछु। निम्न उमेर समूह सैद्धान्तिक वा अथेन्टिकभन्दा न्यू ईअर रिजोलुसनका दृष्टिले अलि फरक ढंगले गरिएको छ ।  

केटी वा छोरी समूहमा ११, १२ वर्षसम्मका केटी वा छोरीहरूलाई समेटिएको छ । यी उमेर समूहकाले खासमा आफ्नै शैक्षिक स्तरलाई उकास्दै लानुमै प्रतिबद्ध हुनुपर्छ । यो उमेर समूहका नानीहरूले आफ्नो शरीरको सरसफाइमा उत्तिकै ध्यान दिन आवश्यक छ । यसका अलावा मोबाइल कम चलाउँछु भनी आफ्नो पढाइमा पूरापूर ध्यान दिन प्रतिबद्ध हुन सकिन्छ । यो उमेर समूहकाले ‘ब्याड टच र गुड टच’ बारे जानकार हुनु आवश्यक छ । यस्तो दुर्व्यवहार भैरहेको भए आफ्ना अभिभावकसँग खुलस्त सेयर गर्न प्रतिबद्ध हुन सकिन्छ । यो उमेर समूहको उत्तरार्द्धतिर महिनावारी सुरु भैसक्ने हुनाले यौन स्वास्थ्य, स्वस्थ महिनावारीबारे आवश्यक जानकारी लिन्छु भन्नेमा प्रतिबद्ध हुन सकिन्छ ।  बाइस, तेइस वर्षसम्मकालाई युवती एवं किशोरी उमेर समूहमा समेटिएको छ । यो उमेर समूहका किशोरीहरू निकै भल्नरेबल (संवेदनशील) समूहमा हुन्छन् । यस उमेर समूहकाले आफ्नो विद्यालयस्तरीय पढाइ पूरा गर्नुका साथै उच्च शिक्षा हासिल गर्ने, क्यारियर बनाउने, राम्रो भरपर्दो जीवनसाथी रोज्ने कार्यमा प्रतिबद्ध हुन सकिन्छ । तर पछिल्लो समय अधिकतर अभिभावकहरू यो उमेर समूहका आफ्ना सन्ततिहरूमा नैतिकता हराउँदै गएको र धेरै समय मोबाइलमै झुन्डिने गरेकोमा चिन्तित छन् । आंशिक तवरमा विशेषतः सहरी क्षेत्रमा विवाहपूर्व यौन सम्बन्ध राख्ने, पटक पटक आकस्मिक गर्भ निरोध साधनको उपभोग गर्ने, नशालु पदार्थ एवं मादक फदार्थ सेवन गर्ने क्रम बढ्दै गएका कारण यी त्रियाकलापमा यो नयाँ वर्षमा केही रिजोलुसन गर्न सकिन्छ । त्यसैगरी यही उमेर समूहका गाउँले किशोरीहरूमा एकातिर बाध्यात्मक बालविवाहको चपेटामा परेका छन् भने अर्कोतिर विद्यालयस्तरमै लभ म्यारिज गर्नेको संख्या उल्लेख्य छ । यी क्रियाकलापबारे आ–आफ्ना अभिभावकहरूलाई गुनासो गर्न ठाउँ दिने छैन भनेर प्रतिबद्धता जनाउने कि ? यो उमेर समूहका किशोरीहरू आफ्नो महिनावारी स्वास्थ्य, रिलेसनसीप वा लिभिङ टुगेडरमा हो भने यौन स्वास्थ्य, विवाहित हो भने गर्भपूर्वको स्वास्थ्य, गर्भवती हो भने प्रसूति स्वास्थ्यको हेरचाह गर्न प्रतिबद्ध हुन सकिन्छ । अधिक मोटोपनासँगै महिनावारीको अनियमितता, गर्भधारण गर्न समस्या, डन्डिफोर एवं छालाको समस्या, अधिक रौंको समस्या उब्जिन सक्छ । त्यसैले यो उमेर समूहकाले आफ्नो शारीरिक वजन सन्तुलनमा राख्न व्यायाम, योगा, जुम्बामा संलग्न हुन्छु भन्नेमा प्रतिबद्ध हुन सकिन्छ ।


