Successfully Copied

घरेलु हिंसाविरुद्ध सासू–बुहारी

घरेलु हिंसा कम गर्न सासू–बुहारीको एकताले महत्वपूर्ण भूमिका खेल्ने निष्कर्ष साथ घोराही उपमहानगरपालिकाका विभिन्न वडामा ‘हिंसाविरुद्ध सासू–बुहारी’ अभियान थालिएको छ । गाउँ–टोलका सासू–बुहारी एक ठाउँमा जम्मा हुन्छन् र आफ्ना समस्याका बारेमा छलफल गर्छन् । घरेलु हिंसाका कारण र प्रभाव केलाउँछन् । गाउँ–टोलका अन्य घरपरिवारलाई पनि यस

घोराही उपमहानगरपालिका–१४ बसपार्क निवासी ५५ वर्षीया मनकुमारी ओली २६ वर्षीया बुहारी निर्मला ओलीसँगै सासू–बुहारीको सम्बन्ध र समस्याका बारेमा छलफल गर्न निस्किइन् । उनीहरूले सासू–बुहारीबीच किन असमझदारी हुन्छ भन्ने विषयमा खुलेर कुराकानी गरे । सम्बन्ध राम्रो बनाउन के गर्न सकिन्छ भन्ने उपायको पनि खोजी गरे । सासू–बुहारी सँगै घरबाहिर निस्केर आफ्नै सम्बन्धका बारेमा कुरा गरेको उनीहरूको यो पहिलो अनुभव थियो ।

घरेलु हिंसा कम गर्न सासू–बुहारीको एकताले महत्वपूर्ण भूमिका खेल्ने निष्कर्ष साथ घोराही उपमहानगरपालिकाका विभिन्न वडामा ‘हिंसाविरुद्ध सासू–बुहारी’ अभियान थालिएको छ । गाउँ–टोलका सासू–बुहारी एक ठाउँमा जम्मा हुन्छन् र आफ्ना समस्याका बारेमा छलफल गर्छन् । घरेलु हिंसाका कारण र प्रभाव केलाउँछन् । गाउँ–टोलका अन्य घरपरिवारलाई पनि यस विषयमा सचेत तुल्याउँछन् । सासू–बुहारीको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा आ–आफ्ना अनुभव सुनाउँछन् । कहिलेकाहीँ हुने ठाकठुक र त्यसको कारणका बारेमा एकै ठाउँमा खुलेर छलफल गर्छन् । सानातिना असमझदारी र सासू–बुहारीलाई हेर्ने नकारात्मक दृष्टिकोणले मात्र त्यस्तो हुने गरेको कुरा थाहा पाउँछन् । यसले सबैलाई आ–आफ्ना कमजोरी महसुस गर्न सहज बनाएको छ ।

‘सासू–बुहारी मिल्न सके घर धेरै राम्रो हुन्छ । घरेलु हिंसाको एउटा कारण सासू–बुहारीको असमझदारी हो,’ सासू मनकुमारीले भनिन्–‘एक महिलाले अर्को महिलाको समस्या नबुझ्दा समस्या सिर्जना हुन्छ । सासू–बुहारीबीच सानातिना कुरामा पनि मनमुटाव हुन्छ । यसकै कारण घरमा झैझगडा बढिरहेको हुन्छ ।’ बुहारी निर्मला पनि सासूलाई आमा र बुहारीलाई छोरी जस्तो व्यवहार गर्न सके पारिवारिक सम्बन्ध सुन्दर हुने कुरा बताउँछिन् । ‘बुहारीलाई छोरीका रूपमा व्यवहार गर्नुपर्‍यो । आफ्नी छोरीको हरेक दुःख–सुखको ख्याल गर्ने आमाले बुहारीको पनि त्यत्तिकै ख्याल गर्नुपर्‍यो,’ उनले भनिन्–‘बुहारीले पनि सासूप्रति आमाजस्तै व्यवहार गर्नुपर्‍यो । विवाह गर्दा आफ्नो घर र बाआमा छोडिएको हुन्छ । नयाँ घरमा बा–आमा पाएको महसुस गर्नुपर्‍यो ।’

घरमा कसरी सानातिना कुरामा पनि सासू–बुहारीबीच सम्बन्ध बिग्रन्छ ? किन सासू–बुहारी आमाछोरीजस्तै हुन सकेनौं ? सासू–बुहारी मिल्दा घर कस्तो हुन्छ ? जस्ता विषयमा छलफल गर्दा विवादको बीउ पत्ता लाग्ने घोराही–३ की ६५ वर्षीया पवित्रा गिरी बताउँछिन् । ‘कहिलेकाहीँ घरमा समस्या हुन्छ । बुहारीसँग मनमुटाव हुन्छ । यसको कारण के हो भनेर छलफल गर्दार् कुनै ठूलो कारण देखापर्दैन,’ गिरीले भनिन्–‘हामी साना कुरामा अल्झिरहेका हुँदारहेछौं । आपसी छलफलले आफ्ना कमी–कमजोरी थाहा पाउन सजिलो भएको छ ।’ 

