Successfully Copied

तिहारलाई कसरी स्वास्थ्यमैत्री एवं वातावरणमैत्री बनाउने ?

तिहारको यो मौलिकता र आफ्नोपनलाई बिथोल्ने गरी अहिले यसमा पटकाको गन्ध मिसिएको छ, विद्युतीय उपकरणको झिलिमिली मिसिएको छ भने कृत्रिम मिठाईं पनि त्यसमै आएर मिसिएको छ । तिहार सप्तरंगी पर्व हो । झिलिमिली उज्यालो बनाउने, देउसी–भैलो खेल्ने, मिठो–मसिनो खाने, पशुपंक्षीको पूजा गर्ने, दाजुभाइ–दिदीबहिनीको सम्बन्ध प्रगाढ

दियोको झिलिमिली, सेल रोटीको वासना, ढकमक्क सयपत्री फूल, देउसी–भैलोको गुञ्जन अर्थात् तिहार उमङ्गको पर्व । तिहार आएपछि मनमा एक किसिमको उल्लास छाउँछ । 

पुस्तौं–पुस्तादेखि तिहारकै रमझममा रमाउँदै आएका हामी यो पर्वसँग भावनात्मक रूपले जोडिएका छौं । त्यसैले त बारीको कान्लामा ढकमक्क फुलिरहेको सयपत्री देख्दा हामी भन्छौं, ‘आहा, तिहारको याद आयो’, कतै सेल रोटीको मगमग वासना चले हामी भन्छौं, ‘तिहारको जस्तै वासना’ आयो ।

यद्यपि तिहारको यो मौलिकता र आफ्नोपनलाई बिथोल्ने गरी अहिले यसमा पटकाको गन्ध मिसिएको छ, विद्युतीय उपकरणको झिलिमिली मिसिएको छ भने कृत्रिम मिठार्इं पनि त्यसमै आएर मिसिएको छ ।

तिहार सप्तरंगी पर्व हो । झिलिमिली उज्यालो बनाउने, देउसी–भैलो खेल्ने, मिठो–मसिनो खाने, पशुपंक्षीको पूजा गर्ने, दाजुभाइ–दिदीबहिनीको सम्बन्ध प्रगाढ बनाउने । यत्तिका रंगीन र विविधता भएको पर्व सायदै होला । तिहारका आफ्नै विधि–विधान छन् । तिहार किन मनाउने, कसरी मनाउने भन्ने कुराको आफ्नै सिलसिला र शैली छ । 

अहिले भने तिहार भड्किलो बन्दै गएको छ । यसलाई विधिपूर्वक मनाउने भन्दा पनि आयातीत र कृत्रिम तौर–तरिका अपनाउने गरिएको छ । यसले यो पर्वको मौलिकता एवं मर्म बिथोलिएको मात्र छैन स्वास्थ्य र पर्यावरणमा समेत असर परिरहेको छ । 

सेल रोटीको ठाउँमा बजारका मिठाईं

तिहारको खास विशेषता भनेकै सेल रोटी हो । तिहारमा आफ्ना माइतीलाई ख्वाउन सेल रोटी पकाइन्छ । त्यसैले यतिबेला हरेकको भान्सामा सेल रोटी पाक्छ । जब यसरी घर–घरमा सेल रोटी पाक्न थाल्छ, त्यसको वासना चारैतिर फैलिन्छ । यसले पनि तिहारको रौनक बढाउँछ । 

चामलको पिठो, घिउ तथा चिनीबाट बन्ने हाम्रो परम्परागत परिकार हो–सेल रोटी । अधिकांश नेपाली महिलाले सहजै पकाउन सक्ने पकवान पनि हो यो । साथै यो तिहारको अनिवार्य मिष्ठान्न हो । यद्यपि अहिले सेल रोटी घरमा पकाउने भन्दा पनि बजारबाट खरिद गर्ने चलन सुरु भएको छ भने सेल रोटीको ठाउँमा अन्य मिठाईंसमेत प्रयोग गर्न थालिएको छ । यी बजारू मिठाईं स्वास्थ्यको दृष्टिले कति फाइदाजनक होलान् ? शंका गर्नुपर्ने हुन्छ । 

विद्युतीय बत्ती 

तिहारमा दियो बालिन्छ । लक्ष्मीपूजाका दिन घरलाई झलमल्ल उज्यालो बनाउनुपर्छ भन्ने आममान्यता छ । उज्यालोले मानिसको मनमा खुसी ल्याउँछ । यसरी तिहारमा दियो बाल्नुको मनोवैज्ञानिक अर्थ पनि छ । 

