मौसम चाडपर्वको  ट्रेन्ड घुमफिरको

सुजाता मुखिया

आश्विन ९, २०७६

चितवनको सौराह गएकै हो, पोखरा पनि घुमेकै हो । काठमाडौं, ललितपुर र भक्तपुरको त कुनाकाप्चा पुगिएको छ । यसपटक अलि नयाँ ठाउँ घुम्ने हो कि ? नयाँ परिवेश, नयाँ हावापानी, नयाँ रहनसहन तथा नयाँ खानपानसँग साक्षात्कार गर्ने पो हो कि ? शरद ऋतुको आगमनसँगै घुमघाममा निस्कनेहरू ह्वात्तै बढ्छन् । नयाँ ठाउँ तथा नयाँ परिवेशको अनुभूति गर्न यो उपयुक्त मौसम पनि हो ।

नेपालीहरूबीच देशभित्र घुमफिर गर्ने प्रवृत्तिसमेत बढेको कुरा स्पोर्ट्स टुर्स एन्ड ट्राभलका संचालक राजेन्द्र जिसी बताउँछन् । दसैं–तिहारलगायत लामो बिदामा आफ्नै मुलुकको फन्को लगाउने नेपालीहरू ठूलो संख्यामा भएको जिसीले बताए । विश्वका सबैजसो गोलाद्र्धका मानिस नेपाल घुम्न आउँछन् भने हामी आफै चाहिँ किन नघुम्ने ?’ जिसी भन्छन् । 

इलाम–पाँचथर–ताप्लेजुङ

भुइँकुहिरो छिचोल्दै कन्यामदेखि पाथीभरासम्म 

चिसो सिरेटो, भुइँकुहिरो र नागबेली सडक छिचोल्दै पूर्वको यात्रा तय गर्न सकिन्छ । यो यात्राको थालनी कन्याम चिया बगानबाट हुन्छ । मेची राजमार्गको दुई किनारमा देखिने चियाका थुम्काथुम्कीले केही क्षण त्यहीँ बसौं–बसौं बनाउँछन् । यहाँ कलकलाउँदो चियाको दृश्य हेरेर रमाउन सकिन्छ । कन्याम पुगेपछि लेप्चासहित अन्य जातिको पहिरनमा फोटो खिच्ने कि, घोडाको सवारी गर्ने ? आफ्नो इच्छा । 

कन्यामलाई केन्द्रमा राखेर श्रीअन्तुसम्म पुग्न सकिन्छ । सूर्योदयको दृश्यका लागि उत्कृष्ट गन्तव्य हो यो । श्रीअन्तुमा पेइङ गेस्टका रूपमा बस्न सकिन्छ । श्रीअन्तुबाट अगाडि बढेपछि इलाम बजार पुगिन्छ । इलाम बजारबाट माइपोखरी, टोड्के झरना हुँदै सन्दकपुरसम्मको यात्रा तय हुन्छ । इलाम र दार्जीलिङको सीमावर्ती सन्दकपुरबाट हिमशृंखलाको दृश्य निकै मोहक देखिन्छ । 

अब इलामको सीमा नाघेर तपाईं पाँचथर पुग्नुहुनेछ । पाँचथर प्रवेश गर्ने क्रममा साधुटार पुगिन्छ । साधुटार पाँचथर सदरमुकाम फिदिमबाट १६ किलोमिटर टाढा पर्छ । यो कृत्रिम तालमा मौसम खुलेको बेला कञ्चनजंघा र कुम्भकर्ण हिमालको प्रतिबिम्ब देख्न सकिन्छ । समुद्री सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा पर्ने पाँचथरको फिदिम बजार उक्त क्षेत्रको सबैभन्दा ठूलो व्यापारिक केन्द्र हो । त्यसपछि फिदिमलाई केन्द्र बनाएर हिलिहाङ दरबार आदि घुम्न सकिन्छ । संस्कृति, कला आदिमा रुचि छ भने पाँचथरको यात्रा सार्थक हुनसक्छ । ताप्लेजुङ पुगेपछि सबैभन्दा महत्वपूर्ण गन्तव्य बन्नेछ–पाथीभरा । धार्मिक पयर्टनका लागि मुलुकमै परिचित यो ठाउँ नपुगे पूर्वको यात्रा पूरा हुँदैन । ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट जिप चढेर पाथीभरासम्मको यात्रा तय गर्न सकिन्छ । ३७ सय ९४ मिटरको उचाइमा पुग्दा चिसोको समस्या भने हुनसक्छ । त्यसैले पूर्वतयारी आवश्यक छ । 

