एकादशीको उत्पत्ति

त्रिचन्द्र प्रतीक्षा

श्रावण १६, २०७६

हिन्दूहरूले तुलसीलाई विष्णुको रूप मान्नुको एउटा कथा स्वस्थानी व्रत कथामा पढ्न पाइन्छ । कथाअनुसार–सत्य युगमा महादेव र राक्षसराज जालन्धरका बीच युद्ध हुन्छ । जालन्धरकी पत्नी वृन्दा पतिव्रता नारी भएकीले जालन्धरलाई कसैले पराजित गर्न नसक्ने वरदान पाएको कुरा थाहा पाएपछि महादेव भगवान् विष्णुको मद्दत माग्न जान्छन् । 

परापूर्वकालमा ब्रह्माको वंशमा तालजङ्घ नाम गरेको असुर उत्पन्न भएपछि उक्त दानव ‘मुर दानव’ नामले प्रसिद्ध भयो । मुर दानवको अत्याचारले स्वर्ग लोकका देवगणहरू हैरान थिए । त्यही दानवलाई समाप्त गर्न भगवान् विष्णुको शरीरबाट अत्यन्त रूपवती एवं दिव्य अस्क्रशस्त्रले युत्त कन्या प्रकट भइन् । भगवान्को तेजको अंशबाट उत्पन्न भएकी ती पराक्रमी कन्याले मुरलाई खरानीको थुप्रोमा परिणत गरिदिइन् । तिनै कन्या साक्षात् एकादशी थिइन् । 

अत्यन्त उग्र र भयंकर मुर दानवको संहार गरेकी एकादशीसँग प्रसन्न भगवान् विष्णुले इच्छानुसार वर माग्न भनेपछि देवी एकादशीले भनिन्–‘हे प्रभु हजुरको कृपाले सबै तीर्थमा प्रधान, समस्त विघ्न नाश गर्ने, सबै प्रकारका सिद्धि प्रदान गर्ने देवी बनूँ ।’ 

हिन्दू पञ्चाङ्गअनुरूप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्रवटा समान समय भागमा विभाजन गरिएको छ र चन्द्रको प्रत्येक चलायमान समय भागलाई तिथि भनिन्छ । चन्द्रको अवस्थितिअनुसार तय गरिएको तिथिको एघारौं दिनलाई एकादशी भनिन्छ । हाम्रो समाजमा १२ महिनाको एक वर्ष मानिन्छ र प्रत्येक महिना दुईवटा एकादशी पर्छन् । यस हिसाबबाट एक वर्षमा २४ वटा एकादशी हुने भए पनि प्रत्येक साढे २ वर्षपछि एउटा अधिकमास आउँछ र यो साल १३ महिनाको वर्ष हुन्छ । त्यतिबेला दुईवटा एकादशी थप हुने भएकाले मलमास परेको सालमा २६ वटा एकादशी हुन्छन्, प्रत्येक एकादशीको आफ्नो अलग नाम र परिचय छ भने सबैको भिन्दाभिन्दै व्रत–उपवासको फल तोकिएको पाइन्छ । 

आषाढ मासको शुक्ल पक्षको एकादशीलाई शयनी एकादशी भनिन्छ । चलनचल्तीमा त्यसलाई हरिशयनी पनि भनिन्छ । हिन्दू धर्मग्रन्थअनुसार भगवान् हरि अर्थात् विष्णु यो एकादशीबाट चार महिनाका लागि क्षीर सागरमा सुत्न जाने हुँदा यो एकादशीलाई हरिशयनी एकादशी भनिएको हो । हिन्दूहरूले तुलसीलाई विष्णुको प्रतीकका रूपमा लिने कारण यही दिन तुलसीको बिरुवा रोपेर चार महिनासम्म तुलसीको पूजा गरे मनोकामना पूरा हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन् । यो एकादशीमा सुतेका हरि अर्थात् विष्णु कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास छ । तसर्थ २४ वटा एकादशीमध्ये हरिशयनी एकादशी तथा हरिबोधिनी एकादशीलाई ठूली एकादशी भनिन्छ । 