औंसीको रात दियो बालेर मनाइने यो पर्वपछि पुस–माघ अर्थात् जाडो महिना सुरु हुन्छ । रात लामा, मौसम चिसो तथा धर्ती रुखो हुने समय हो यो । यसरी प्रतिकूल मौसम आइरहेका बेला त्यसलाई मनको उज्यालोले जित्नुपर्छ भन्ने सन्देश दिन पनि दियो बालिएको बताइन्छ । 

यद्यपि अहिले दियोको ठाउँमा विद्युतीय बत्तीको झिलिमिली नै बढी देखिन्छ । त्यसैले तिहारमा बढी विद्युत् खपत हुन्छ । विद्युतीय बत्तीको खरिदले घरको व्ययभार त बढाउँछ नै बत्तीको बिल पनि बढाउँछ । त्यतिमात्र होइन यसले पर्यावरणमा समेत असर पुर्‍याउँछ । 

प्लास्टिकको फूल 

तिहारमा घर सजाउन सायपत्रीको फूल नै सर्वोत्तम हुन्छ । सयपत्रीको माला उनेर घरका झ्याल–ढोका तथा पूजास्थल सजाइन्छ । सयपत्रीले घर–आँगन सजाउन आ–आफ्नो बारीको कान्लामा सयपत्री रोपिन्छ । 

अहिले भने धेरैलाई सयपत्री रोप्ने फुर्सद छैन, कतिपयले त्यसै रोप्न पनि छाडे । त्यसैले अहिले प्लास्टिकका फूलले घर सजाइन्छ । प्लास्टिकजन्य फूलले घरमा प्राकृतिक शोभा दिँदैनन् । त्यति मात्र होइन, यसरी जथाभावी प्लास्टिकजन्य सामग्री प्रयोग गर्दा त्यसले पर्यावरणमा पनि असर गर्छ । किनभने एकपटक प्रयोग भैसकेका प्लास्टिकका फूल सही ढंगले विसर्जन गरिँदैन ।

भड्किलो पटका 

तिहारको रमझममा पटका पड्काउन थालिएको छ । खासमा पटका पड्काउन त नपाइने हो । यद्यपि लुकिछिपी खरिद गरेर भए पनि पटका पड्काउने चलन छ । पटका पड्काउँदा त्यसले निम्त्याउने जोखिम त छँदैछ, तिहारको रमाइलोपन पनि भाँड्छ । 

कतिपय घरमा रोगी, वृद्धवृद्धा तथा बालबच्चाहरू हुन्छन् । उनीहरूलाई पटकाको आवाजले तर्साउँछ । पटकाको चर्को आवाज र त्यसबाट निस्कने गन्ध दुवै स्वास्थ्यका लागि हानिकारक मानिन्छ । 

कसरी बनाउने स्वास्थ्यमैत्री ?

रंगको प्रयोग: तिहारमा रंगको प्रयोग प्रशस्तै हुन्छ । रंगोली बनाउन होस् वा सप्तरंगी टीका लगाउन हानिकारक रंग प्रयोग गर्नुहुँदैन । बजारमा पाइने कतिपय रंग हानिकारक हुन्छन् । त्यसैले रंग खरिद गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ । रंगोली बनाउन भरसक प्राकृतिक रंग नै प्रयोग गर्नुपर्छ । 

माटोको दियो : बजारमा थरीथरीका दियो पाइन्छन् । उज्यालोको यो पर्व मनाउन इलेक्ट्रिक बत्तीको साटो माटोको दियोको प्रयोग नै उत्तम हुन्छ । यो दीपावलीको अवसरमा घर–आँगनलाई उज्यालो बनाउन परम्परागत उपाय अपनाउँदै माटोको दियोलाई प्राथमिकता दिन सकिन्छ जसले बिजुलीको प्रयोग कम गर्नुका साथै घरको सुन्दरता अझ बढाउँछ । माटोको दियो बालेर एकातिर परम्परालाई जीवित राख्न सकिन्छ भने अर्कातिर बिजुलीको खपत कम गरेर दीपावलीलाई वातावरणमैत्री बनाउन सकिन्छ । 

होममेड क्यान्डिल : घरलाई उज्यालो बनाउन क्यान्डिल उपयुक्त हुनसक्छ । घर सजाउन घरमै क्यान्डिल बनाउन सकिन्छ । आफूलाई मनपर्ने डिजाइन तथा सेपमा क्यान्डिल बनाएर बाल्न सकिन्छ । सुगन्धित क्यान्डिल पनि तयार गर्न सकिन्छ, जसले कोठालाई उज्यालो मात्र होइन सुगन्धितसमेत बनाउँछ । घरमै क्यान्डिल बनाउँदा खर्च कम हुन्छ । 