ताप्लेजुङमा अन्य गन्तव्य पनि छन्, जस्तो कि दिकी छ्योलिङ गुम्बा । भनिन्छ यो चार सय वर्ष पुरानो गुम्बा हो । ताप्लेजुङ पुगेपछि तीनजुरेसम्मको यात्रा पनि गर्न सकिन्छ । 

छुटाउनै नहुने गन्तव्य : कन्याम, सन्दकपुर, माइपोखरी (इलाम) । तिम्बुपोखरी, साधुटार, हिलिहाङ दरबार (पाँचथर) । पाथीभरा, फुङफुङे झरना (ताप्लेजुङ) ।

छुटाउनै नहुने स्वाद : वाचिपा, जुन किराँतको मौलिक परिकार हो । बम्बईसन, च्यांग्राको सुकुटी, सुँगुरको मासु, तोङ्वा । 

ल्याउनैपर्ने कोसेली : चौंरीको छुर्पी, ललिपप, अर्थोडक्स चिया । 

बसोबास एवं यातायात : हवाई मार्गबाट झापाको भद्रपुरसम्म पुग्न सकिन्छ । त्यहाँबाट सबैतिर गाडी पुग्ने व्यवस्था छ । ताप्लेजुङमा भने सोझै हवाई मार्गबाट पनि जान सकिन्छ तर बीचमा पर्ने गन्तव्यहरू छुट्छन् । यहाँ खानपानको समस्या छैन । सबैतिर होटल तथा लजको व्यवस्था छ । यो यात्रामा पेइङ गेस्टका रूपमा पनि बस्न–खान सकिन्छ । 

धनकुटा– तेर्‍हथुम 

भेंडेटार छिचोल्दै गुराँसको राजधानी 

भेडेंटार तराईबासीको गर्मी छल्ने प्रसिद्ध हिल स्टेशन हो । हुन त दसैंका बेला अर्थात् शरद ऋतुको हावा त्यति चिसो हुँदैन । यद्यपि भेंडेटारको सौन्दर्यले भने मोहित तुल्याउँछ । धरानबाट उक्लिएर भेंडेटार पुगेपछि जोकसैलाई चिसो सिरोटेले स्वागत गर्छ । 

बार्‍हैमास चिसो हावा चल्ने भएकाले भेंडेटार चिसो हावापानी र मनोरम प्राकृतिक दृश्य अवलोकनका लागि प्रसिद्ध छ । भेंडेटारको भ्यू टावर अर्थात् चाल्र्स प्वाइन्टबाट सप्तकोशीको मनोरम दृश्य तथा पूर्वी तराईका फाँटहरू अवलोकन गर्न सकिन्छ । बेलायतका राजकुमार चाल्र्सले शैलुङ डाँडामा बसेर हिमशृंखलाहरूको अवलोकनका गरेकाले यो डाँडा चाल्र्स डाँडाको नामले परिचित भएको हो । 

भेंडेटारबाट अलि माथि उक्लिएपछि अग्र्यानिक गाउँ थुम्की र नाम्जे पुगिन्छ । ओझेलमा परेको नाम्जे गाउँ सिएनएनले समाज, संस्कृति एवं वातावरण समेटेर नसुनिएको उत्कृष्ट १२ गन्तव्य पार गरेपछि आन्तरिक पर्यटकहरूको नजरमा परेको हो । भेंडेटारबाट ८ किलोमिटर तल झरेपछि नमस्ते झरना पुगिन्छ । करिब ८० मिटर माथिबाट खस्ने यो झरना अहिले सबैको आकर्षकको केन्द्र भएको छ । भेंडेटारभन्दा केही पश्चिममा ऐतिहासिक साँगुरीगढी छ । यो धार्मिक पर्यटकहरूका लागि उपयुक्त गन्तव्य हुनसक्छ ।

