नेवारी संस्कृतिमा सगुनको महत्व

- रति जोशी, मिची मल्ल

कार्तिक ६, २०७६

शरीरबिना मानव जीवनको केही अर्थ रहँदैन । त्यसैले शरीरको मजबुती, सुस्वास्थ्य र अकाल मृत्यु आदिबाट जोगाउने हेतुले सगुन दिने चलनको सुरुवात भएको हुनुपर्छ । पञ्च महाभूतले बनेको शरीरलाई पञ्च महाभूतका प्रतीक तत्वहरूसँग आत्मसात् गरी ग्रहण गर्नाले कुनै पनि अनर्थ वा 

अमङ्गल हुँदैन भन्ने परम्परागत मान्यता छ । 

सगुनको अर्थ शुभसँग जोडिएको छ । सगुनमा समाविष्ट तत्व पञ्चतत्वका प्रतीक हुन्छन् । सगुन आदरणीय, सभ्य, शिष्ट एवं मौलिक सांस्कृतिक प्रचलन हो । यसको मुख्य तात्पर्य हरेक शुभ कार्यलाई ह्दयङ्गम गरी सह्दय पूर्वक आशीर्वाद, शुभकामना तथा बधाईलाई धार्मिक विधिपूर्वक आदान–प्रदान गर्नु हो । सगुन सबै जातजातिमा आ–आफ्नै तरिकाबाट लिइने–दिइने भए पनि नेवारी समाजमा यसको चलन अत्यधिक भएको पाइन्छ । नेवार जातिमा हरेक शुभ कार्य वा शुभ अवसरहरूको थालनी सगुनबाट गरिन्छ । जसबाट जीवनमा सकारात्मक ऊर्जा प्रवाह भएर भाग्योदयको मार्गमा अघि बढ्ने प्रेरणा मिल्छ ।

मानवको शरीर जन्मसँगै मृत्यु पनि लिएर आएको हुन्छ । शरीरबिना मानव जीवनको केही अर्थ रहँदैन ।

त्यसैले शरीरको मजबुती, सुस्वास्थ्य र अकाल मृत्यु आदिबाट जोगाउने हेतुले सगुन दिने चलनको सुरुवात भएको हुनुपर्छ । पञ्च महाभूतले बनेको शरीरलाई पञ्च महाभूतका प्रतीक तत्वहरूसँग आत्मसात् गरी ग्रहण गर्नाले कुनै पनि अनर्थ वा अमङ्गल हुँदैन भन्ने परम्परागत मान्यता छ । हाम्रा पूर्वजहरूले हजारौं वर्ष तपस्या गरेर परमात्मा ईश्वरसँग बचनवद्ध भएर प्रचलनमा ल्याएको सगुनलाई हामीले सहर्ष, सभक्ति र ह्ृदयपूर्वक ग्रहण गर्दै आएका छौं । नेवारी समाजमा दही (धौ सगं) र अण्डा (खो सगं) प्रचलित प्रमुख सगुन हुन् । यी सगुन लिँदा वा दिँदा लिने–दिने व्यक्ति पूर्व–पश्चिम फर्किएको हुनुपर्छ भने उत्तर–दक्षिण फर्किएको हुनु हुँदैन भन्ने मान्यता छ ।

दही सगुन (धौ सगं)

दही सगुन भन्नाले कुनै पनि शुभ कार्यअघि वा शुभकार्यपछि कार्यको प्रकृतिअनुसार पूजा सामग्री एवं दहीसहित दिइने सगुन हो । यसमा अक्षता, लाबा, अबिर, टीका, फूल, धूपबत्ती, दही आदि सबै पूजा सामग्री पूजाथालीमा राखी सम्बन्धित व्यक्तिको सामुन्ने सुकुन्दा बालेर गणेशको पूजा गरी सालको पातमा पञ्चतत्वले बनेको शरीरको सुस्वास्थ्य तथा व्यक्तिको उन्नति–प्रगतिको कामना गरी पातमा पाँच तत्व पृथ्वी, आकाश, तेज, वायु र जल तत्वसँगै पाञ्चायन देवताहरू गणेश, महादेव, भगवती, सूर्य र विष्णु भगवान्लाई स्मरण गर्दै पूजा गरिन्छ । यसैगरी गृहलक्ष्मी स्थिर राख्ने कामनासहित गृहपूजा गरिन्छ ।

