Successfully Copied

खरिददारीको बदलिँदो ट्रेन्ड

हिजोआज प्राय: किनमेल डेबिड वा क्रेडिट कार्डबाटै हुन्छ । ठूला मल, सपिङ स्टोर, ग्रोसरी तथा मार्टहरूमा सामग्री किनमेलका लागि नगद बोकेर हिँड्नु पर्दैन । यस्ता ठाउँमा भएका आउटलेट तथा पसलहरूले पनि एससिटी, युनियन पे, भिसा, मास्टर आदि डेबिड तथा क्रेडिट कार्डद्वारा बिल तिर्न सकिने सुविधा

सफा र टिलिक्क ऐनाझैं टल्किने भुइँ भएका ल्याभिस मलभित्र ब्रान्डेड सपिङ ब्याग बोक्दै एलिभेटर र क्याप्सुल लिफ्ट चढ्दा कसको मन फुरुङ्ग नहोला ? त्यसैले त अहिले खाद्यान्न होस् वा लत्ताकपडा अथवा फलफूल–तरकारी नै किन नहोस् खरिददारीको तौरतरिका बदलिएको छ । उहिले साँघुरा गल्लीका स–साना पसलबाट दाल–चामल ओसार्नेहरू आज ठूला सपिङ स्टोर र ग्रोसरी मार्टमा छानीछानी सामान किनिरहेका हुन्छन् । खरिद गर्नुअघि सामानको मूल्य, गुणस्तर र त्यसभित्रका हरेक इन्ग्रिडियन्ट्सहरू नजिकबाट अध्ययन गर्ने मौका पाउने र आफ्नो क्षमताअनुसारका सामान छनोट गर्न सहज हुने भएकाले अहिले मानिसहरू जुनसुकै सपिङका लागि ठूला स्टोर र मार्ट धाउने प्रचलन बढिरहेको भाटभटेनी सुपरमार्केटका सेल्सम्यान रोहित बताउँछन् । यस्तो ट्रेन्डले उपभोक्तालाई सहज मात्र बनाएको छैन ‘सपिङ फर फन’ को अवधारणामा समेत हिँडाइरहेको छ । भाटभटेनी जाने भन्नेबित्तिकै आफ्ना दुवै छोराछोरी अत्यन्त एक्साइटेड हुने पाइलट भावना बताउँछिन् । ‘बच्चाहरूको ह्याङआउट प्लेस, हाम्रो आवश्यकता परिपूर्ति गर्ने थलो बनेका छन् यस्ता सुपर स्टोरहरू’ भावनाले भनिन्–‘उहिले किनमेलका लागि निस्कनै दिक्क लाग्थ्यो, एक त पार्किङको समस्या अर्को कुरा गल्लीको ठेलमठेलमा गह्रौं सामान बोकेर हिँड्नुपर्ने बाध्यता । यद्यपि अहिले सपिङका लागि निस्किने भन्यो कि मनमा खुसी छाउँछ, एकछिन भए पनि आफ्ना लागि समय निकालेको अनुभूति हुन्छ ।’

कसरी किन्ने ?

हिजोआज प्राय: किनमेल डेबिड वा क्रेडिट कार्डबाटै हुन्छ । ठूला मल, सपिङ स्टोर, ग्रोसरी तथा मार्टहरूमा सामग्री किनमेलका लागि नगद बोकेर हिँड्नु पर्दैन । यस्ता ठाउँमा भएका आउटलेट तथा पसलहरूले पनि एससिटी, युनियन पे, भिसा, मास्टर आदि डेबिड तथा क्रेडिट कार्डद्वारा बिल तिर्न सकिने सुविधा उपलब्ध गराएका छन् भने सामान खरिदको बिल सरकारलाई तिर्ने करसहित आफ्नो हातमा आइपुग्छ । यसरी सामान खरिद गर्दा न हिसाब–किताबमा गडबडी भयो कि भन्ने चिन्ता न त कर छली र ठगिएँ कि भन्ने चिन्ता ? तसर्थ अहिले खरिददारीका लागि यिनै स्थान प्रिय गन्तव्य बनेका छन् । 

यस्ता ठाउँबाहेक साधारण पसलहरूमा सामान खरिद गर्दा पनि बिल लिने, प्राथमिकताका सामानको तालिका तयार पारी सूचीकृत गर्दा प्राथमिकताका सामानलाई बढी महत्व दिँदा अनि सकेसम्म छुट तथा सेलको उपयोग गर्ने गर्दा क्रेताहरू बढी लाभान्वित हुन्छन् । 

कहाँ किन्ने ? 