अब अगाडि बढ्नुपर्छ, धनकुटालाई गन्तव्य बनाएर । धनकुटा आसपासमा पनि घुमफिर गर्ने ठाउँ प्रशस्तै छन् । जस्तो हिले, ध्वजे डाँडा आदि । धनकुटाको ध्वजेडाँडाबाट पहाडको सौन्दर्य अवलोकन गर्न सकिन्छ । डाँडाबजारको दृश्यका साथै तमोर नदीको नागबेली आकार र एसियाकै सबैभन्दा ठूलो वरको रुख पनि यहीँबाट देख्न सकिन्छ । यो अजङ्गको रुख २ सय ५० वर्ष पुरानो हो । 

धनकुटामाथि छ, हिले बजार । यहाँ पर्यटकहरूका लागि सुविधाजनक होटल तथा लजहरू उपलब्ध छन् । त्यसपछि यात्रा धनकुटालाई छाडेर तेर्‍हथुमतर्फ सोझिन्छ । तेर्‍हथुमलाई गन्तव्य बनाएर अघि बढेपछि तीनजुरे पुगिन्छ, जुन गुराँसका लागि प्रख्यात छ । यहाँ लालीगुराँस, चिमाल, सुनपातीलगायत अनेक प्रजातिका गुराँस पाइन्छन् । वसन्तपुर बजारको पूर्वतर्फ साँढेका जस्ता तीनवटा जुरो भएकाले यो डाँडालाई तीनजुरे भनिएको हो । यहाँबाट सूर्योदय तथा सूर्यास्तको मनोरम दृश्य नियाल्न सकिन्छ । 

तेर्‍हथुमको फेदाप गाउँपालिकास्थित सम्धु र इसिबु क्षेत्रको सीमामा अवस्थित ह्यात्रुङ झरना एसियाकै अग्लो झरनाका रूपमा चिनिन्छ । ३ सय ६५ मिटर अग्लो यो झरना पुग्न भने पैदल यात्रा गर्नुपर्छ । पदयात्रा गर्न चाहनेहरूका लागि यो झरना सुन्दर गन्तव्य हो । 

छुटाउनै नहुने गन्तव्य : भेंडेटार, नाम्जे, हिले तथा पाख्रिबास (धनकुटा) । तीनजुरे, ह्यातुङ झरना (तेर्‍हथुम)

छुटाउनै नहुने स्वाद : बंगुरको मासु तथा अकबरे खुर्सानी । 

ल्याउनैपर्ने कोसेली : धनकुटे बिस्कुट, अकबरे खुर्सानी । 

बसोबास र यातायात : हवाई मार्गबाट विराटनगर हुँदै धनकुटा उक्लन सकिन्छ । कोशी राजमार्गसँगै जोडिएकाले भेंडेटार हुँदै धनकुटा, हिले, तेर्‍हथुमको यात्रा एकैपटकमा तय हुन्छ । सुनसरीको धरानबाट १२ किलोमिटरको दूरीमा रहेको भेंडेटार पुग्न करिब १५ मिनेट लाग्छ । धरानबाट नियमित रूपमा माइक्रो बस चल्ने भएकाले ओहोर–दोहोर गर्न त्यति गार्‍हो हुँदैन । यहाँ हर्स राइडिङ, साइक्लिङ, प्याराग्लाइडिङ र नमस्ते झरनामा क्यानोनिङ गर्न सकिन्छ । 

यातायात, सञ्चार र होटल, रेस्टुराँ आदिको राम्रो सुविधा भएकाले यहाँ आउने पर्यटकहरूलाई खान र बस्न कुनै समस्या छैन । यहाँ केही होमस्टे पनि उपलब्ध छन् । यातायातको सुविधा भएकाले यो यात्रा त्यति महँगो हुँदैन । 

खोटाङ–भोजपुर–संखुवासभा 

हलेसी महादेव हुँदै सभापोखरी पूर्वको प्रसिद्ध तीर्थस्थल हो–हलेसी । हलेसीलाई केन्द्रमा राखेर पूर्वका खोटाङ, भोजपुर तथा संखुवासभाको फन्को लगाउन सकिन्छ । यी गन्तव्य धार्मिक पर्यटनका लागि उपयुक्त हुनसक्छन् । यो यात्रामा किराँत खासगरी राई संस्कृति एवं रहनसहनलाई नजिकबाट नियाल्न सकिन्छ । 

