देवीको चित्रमा  कलाकारहरू

सिर्जना दुवाल श्रेष्ठ

आश्विन २, २०७६

नेपाल प्रकृतिको दृष्टिले जति सम्पन्न छ त्यति नै कला र संस्कृतिका दृष्टिमा पनि सबल छ । त्यसमा पनि परम्परागत मौलिक कलाका सन्दर्भमा समेत हामी समृद्ध छौं । परम्परागत नेवारी शैलीका पौवा चित्रमा विशेषगरी हिन्दू देवी–देवताका चित्र कुँदिने भए पनि अहिले भृकुटी, मञ्जुश्री तथा बुद्धका चित्र बढी कोरिएको पाइन्छ ।

यसभित्र मौलिक चित्रकला, मूर्तिकला, वास्तुकलाहरू पर्छन् । प्यागोडा, गुम्बज, टुँडाल, ऐतिहासिक ढुंगेमूर्ति, पौवाचित्र आदि परम्परागत कलाका विभिन्न स्वरूप हुन् । यी कलाले अन्तर्रार्िष्ट्रय क्षेत्र तथा कला बजारमा निकै राम्रो स्थान हासिल गरेका छन् । 

नेपाली समाजमा प्राचीन चित्रकलापछि पौवा कलाले प्रवेश पाएको हो । यो कलाको प्रचलन १२ औं शताब्दीअघि नै सुरु भएको मानिन्छ । पौवा शब्द विशेषत: नेवारी शब्द हो । तिब्बती भाषामा यसलाई थांका (प्राचीन नाम थाङ्कु) भनिन्छ । पौवामा विशेषत: बौद्ध आस्था र हिन्दू देवी–देवताका जीवन तथा लीला कोरिन्छ । शास्त्रीय परम्परा तथा मान्यताअनुसार पौवाचित्र कोर्ने कलाकारहरू शुद्ध एवं पवित्र हुनुपर्छ । चित्र बनाउँदा जुन देवदेवीको चित्र कोर्न संकल्पित भएको हो, तिनै देवदेवीको उपवास बसी चोखो बस्नुपर्ने मान्यता रहेको कलाकार सपना पौडेल महर्जन बताउँछिन् । दसैंमा पूजा गरिने दुर्गा उग्रचण्डी, अष्टमातृका देवी, चण्डी माता, कौमारी, भगवती माता देवीका चित्र समुद्रमान सिंहले ग्राहकको अनुरोधमा भन्दा पनि आफ्नै इच्छाले कोरेका थिए । समुद्रमानहले शक्तिकी प्रतिमूर्ति नवदेवी महाकाली, चामुण्डा, भद्रकाली, ब्रह्मायणी, बंगलामुखी, महालक्ष्मी आदि देवीका आकृति उतार्छन् । 

शास्त्रीय पद्धतिअनुरूप पौवा चित्र कोर्ने कलाकार बखतमान, दीर्घमान, पूर्णमान आदि हुन् । पौभाका पुराना नियमहरू पालना गर्दै यसमा नयाँ केही गर्न सकिने भन्दै कलाकार समुद्रमान सिंह श्रेष्ठ तथा उदयचरण श्रेष्ठ आदि कलाकारहरू लागि परे । कलाकार उदयचरणका अनुसार पौभामा कोरिने बुट्टा निश्चित छन्, त्यसमा कलाकारले यताउति गर्न मिल्दैन । श्रेष्ठका अनुसार आइकोनोग्राफी अर्थात् प्रतिमा लक्षण विधानअनुसार देवीको चित्र बनाउनुपर्दा कुन देवीको बनाउने हो त्यसको पूर्ण अध्ययन गरी कुन वर्ण, कुन आसन, बाहन, कस्तो आँखा, कस्तो ओठ, नाक आदि शिरदेखि पाउसम्मको वर्णनअनुसार बनाउनुपर्छ भने त्यसमा हरेक कलरको अर्थ खुल्नुपर्छ । कलाकारले त्यसलाई रियालिस्टिक बनाउन सक्नुपर्छ । देवीहरूको चित्रमा उदयले नै पहिलो पटक नेवार समुदायमा लगाइने गहनाहरू प्रयोग गरेका थिए । अहिले उनीबाट प्रभावित भएर धेरैले यस्ता गहना प्रस्तुत गर्न थालेका छन् । नियममा बाँधिएरै पनि इनोभेटिभ काम गर्न सकिने चित्रकार समुद्रमान सिंह श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार ‘देवताको वस्त्र, बज्र, स्थान भिन्नै बनाउन मिल्दैन तर चित्रमा देखिने कलश, ब्याकग्राउन्ड कलाकारले सिर्जनशील तरिकाले बनाउन मिल्छ । यसबाटै कलाकारहरूको आफ्नोपन आउने हो । 

अहिले जति पनि कलाकार परम्परागत चित्रकारितामा नाम कमाई अघि बढिरहेका छन्, ती सबैमा ती देवीप्रतिको लगावकै कारण उनीहरूका चित्र जीवन्त भएका हुन् । दस महाविद्या, अष्टमातृकाको चित्र बनाउँदा देवीको चित्र पछाडि अग्निप्रवाह र आगो हुनुपर्ने तथा आगोलाई तेजिलो देखाउन सक्नुपर्छ । त्यति मात्र होइन अष्टमातृकामा हरेक देवीको फरक–फरक स्वरूप आइकोनोग्राफीमा वर्णन गरिएअनुसारकै हुनुपर्ने कलाकार प्रेममान चित्रकार बताउँछन् । 

पौवा चित्र बनाउन समय धेरै लाग्ने हुँदा हरेक कलाकारका चित्र तयार हुनासाथ बिक्री भैहाल्छन् । कतिवटा देवीका चित्र बनाउनुभयो ? भन्ने प्रश्नमा प्रेममान चित्रकार, समुद्रमान सिंह श्रेष्ठ, उदयचरण श्रेष्ठ आदि कलाकार यकिन संख्या बताउन सक्दैनन् । केही समयअघिदेखि मोबाइलमा तस्बिर खिचेर राख्ने सुविधा उपलब्ध हुन थालेपछि भने कलाकारहरूले आफ्ना चित्रको मोबाइल संकलन गर्न थालेका छन् । अहिले नयाँ पुस्ताका कलाकारहरू पनि पौवा चित्रकारिताप्रति आकर्षित हुन थालेका छन् तर धैर्यको कमी महसुस भएको कलाकार उदयचरण श्रेष्ठ बताउँछन् । अध्ययन र ज्ञानविना यो क्षेत्रमा लाग्नु बेकार हो श्रेष्ठ भन्छन्–अहिलेको पुस्तामा सिक्ने चाहना भए पनि छिटो रिजल्ट खोज्नु नकारात्मक पाटो हो । पौवा तथा परम्परागत चित्रकारितामा अहिले प्रेममान चित्रकार, दीपककुमार जोशी, लोक चित्रकार, समुद्रमान सिंह श्रेष्ठ, उदय चरण श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, मानिकमान चित्रकार, धनबहादुर चित्रकार आदि सक्रिय छन् । उनीहरूले परम्परागत कलाकारितामार्फत देवीदेवताहरूका चित्र कोरेर नेपाली 

धर्म, संस्कृति एवं परम्परालाई अघि बढाइरहेका छन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>