कञ्चन अधिकारी
बर्खायाम । भेल, बाढी, पहिरो । घरबाट फुत्त निस्किन पनि गाह्रो । तर यो याममा मनमा हल्का डर लिएर हरियाली, गड्गडाएका नदी, पहाडबाट झरेका छङछङे झरना हेर्दै घुम्नुको मज्जा भने बेग्लै छ । बर्सादी ओढेर लुरुलुरु हिँड्नुको मज्जा अरु मौसममा कहाँ होला र ? कहिले उकालो, कहिले ओरालो, कहिले फेरि तेर्सैतेर्सो । नाकबाट तपतपी पानी चुहाउँदै हिँड्नुको आनन्द बेग्लै छ । बर्खाको यही यात्रा नै हो रमाइलो ।
तर यस्तो रमाइलो र रोमाञ्चक यात्रा कहाँ तय गर्ने त ? समय छोटो छ, फेरि खर्च धेरै गर्ने अवस्था पनि छैन । यस्तै सोचिरहनुभएको छ भने काठमाडौंबाट नजिकको गन्तव्य सिन्धुपाल्चोकको पाँचपोखरी नै उपयुक्त हुनसक्छ ।
हुन त नेपालका धेरै जिल्लामा छन् पाँचपोखरी । रामेछाप, लमजुङ, सोलुखुम्बुलगायतका जिल्लामा पनि छन् । तर सहज, रमाइलो र सस्तो रुट भनेकै सिन्धुपाल्चोकको पाँचपोखरी हो । काठमाडौबाट जान सजिलो मात्रै होइन बसाइ र सुविधाको हिसाबले पनि उपयुक्त गन्तव्य हो यो ।
कसरी जाने ?
तपाईं कुन ठाउँमा हुनुहुन्छ सोहीअनुसार रुट मिलाउनुपर्ने हुन्छ । काठमाडौंमा हुनुहुन्छ भने केमा जाने ? आफ्नै सवारीसाधनमा कि सार्वजनिक सवारीमा ? जुन साधनमा गए पनि अहिले जाने भनेको छिम्तीसम्म मात्रै हो । यो बर्खाको समयमा आफ्नै सवारी हुनेहरू पनि छिम्तीबाट माथि जान सक्दैनन् ।
आफ्नो सवारीमा जाने हो भने मोटरसाइकल वा स्कुटर उपयुक्त हुन्छ । हुन त कार, जिप पनि छिम्तीसम्म नजाने होइनन् । तर मेलम्चीपारिबाट सडक कच्ची भएकाले अप्ठ्यारो छ । बीचबीचमा खोला बढ्दा भने मोटरसाइकल र स्कुटरलाई पनि समस्या आउन सक्छ । समूहमा जाने हो भने सार्वजनिक यातायातमै राम्रो । बिहान र दिउँसो जोरपाटीबाट छिम्तीका लागि बस छुट्छ ।
आफ्नै साधन भए बिहान ७ बजे हिँडे भयो । सार्वजनिक यातायातमा जाने हो भने बिहान साढे ६ बजे बस भेट्ने गरी जोरपाटी शिवचोक पुग्नैपर्छ । उक्त बसले छिम्ती साढे ११ देखि १२ बजेभित्र पुर्याउँछ ।
आफ्नै सवारी हुनेले भने बिहान खाजा खाएपछि ७ बजे जोरपाटी–साँखु हुँदै यात्रा तय गर्दा हुन्छ । यतिखेर हिँड्दा आफ्नै सवारीमा पनि साढे ४ देखि ५ घण्टामा छिम्ती पुगिन्छ ।
०००
छिम्ती त्यही ठाउँ हो, जहाँबाट पाँचपोखरीका लागि यात्रा सुरु हुन्छ । बर्खाबाहेक अरु समयमा जानेले चाहिँ छिम्तीबाट केही पर देउराली भन्ने ठाउँसम्म स्कुटर वा मोटरसाइकल लगेर हिँड्ने बाटो छोट्याउन सक्छन् । तर अहिले छिम्ती र देउरालीको बीचमा पर्ने खोला बढ्ने भएकाले सवारी लानु हुँदैन । छिम्तीका होटल सञ्चालकका अनुसार पोहोर एक जोडीले जबर्जस्ती देउरालीतिर मोटरसाइकल लैजाँदा मोटरसाइकल बाढीले पुरिदिएको थियो ।
त्यसैले बर्खामा छिम्तीबाटै हिँड्नुपर्छ । तपाईं छिम्तीमा खाना खाएर मध्यान्ह १२ बजेपछि हिँड्नुभयो भने त्यो दिन टुप्पी डाँडा पुग्नुहुनेछ । तपाईंका पाइला लामा छन् भने चोकर डाँडा पुग्न सकिन्छ ।