यात्रा खोटाङबाट सुरु गरौं, जहाँ हलेसी धाम छ । बाक्लो जंगलले ढाकिएको यो क्षेत्रको बीचमा ठूलो चट्टानको गुफा छ । हलेसीलाई हिन्दू धर्मावलम्वीहरूले दोस्रो पशुपति, बौद्ध धर्मावलम्वीहरूले दोस्रो लुम्बिनी तथा किराँत धर्मावलम्वीहरूले आदिम भूमि मान्छन् । हलेसी गुफाको प्राकृतिक भू–बनोट विश्वमै अनौठो मानिन्छ । खोटाङको नयाँ गन्तव्य रुवालुङ झरना पनि हो । यो झरना मध्यपहाडी लोकमार्ग नजिकै छ । ट्याम्के डाँडा त्यहाँको अर्को पुग्नैपर्ने ठाउँ हो । 

भोजपुरको नाम लिनासाथ भोजपुरे खुकुरीको सम्झना आउँछ । खुकुरीका लागि प्रसिद्ध यो स्थानमा केही दर्शनीय स्थल पनि छन् । जस्तो कि, साल्पा पोखरी, हतुवागढी आदि । पहिलो पटक एडमन्ड हिलारी र तेन्जिङ सेर्पाले साल्पा पोखरीको मार्ग हुँदै सगरमाथाको यात्रा तय गरेका थिए । यहाँबाट सूर्योदयको मनोरम दृश्य हेर्न सकिन्छ । अब लागौं संखुवासभातर्फ । संखुवासभा पुगेपछि सभापोखरी पुग्नैपर्छ । प्राचीन कालमा ८८ हजार ऋषिमुनि राखेर वेदव्यासले धार्मिक सभा बसाएकाले यसको नाम सभापोखरी रहेको धार्मिक विश्वास छ । समुद्री सतहबाट ४ हजार २ सय ४० मिटरको उचाइमा रहेको यो पोखरी लुम्बा सुम्बा हिमालको फेदमा छ । संखुवासभाको गुफापोखरी हुँदै तीन दिनको पैदल यात्राबाट सभापोखरी पुग्न सकिन्छ । 

संखुवासभा पुगेपछि अरुण उपत्यका किन नपुग्ने ? यो विश्वकै सर्वाधिक गहिरो उपत्यका हो । अरुण उपत्यकालाइ विश्वमै अत्यधिक चरा पाइने उपत्यका पनि मानिन्छ । 

छुटाउनै नहुने गन्तव्य : हलेसी धाम, ट्याम्के डाँडा (खोटाङ) । साल्पापोखरी, हतुवागढी (भोजपुर) । सभापोखरी, अरुण उपत्यका (संखुवासभा) ।

छुटाउनै नहुने स्वाद : वाचिपा, बंगुरको मासु । 

ल्याउनैपर्ने कोसेली : भोजपुरे खुकुरी तथा रुद्राक्ष । 

यातायात एवं बसोबास : बाटोले जोडेपछि नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा अवस्थित हलेसी महादेवस्थान पुग्न सजिलो भएको छ । पूर्व–पश्चिम राजमार्ग हुँदै मिर्चैया–कटारी सडक खण्डबाट हलेसी पुग्न सकिन्छ । हवाईमार्गअन्तर्गत लामिडाँडा विमानस्थलबाट पनि हलेसी पुगिन्छ । यसैगरी तुम्लिङटार विमानस्थलमा उत्रिएर पनि संखुवासभाको फन्को लगाउन सकिन्छ । बसोबासका लागि स्थानीय होटल तथा लजहरू उपलब्ध छन् । काठमाडौंबाट बीपी राजमार्ग हुँदै मध्यपहाडी मार्गबाट एकैदिनमा पनि हलेसी पुगिन्छ ।

सिन्धुली–रामेछाप–ओखलढुंगा 

सिन्धुली गढी हुँदै पोकली झरनासम्म ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमै कतिमा राम्रो दरबार ।’ गीतबाटै प्रस्ट हुन्छ सिन्धुली घुमफिरकै गन्तव्य हो । काठमाडौंबाट सिन्धुली पुग्न धेरै समय लाग्दैन । सिन्धुली हुँदै रामेछाप र ओखलढुंगासम्मको यात्रा तय गर्न सकिन्छ । 

