Successfully Copied

दोस्रो अन्तर्राष्ट्रिय  परफर्मेन्स आर्ट फेस्टिबल 

विचार अभिव्यक्तिको परफरमेन्स आर्टका लागि नाट्य कला तथा चित्रकलाको ज्ञान चाहिन्छ । पश्चिमा मुलुकबाट भित्रिएको यो कला नाट्य विधासँग पनि मिल्छ भने यसले समाजका गतिविधिसमेत समेटेको हुन्छ । परफरमेन्स आर्टमा लागिपरेका धेरैजसो कलाकार आफ्नो आत्मसन्तुष्टिका लागि यसलाई निरन्तरता दिइरहेको बताउँछन् । 

हिजोआज कला क्षेत्रमा पहिलेजस्तो कुची र क्यानभास नै चाहिन्छ भन्ने मान्यता हट्दै गएको छ । त्यसो भन्दैमा रंग, कुची र क्यानभासको महत्व नै हराएको चाहिँ भन्न मिल्दैन । कुरा के मात्र हो भने हिजोआज कलाको स्वरूप विस्तृत हुँदै गएको छ । कतिपय मानिस रंग प्रयोग गरेर कुनै थिममा काम गर्छन् त कतिपय प्रकाशको समायोजन गरेर आफूलाई प्रस्तुत गर्छन् । कसैले शारीरिक वा मानसिक मेडिटेसनलाई फोकस गर्छन् त कसैले धागो, रूख, ढुंगा, माटो, काठ, धातु, कपडा, कागज, आइस आदि प्रयोग गरेर आफ्नो विषयलाई कलात्मक तरिकाले प्रदर्शन गर्छन् ।

कुनै पनि नियममा बाँध्न नमिल्ने र यस्तै हुनुपर्छ भन्ने नभएको सिर्जनाको एउटा स्वरूप हो–परफरमेन्स आर्ट । यसमा व्यक्ति स्वतन्त्र हुन्छ र विषयसँग आफूले चाहेजसरी खेल्छ । परफरमेन्स आर्ट सन् १९९६ तिर नेपाल भित्रिएको हो । त्यतिबेला सूत्र आर्ट ट्रस्टले कलालाई फरक तरिकाले प्रस्तुत गर्न सकिन्छ भन्ने प्रयोगस्वरूप परफरमेन्स प्रस्तुत गरेको थियो । 

राजधानीमा गत महिना दोस्रो अन्तर्राष्ट्रिय परफरमेन्स आर्ट फेस्टिभल बौद्धस्थित तारागाउँ आर्ट ग्यालरीमा सम्पन्न भयो । बिन्दु स्पेस फर आर्टिस्ट समूहद्वारा प्रस्तुत उक्त प्रदर्शनीमा जापानका दैसुके टाकेया, चीनका बिंगकिंग इन, बंगलादेशका इफाट रज्वाना रेया, भियतनामका काम खान लिन्ह, भारतका सत्द्रु सोभन बन्दुरीका साथै नेपालबाट पृथ्वी श्रेष्ठ, सौरगंगा दर्शनधारी, मनीष लाल श्रेष्ठ, सरिता डंगोल, अनिल सुब्बा, मुना भँडेल, प्रमिला लामा, रितेश महर्जन, कुन्ति श्री थापा एवं ध्रुवराज शर्माले प्रस्तुति दिएका थिए ।

कलाकार सरिता डंगोलले मानिसको जन्मदेखि मृत्युसम्ममा प्रयोग गरिने खानेकुराको कनेक्सनलाई विषयवस्तु बनाएकी छिन् । जन्मदेखिको संस्कार, पूजा एवं आवश्यक वस्तुका लागि मानिसहरूले कति खर्च गरिरहेका छन् । सक्नेले त गर्छन् तर नसक्नेले पनि त्यसका लागि के–कति संघर्ष गरिरहेका छन् भन्ने विषयलाई उनले आफ्नो परफरमेन्स आर्टको विषय बनाएकी थिइन् । आफ्नो कलाका माध्यमले उनले मानसिक तनाव तथा संस्कृतिबीचको कनेक्सन प्रस्तुत गरिन् ।

त्यस्तै कलाकार सौरगंगा दर्शनधारीले मानवीय स्वार्थका लागि प्राकृतिक सम्पदा एवं प्रकृतिको कति क्षति भैरहेको छ भन्ने विषयमा प्रस्तुति दिइन् । उनले सेतो हिमाल पग्लिएको सिम्बोलमार्फत मानिस आफ्नो स्वार्थपूर्तिका लागि कसरी दगुरिरहेको छ भन्ने सन्देश प्रस्तुत गरिन् । 

अरू कलाकारहरूको तुलनामा प्रमिला लामाको परफरमेन्स आर्टको विषय अलि फरक रह्यो । उनका बुवाको हालसालै निधन भएको छ । घरका मुख्य व्यक्तिको निधन भएपछि परिवारमा कस्तो विचलन आउँछ भन्ने विषयलाई उनले आफ्नो कलामा उतारिन् । लामाले सुरुमा रंगीबिरंगी वातावरण तथा हराभरा रुख देखाइन् भने रुख ढलेपछि बालबच्चाको सिम्बोलमा रहेका अण्डाहरू फुट्ने, रंग उडेको वातावरण बनाई टुहुरो र कसैले कसैलाई नटेर्ने अवस्था प्रस्तुत गरिन् । प्रमिलालाई परफरमेन्स आर्टमा आत्मसन्तुष्टि प्राप्त हुन्छ । त्यही भएर उनी निरन्तर यसमा लागिपरेकी छिन् । यसबाट सामाजिक सन्देश पनि आदानप्रदान हुने उनले बताइन् । त्यस्तै कलाकार कुन्तिश्री थापाले मानिसले आफ्नो स्वार्थमा प्रकृतिको विनाश गरिरहेको पक्ष प्रस्तुत गरिन् ।

 

जापानी आर्टिस्ट दैसुके टाकेया विशेषत: बालबालिकाहरूको संवेदनशील विषयमा परर्फम गर्छन् । उनी आफ्नो कलामा बालबालिकाहरूविरुद्ध हुने सेक्सुअल ह्यासमेन्टदेखि किशोर–किशोरीको समस्यासम्म उठाउँछन् । चीनका बिंकिंगले प्रस्तुत गर्ने आर्टमा मेडिटेसनका फर्म बढी पाइन्छन् । आफ्नै शरीरमा विभिन्न प्रयोग गरेर कहिले न्युड मान्छे बालुवामा हिँडिदिन्छन् त कहिले हिमालको संरक्षणमा एक्लै आवाज उठाउँछन् ।

विचार अभिव्यक्तिको परफरमेन्स आर्टका लागि नाट्य कला तथा चित्रकलाको ज्ञान चाहिन्छ । पश्चिमा मुलुकबाट भित्रिएको यो कला नाट्य विधासँग पनि मिल्छ भने यसले समाजका गतिविधिसमेत समेटेको हुन्छ । परफरमेन्स आर्टमा लागिपरेका धेरैजसो कलाकार आफ्नो आत्मसन्तुष्टिका लागि यसलाई निरन्तरता दिइरहेको बताउँछन् । 

 Image