यसरी भगवान्हरूलाई धूपदीप अर्पण गरी पूजा गरेपछि सगुन लिने व्यक्तिलाई पनि भगवान्लाई स्मरण गर्दै पूजा गर्न लगाइन्छ । भगवान्को पूजापछि सगुन लिने व्यक्तिलाई दही टीका, फूल आदि लगाइदिइन्छ । टीका लगाइसकेपछि नयाँ लुगा वा कपडामा फूल, फूलको माला, सिंगो सुपारी, पैसा, फलफूल, मिठार्इं आदि राखी पूजा गर्न लगाई सगुन दिइन्छ । सगुन लिँदा सगुन लिने व्यक्ति पुरुष भए शिरमा टोपी लगाउन अनिवार्य छ । धेरै जनालाई एकैपटक सगुन दिँदा ज्येष्ठताको क्रमअनुसार दिनुपर्छ ।

अण्डा सगुन (खो सगं)

अण्डा सगुनलाई नेवारी भाषामा खो सगं भनिन्छ । देवदेवी एवं पञ्चतत्वको प्रतीकका रूपमा ग्रहण गरिने वास्तविक सगुन अण्डा सगुन हो । अवसरअनुसार अण्डा सगुन दिनुअघि दही सगुनकै सम्पूर्ण कार्य विधि सम्पन्न गर्नु आवश्यक छ । अण्डा सगुन वास्तवमा शरीर रक्षा र उन्नति–प्रगतिका हेतुले प्रदान गरिने सगुन हो । यो तान्त्रिक विधिको रहस्यपूर्ण उपहार पनि हो । अवसर हेरी कुनै बेला दही सगुन र कुनै बेला अण्डा सगुन मात्र पनि दिने चलन छ ।

अण्डा, माछा, मासु, बारा र सोमरस यी पाँच वस्तुलाई अण्डा सगुनका रूपमा लिइन्छ । त्यसैले यसलाई पञ्चमकार पनि भनिन्छ । यी वस्तुहरूमध्ये अण्डालाई ब्रह्माका रूपमा लिइएको छ । कारण सृष्टिको सुरुवातमा ब्रह्मा अण्डाबाट प्रकट भएको मान्यता छ । माछालाई विष्णुका रूपमा लिइन्छ । परापूर्वकालमा पृथ्वीको रक्षा गर्ने हेतुले भगवान् विष्णुले मत्स्य अवतार धारण गर्नुभएको थियो । त्यसैले माछालाई भगवान् विष्णुको स्वरूप मानिन्छ । मासुलाई महादेवका रूपमा लिइन्छ । परापूर्वकालमा भगवान् महादेवले राँगाको अवतार धारण गर्नुभएको थियो । त्यसैले मासुलाई भगवान् महादेवको प्रतीकका रूपमा लिइन्छ । वारालाई सर्वदेव एवं ३३ कोटी देवताका रूपमा मान्यता दिइएको छ । सोमरसलाई देवी भगवती वा शक्ति मानिन्छ । कारण समुद्र मन्थनका क्रममा देवी सोमरसको घडासहित प्रकट हुनुभएको थियो । यसरी यी सबै वस्तुलाई देवदेवीका रूपमा लिई ती देवदेवीहरूलाई आफ्नो देहमा समाहित गरी देवत्व प्राप्ति होस् भन्ने हेतुले सगुन लिने परम्परा चलिआएको हो । 