बीपी राजमार्ग निर्माणपछि सिन्धुलीको सौन्दर्य पनि खुलेको छ । नागबेली आकारको बाटो र आसपासका बस्ती, फाँट एवं भीरले जोकसैलाई लोभ्याउँछ । सिन्धुलीको मुख्य पर्यटकीय स्थल हो, सिन्धुली गढी । ऐतिहासिक विषयमा चासो राख्नेहरूका लागि सिन्धुली गढीको यात्रा सार्थक हुनसक्छ किनभने यो नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो । अहिले पनि उक्त युद्धका अवशेष त्यहाँ पाइन्छन् । कसरी हाम्रा पुर्खाहरूले शक्तिशाली अंग्रेजसँग युद्ध गरेका थिए भनेर बुझ्न सिन्धुली गढी उपयुक्त गन्तव्य हुनसक्छ । वि. सं. १९७५ मा सिन्धुली गढीमा सेना बस्न १४ ढोका ५६ झ्यालको दरबार निर्माण गरिएको थियो । यो दुई तले दरबारलाई अहिले जीर्णोद्धार गरिएको छ । 

त्यसो त सिन्धुलीमा सेल्फी डाँडादेखि अरू थुप्रै रमाइला ठाउँ छन्, जहाँ उन्मुक्त घुमफिर गर्न सकिन्छ । सिन्धुलीबाट अगाडि बढेपछि रामेछाप पुगिन्छ जहाँ जटापोखरी र पाँचपोखरीले स्वागत गर्नेछन् । 

उच्च हिमाली भेगको यात्रा गर्न मन छ, चौंरी खर्कको दृश्य नियाल्न मन छ, लेकाली सौन्दर्यको रस लिन मन छ भने यी गन्तव्यहरूले लोभ्याउन सक्छन् । खासगरी यी क्षेत्र धार्मिक हिसाबले प्रसिद्ध छन् । गोकुलगंगा गाउँपालिकाको चुचुरेमा पर्ने जटापोखरी पुग्न चुचुरे खहरेबाट पैदल यात्रा गर्नुपर्छ । यो लेकाली भेगमा पुगेपछि कुहिरोसँग लुकामारी खेल्न पाइन्छ । भीमकाय पहाडको फेदमा रहेको जटापोखरी एउटा हिमताल हो । यहाँ वर्षमा ६ महिनाभन्दा बढी हिउँ जम्छ । 

रामेछाप छिचोलेर ओखलढुंगा पुगेपछि भेटिन्छ–पोकली झरना । यो नेपालकै दोस्रो अग्लो झरना हो । लिखु खोलाको उत्तरपूर्वबाट झर्ने यो झरना चट्टानमा बजारिँदै झर्छ । यसको वेगले बेग्लै आनन्द प्रदान गर्छ । ओखलढुंगा पुगेपछि थोलेदाम्बा डाँडा पुग्नैपर्छ । नेपालको नक्सा बनाउँदा प्रयोग गरिएका सात वटा डाँडामध्ये एक हो यो । यहाँबाट सगरमाथा, गौरीशंकर आदि हिमाली दृश्य निकै आकर्षक देखिन्छन् । 

छुटाउनै नहुने गन्तव्य : सिन्धुली गढी (सिन्धुली), जटापोखरी, पाँचपोखरी (रामेछाप) । थोलेदम्बा डाँडा,

पोकली झरना (ओखलढुंगा)

छुटाउनै नहुने स्वाद : जुनार, फापरको बाबर (तामाङ परिकार) । 

ल्याउनैपर्ने कोसेली : जुनार । 

बसोबास तथा यातायात : बीपी राजमार्ग हुँदै सिन्धुलीबाट यी गन्तव्यमा पुग्न सकिन्छ । दोलखाको बाटो हुँदै पनि ओखलढुंगा तथा पोकली झरनासम्मको यात्रा तय गर्न सकिन्छ । यी गन्तव्य सडक तथा पैदल मार्गबाट पुग्नुपर्ने हुन्छ । 

खप्तड

खप्तडको आकर्षण भनेको फाँटहरूमा फुल्ने रंगीचंगी फूल हुन् । यसका साथै खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर तथा वरिपरि भएका खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, सहस्र लिङ्ग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थल निकै प्रख्यात छन् । यी स्थान हिन्दू धर्मावलम्वीहरूका पावनस्थल मानिन्छन् । सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्य खप्तड घुम्न यही मौसम उपयुक्त मानिन्छ । 

खप्तड क्षेत्रमा रहेका २२ वटा फाँट यहाँका थप आकर्षण हुन् । खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको ४ पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी तथा अछामको संगमस्थल हो । 

कसरी पुग्ने ?