छिम्तीमा खाना खाएर हिँडेपछि वरिपरिको दृश्यले मन पुलकित बनाउँछ । हरियाली, छाँगा–छहरा । जता क्यामेरा तेर्स्यायो उतै फोटो गज्जब आउने । शान्त, कोलाहलमुक्त । उकालोमा सुस्त हिँडाइ, पहिलो दिनको ट्रेक भएकाले रमाइलो नै रमाइलो हुनेछ यात्रा ।
छिम्तीबाट हिँडेको केहीबेरमा खोला आउँछ र खोलापछि उकालो सुरु हुन्छ । उकालोमा हिँड्न सजिलो हुन्न । लठ्ठी भए सहज हुन्छ । त्यसैले लठ्ठी भने अनिवार्यजस्तै हो पदमार्गमा । जति उकालो लाग्दै गयो, मुटुको धड्कन बढ्दै जान्छ । छिम्तीबाट हिँडेको झन्डै १ घण्टामा देउराली पुगिन्छ । त्यहाँ केही होटल र होमस्टे छन् । त्यहाँबाट एकैचोटी झन्डै साढे १ घण्टापछि मात्रै आराम गर्ने ठाउँमा पुगिन्छ । उकालोमा पानी चाहिन्छ । पानी कम भयो भने डिहाइड्रेसन हुन्छ । जसले शरीर आलस्य, थकित हुनसक्छ । त्यसैले यात्रामा पानी बोक्नुपर्छ ।
छिम्तीबाट करिब साढे ४ देखि ५ घण्टामा टुप्पी डाँडा पुगिन्छ । यहाँ ४ वटा होटल छन् । बेलुकाको खाना खाएर सुतेको एक जनाको ६ सय रुपैयाँ तिर्नुपर्छ । तपाईंसँग हिँड्ने समय छ र थकाइ पनि लागेको छैन भने चोकर डाँडाका लागि हिँड्न सक्नुहुनेछ । बढी नै थकाइ लागेको भए अगाडि बढ्नु हुन्न किनकि त्यहाँबाट करिब २ घण्टा हिँडेपछि मात्रै बस्ने ठाउँ आउँछ । त्यहाँ बस्ने ठाउँ ठीकै छ । अलि माथि नै उक्लिने हो भने चाहिँ टुप्पी डाँडाबाट ४ घण्टा हिँडेर चोकर डाँडा पुग्न सकिन्छ । तर थकित भइसक्नुभएको छ भने पहिलो दिनको गन्तव्य टुप्पी डाँडा नै ठीक हुनेछ । भोलिपल्ट बिहान सबैरै उठेर हिँडे त्यही दिन पाँचपोखरी पुगिन्छ । दोस्रो दिन कम्तीमा ९ देखि १० घण्टा भने हिँड्नैपर्छ ।
पहिलो दिन नै चोकर डाँडा पुगियो भने भोलिपल्ट झन्डै ४ घण्टाको बाटो छोटिन्छ । जसले पाँचपोखरी पुग्न सजह हुन्छ । पहिलो दिन तरपायाँ–तरपायाँ हुँदै उक्कालिनुपर्छ । हरियाली जंगलै–जंगलबीच हिँड्दा थकान बिर्सिइन्छ । अहिले बर्खा भएकाले बेलाबेला आफ्नो खुट्टातिर हेरिरहनुपर्छ किनकि जुका लाग्न सक्छन् ।
दोस्रो दिन सबैरै उठेर टुप्पी डाँडाबाट हिँड्ने हो भने खाना खान चोकर डाँडा पुगिन्छ । कतिले त चोकर डाँडामा हल्का खाजा खाएर नेश्यामपाटी पुगेर खाना खान्छन् । अघिल्लो दिनको थकान त्यति धेरै छैन भने नेश्यामपाटी पुगेरै खाना खान सकिन्छ । चोकर डाँडाबाट नेश्यामपाटी पुग्न साढे १ देखि २ घण्टा लाग्छ ।
तपाईं चोकर डाँडा बस्नुभएको छ भने बिहानै त्यहाँबाट चिया खाएर नेश्यामपाटीमा पुगेर बिहानी खाजा खाँदा हुन्छ । त्यसपछि एकैपटक पाँचपोखरी पुगिन्छ । तर खाजा अलि अडिलो खानुपर्छ । बीच बाटोमा खाजा खाने वा चिया खाने होटल छैनन् । आफूले बोकेको पानी र खाजा नै खानुपर्छ ।