हिन्दूहरूले तुलसीलाई विष्णुको रूप मान्नुको एउटा कथा स्वस्थानी व्रत कथामा पढ्न पाइन्छ । कथाअनुसार–सत्य युगमा महादेव र राक्षसराज जालन्धरका बीच युद्ध हुन्छ । जालन्धरकी पत्नी वृन्दा पतिव्रता नारी भएकीले जालन्धरलाई कसैले पराजित गर्न नसक्ने वरदान पाएको कुरा थाहा पाएपछि महादेव भगवान् विष्णुको मद्दत माग्न जान्छन् । विष्णुले महादेवको अनुरोधअनुसार जालन्धरको रूपधारण गरी वृन्दाकहाँ गएर उनको सतीत्व हरण गर्छन् । पछि विष्णुले छल गरेको कुरा थाहा पाएर वृन्दाले श्राप दिँदै भनिन्–‘तपाईंले ढुंगा हुनु परोस्, रुख हुनु परोस्, झारपात हुनु परोस्, घाँस हुनु परोस् ।’ वृन्दाको श्रापअनुसार विष्णु ढुंगामा शालिग्राम, रुखमा पीपल, झारपातमा तुलसी तथा घाँसमा कुश भए । त्यसैले यी सबै वस्तुलाई हिन्दूहरूले विष्णुकै रूपमा पूजा गर्दै आएका छन् । तुलसीलाई भगवान् विष्णुको अवतारका रूपमा लिएर पूजा गर्ने प्रचलनअनुसार हरिशयनी एकादशीका दिन हिन्दू धर्मावलम्बीहरूले घर–आँगनमा तुलसीको बिरुवा रोप्ने प्रचलन छ । तुलसी धार्मिकसँगै वैज्ञानिक हिसाबले पनि उपयोगी वनस्पति भएको विज्ञहरू बताउँछन् । आयुर्वेदअनुसार तुलसीमा एक सय एक प्रकारका रोग निवारण गर्ने शक्ति हुन्छ । त्यसैले जडीबुटी एवं आयुर्वेदिक औषधिमा तुलसीको प्रयोग प्रशस्तै गरिन्छ ।

एउटा प्राचीन किम्वदन्तीअनुसार सत्य युगको एउटा सम्पन्न राज्यमा मान्धाता नामक चक्रवर्ती सम्राट्ले शासन गर्थे । लगातार तीन वर्षको खडेरीले गर्दा उक्त राज्यमा समस्या उत्पन्न भएको थियो, नदी–नाला सुक्न थालेका थिए र रुख–विरुवाहरूले हरियाली गुमाइसकेका थिए । राजाको अपराधका कारणले गर्दा राज्य तथा नागरिकले समस्या भोग्छन् भन्ने मान्यता रहेकाले राजा मान्धाताले आफ्नो कुनै गल्तीका कारणले वर्षाका देवता भगवान् विष्णु आफूसँग रिसाएको माने पनि जति गर्दा पनि उनी आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् । राजा उक्त कष्टबाट मुक्ति पाउने कुनै साधना गर्ने उद्देश्यले जंगलतर्फ लागे । अचानक एकदिन राजाको भेट अंगिरा ऋषिसँग भयो र समस्याको समाधान चाहेको कुरा बताएपछि अंगिरा ऋषिले भने–‘आषाढ महिनाको शुक्ल पक्षको हरिशयनी एकादशीको व्रत बसेर पूजा गर्नू अवश्य वर्षा हुनेछ ।’ राजा फर्केर चारै वर्णसहित हरिशयनी एकादशीको विधिपूर्वक व्रत बसेर पूजा गरेपछि राज्यमा मुसलधारे वर्षा भएको किम्वदन्ती छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>