खप्तड निकै चर्चित भए पनि निकै अप्ठ्यारो गन्तव्य पनि मानिन्छ । खप्तड पुग्न धनगढीदेखि डोटीको सिलगढीसम्म बसमा आठ घन्टा यात्रा गर्नुपर्छ । त्यसपछि भने पैदल हिँड्नुपर्छ । खप्तड पुग्ने धेरै बाटा भए पनि डोटीको सिलगढीको बाटो भएर जाने बढी हुन्छन् । सिलगढी पुग्न पूर्व–पश्चिम राजमार्गको अत्तरियाबाट नौ घन्टाको बस यात्रा गर्नुपर्छ । नेपालगञ्जबाट हवाई यात्रा गरेर पनि डोटी पुग्न सकिन्छ । खप्तडको यात्रामा निस्कँदा पाल, स्लिपिङ ब्याग, खाना पकाउने सामानसँगै केही तयारी खानेकुरा बोकेर जानु उत्तम हुन्छ । 

रारा

मुगु जिल्लामा अवस्थित रारा नेपालको सबैभन्दा ठूलो ताल हो । जंगलले घेरिएको रारा तालले घामको किरणअनुसार रंग बदल्छ । समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित यो ताल १० हजार फिटको उचाइमा दस वर्गफिटमा फैलिएको छ । 

रारा ताल वरिपरि फैलिएको घाँसेमैदान, कोणधारी हरियो वन, उत्तरतर्फ लस्करै हिमशृंखला, झरना आदिको मनोरम दृश्यले सबैको मन लोभ्याउँछ । यो रारा ताल हेर्न जाने उपयुक्त मौसम पनि हो । 

कसरी पुग्ने ?

रारा जान हवाई तथा स्थलमार्ग दुवै प्रयोग गर्न सकिन्छ । स्थलमार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारी पुग्नुपर्ने हुन्छ । नेपालगन्जबाट ५० मिनेटको हवाई यात्रापछि मुगुको ताल्चा विमानस्थल पुग्न सकिन्छ । ताल्चा विमानस्थलबाट तीन घन्टाको पैदल यात्रापछि रारा ताल पुगिन्छ । त्यसबाहेक सुर्खेतबाट पनि रारा तालको यात्रा सुरु गर्न सकिन्छ ।

 

स्वर्गद्वारी

स्वर्गद्वारी नेपालका धार्मिक पीठहरूमध्ये एउटा महत्वपूर्ण पीठ हो । परापूर्वकालमा ऋषिमुनिहरूले यही ठाउँमा बसी तप गरेर स्वर्ग गएकाले स्वर्ग जाने द्वार मानेर यो ठाउँको नाम स्वर्गद्वारी रहन गएको किम्वदन्ती पाइन्छ । पाँच पाण्डव स्वर्ग जाँदा यही बाटो भएर गएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । प्यूठानको स्वर्गद्वारी धार्मिक महत्वका साथै प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ । यहाँबाट अन्नपूर्ण, धौलागिरि, मनास्लु आदि दर्जनौं हिमाल अवलोकन गर्न पाइन्छ । विशेषगरी स्वर्गद्वारीबाट धौलागिरि हिमाल नजिकबाट देखिन्छ ।

कसरी पुग्ने ?

काठमाडौंलाई केन्द्र बनाएर स्वर्गद्वारी पुग्न नेपालगञ्जसम्म हवाई यात्रा र त्यसपछि बस यात्रा गर्नुपर्छ । दाङको घोराहीबाट यातायातको साधन प्रयोग गरेर पनि स्वर्गद्वारी पुग्न सकिन्छ । त्यसपछि निजी सवारी साधन वा पाँच घन्टाको पैदल यात्राबाट स्वर्गद्वारी मन्दिर पुगिन्छ ।