अहिले सपिङ कहाँ गर्ने भन्ने चिन्ता छैन । सहरमा छ्याप्छ्याप्ती मल, स्टोर तथा मार्टहरू छन् । त्यति मात्र नभएर सहरका मुख्य–मुख्य ठाउँहरूमा आकर्षक अनि मनै लोभ्याउने आउटलेटहरू खुलिसकेका छन् । कुपण्डोलकी सुम्निमा भन्छिन्–‘दुई वर्षअघिसम्म पनि म आउटफिटका लागि सपिङ स्टोर तथा बुटिक नै पुग्थें तर अहिले हरेक ठाउँमा राम्रा फेसन स्टोर खुलेका छन् जहाँ छनोट र ट्रायल गर्न पनि निकै सहज हुने हुँदा म त त्यतैतिर तानिएकी छु ।’ अहिलेका प्राय: स्मार्ट कस्टमर मल, सपिङ स्टोर र मार्टहरू नै धाउँछन् । बेलाबखत पाइने छुट, सेल, उपहार र विभिन्न योजनाको फाइदा उठाउन पनि क्रेताहरू यसतर्फ बढी आकर्षित भएका हुन् । त्यति मात्र नभएर एउटै छानामुनि शतप्रतिशत सामग्री उपलब्ध हुने हुँदा र ह्याङआउटका लागि पनि उपयुक्त वातावरण मिल्ने हुँदा उपभोक्ताहरू यस्तै ठाउँमा रमाउँछन् । ‘म त एक प्याकेट नुन किन्नुपर्‍यो भने पनि बिग मार्ट नै जान्छु ।’ वित्तीय क्षेत्रकी कर्मचारी निश्मा भन्छिन्–‘कारण त्यहाँभित्रको वातावरण र कस्टमर केयर अनि सामानमा विविधता मलाई राम्रो लाग्छ ।’ निश्मा जस्तै प्राय: प्रोफेसनल हाउस वाइफहरू व्यस्त समयले गर्दा एकैखालको शैलीमा अभ्यस्त भैरहेका बखत निस्किएको छोटो समयमा मनोरञ्जन पनि लिऊँ घरका लागि आवश्यक सामग्री पनि खरिद गरौं भनेर यस्ता मार्ट तथा स्टोर छिर्छन् उपभोक्ताहरू । 

के किन्ने ?

चाडपर्व नजिकिँदै गएपछि खाद्यान्न एवं लुगाफाटाको व्यापार बढी हुने व्यवसायीहरू बताउँछन् । अनलाइन सपिङ तथा विदेशमा सपिङ गर्नेहरू लत्ताकपडा, सौन्दर्य प्रसाधन, जुत्ता एवं ब्याग खरिद गर्ने सोना बताउँछिन् । व्यवसायी सोना सपिङका लागि हङकङ, बैंकक तथा अमेरिकासम्म पुग्छिन् । उनी भन्छिन्–‘नेपालमा अनलाइनमार्फत खाद्यान्न, फलफूल एवं तरकारीको कारोबार कमै मात्रामा हुने गरेको छ । त्यसो त अनलाइनमार्फत छुट, सेल र अफरमा बढी पाइने भनेका पहिरन, सौन्दर्य प्रसाधन तथा ग्याजेट्सहरू नै हुन् । खरिददारीमा स्मार्टनेस अपनाउन सकियो भने विभिन्न साइटमार्फत लाभ लिन सकिन्छ ।’

काठमाडौं मलस्थित रुड सेककी रुक्मिणी भन्छिन्–‘मलहरूमा बढी खरिद–बिक्री हुने भनेको फेसनसँग सम्बन्धित सामग्री नै हुन् । लुगाफाटा, एसेसरिज, जुत्ता–ब्याग, ग्याजेट्स आदि सरसामानको खरिद–बिक्री मलबाट नै बढी हुन्छ ।×’ ग्रोसरी मार्ट तथा स–साना डिपार्टमेन्ट्स स्टोरहरूमा भने खाद्यान्न, फलफूल, तरकारी तथा ट्वाइलेटरीका सामान हुन् । चाडबाडका अवसरमा यस्ता मल तथा मार्टहरूमा छुट, सेलहरू उपलब्ध हुनुका साथै विभिन्न अफरको फाइदा लिन सकिन्छ । यद्यपि यस्ता अवसरमा उपभोक्ताहरू सतर्क रहनुपर्छ । खाद्यान्नबाहेक छुट, सेल तथा अफरमा किनिने अन्य सामान त्यति उपयोगी हुँदैनन् । 

कहाँ के किन्ने ?