नेश्यामपाटीबाट नियाल्दा नजिक लाग्ने पाँचपोखरी पुग्न र हेर्दा तेर्सो देखिने बाटो काट्न ५ देखि ६ घण्टा लाग्छ । समुद्री सतहबाट ४ हजार मिटर उचाइमा रहेको पाँचपोखरी पुग्दा मनै हर्षित हुन्छ । उकालो हिँडाइले थकित अनुहारमा खुसी थपिदिन्छ । पाँचपोखरी पुग्नै लाग्दाको उकालो अनि लौरीबिनाको उकालो सबै एकै सासमा बिर्सादिन्छ मनमोहक दृश्यले । र, चिच्याएर भन्न मन लाग्छ–पाँचपोखरी आएर थकथक लागेन, एकपटक आउनैपर्ने ठाउँ रहेछ ।
हुन पनि पहाडको काखमा छ पाँचपोखरी । माथि आकाश छेँडुँलाजसरी बसेको ढुंगाको पहाड । तल कञ्चन पानीले भरिएको पोखरी । हरियालीबीचमा रहेको पोखरी हेर्दा जो कोहीको मन हर्छ । बर्खामा मात्रै होइन हिउँदमा पनि निकै सुन्दर दृश्य देखिन्छ । चारैतिर हिउँको बीचमा पानी । जता हेर्यो उतै रमाइलो । यहाँको अर्को रमाइलो भनेको मौसम पनि हो । एकैछिनमा पानी फिसफिसाउने, एकैछिनमा छर्लङ्ग खुल्ने । एकैछिनमा भुइँकुहिरोले ढपक्कै ढाक्ने ।
पाँचपोखरीमा खाने र बस्ने सुविधा राम्रो छ । जनैपूर्णिमामा यहाँ भएका सबै होटल खुल्छन् । तर अरुबेला भने रोटेसनमा होटल खुल्छन् । एउटा होटलले ५० जना यात्रीलाई राखेपछि अर्को होटलको पालो आउँछ । खाना र बस्न महँगो छैन । भेज खाना र बसेको एकजनाले ८ सय रुपैयाँ तिरे पुग्छ । अण्डा खाना खानुभयो १५० रुपैयाँ थप्नुपर्छ ।
सुत्न भने हल र कोठाको व्यवस्था छ । धेरै यात्री भएको बेला हलमा मिलेर सुत्नुपर्छ । उचाइमा भएकाले सिरक–डसना राम्रा छन् । हिउँदमा चाहिँ आफूले पनि न्यानो कपडाको बन्दोबस्त गरेर जाँदा राम्रो हुन्छ ।
तेस्रो दिन बिहानै सूर्योदयको दृश्य हेर्न भ्यू प्वाइन्टमा पुग्नुपर्छ । होटलबाट ४५ मिनेट उकालिएपछि भ्यू प्वाइन्ट पुगिन्छ । झन्डै ४२ मिटर उचाइमा रहेको भ्यू प्वाइन्टबाट देखिने जुगल हिमाल र परसम्म देखिने दृश्यले जोकोहीलाई मोहित बनाउँछ । त्यहाँबाट निस्केर हिँड्नै मन लाग्दैन ।
भ्यू प्वाइन्टबाट केहीबेर झरेपछि मन्दिर दर्शन गर्न सकिन्छ । त्यसपछि बिहानको खाजा खाएर फर्किने सुरसार गर्न सकिन्छ । झर्दा त्यही दिन छिम्ती पुग्न सकिन्छ । धपेडी नगरी हिँड्ने हो भने टुप्पी डाँडा वा देउरालीमा झरेर बस्न सकिन्छ ।
चौथो दिन छिम्तीबाट काठमाडौंको लागि हिँड्न सकिन्छ ।
के–के लैजाने ?
बर्खामा छाता, बर्सादी (रेनकोट वा प्लास्टिकको ओढ्ने) लैजाने । जाँदा उकालो र झर्दा ओरालो हुने भएकोले लौरो अनिवार्य । सकेसम्म पानी नछिर्ने जुत्ता लगाउने । धेरै बाक्ला कपडा बोक्न पर्दैन । तर पाँचपोखरीमा साँझ र बिहान लगाउने कुनै न्यानो एउटा कपडा बोक्नैपर्छ ।
जुकाबाट जोगिन नुन बोक्नुपर्छ । प्राथमिक उपचारका केही किट बोक्दा राम्रो । पानी, चक्लेट, केही ड्राइफ्रुट्स बोक्न सकिन्छ ।
खर्च कति लाग्छ ?
सस्तो छ यो रुट । औसतमा दिनको १५ सय रुपैयाँ छुट्याउँदा हुन्छ । यसले सवारी भाडा वा पेट्रोल खर्च पुग्दैन ।