मुक्तिनाथ

धार्मिक पर्यटनका लागि मुस्ताङ जिल्लाको मुक्तिनाथ उपयुक्त गन्तव्य हो । उच्च हिमाली क्षेत्रको जनजीवनसँग साक्षात्कार गर्न पनि मुक्तिनाथ पुग्न सकिन्छ । समुद्री सतहबाट ३ हजार ७ सय १० मिटर उचाइमा अवस्थित यो मन्दिरलाई बादलमाथिको मन्दिर पनि भनिन्छ । मुक्तिनाथ विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रअन्तर्गत पर्छ । ट्रेकिङ गर्न चाहनेहरूका लागि मुक्तिनाथ उत्तम मानिन्छ । धार्मिक हिसाबले मुक्तिनाथ जानेहरू तातोपानीमा नुहाएर माथिको गन्तव्य तय गर्छन् । तातोपानीमा नुहाउँदा धेरै रोग निको हुने विश्वास गरिन्छ । तेस्रो विश्वका रूपमा हेरिने सुन्दर भ्याली लोमान्थाङ पनि मुस्ताङमै छ । 

कसरी पुग्ने ?

मुक्तिनाथ जाने पैदल मार्ग म्याग्दीको तातोपानीबाट सुरु हुन्छ । काठमाडौंबाट सार्वजनिक बस वा आफ्नो गाडीमा पोखरा, बेनी हुँदै तातोपानीसम्म पुग्न सकिन्छ । तातोपानी, मार्फा, कागबेनी हुँदै मुक्तिनाथ पुगिन्छ । 

सगरमाथा बेस क्याम्प

विदेशी पर्यटकको प्रमुख रोजाइमा पर्ने स्थान हो, सगरमाथा पदयात्रा । विदेशीहरू विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि नेपाल आउँछन् भने कोही सगरमाथाको आधार शिविरसम्म पदयात्रा गरेर फर्कन्छन् । विश्वमै चर्चित सगरमाथा हेर्न विदेशबाट पर्यटकहरू आए पनि नेपाली पर्यटकहरू भने कमै पुग्ने गरेका छन् ।

सगरमाथा क्षेत्रमा विभिन्न पदमार्ग भए पनि कालापत्थर सबैभन्दा उपयुक्त स्थल हो, जुन समुद्री सतहबाट ५ हजार ५ सय ५५ मिटर उचाइमा छ । कालापत्थर सगरमाथालाई नजिकबाट नियाल्ने उपयुक्त ठाउँ हो । कालापत्थरबाट ३६० डिग्रीमा हिमाल हेर्न सकिन्छ ।

 

कसरी पुग्ने ?

काठमाडौंबाट लुक्लासम्म हवाई यात्रा र त्यसपछि दस दिनको पैदल यात्रा गरेर सगरमाथा क्षेत्रमा पुग्न सकिन्छ । लुक्ला सगरमाथा आरोहणको पहिलो खुड्किला हो । समुद्री सतहबाट २ हजार ८ सय ६० मिटर उचाइमा रहेको लुक्लामा शेर्पा जातिको बसोबास छ । 

जिरी

जिरीलाई नेपालको स्वीट्जरल्यान्ड पनि भनिन्छ । प्राकृतिक भू–बनोटले सजिएको जिरीलाई नजिकै बहने तामाकोशी, चारैतिर हरियाली तथा अग्लो डाँडाबाट झर्ने झरनाहरूले सुन्दर बनाएका छन् । जिरीलाई सगरमाथाको प्रवेशद्वार मानिन्छ । 

स्वीस सरकारले स्वीट्जरल्यान्डको जस्तै भू–बनोट भनेर जिरीको विकासमा सहयोग गर्दै आएको छ । जिरीको यात्रामा निस्कदा छुटाउन नहुने ठाउँ कालिञ्चोक हो । कालिञ्चोक डाँडामाथि रहेको प्रसिद्ध कालिञ्चोक भगवतीको मन्दिर दर्शन गर्न र वरपरको हिमाली सौन्दर्य नियाल्न सकिन्छ । दोलखा जिल्लामा चरिकोटस्थित भीमेश्वर मन्दिर पनि प्रसिद्ध छ । दोलखा जिल्लामा अवस्थित शैलुङबाट रमणीय हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । शैलुङमा हरेक १२ वर्षमा विशेष मेला लाग्छ । 

कसरी पुग्ने ?

