Successfully Copied

घुम्नैपर्ने मोरक्को

सन् १९४२ मा एउटा हलिउड चलचित्र बनेको थियो-कासाब्लान्का। माया-प्रेमसम्बन्धी बेजोड प्रस्तुति बोकेको उक्त चलचित्रको अहिले पनि चर्चा गरिन्छ।

सन् १९४२ मा एउटा हलिउड चलचित्र बनेको थियो-कासाब्लान्का। माया-प्रेमसम्बन्धी बेजोड प्रस्तुति बोकेको उक्त चलचित्रको अहिले पनि चर्चा गरिन्छ। यद्यपि यहाँ चलचित्र होइन, कासाब्लान्का सहरको प्रसंग कोट्याउन लागिएको हो। हलिउडमा समेत आफ्नो स्थान बनाएको यो सहर विश्वका प्रमुख भ्रमणयोग्य स्थलमध्ये एक मानिन्छ। विश्वको तेस्रो ठूलो हसन मस्जिदजस्ता थुप्रै ऐतिहासिक धरोहरले सु-सज्जित यो सहर मोरक्कोको सबैभन्दा ठूलो सहर र प्रमुख बन्दरगाह हो।

त्यसो त एटलान्टिक महासागरसँग जोडिएको मोरक्को आफैमा पर्यटकीय गन्तव्य हो।  मस्जिदको बेजोड शिल्प, गतिमान सहर, सम्पन्न लोककला अवलोकनका लागि मोरक्को पुग्नैपर्छ। उत्तरी अफ्रिकाको रोमन प्रान्तमा अवस्थित यो त्यस्तो मुलुक हो, जहाँ मनोरञ्जनका निम्ति पर्यटकहरूको ओइरो लाग्छ। मुस्लिम मुलुक भएर पनि यसले युरोपेली सभ्यता अंगालेको छ। रावत, मरकेश, फेस, सेल, अगडिर, कासाब्लान्का, अगादिर आदि यहाँका भ्रमणयोग्य स्थल हुन्। रंगीन संस्कृतिले भरिपूर्ण यी सहरहरूको साक्षात्कारले जो कसैको मन चंगा बनाइदिन्छ।

रावत मोरक्कोको राजधानी हो। मनोरम समुद्री तटमा रमाउनेहरूका लागि यो उपयुक्त गन्तव्य हुनसक्छ। त्यसैगरी मराकेश पनि घुम्नैपर्ने स्थान हो। मोरक्कोको तेस्रो ठूलो यो सहरलाई रेड सिटी पनि भनिन्छ। प्राचीन कलाकृति अवलोकनका लागि फेज सहर पुग्नुपर्छ। यरुसलमसँग तुलना गरिने यो सहर युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश छ। यहाँ अवस्थित अल काराउइन विश्वकै सबैभन्दा पुरानो विश्वविद्यालय हो, जुन अहिलेसम्म संचालित छ। फेज मध्यकालको सबैभन्दा पुरानो र ठूलो सहर पनि हो। एटलस पर्वत शृंखलाको काखमा छ-अगादिर सहर। परम्परागत मोरक्को भन्दा भिन्न आधुनिक सहर हो यो। अगादिर कञ्चन लामो समुद्री तटका लागि पनि सुपरिचित छ।

मोरक्कोलाई चारैतिरबाट रिफ, मध्यएटलस, उच्च एटलस तथा एन्टी एटलसजस्ता पर्वत शृंखलाले घेरेको छ। उच्च एटलसमा केही हिउँका पहाड छन्, जसलाई अफ्रिकाकै सबैभन्दा अग्ला पहाड मानिन्छ। मोरक्कोको भूमध्यक्षेत्र जैविक विविधताले सम्पन्न छ। त्यसमा दुर्लभ प्रवासी पंक्षी पनि सामेल छन्, जसले युरोपको उडान भर्छन्।

स्नानगृह र अरबी मसाज

थाइल्यान्डको मसाजजस्तै मोरक्को स्नानगृहका लागि प्रख्यात छ। यहाँका स्नानगृहमा स्टिम बाथको मज्जा लिन सकिन्छ। यहाँ दुई किसिमका स्नानगृह छन्। एक किसिमको स्नानगृहमा  आराम साथ पानीमा डुबे हुन्छ, अरूले नै आफूलाई नुहाइदिन्छन्। यद्यपि त्यसका लागि थप केही रकम खर्च गर्नुपर्छ। अर्को चाहिँ आम स्नानगृह हो जहाँ सर्वसाधरण जान्छन्। त्यहाँ आफै नुहाउनुपर्छ। स्नानगृहमा मसाज सेवा पनि प्राप्त गर्न सकिन्छ। त्यो अरबी मसाज हो, कुनै थाई मसाज होइन र त्यसको छुट्टै पैसा तिर्नुपर्छ।

खानाको स्वाद

मोरक्कोको खाना विश्वकै सबैभन्दा बढी स्वादिलो खानामध्ये एक हो। त्यसका लागि स्तरीय रेस्टुराँ पस्नुपर्छ, सामान्य रेस्टुराँमा उति धेरै विविधता नमिल्न सक्छ। सामान्य रेस्टुराँमा चाइनिज, फ्रेन्च एवं भारतीय व्यञ्जन पनि उपलब्ध हुन्छन्। त्यहाँ कुनै पनि पसलेले पर्यटकहरूलाई मिन्ट टी दिन सक्छन्, त्यसलाई स्वीकार गर्नुपर्छ। यसलाई मोरक्कन हि्वस्कीको नामले पनि चिनिन्छ। यद्यपि त्यसमा अल्कोहल भने हुँदैन। पाहुनालाई स्वागत गर्न मिन्ट टी दिइन्छ।

ट्रेकिङको मज्जा

सहरको भीडभाड मन नपराउनेहरूका उच्च एटलस पर्वतले ताजा हावा र असाधारण ट्रेकिङको अनुभव प्रदान गर्छ। यो पहाड मोरक्कोको पश्चिममा करिब १ हजार किलोमिटरको दूरीमा छ। त्यहाँ पुग्न मे र सेप्टेम्बर राम्रो मौसम मानिन्छ। अक्टुबर र अप्रिलको बीचमा त्यहाँ धेरै चिसो हुन्छ। घट्दो तापमान र हिउँमा ट्रेकिङ आफैमा चुनौतीपूर्ण हुन्छ।

किनमेल

किनमेलबिना मोरक्कोको यात्रा अधूरो हुन्छ। मोरक्कोको कार्पेट विश्व प्रख्यात छ। त्यसैगरी सफ्ट लेदरले बनेका सामग्री उपहारका रूपमा खरिद गर्न सकिन्छ। यो मुलुक सफ्ट लेदरका सामग्रीका लागि पनि प्रसिद्ध छ।

ख्याल गर्नुपर्ने कुरा

-    कुनै पनि रेस्टुराँ जाँदा पर्समा छुट्टै पैसा पनि बोक्नुपर्छ, किनभने त्यहाँ टिप्स दिने चलन छ।

-    बजार घुम्ने क्रममा स्थानीय मुद्रा बोक्न बिर्सनु हुँदैन।

-    मोरक्को इस्लामिक मुलुक हो, त्यसैले भड्किलो पहिरन लगाउनु हुँदैन।

 

 Image