थकाली परिकार

विष्णु शेरचन 

आश्विन १६, २०७६

मुस्ताङमा जन्मिएकी ५७ वर्षीया विष्णु विवाहपछि टुकुचे हुँदै पोखरा पुगिन् । १० वर्ष थकाली भान्सा घर संचालन गरेकी विष्णु अहिले पोखराका विभिन्न संघसंस्थासँग आबद्ध छिन् । थकालीको मुख्य पर्व भनेको फागुपूर्णिमा हो । पितृलाई पूजा गरी ३ दिनसम्म रमाइलो गरी मनाइने यो पर्वमा थकालीका सबैजसो परिकार हरेकका घरमा पाक्छन् । यतिबेला नभई नहुने परिकार लेपोखु हो । जुन खसीको टाउकाको आँखा, कान, जिब्रो आदिबाट तयार पारिन्छ ।

थकाली परिकार नेपालको परम्परागत परिकारमध्ये सर्वाधिक प्रचलित परिकार हो । वास्तवमा थकाली खाना मुस्ताङका थकाली जातिको परम्परागत खाना हो । थकाली खानामा सामान्यतया घिउ हालेको मसिनो चामलको भात वा ढिँडो हुन्छ । त्यस्तै मुस्ताङी कालो दाल, साँधेको गुन्दु्रकको अचार, मिक्स अचार, मौसमी तरकारी, साग, सलाद, मोही, दही तथा कुखुरा वा खसीको मासु समावेश गरिन्छ । फराकिलो थालको बीच भागमा भात र वरिपरि १२ वटा स–साना आइटम राखिने थकाली खाना खान पनि उत्तिकै मज्जा आउँछ । 

खानाको स्वाद, नरम भात, मुस्ताङ्गे बोडी, कालो दाल, मुला, गोलभेंडा, लसुनको अचार, जिम्बु, टिम्मुरको पिरो (छोप) को वासनाले थकाली खानालाई थप स्वादिष्ट बनाउँछन् । उच्च हिमाली भेगमा फल्ने फापर, आलु तथा मेथीको विशेष महिमा छ । फापरको सागबाट तयार गरिएको सुप पनि स्वादिष्ट हुन्छ , जसको थकाली खानामा आफ्नै पहिचान छ । 

थकाली खाना स्वादिष्ट बनाउन दालले विशेष भूमिका खेल्छ । प्राय: थकाली महिलाले परम्परागत रूपमा फलामको भाँडामा उक्त दाल पकाउँछन् । यसलाई घोटेर पकाइन्छ । खासगरी कालो दाल, बोडी तथा सिमी दालका रूपमा प्रयोग गरिन्छ । 

अचारमा प्रयोग गरिने टिम्मुरले पनि थकाली खानालाई फरक स्वाद दिन्छ । त्यस्तै खाना थप स्वादिष्ट बनाउन मुला, गोलभेंडा, लसुनको अचारका विभिन्न परिकार तथा टिम्मुरको पिरो प्रयोग हुन्छ । त्यसैगरी उच्च हिमाली भागमा फल्ने फापर, आलु तथा मेथीको अलग महत्त्व छ । 

फापरबाट बनेको ढिँडो थकालीहरुको विशेष परिकार हो । पिठोलाई उम्लिरहेको पानीमा हाली काठको दाबिलाले मस्काइन्छ । आगो सानो बनाएर केही समय चलाएपछि केही मिनेट छोपेर राख्नुपर्छ । यसरी पकाइएको ढिँडो मासु, अचार, दाल तथा तरकारीसँग खान सकिन्छ । 

केही थकाली परिकार

लेप्पखु 

खसीको टाउकाको आँखा, कान, जिब्रो, गिदीलाई राम्रोसँग सफा गरेर मसिनो गरी काट्ने । तेल तताएर आँखा, कान तथा जिब्रोलाई मज्जाले भुट्ने । जिरा, नुन, बेसार, खुर्सानी तथा अदुवा र लसुनको पेस्टलाई पनि सँगै भुटेर पानी हाली छोपेर पकाउने । पाक्न थालेपछि गिदीमा चुक र उवाको पिठो हाली मोल्ने र त्यसमा पानी हालेर एकछिन पकाउने । 

कन्छेम्ब 

नुनपानी उमालेर फापरको पिठो हाली ढिंडोजस्तै बनाउने । थालमा राखेर हातमा तेल दली सेप दिँदै घिउमा तार्ने ।

भोटो

पिठोमा पानी हाल्दै मुछ्ने र गोलो सेप दिएर उमालेको पानीमा हाल्ने । पाकेपछि झिकेर घिउमा टिम्मुर तथा छोप हाली एकछिन भुट्ने ।

म्हाल्दा

नुन, पानी तथा घिउलाई उमाल्ने । थोरै उवाको पिठो हाली चलाउँदै पकाउने । सबै पानी सुकेर घिउ निस्किएपछि म्हाल्दा खानका लागि तयार हुन्छ ।

मुलाको अचार

लामो आकारमा मुला काट्ने । नुन मोलेर मुलालाई एकछिन राखी पानी निकाल्ने । तिल, नुन, खुर्सानी, लसुन तथा चुक हालेर मोली तेल, मेथी तथा बेसारका साथ झान्ने । 

टस्यखु

यो खसीको टाउकोमा नुन, लसुन तथा टिम्मुर हाली उमालेर तयार पारिने परिकार हो । 

ढाप्रा

सुकाइएको फापरको सागलाई घट्टमा पिसी पाउडर बनाएर दाल तयार गरिन्छ । 

फारो दाल

सेतो सिमी भुटेर बोक्रा फाली घट्टमा मैदाजस्तै पिसेर घिउमा भुटेर दाल पकाइन्छ । यो दाल थकालीको स्पेशल दाल हो । 

आलुंखु

यो थकालीहरूले जाडो महिनामा खाने परिकार हो । दसैंताका नै जाडो सुरू हुने भएकाले यो परिकार धेरैजसोको घरमा पाक्छ । यसमा मुला, छुप्री, हरियो साग तथा फापरको पिठो मुछेर सँगै पकाइन्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×