त्यसपछि श्रीमती वा आमाको भूमिकामा रहेका महिलाहरू (३०, ३५ वर्ष सम्मका) ले आफ्नो व्यक्तिगत स्वास्थ्य, घरको स्वास्थ्यसँगै परिवारको स्वास्थ्यमै धेरै ध्यान दिन्छु भन्नेमा प्रतिबद्ध हुन सकिन्छ । यो उमेर समूहका महिलाहरू पछिल्लो समय आफ्नो घरको कामसँगै बाहिर पनि कामकाजी हुन थालेकाले घर र परिवारलाई सन्तुलनमा राख्न, तनावरहित जीवन सुचारु राख्न यस उमेर समूहका महिलाहरूलाई आ–आफ्ना श्रीमान् वा पुरुष पार्टनरले घरायसी काम सेयर गर्छु भन्नेमा तिनीहरूले पनि यो नयाँ वर्षसँगै प्रतिबद्धता जनाउन आवश्यक छ । यो उमेर समूहमा नियमित अन्तरालमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरको स्क्रिनिङ, सुगरका साथै उच्च रक्तचाप, कोलेस्टेरोल, थाइराइड, क्याल्सियमको लेभलको ख्याल गर्छु भनेर प्रतिबद्धता जाहेर गर्न सकिन्छ । वर्षमा एकपटक अल्ट्रासाउन्ड, मिर्गौला एवं कलेजोको काम गराई अनि कोलेस्टेरोलको लेभलका लागि रगत जाँच गराउँछु भनेर प्रतिबद्ध हुन सकिन्छ । यही उमेर समूहमा आफूलाई फिट एण्ड फाइन राखेर सामाजिक सेवाका लागि केही समय निकाल्छु भनेर रिजोलुसन बनाउन सकिन्छ । यसका साथै महिनामा एउटा साहित्यिक पुस्तक पढ्छु, दुई–तीन महिनामा एकपटक नयाँ ठाउँ वा देवदेवालयको भ्रमण गर्छु भनेर प्रतिबद्ध हुन सकिन्छ ।


अब भने चालीस वर्षमाथिका उमेर समूहको कुरा गर्दैछु । निश्चयपनि यो उमेरसम्ममा बालबच्चाको पढाइ–लेखाइ, तिनीहरूको चालचलनमा ध्यान दिन आवश्यक त छँदैछ । तिनीहरू सही ट्रायकमा छन्–छैनन्, तिनीहरूलाई सही मार्गमा डोहोर्‍याउँछु भन्नेमा प्रतिबद्ध हुन सकिन्छ । यो उमेर समूहमा क्यान्सरलगायत मधुमेह, उच्च रक्तचाप आदि नसर्ने रोग, कतिपय जीर्ण स्वास्थ्य समस्यामा सचेत हुन आवश्यक छ । चिन्ता कम गर्ने, यथेष्ट आराम गर्ने, राम्रो निदाउने, मनमस्तिष्क शान्त राख्न सामाजिक, धार्मिक, आध्यात्मिक चिन्तनमा पनि समय खर्चिन्छु भनेर यो नयाँ वर्षमा काम गर्न सकिन्छ । यो उमेरमा महिनावारी सुक्ने समय नजिकिएसँगै रजनोवृत्तिसँग सम्बन्धित धेरै समस्याले सताउन थाल्छ । सहरी क्षेत्रका यी उमेर समूहका महिलामा मोटोपना, घुँडा जोर्नीको समस्या, थाइराइड र क्याल्सियमको समस्याको के कुरा गर्नु र ? पछिल्लो अध्ययन–अनुसन्धानबाट किशोरी एवं यो उमेर समूहका अधिकतर महिलाहरूमा पाचन प्रणालीमै कैफियत अर्थात् असन्तुलनका कारण धेरै स्त्री रोगजन्य समस्या (हर्मोनको असन्तुलन, पोलिसिस्टिक ओभारियन सिन्ड्रोम, डन्डिफोर, इन्डोमेट्रिओसिस आदि) देखिने गरेको प्रमाणित भएको परिप्रेक्ष्यमा आफ्नो पाचन प्रणालीको स्वास्थ्य सही सलामत राख्छु, नियमित र निरन्तर प्रोबायोटिक लिन्छु, अर्गानिक र रैथाने खानेकुरा नै खान्छु, आवश्यकतानुसार चिकित्सकको सल्लाहमा माक्र एन्टिबायोटिक एवं एन्टिमाइत्रोबियल औषधि सेवन गर्छु भन्नेमा नयाँ वर्षे प्रतिबद्धता गर्ने कि ?