वातावरणमैत्री सजावट : दीपावलीमा बजारमा विभिन्न किसिमका सजावटका सामग्री देखेर हामी आफूलाई रोक्न सक्दैनौं । त्यही चक्करमा हामी अनावश्यक सामान खरिद गर्छौं । ती सामानले हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पार्छन् वा वातावरणमैत्री छन् कि छैनन् भन्ने कुराको हेक्का राख्दैनौं । घरको साज–सज्जाका लागि हामीले खरिद सामग्री पछि पुन: प्रयोग गर्न सकियोस् र नष्ट गर्दा पनि वातावतरण प्रदूषण नहोस् भन्ने कुरामा सचेत रहनुपर्छ । दीपावली सकिएपछि फालिने प्लास्टिकका सामग्री पर्यावरणका लागि अनुकूल मानिँदैनन् । 

उपहार रोजाइमा ध्यान : तिहार दिदीभाइ तथा दाजुबहिनीको सम्बन्ध प्रगाढ बनाउने पर्व पनि हो । दिदीबहिनीहरू आफ्ना दाजुभाइको आयु लामो होस्, स्वास्थ्य राम्रो रहोस् भनेर यो पर्व मनाउँछन् । यो अवसरमा एक–अर्कामा उपहार साटासाट गर्ने चलन छ । यसरी उपहार आदान–प्रदान गर्नुका साथै स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ । दीपावलीमा अग्र्यानिक उपहार खरिद गर्न सकिन्छ । अग्र्यानिक उपहारले स्वास्थ्यमा क्षति पुर्‍याउँदैन । यसका लागि ताजा फलफूल, ड्राइफ्रुट्स, घरमै बनाइएका मिठाईं, स्वास्थ्यवद्र्धक खानेकुरा आदि प्रयोग गर्न सकिन्छ । यस्ता उपहारले जोसुकैलाई खुसी दिन सक्छ र सकारात्मक सन्देशसमेत प्रवाह गर्छ । 

स्वास्थ्यवद्र्धक परिकार : दीपावलीमा सबैको घरमा मिठाईं एवं स्वादिष्ट परिकार पाक्छन् । यो शुभ अवसरमा गुलियोको प्रयोग बढी गरिन्छ । बजारमा पाइने सबै मिठाईं स्वस्थकर हुन्छन् भन्ने हुँदैन । मिठार्इंलाई राम्रो देखाउन अखाद्य वस्तुहरू मिसावट गरिन्छ । चिनीबाट बनेको गुलियो खानेकुराको सेवन गर्नु त्यति राम्रो मानिँदैन । यस्ता खानेकुराको सेवनले शरीर सुन्निने, मोटोपन तथा अन्य प्रकारको बिरामी हुने सम्भावना वृद्धि हुन्छ । त्यसैले घरमै मिठाईं तयार गर्न सकिन्छ । यसले मिसावटी खानेकुराबाट छुटकारा दिनुका साथै स्वास्थ्य पनि बिग्रन पाउँदैन । 

तिहारमा घरमा पाक्ने विभिन्न परिकारमा नुनिलो तथा चिल्लोको मात्रा बढी हुन्छ, जसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । परिकार मीठो बनाउने चक्करमा मरमसलाको प्रयोग बढी गरिएको हुन्छ जुन हाम्रो स्वास्थ्यका लागि राम्रो मानिँदैन ।

किनमेलमा पैदल : किनमेलमा जाँदा होस् वा आफन्तकहाँ जाँदा पैदल हिँड्ने बानी बसाल्नुपर्छ । यसले शरीरलाई फाइदा पुर्‍याउनुका साथै पर्यावरणका लागि पनि उपयोगी हुन्छ । तिहारमा हामी विभिन्न किसिमका मिठाईं तथा परिकार बनाएर खान्छांै जसबाट एक्स्ट्रा क्यालोरी उत्पन्न हुन्छ । क्यालोरी खर्च गर्न पैदल यात्रा उपयुक्त हुनसक्छ जसले गर्दा मोटोपन तथा अन्य समस्या हुन पाउँदैन । 

प्रशस्त पानी सेवन : चाडपर्वमा बढी व्यस्त हुने भएकाले स्वास्थ्यको ख्याल राख्न मुस्किल हुन्छ । पाहुनाको स्वागत पनि गर्नुपर्ने भएकाले धेरैजसो महिलाले आफूलाई समय दिन पाउँदैनन् । त्यसैले स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न गर्न सक्छ । त्यसमध्ये शरीरमा पानीको मात्रा कम हुनु पनि एक हो । शरीरमा पानीको मात्रा कम भए डिहाइड्रेसन, पिसाब पोल्ने आदि समस्या देखा पर्छन् । यी समस्याबाट जोगिन ताजा फलफूलको जुस तथा नरिवलको पानी पिउन सकिन्छ । सादा पानी पिउनुको साटो त्यसमा कागती तथा पुदिना मिसाएर पिउँदा स्वाद पनि आउँछ । शरीरमा पानीको स्तर बढाउन काँक्रा पनि निकै उपयोगी हुन्छ ।

 

 Image