Successfully Copied

गर्भावस्थामा उच्चरक्तचाप

उच्चरक्तचाप भन्नेबित्तिकै बुढेसकाल वा चालीस वर्षपछिको रोगलाई सम्झिन्छ । गर्भावस्थामा पनि उच्चरक्तचाप हुन्छ र ? धेरैलाई त्यस्तो लाग्न सक्छ । तर, गर्भावस्थामा पनि उच्चरक्तचाप हुनसक्छ र यो गर्भवतीको मृत्युको कारण पनि बन्नसक्छ ।

उच्चरक्तचाप भन्नेबित्तिकै बुढेसकाल वा चालीस वर्षपछिको रोगलाई सम्झिन्छ । गर्भावस्थामा पनि उच्चरक्तचाप हुन्छ र ? धेरैलाई त्यस्तो लाग्न सक्छ । तर, गर्भावस्थामा पनि उच्चरक्तचाप हुनसक्छ र यो गर्भवतीको मृत्युको कारण पनि बन्नसक्छ । अचम्म के छ भने यसरी बढेको रक्तचाप गर्भको बच्चा जन्मेको केही घण्टादेखि १२ सातासम्ममा सामान्य हुन्छ । गर्भको अवधि २० साता अर्थात् करिब ५ महिना भएपछि रक्तचाप बढ्नु अनि प्रसव भएको १२ सातामा फेरि सामान्य हुने अवस्थालाई गर्भावस्थाको रक्तचाप वा ‘जेस्टेसलन हाइपर टेन्सन’ भनिन्छ । यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने खतरा हुन्छ । यस किसिमको उच्चरक्तचाप गर्भको कारणले वा सालनाल (प्लासेन्टा)का कारणले भएको हो । 

सुनसरीकी २२ वर्षीया पार्वती साहको गर्भको अवधि ३९ सातासम्म सबै सामान्य थियो र गाउँकै स्वास्थ्य चौकीमा नियमित गर्भ परीक्षण (एएनसी) गराइएको थियो । उनलाई एक्कासि टाउको दुख्न थालेपछि घरमै स्वास्थ्यकर्मी बोलाएर परीक्षण गर्न लगाइयो । स्वास्थ्यकर्मीले परीक्षण गरेपछि उनको रक्तचाप २१०/११० थियो । उनको रक्तचाप देखेर स्वास्थ्यकर्मी आत्तिए । उनलाई तुरुन्त प्रसव गराउन आईसीयुको सुविधा भएको अस्पतालमा लैजान सल्लाह दिए । उनका श्रीमान् सुरेन्द्रले तत्कालै मोरङ सहकारी अस्पताल विराटनगर पुर्‍याए । अस्पतालमा पनि उनको रक्तचाप २१०/११० थियो, उनी एकपटक बेहोस भइसकेकीले यो एउटा जटिल अवस्था हो भनेर आफन्तलाई सम्झाइयो । उनलाई तत्कालै ‘म्याग्नेसियम सल्फेट’ नामक सुई प्रयोग गरियो । अन्य रगत परीक्षण र रगतको व्यवस्था गरेर सोही दिन शल्यक्रिया (सिजरियन) गरेर प्रसव गराइयो ।

गर्भावस्थामा रक्तचाप बढेर बेहोस हुने यस्तो अवस्थालाई ‘इक्ल्याम्पसिया’ भनिन्छ । यो अवस्थामा आमा र बच्चा दुवै जोखिममा हुन्छन् । ‘इक्ल्याम्पसिया’ भएको अवस्थामा मातृमृत्यु हुने सम्भावना १० प्रतिशत हुन्छ । अझ गर्भको अवधि ३४ साताभन्दा कम भए यो सम्भावना अझ बढी हुनसक्छ । यो अवस्थामा एकातिर रक्तचाप घटाएर आमालाई जोगाउनुपर्ने हुन्छ भने अर्कातिर सम्भव भएसम्म बच्चालाई पनि जोगाउनुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य संघको सन् २०१६ नोभेम्बरको प्रतिवेदनअनुसार अझै पनि विश्वमा करिब आठ सय ३० महिलाले गर्भ तथा प्रसवकै कारण मृत्युवरण गर्छन् । तीमध्ये ९९ प्रतिशत त विकासोन्मुख देशहरूबाट हुने गरेको छ । मातृमृत्यु हुनुका पछाडि धेरै कारण हुन सक्छन् । कम उमेरमा विवाह गर्नु र बच्चा पाउनु, तुरुन्त–तुरुन्त गर्भवती हुनु, खानपिनमा ध्यान नदिनु, गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्नु आदि यसका केही कारण हुन् । 

