Successfully Copied

सजिलो र स्टाइलिस्ट पहिरनमा तीज

अहिले समयअनुसार पहिरन लगाउने चलन छ । बजारको ट्रेन्ड के छ, आफ्नो फिगर कम्बिनेसनमा के सुहाउँछ, कुन समय र अवसर हो सबै कुरामा ध्यान दिएर पहिरन छनोट गर्ने जमात पनि बढ्दो छ । महिलाहरू आफूलाई फरक देखाउन डिजाइनर पहिरन लगाउन रुचाउँछन् ।

तीज महिलाका लागि खुसीको पर्व हो । दिदीबहिनी एवं साथीसंगी सबैसँग भेटघाट भै रमाइलो गर्दै दर खाने पर्वमा आफू अरूभन्दा आकर्षक देखिऊँ भन्ने सोच सबैजसो महिलामा हुन्छ । अहिले समयअनुसार पहिरन लगाउने चलन छ । बजारको ट्रेन्ड के छ, आफ्नो फिगर कम्बिनेसनमा के सुहाउँछ, कुन समय र अवसर हो सबै कुरामा ध्यान दिएर पहिरन छनोट गर्ने जमात पनि बढ्दो छ । महिलाहरू आफूलाई फरक देखाउन डिजाइनर पहिरन लगाउन रुचाउँछन् । अहिले हरेक व्यक्ति आफ्नो कामको प्रकृति, जिउडाल एवं समयअनुसार पहिरन लगाउन चाहन्छन् । पहिलेजस्तो मेरो जिउ राम्रो छैन, यस्तो सुहाउँदैन भनेर बस्नुभन्दा डिजाइनरकहाँ गएर आफ्नो जिउको बनावटअनुसार डिजाइन गराउनेहरू प्रशस्तै छन् । अहिले मानिसहरू आफ्नो लुक्सलाई इलिगेन्ट नै देखाउन चाहन्छन् । त्यसैले तीज, दसैं वा विवाहका लागि बुटिकमै गएर पहिरन तयार गराउने महिलाहरू बढ्दैछन् । 

फेसन डिजाइनर आस्तिक शेरचनले यसपटक तीजका लागि कम्बिनेसन लेहेंगाको कन्सेप्ट ल्याएका छन् । यसमा मुनी लेहेंगा स्कर्ट वा सरारामा माथि निसम्मको कुर्ती डिजाइन गरिएको छ । आस्तिकले यसमा डार्क र लाइट थिम तथा एउटै कलरको थिममा काम गरेका छन् । शेरचनका अनुसार तीज, दसैंजस्ता चाडपर्वका लागि पहिले जस्तो भरेका, हेभी पहिरनभन्दा स्टाइलिस्ट र सजिला पहिरन नै रोज्नुपर्छ । तीजमा व्रत बसी नाच्ने–गाउने क्रममा पहिरनले आफूलाई सहज महसुस गराउन सक्नुपर्छ । त्यसैले मैले यसपटक हिप छोप्ने लेन्थका टपसँग लेहेंगा डिजाइन गरेको छु । शेरचन भन्छन्–पेट देखिने गरी लगाइने छोटो ब्लाउज, लेहेंगा तथा सलको फेसन पुरानो भैसकेको छ । आस्तिकको अनुभवमा अहिले युवतीहरूको रोजाइमा लेहेंगा परे पनि अधबैंसे महिलाहरूको पहिलो रोजाइ सारी नै हुने गरेको छ । 

फेसन डिजाइनर विजय गौतमका अनुसार महिलालाई सारी जस्तो सुहाउने अरू कुनै पहिरन छैन । साडी भन्नासाथ हेभी नै लगाउनुपर्छ भन्ने छैन । विजय भन्छन्–लाइक्रा फेब्रिकका सारी लगाउन सहज हुन्छ । थोरै तन्किने खालको कपडा भएकाले यसले मोटा महिलाहरूलाई स्लिम देखाउनुका साथै सारी शरीरमा सपक्क मिल्ने उनको तर्क छ । अहिले प्रिन्टेड जर्जेट र सिफनका सारी पुनः फेसनमा भित्रिएका छन् जसलाई विजय सदाबहार सारी भन्न रुचाउँछन् । फ्रेन्च लेस सारी विथ बोर्डर लगाउन सजिलो हुनुका साथै डिसेन्ट देखिने भएकाले धेरैले खोज्छन् । यस्ता सारी चाडपर्वमा मात्र होइन अरू बेला पनि लगाउन मिल्छ । रसिल्क विथ हेभी प्योर सिल्क बोर्डर सारी कलरफुल हुने भएकाले यसले फेस्टिभ मुड दिने विजय बताउँछन् । 

