Successfully Copied

नेवार समुदायका परम्परागत गहना

नेवार समुदायमा प्रयोग हुने पहिरन, गहना एवं शृंगार आफ्नै प्रकारको छ । नेवारी संस्कारअनुसार गहनाको स्वरूप पुरूष र स्त्री जातिमा फरक छ । पुरूष र स्त्रीका रूपमा मात्र होइन उमेर एवं अवस्थाअनुसार पनि फरक–फरक गहना प्रयोग गरिन्छ । जति पनि नेवारी गहना छन् ती पुरूष वा

नेवार समुदायमा प्रयोग हुने पहिरन, गहना एवं शृंगार आफ्नै प्रकारको छ । नेवारी संस्कारअनुसार गहनाको स्वरूप पुरूष र स्त्री जातिमा फरक छ । पुरूष र स्त्रीका रूपमा मात्र होइन उमेर एवं अवस्थाअनुसार पनि फरक–फरक गहना प्रयोग गरिन्छ । जति पनि नेवारी गहना छन् ती पुरूष वा स्त्रीले लगाउने, बालबालिका कि वृद्धले लगाउने भनेर तोकिएको छ । कुनै–कुनै गहना त बूढापास्नी उमेर पुगेकाहरूले मात्र लगाउँछन् । जस्तो : पुनाय्चा । नेवार समाजमा जन्मदेखि मृत्युसम्म गहनाको महत्व छ । त्यसैगरी जीवनचक्रसँगै गहनाको प्रकार पनि परिवर्तन हुन्छ ।  

शिरमा प्रयोग गरिने गहना

सिन्चा : यो सुनको सिक्रीमा छेउमा चन्द्रमाको वा फूलको बुट्टा भएको, सिउँदोमा लगाइने गहना हो । सिन्चा इही (बेलसित विवाह) मा बाह्रा गुफा राखेर निकाल्ने दिन बालिकाहरूलाई लगाइदिइन्छ ।

शिरबन्दी : यो सुनको, सौभाग्यको प्रतीकका रूपमा सधवाहरूले लगाउने गहना हो । शुभ कार्यहरूमा लगाइने शिरबन्दी, इही, बाह्रा राखेका बालिकाहरूका साथै दुलहीले पनि लगाउँछन् । यो तीन पट्टा वा पाँच पट्टा भएको फूलको बुट्टा भएको गहना हो ।

लुस्वाँ : १२ इन्च वृत्ताकारको यो गहनाको चक्का कलात्मक पंक्षीको जोडीका साथ बहुमूल्य पत्थर, पन्ना, पुष्पराज, माणिक एवं भिम्पुले सिंगारिएको हुन्छ । यो कलात्मक मौलिक गहना हो । यो गहना अक्सर गरेर नवविवाहित दुलहीले लगाउने चलन छ ।

न्यापुसिख : विशेष गरेर दुलहीलाई शिरको केश छोप्ने गरी लगाइने सुनको न्यापुसिख (पाँच सिक्री) दार्शनिक रूपले पञ्चतत्वको प्रतीक हो । कसैकसैले च्यापुसिख (आठ सिक्री) पनि प्रयोग गर्छन् । यसलाई अष्टधातुको प्रतीकका रूपमा लिइन्छ ।

सप्व:तिसा : यो सुन वा चाँदीमा विभिन्न किसिमको रत्न जडित गहना हो जसलाई विशेष गरेर दुलहीको जुरोमा बाँधिन्छ ।

निधारमा प्रयोग गरिने गहना

लुँसिन्ह (सुनका टीका) : यो इही, बाह्रा तथा विवाह आदिमा लगाइने विभिन्न बान्कीको सुनको टीका हो ।

लुँचीं : यो विवाह तथा बूढापास्नीमा प्रयोग हुने सुनको गहना हो ।

कानमा लगाइने गहना

न्हातिका : यो छोराको दीर्घायुको कामना गर्दै लगाइदिने एक प्रकारको गहना हो । यो मुन्द्रीजस्तै हुन्छ । मुन्द्री दायाँ–बायाँ दुवै कानमा लगाइने गहना हो भने न्हातिका दायाँ कानमा मात्र लगाइन्छ । न्हातिकामा भिम्पु र मोती पनि राख्ने चलन छ ।

मारवलिचा : सुनको गोलो आकारको यो गहना बालबालिकाको पास्नीमा लगाइदिने चलन छ । यो गहनालाई सत्यको प्रतीकका रूपमा लिइन्छ ।

पुनाय्चा : यो बूढापास्नी सकिएका बूढाबूढीहरूलाई मात्र लगाइदिने सुनको रिङ हो । नेवार समाजमा आयुको हिसाबले पाँच पटकसम्म बूढापास्नी गर्ने चलन छ । पुनाय्चा जति पटकको पास्नी हो त्यति वटा नै लगाइन्छ । 

ढुंग्री : यो अधबैसे महिलाले लगाउने दाफस्वाँ आकारको, प्रत्येक ६ वटा वा त्यसभन्दा बढी पातमा माणिक, पन्ना, मोती, हीरा आदि बहुमूल्य पत्थर जडेर तयार पारिने गहना हो ।

माकसि : यो कटहरको आकारमा तयार पारिएको चाँदीको एक प्रकारको गहना, जुन ज्यापूहरूले प्रयोग गर्छन् ।