अर्को मतअनुसार अण्डा पृथ्वी तत्व, माछा जल तत्व, मासु वायु तत्व, बारा आकाश तत्व र सोमरस शक्ति अर्थात् अग्नि तत्व हुन् । यही मान्यताअनुसार वनमा पशु, पानीमा माछा, आकाशमा पन्छी सुरक्षित भएजस्तै सगुन लिने व्यक्ति जहाँ गए पनि सुरक्षित होस् भन्ने कामना गरिन्छ । यसरी सगुन लिनु भनेको मानव देहलाई प्रकृतिसँग अन्तर निहित गर्नु हो र मानव जीवनमा जसले यी पाँच तत्वलाई वशमा राख्छ त्यसले संसार जित्छ भन्ने धारणालाई पुष्टि गर्नु पनि हो । यसअनुरूप पाँच इन्द्रियलाई आफ्नो वशमा राख्नु वा अनुशासित हुनु पनि हो । सगुनमा अण्डा, माछा, मासु र बारा थपिँदैन तर सोमरस भने दुईपटक थपिन्छ ।

सगुन विशेष गरेर नेवारी समाजमा जन्मदेखि वृद्धावस्थासम्म हरेक शुभ अवसरमा लिने–दिने चलन छ ।

जन्मिएपछि अन्नप्राशन, जन्मोत्सव, छेवर (वसुका), व्रतबन्ध, बेलविवाह (इही), गुफा राख्ने (सूर्य दर्शन), विवाह तथा भीम रथारोहण, चन्द्र रथारोहण तथा देव रथारोहणहरूमा सगुन लिनु–दिनु अनिवार्य छ । यसैगरी चाडपर्वहरूमा विशेष गरेर म्ह: पूजा (गोवद्र्धन पूजा), भाइ टीका आदिमा पनि सगुन अनिवार्य छ । यसबाहेक आमाबुवाको मुख हेर्ने औंशीमा माता–पिताको सम्मान गरी सगुन दिइन्छ । ठूलठूला पूजा लाखबत्ती/सप्ताह आदिका क्रममा पूजा गरेको भोलिपल्ट सगुन दिइन्छ । यसैगरी परीक्षामा उत्तीर्ण हुँदा, नोकरीमा प्रवेश गर्दा, पदोन्नति हुँदा, विदेश भ्रमणमा जाँदा, गृहप्रवेश गर्दा, ठूल्ठूला दुर्घटनामा परेर मृत्युको मुखबाट जोगिँदा पनि सगुन दिने–लिने चलन छ ।

सगुन लिनु–दिनुको मुख्य उद्देश्य हाम्रो शरीरमा ब्रह्मा, विष्णु, महेश्वर, तेत्तीस कोटी देवतासँगै शक्ति रुपिणी भगवतीले पनि हाम्रो देह तथा आत्मामा वास लिनु हुन्छ भन्ने हो । जसको फलस्वरूप यदि हाम्रो शरीरमा कुनै पनि नराम्रो ग्रह वा दुष्टात्माले बास गरेर बसेको भए पनि ती सबैले हाम्रो देहलाई छोड्नुपर्ने हुन्छ भने सगुन लिने व्यक्तिलाई देवत्व प्राप्त भै रोग–शोक आदिले छुन सक्दैन । उसलाई जहाँ गए पनि, जहाँ बसे पनि सदासर्वदा शुभ भैरहन्छ । त्यसैले नियमपूर्वक दिएको सगुनलाई हामीले सहर्ष स्वीकार गर्नुपर्छ । सगुन लिँदा स्वाङ गरी वा अहंकार गरी/जुठो मात्र गर्नेे जस्ता नकारात्मक क्रियाकलाप गर्नु हुँदैन । नियमपूर्वक दिइएको सगुनलाई भक्तिपूर्वक ग्रहण गर्दै आफूभन्दा मान्यजनलाई प्रणाम गरी आशीर्वाद लिएर केही नफाली खानुपर्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>