आमाको दूध खाए शिशु स्वस्थ रहन्छन्  

प्रतीक्षा भट्टराई

भाद्र २८, २०७६

प्रकृतिले हरेक जीवको दूध आफ्ना सन्तानका लागि सर्वोत्कृष्ट हुने किसिमले बनाएको हुन्छ । आमाको दूध शिशुका लागि अमृतसमान हुन्छ भन्ने कुराको वैज्ञानिक पुष्टि भए पनि सबै शिशुले यो अपरिहार्य पोषण नपाउनु दु:खको कुरा हो । नेपालमा १ सय शिशुको जन्म हुँदा लगभग ५५ जना नवजात शिशुले मात्र जन्मिएको पहिलो घन्टाभित्र दूध खान पाएको पाइन्छ भने १ सयमा ६१ बालबालिकाले मात्र ५ महिनासम्म केबल आमाको दूधमात्र खाएको तथ्य पाइन्छ । 

आफ्ना नानीलाई दूध ख्वाउने चाहना हरेक आमामा हुन्छ । सबै कुरामा पहुँच हुँदाहुँदै धाई राखेर शिशुलाई दूध ख्वाउने सम्भ्रान्त परिवारका केही महिलाको कुरा अपवाद हो । यति हुँदाहुँदै पनि सयमा ४५ आमाले शिशुलाई अमृतसमान सिद्ध भएको आमाको दूध ख्वाउँदैनन् । 

केही वर्षयता महिलाहरू घरभित्रको कामकाजमा मात्र सीमित नभई रोजगारीका लागि बाहिर निस्कन थालेका छन् । यसरी घरबाहिर काममा जाँदा सानो शिशु लिएर यात्रा गर्न सम्भव हुँदैन । कार्यस्थलमा शिशु स्याहार केन्द्रको व्यवस्था हुँदैन । त्यसैले आमाले शिशुलाई  घरमै परिवारका साथ छोड्नुपर्ने अवस्था हुन्छ । अर्को कुरा सार्वजनिक स्थानहरूमा शिशुलाई दूध चुसाउन महिलालाई अप्ठेरो लाग्छ ।  उनीहरूको कार्यस्थलमा गोप्य ठाउँमा बसी स्तनपान गराउन सक्ने व्यवस्था हुँदैन । त्यसैले धेरैजसो महिलाले शिशुलाई स्तनपान गराउने अवसर गुमाइरहेका हुन्छन् । 

‘दूधै आएन, त्यसैले ख्वाउन सकिन’ भन्ने भनाइ पनि धेरै आमाको हुन्छ । सन्तान जन्मिएको २–३ दिनसम्म कतिपय आमामा दूधको प्रवाह राम्रो नहुने समस्या हुन्छ । यस्तो समस्या आमाको शरीरमा विभिन्न हार्मोनको मात्रामा तलमाथि भएका कारणले हुन्छ । आमाको दूध प्रशस्त मात्रामा उत्पादन गर्न केही कुरामा ध्यान पुर्‍याउनुपर्छ । आमाले प्रशस्त झोलिलो कुरा तथा पौष्टिक आहार खानुपर्छ । कुनै कुराको चिन्ता वा सोचमा डुब्नुहुँदैन । शिशुलाई उपयुक्त आसनमा राखेर दूध चुसाउनुपर्छ ।

शिशु सानो भए आमाका दुई स्तनका बीच शिशुको छाती टाँसी बाहिरबाट न्यानो कपडाले बेरेर स्याहार गरी राति पनि दूध चुसाउनुपर्छ । शिशुलाई आमाले काखमा राखी उसको आँखामा हेरेर दूध ख्वाउँदा आमाको मस्तिष्कमा जुन हार्मोन पैदा हुन्छ त्यसले दूध प्रवाह हुन सहयोग पुग्छ ।  

आमालाई कुनै किसिमको तनाव, डर, त्रास मनमा हुँदा, आमा धेरै मोटी छिन् भने वा मधुमेह, थाइराइडजस्ता समस्या छन् भने आमाको दूधको साटो शिशुलाई पाउडर दूध ख्वाउँदा, आमाले रक्सी, चुरोट लागूपदार्थ सेवन गर्दा पनि दूधको प्रवाह कम हुन्छ । 