तुकी : यो कुनै जात्रा–पर्व, संस्कार आदि नभए पनि सधैजस्तो लगाइने सादा वा बुट्टा भएको गहना हो ।

तायोतुकी : केटाहरूले दायाँ कानको माथिल्लो भागमा आधा तायोतुकी लगाउँछन् भने केटीहरूले दुवै कानमा लगाउँछन् ।

विजकनी : नेपाल भाषाको पुरानो गीत राजमतीमा उल्लेख भएको गहना विजकनी खास कहाँ प्रयोग गरिन्छ यकिन छैन । कसैले यसलाई शिरमा लगाइने गहना भन्छन् त कतिपयले गलामा लगाउने गहना भनेका छन् ।

गसी सिख : कानको प्वाल ठूलो भएर गहनालाई अड्काउन बनाइएको सुनको मसिनो सिक्री ।

गलामा लगाउने गहना

कन्थी : यो घाँटीको तलसम्म आउने गरी लगाइने सुन–चाँदीको गहना हो । 

तायो : मच्छिन्द्रनाथ र जीवित देवी कुमारीको गलामा लगाइदिने सुनको गहना तायोको दायाँ–बायाँ विशेष गरी पंक्षी, फूल आदिको कलात्मक बुट्टा कुँदिएको हुन्छ ।

तिख : नेवार समुदायमा प्राचीन कालदेखि नै सुनको पातामा फूल, गरूड वा अन्य चिटिक्क परेको बुट्टा कुँदिएको १२ टुक्रा जति जोडेर तल मखमल राखी दुरूस्त लाफ:चा (बच्चाहरूलाई खाना ख्वाउने बेला राख्ने कपडा जस्तो) जस्तै देखिने गरी बनाइएको गहना तिख लगाउने चलन छ ।

चन्द्रहार : पूर्णचन्द्रको आकृतिमा सुनको चक्का–चक्का जोडेर दायाँ–बायाँ तीनदेखि पाँच, सात र नौ वटा चक्का जोडेर पछाडि माथितिर लगाइने यो गहनामा तीनकुने पातामा दुईवटा सुनका कलात्मक पुतलीका जोडी पनि हुन्छन् ।

तायोमा : यो सुन, नीलो रत्न भिम्पु आदिको गहना हो । बीचमा दमोखीं (एक प्रकारको बाजा) जस्तो तायोमा नागले ओढाइएको दायाँ–बायाँ सुनको बुट्टा भएको पाता कपडामा जोडिएको यो गहना विवाहका बेला दुलहीले लगाउने गहना हो । यसलाई पञ्चबुद्धको प्रतीकका रूपमा समेत लिइन्छ ।

भिम्पुमा : बालबालिकाको पास्नी, इही, बाह्राका साथै अन्य चाडपर्वमा केटाकेटी दुवैले लगाउने गहना भिम्पुमा हो ।

हातमा लगाइने गहना

त्व : यो पाखुरामा लगाइने सुन–चाँदीको बाला हो ।

सिंहख्वा: चुल्या : यो सुन–चाँदी तथा पञ्चधातुको बाला हो ।

पञ्चरत्नको चुल्या (पञ्चधातुको) : यो पास्नी, इही, बाह्राका साथै विवाहका बेला शृंगारका रूपमा प्रयोग हुने गहना हो ।

कल्या : चाँदीमा सुनको जलप लगाइएको सादा फराकिलो यो गहना विवाहअघि कल्या न्याकिगु संस्कारमा दुलहीलाई लगाइदिइन्छ ।

बाइ : यो सुन वा चाँदीको, दायाँ–बायाँ माथि उठेको ख्वा:स्वय् (दुलही भएर गैसकेकी छोरीको मुख हेर्न जाने) दिन भावनात्मक अभिव्यक्तिका रूपमा लगाइदिने गहना हो ।

प्युचा : सुन, भिम्पु, मोती आदिका चुरा बान्किको सानो खालको गहना प्युचा मचाबु लहिगु संस्कारमा केटाहरूलाई सुरक्षात्मक दृष्टिले लगाइदिइन्छ ।

क्वाय् चुरा : यो रक्षात्मक हिसाबले लगाइने जनावरको हाडको गहना हो ।

औंलामा लगाउने गहना

प्याखं अंगु : चाँदीको पातामा अण्डा आकार आउने गरी तयार पारिएको यो औंठी इही, बाह्रा, विवाह, बूढोपास्नी आदि संस्कारमा लगाउने चलन छ ।

यसमा हीराको औंठी, नाम लेखिएको औंठी, तुसिपु औंठी, असर्फी औंठी, नवरत्न जडित औंठीहरू पर्छन् ।

खुट्टामा लगाइने गहना 

त्याकं कल्ली : चाँदीको ।

सिंहख्वा कल्ली : चाँदीको यो गहनामा सिंहको मुख कुँदिएको हुन्छ ।

जंगी सेलया कल्ली : यो भित्र खाली भएको चाँदीको ठूलो खालको गहना हो ।

तुती बग्गी : चाँदी वा अन्य धातुको गहना तुती बग्गी विवाहमा विशेष गरेर ससुराले बुहारीलाई दिन्छन् ।

 

 Image