अनलाइन : लत्ताकपडा, एसेसरिज, ग्याजेट्स, बालबालिकाका लागि आवश्यक सरसामानहरू ।

मल : लुगाफाटो, जुत्ता–ब्याग, एसेसरिज, बेबी टोयज आदि ।

मार्ट : खाद्यान्न, फलफूल एवं 

ताजा तरकारी ।

स्मार्ट कस्टमर

स्मार्ट कस्टमर ती हुन् जसले खरिददारीमा समय र पैसा दुवै बचत गर्ने माध्यम अपनाउँछन् । यस्ता कस्टमर विशेषत: छुट, सेल र अफरको उपयोग गर्छन् । अर्को कुरा यिनीहरू प्राय: कार्डद्वारा सामान खरिद गर्छन् । यसो गर्दा भ्याटसहितको बिल उपलब्ध हुने, कर छली नहुने, नगद साथमा नराख्दा हराउने वा मासिने सम्भावना कम हुन्छ । स्मार्ट कस्टमरहरू सपिङअघि पूर्वतयारीमा रहन्छन् ताकि उनीहरूको बढी समय यसैमा नष्ट नहोस् । 

सपिङको पूर्वतयारी

    आवश्यक सामग्रीको तालिका बनाउने ।

    ब्रान्ड छनोट गर्ने ।

    कुन सपिङ स्टोर वा मल जाने हो अघि नै निश्चित गर्ने ।

    डेबिड वा क्रेडिट कार्ड कुन प्रयोग गर्ने हो त्यसमा आफूले किन्न चाहेको सामानका लागि पर्याप्त पैसा छ कि छैन चेकजाँच गर्ने ।

अनावश्यक सामग्रीलाई आफ्नोसूचीबाट हटाउने ।

    आफू सपिङ जाने ठाउँमा पार्किङको व्यवस्थाका सम्बन्धमा जानकारी लिने ।

    छुट–सेल, उपहार योजना तथा अफरहरूको सक्दो उपयोग गर्ने ।

    छिट्टै बिग्रने सामान खरिदलाई प्राथमिकता नदिने ।

उपभोक्ता चेतना र अधिकार

ज्योति बानियाँ, अध्यक्ष, उपभोक्ता हित संरक्षण मञ्च नेपाल 

कुनै पनि वस्तु वा सेवा उपभोग गर्ने व्यक्ति, समूह वा निकाय उपभोक्ता हुन् । कुनै एउटा वस्तुको उत्पादक वा सेवाप्रदायक अर्को वस्तु वा सेवाको पनि उपभोक्ता हुनसक्छ । उपभोक्तावादको सिद्धान्त तथा उपभोक्ताका अधिकारहरूको सार्थक कार्यान्वयनबाट मात्र स्वच्छ बजारको स्थापना हुन्छ । मानव अधिकार संरक्षित, विकसित, शान्तिपूर्ण तथा सुशासनयुक्त सभ्य समाज निर्माण हुनसक्छ भन्ने कुरामा विश्वास लिई उपभोक्ताका हकहित संरक्षणका क्षेत्रमा ठोस योगदान गरी वस्तु वा सेवामा असल शासनका माध्यमद्वारा स्वच्छ बजार प्रवद्र्धन एवं उपभोक्ताको हित तथा अधिकार संरक्षण गराउन हाम्रो पहल जारी छ ।

गुणस्तरहीन वस्तु वा सेवा उपभोगमा शून्य सहनशीलता संस्कृतिको निर्माणबाट मात्र उपभोक्ताका हक–अधिकारहरू संरक्षित हुन सक्छन् । सुशासनका लागि उपभोक्ता अधिकार रक्षा गर्दै, वस्तु वा सेवा बजारमा उपभोक्तावादको कार्यान्वयन तथा उपभोक्ता हक तथा अधिकारको अध्ययन, शोध, वकालतको माध्यमबाट वस्तु वा सेवा प्रदायक र राज्य संयन्त्रका सरोकारवाला पक्षहरूबाट प्रभावकारी दायित्व निर्वाह गर्ने वातावरण सिर्जना गरी स्वच्छ वजार स्थापना तथा उपभोक्ता हकहित संरक्षण गर्नु हामी सबैको दायित्व हो जसमा उपभोक्ता स्वयं पनि सजग र सचेत हुनु जरुरी छ । पर्वका बेला छुट, सेल, अफर, उपहारमा मिति नाघेका, कमसल तथा मिसावट भएका सामग्री पनि बिक्रीमा राखिने हुँदा यतिबेला विशेष होसियारी अपनाउनुपर्छ । 

 Image