फेसन डिजाइनर रुना मानन्धरका अनुसार अनारकली कुर्ता हराउँदै गए पनि त्यसको ठाउँ अनारकली ड्रेसेजले लिएको छ । लेनिन, कटन, साटन तथा प्योर सिल्कका अनारकलीले तीज मुड दिन सक्ने उनले बताइन् । यस्ता पहिरन स्टाइलिस्टका साथै लगाउन सहज हुन्छन् । यी पहिरन तीजका बेला टिनएजरहरूका लागि विशेष हुन्छन् । विवाहित महिलाहरू भने सारी, कुर्ता वा लेहेंगामै तीज मनाउन चाहन्छन् । यद्यपि दर खान भने कामकाजी विवाहित महिलाहरू लामो स्ट्रेट कुर्तालाई प्यान्टसँग पेयर गर्छन् । दरका लागि रातो रंगको कुर्तीसँग गोल्डेन, डार्क ब्लु वा ग्रिन पाइन्ट पनि लगाउन सकिन्छ । डिजाइनर सुरिता श्रेष्ठको तीज थिममा रातो रंग नै परेको छ । सुरिता भन्छिन्–तीजमा रातोबिना अरू रंगको कल्पना बेकार हुन्छ । सुरिताले रातोलाई विभिन्न कलरसँग कम्बिनेसन गरी साडी, कुर्ता र वान पिसहरू तयार पारेकी छिन् । 

रातोबाहेक पहेंलो, नीलो, हरियो र गोल्डेन रंग उनको डिजाइनमा परेका छन् । सुरिताले तीजका लागि हल्का वर्क नै गरेकी छिन् । श्रेष्ठका अनुसार तीजमा यस्ता पहिरनमा हेभी गहना लगाउन सकिन्छ । हेभी पहिरनमा हेभी गहनाले सुन्दर देखिने भन्दा कुरूप बन्ने सम्भावना बढी हुन्छ । श्रेष्ठ भन्छिन्–नेकलाइनमा हेभी वर्क भएको पहिरन भए कानमा मात्र हेभी इयर रिङ लगाउँदा राम्रो देखिन्छ । गला केही खुला भएको पहिरनमा घाँटीमा हेभी गहना लगाएर कान खाली पनि राख्न सकिन्छ ।

फेसन डिजाइनर श्यामोन खड्का यसपटक सलबिनाको लामो टप र लेहेंगा नै बढी बनाइरहेकी छिन् । उनको डिजाइनमा रातो र हरियो रंग बढी प्रयोग भएको छ । खड्काले तीजका लागि भनेर यसपटक रातो सिल्क तथा टिस्युमा नेपालीपन झल्कने गरी ढाकाको कपडाको बोर्डर प्याचवर्क गरी लेहेंगा, कुर्ता तथा सारी तयार पारेकी छिन् । यसले आकर्षक देखाउनुका साथै नेपालीपन पनि झल्काउने श्यामोनको तर्क छ । किन सधैं एकै खालको पहिरन लगाउने ? तीज मनाउने परम्परा त कति मोडिफाइ भैसकेको छ भने पहिरनमा किन नयाँपन नल्याउने ? श्यामोन प्रश्न गर्छिन् । खड्काले प्लेन सिल्कमा फ्रिल डिजाइन दिएर स्टाइलिस्ट सारी पनि तयार पारेकी छिन् जुन लगाउन पनि सहज र हेर्दा पनि स्टाइलिस्ट देखिन्छ । 

 Image