सुत्केरी भएको सुरुका दिनमा आउने बिगौती दूध पहेंलो, बाक्लो भएकाले ख्वाउनु हुँदैन भन्ने पुरानो सोचाइ छ । यद्यपि बिगौती दूधले नवजात शिशुलाई रोग प्रतिरोधात्मक तत्व प्रदान गर्ने भएकाले  सुरुका दिनमा दूध धेरै नआए पनि दूध चुसाइरहनुपर्छ । शिशुले जति धेरै मात्रामा दूध चुस्छ, सोही मात्रामा दूधको मात्रा बढ्दै जाने विशेषज्ञहरू बताउँछन् । बिगौती दूध अत्यन्त पोषिलो मात्र होइन यसमा रोगसँग लड्ने तत्व प्रशस्त मात्रामा हुन्छ । यसले शिशुलाई रोगसँग लड्ने क्षमता प्रदान गर्छ । त्यसैले शिशुलाई आमाको पहेंलो बिगौती दूध ख्वाउनु आवश्यक छ ।

यसबाहेक पनि आमाको दूधमा शिशुलाई चाहिने सबै किसिमको पोषण तत्व पाइन्छ । बट्टाको दूधको विज्ञापनमा विश्वास गरी त्यसतर्फ लाग्दा शिशुको शरीरको मोटोपन बढ्छ तर आमाको दूधमा जस्तो पौष्टिक तत्व त्यसमा हुँदैन ।  

आमाको दूध बढाउन निम्न कुरामा ध्यान पुर्‍याउन जरुरी हुन्छ । जौ, हरियो सागसब्जी, लसुन, मेथी, दालचिनी, बदाम, जिराको दाना, टुसा उमारेका गेडागुडीको झोल, ओट्स आदिको सेवनले आमाको दूध बढाउँछ । 

शिशुलाई स्तनपान गराउँदा प्रशस्त फाइदा हुन्छ । आमाको दूध ख्वाउँदा शिशुलाई झाडापखाला, निमोनियाँ, कुपोषण आदि हुने खतरा निकै कम हुन्छ ।

शिशुलाई स्तनपान गराउने महिलालाई अन्य महिलाको तुलनामा स्तन क्यान्सर हुने सम्भावना दोब्बर कम हुन्छ ।  

आमाको दूध शिशुले सजिलै पचाउन सक्छ । शिशुको शरीरलाई उपयुक्त हुने पोषण तथा झोल तत्व आमाको दूधमा मात्र हुन्छ । 

स्तनपान नियमित गरेका शिशु अन्य शिशुको तुलनामा तीक्ष्ण बुद्धिका हुन्छन् ।   

शिशुलाई दूध चुसाउँदा आमाको रूप बिग्रने होइन बरू राम्रो हुन्छ । शिशुलाई मधुमेह, उच्च रक्तचाप, मोटोपनजस्ता समस्या हुने खतरा कम हुन्छ । 

यति धेरै फाइदा हुने कुरा थाहा नपाएर पनि महिलाहरू आफ्ना बालबालिकालाई दूध चुसाउँदैनन् ।

स्तनपानको महत्व सबैले थाहा पाउन र आफ्ना शिशुलाई स्तनपान गराई स्वस्थ भएर बाँच्न पाउने उनीहरूको नैसर्गिक अधिकारको रक्षा गरून् भन्ने उद्देश्यले हरेक वर्ष विश्व स्तनपान दिवस मनाइन्छ । शिशुलाई स्तनपान गराउने प्रमुख दायित्व आमाको हो भने त्यसमा सहयोग पुर्‍याउने प्रमुख कर्तव्य बाबुको हो । त्यसैले आमाबाबुलाई नै सशक्त र सक्षम बनाउन सके स्तनपान गर्न पाउने शिशुको अधिकार सुरक्षित हुनसक्छ । 

(लेखिका गोल्डेन कम्युनिटीमा बाल स्वास्थ्यमा अनुसन्धान अफिसर छन् ।)

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×