काठमाडौंबाट सडक मार्ग हुँदै एकै दिनको यात्रामा जिरी पुग्न सकिन्छ । 

मनाङ

गण्डकी अञ्चलमा अवस्थित मनाङ भौगोलिक, जातीय एवं सांस्कृतिक विविधता भएको ठाउँ हो । हिमाली हावापानी, वातावरण, रहनसहन एवं वन्यजन्तु हेर्न मनाङ जान सकिन्छ । विभिन्न अन्तर्राष्टिय सर्वेक्षणले मनाङसमेत समेटिएको अन्नपूर्ण पदयात्रा मार्गलाई जीवनमा एकपटक पुग्नैपर्ने विश्वका उत्कृष्ट १० गन्तव्यमा राखेको छ । हिमालपारिको जिल्ला मनाङ जाने एउटा मात्र बाटो छ । ढुङ्गाजस्तो पहाड खोपेर बनाइएको भीरको बाटो भएर मनाङ पुग्न सकिन्छ । साहसिक यात्रा गर्न रुचाउनेहरूका लागि मनाङको पदयात्रा नौलो अनुभव हुनसक्छ । पर्यटकीय दृष्टिले मनाङका पिसाङ, भ्राखा, खाडसागर, टंकीमनाङ, नार र फू, थोन्चे तथा तिलिचो ताल महत्वपूर्ण मानिन्छन् । अन्नपूर्ण पदयात्रा मार्गको बाटोमा भएका घरमा होमस्टेको सुविधा उपलब्ध हुन्छ ।

कसरी पुग्ने ?

पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट उत्तरतर्फ लमजुङको बेंसीसहरसम्म ४२ किलोमिटर कालोपत्रे सडक छ । बेंसीसहरबाट मनाङको सदरमुकाम चामे पुग्न सकिन्छ । मनाङ गाउँ चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य हो भने खाङसार चर्चित हिमताल तिलिचो ताल जाने बाटो हो । बाटामा खाना खाने–बस्ने ठाउँ प्रशस्तै उपलब्ध हुन्छन् ।

बैतडी

बैतडी जिल्लामा थुप्रै धार्मिक तथा ऐतिहासिक स्थल छन् । शक्तिशाली देवताको छत्रछायामा रहेको बैतडी जिल्ला आध्यात्मिक हिसाबले निकै पवित्र भूमि हो । यहाँका देवस्थलहरूमा बैतडीको सदरमुकामबाट सहज ढंगले यात्रा गर्न सकिन्छ । बैतडी अमर सहिद दशरथ चन्दको जन्मथलो हो । यसको वरिपरिका उच्च पहाडहरूमा चारवटा केदार देवताको देवस्थल छ । ती चारवटा केदारमध्ये दक्षिणमा ग्वाल्लेक केदार, पूर्वमा रोलाकेदार, उत्तरमा देउलेक केदार तथा पश्चिममा ध्वजकेदार छन् । यी केदारहरू आराध्यदेव महादेवका रूप हुन् भन्ने जनश्रुति छ ।

कसरी पुग्ने ? 

बैतडी सडक मार्ग हुँदै पुग्न सकिन्छ । दशरथ चन्द र जयपृथ्वी राजगमार्ग हुँदै बैतडीसम्मको यात्रा गर्न सकिन्छ । 

पाल्पा 

सयौं वर्ष पुराना ऐतिहासिक सम्पदा अध्ययन गर्न रुचाउनेहरूका लागि पाल्पाको सदरमुकाम तानसेन उपयुक्त गन्तव्य हुनसक्छ । पाल्पा जिल्लाको सबैभन्दा प्रसिद्ध ठाउँ रानीमहल हो । रानीमहल खड्ग शमशेरले आफ्नी रानीको सम्झनामा बनाएको मनोहर भवन हो जसलाई नेपालको ताजमहल भनिन्छ । पाल्पाका थप आकर्षण राणाकालीन दरबार, ह्ृषीकेश मन्दिर, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, रम्भादेवी, राम्दी सुन गुफा, कालीगण्डकी, दर्लम महाकाली, महामृत्युञ्जय शिवासन, बराङ्दी आदि हुन् । शीतल जलवायुका कारण पाल्पा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बाक्लो छ । 

कसरी पुग्ने ? 

पाल्पा पुग्न खासै गार्‍हो छैन । सिद्धार्थ राजमार्ग हुँदै पाल्पासम्मको आरामदायक यात्रा तय गर्न सकिन्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्