पवित्राकी बुहारी २६ वर्षीया सरिता गिरी पनि खुलेर छलफल गर्ने बानीले आपसी असमझदारी छिट्टै मेटिन सक्ने कुरा बताउँछिन् । ‘कतिपय अवस्थामा पुस्तान्तरको बुझाइले पनि समस्या सिर्जना भैरहेको हुन्छ । सासू र हामीबीच उमेरको अन्तर हुन्छ । यसले गर्दा उहाँहरूको सोच र हाम्रो सोच मिल्दैन,’ गिरीले भनिन्–‘त्यो कुनै नियतवश नभई उमेर र समयको प्रभाव हो भन्ने कुरा बुझ्नसके घर–व्यवहार चलाउन सजिलो हुन्छ । अर्काको कुरा सुन्ने र नबुझेको कुरा स्पष्ट पार्ने, सम्झाउने, विश्वस्त पार्ने कामले सम्बन्ध राम्रो बनाउँछ ।’ 

अधिकांश घरेलु हिंसाका घटना सासू–बुहारीबीच नै हुने गरेको घोराही–१८ मसिनाकी ४२ वर्षीया जयन्ती कुँवरले बताइन् । ‘श्रीमान्–श्रीमतीबीच झगडा भए पनि त्यसको मूल समस्या सासू–बुहारीमा गएर जोडिएको हुन्छ । कामको सिलसिलामा प्रायः पुरुषहरू घरबाहिर हुने भएकाले उनीहरूसँग धेरै समस्या हुँदैन,’ कुँवर भन्छिन्–‘लामो समय घरमा सँगै हुने सासू–बुहारी नै हुन् । काम गर्ने क्रममा कुनै कुरामा चित्त बुझ्दैन, यो सामान्य कुरा हो, यस्तो जसको पनि हुन्छ भन्ने हो भने स्थिति सहज हुन्छ ।’ 

सासू–बुहारीका हिसाबले शासन गर्ने र शासित हुने सोच राख्दा सम्बन्ध बिग्रने जयन्तीकी सासू ७६ वर्षीया जीवा कुँवरको अनुभव छ । ‘सासू भनेको शासक हो, बुहारी शासित हो भन्ने सोच धेरैमा पाइन्छ । बुहारीलाई कजाएरै राख्ने, काममा जोताउने, सासूको स्याहार मात्रै गर्नुपर्छ भन्ने जस्ता व्यवहारले सम्बन्ध राम्रो हुन सक्दैन,’ उनले भनिन्–‘आफू बुहारी हुँदाको समय सम्झिए मात्र पनि सासू–बुहारीको सम्बन्ध राम्रो बनाउन सकिन्छ । यहाँ कोही नोकर र कोही मालिक होइन । सबै परिवारका सदस्य हौं भन्ने हो भने केही समस्या रहँदैन ।’ गाउँ–समाजमा सबै सँगै बसेर छलफल गर्दा धेरैजसोसँग उस्तैखालका समस्या रहेको उनले बताइन् । यस्ता समस्या समाधान गर्न सासू–बुहारीबीच पनि नियमित छलफल, काममा सहकार्य र समझदारी जरुरी रहेको कुँवरको बुझाइ छ ।

सासू–बुहारीबीच सुमधुर सम्बन्ध स्थापित हुन सके घरेलु हिंसामा धेरै कमी आउनसक्ने र घर उज्यालो हुने निष्कर्षमा धेरैजना छन् । नगरका १९ वटै वडाका सासू–बुहारीहरू एकसाथ घरायसी समस्याको समीक्षा गर्न तयार भैरहेका छन् । प्रायःजसो सासू–बुहारीबीच असमझदारी र झैझगडा भै घरायसी हिंसा हुने भएकाले उनीहरूबीच सुमधुर सम्बन्ध कायम गर्न सासू–बुहारी अभियान थालिएको घोराही उपमहानगरपालिका उप–प्रमुख तथा न्यायिक समिति संयोजक सीता सिग्देल न्यौपानेले बताइन् । ‘धेरैजसो घरेलु हिंसाका घटनामा सासू–बुहारी नै जोडिएको पाइयो,’ न्यौपानेले भनिन्–‘घरभित्रै हिंसा बढ्न थालेपछि सासू–बुहारीबीच सुमधुर सम्बन्ध विकसित गर्न यो अभियान थालिएको हो । यसले धेरै राम्रो प्रभाव पारेको छ ।’

 Image