अन्त्यमा, हजुरआमा वा जिजुआमाले पनि कसरी नयाँ वर्षको छेकोमा के प्रतिबद्धता लिन सकिन्छ भन्ने कुरा गर्दैछु । खासमा यो उमेर समूहमा मनमा खिन्नता, दिक्दारी नल्याउन, मन सदैव प्रसन्न अवस्थामा राख्न धर्म कर्म, अध्यात्ममा समय दिन्छु । भजन किर्तन, सप्ताह, पूजापाठ, योगा, ध्यान चिन्तन अनेकमा आफ्नो मन चित्त लगाउन सकिन्छ । आफ्नो पुरानो समयको मात्र कुरा गरेर ढिपी गरिराख्दिन, लिँडेढिपी गर्दिन, घरका छोराबुहारीले भनेका कुरा सुन्छु भन्नेमा प्रतिबद्ध हुन सकिन्छ । आफूमा कुनै जीर्ण वा माथि उल्लेखित जस्ता नसर्ने खालका स्वास्थ्य समस्या छन् भने नियमित रूपमा स्वास्थ्य परीक्षणका लागि लैजान छोरा, नातिलाई भन्छु, डाक्टरको सल्लाह–परामर्श अनुसार नियमित औषधि सेवन गर्छु भन्ने प्रतिबद्धता गर्न सकिन्छ । मुटु, मिर्गौला, कलेजो, हड्डी, आँखा, कानको स्वास्थ्यलाई सदैव ख्याल राख्छु भन्नेमा यो वर्ष प्रतिबद्ध हुन सकिन्छ । आ, जेरियाट्रिक समस्याहरू भनेर अल्जाइमर्स, पार्किन्सन, डेमेन्सिया, डिप्रेसन, हृदयाघात, मस्तिष्काघात, हड्डी खिइने समस्या (अस्टियोपोरोसिस), अनिद्राको पनि ख्याल राख्छु, यस विषयमा परिवारका सदस्यलाई समयमै जानकारी गराई सहयोग लिन्छु भन्नेमा प्रतिबद्ध हुन सकिन्छ । यो उमेर समूहमा आमाहरू आङ खस्ने समस्या, पिसाब चुहिने वा रोक्न नसकिने समस्या, गोप्य अङ्गबाट गन्हाउने फोहोर पानी बग्ने समस्या, दिसा कब्जियत हुने समस्या लुकाउने बानी हुन्छ । यी समस्या आफूमा भए यसरी कुरा लुकाउँदिन भन्नेमा प्रतिबद्धता गर्न सकिन्छ ।

यी प्रतिबद्धता पूरा गर्न यही वर्षदेखि थालनी गर्छु, यस वर्ष पूरा गर्न नसकेको प्रतिबद्धता अर्को वर्ष निश्चय पनि पूरा गर्छु भन्ने कुरामा प्रतिबद्ध हुन सकिन्छ ।

 Image