मातृमृत्युका प्रमुख कारणहरूमा रक्तस्रावका कारणले हुने मृत्युमा कमी आए पनि उच्चरक्तचाप तथा ‘इक्ल्याम्पसिया’ का कारणले हुने मृत्युको प्रतिशत बढ्दै गएको देखिएको छ । ‘म्याट्रेनल मोर्टालिटी एण्ड मोर्बिडिटी स्टडी २००८/०९’ का अनुसार सन् २००८ मा नेपालमा २१ प्रतिशत मातृमृत्युका कारण उच्चरक्तचाप र यसले ल्याएका समस्याहरू (इक्ल्याम्पसिया) रहेको देखाएको छ, जुन सन् १९९८ मा ११ प्रतिशत मात्र थियो । उच्चरक्तचाप गर्भ रहनुअघि पनि भएको हुनसक्छ वा उच्चरक्तचाप पहिलोपटक गर्भावस्थमा देखिन सक्छ । २० साताकी गर्भवती महिला वा शिशु पाएको २४ घण्टाभित्र लगातार रक्तचाप १४०/९० हुनु वा कम्तीमा चार घण्टाको फरक पारेर दुई पटक रक्तचाप नाप्दा १४०/९० हुनु (पहिले रक्तचाप सामान्य रहेको अवस्थामा) लाई गर्भावस्थाको रक्तचाप वा जेस्टेसलन हाइपर टेन्सन भनिन्छ । यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने खतरा हुन्छ । उच्च रक्तचापसँगै पिसाबमा प्रोटिन देखिनुले ठूलो समस्या ल्याउन सक्छ । यसबाट आमा बेहोस हुने, रक्तचाप बढ्ने, अचेत हुने, संक्रमित हुने तथा आमाको मुत्युसमेत हुनसक्छ । गर्भावस्थामा यस्तो समस्या आउनाले शिशु कम तौलको हुने, महिना नपुग्दै जन्मने तथा गर्भमै बच्चाको मृत्यु पनि हुनसक्छ । गर्भवती भएकी महिलामा देखापर्ने यस किसिमको समस्यालाई ‘इक्नाम्पसिया’ भनिन्छ र यो पहिलो पटकको गर्भमा बढी देखापर्ने र खतरनाक साबित हुने गरेको पाइन्छ । शरीरका सम्पूर्ण रक्तनली, विशेषगरी पाठेघर, मृगौला र मस्तिष्कमा रक्तनलीहरू आवश्यकभन्दा बढी संकुचित भएका कारण उच्चरक्तचाप, ‘प्रि–इक्ल्याम्पसिया’ तथा ‘इक्लाम्पसिया’ हुन्छन् । यी समस्या देखा परेको अवस्थामा नियमित रूपमा चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्छ । यस्तो समस्याका लागि सुविधा सम्पन्न अस्पतालमा भर्ना भएर उपचार गराउँदा पनि मृत्यु हुनसक्छ । यी समस्याहरूको मुख्य कारण गर्भमा रहेको बच्चा तथा सालनाल हुने भएकाले अति संवेदनशील अवस्थामा तथा आमाको ज्यान जोगाउन गर्भको अवधि नपुग्दै बच्चाको जन्म गराउनुपर्ने हुनसक्छ । 

हरेक गर्भ आफैमा जोखिपूर्ण रहेकाले अनावश्यक रूपमा गर्भवती हुनु हुँदैन । परिपक्व वा २० वर्ष पार गरेपछि मात्र विवाह गर्ने, परिवार नियोजनका साधन प्रयोग गर्ने, नियमित गर्भ परीक्षण गर्ने र स्वास्थ्य संस्थामा मात्र प्रसव गराउने कुराको विकास हुँदै गएपछि मातृमृत्यु दरमा कमी आएको भन्दा फरक नपर्ला । त्यस्तै, गर्भावस्थामा नियमित परीक्षण गर्नु र रक्तचापको परीक्षण तथा रक्तचाप उच्च देखिएको अवस्थामा थप सतर्कता अपनाई जटिलताको परीक्षण गर्नुपर्छ । यस्तो अवस्थामा नियमित औषधि सेवन गर्ने तथा बच्चाको तौल राम्रो हुनेबित्तिकै वा गर्भको अवधि ३७ साता पार गर्नेबित्तिकै थप जटिलताहरू देखापर्नुअघि नै बच्चा जन्माउने तयारी गर्नु बुद्धिमानी हुन्छ ।

- डा.बालकृष्ण साह

मोरङ सहकारी अस्पताल विराटनगर

 

 

 Image