Successfully Copied

विश्व स्वास्थ्य संगठनको उच्च पदमा पुग्ने रहर 

मेरो भविष्य स्वास्थ्य क्षेत्रमै हुनेछ । अर्को वर्ष म एमबीबीएसको चौथो वर्षमा पुग्नेछु । एमबीबीएस तथा एमडीको अध्ययन पूरा गरेपछि स्वास्थ्यकर्मीका रूपमा सक्रिय हुनेछु । भविष्यमा विश्व स्वास्थ्य संगठनको उच्च पदमा पुगेर नेपालको नाम अझ उचाइमा पुर्‍याउने प्रयास गर्नेछु । 

प्रदीप्ता अधिकारीले मिस नेपाल युनिभर्स–२०१९ को उपाधि जितेकी छिन् । नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्समा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत प्रदीप्ताले उपाधिसँगै मिस युनिभर्स–२०१९ मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएकी छिन् । 

मिस नेपालको प्रशिक्षणको महत्व

मिस नेपालको सबैभन्दा आकर्षक पक्ष भनेकै यसको प्रशिक्षण हो । ६ हप्ता लामो प्रशिक्षणले हामीलाई जीवनभर काम लाग्ने कुरा सिकाएको छ । सबैभन्दा महत्वपूर्ण कुरा त उक्त प्रशिक्षणले हामीमा आत्मविश्वास जगाउन ठूलो भूमिका निर्वाह गर्‍यो । 

मिस युनिभर्स–२०१९ को तयारी 

मिस युनिभर्सका लागि मैले विभिन्न प्रकारका रिसर्च थालिसकेकी छु । त्यसका लागि म स्वास्थ्यसँग सम्बन्धित प्रोजेक्टमा काम गरिरहेकी छु । गर्भवती महिला तथा नवजात शिशुको मृत्युदर घटाउने अभियानको थालनी गर्दैछु । सानो जनचेतनाबाटै हामी बाल–मृत्युदर घटाउन सक्छौं भन्ने कुरालाई जिल्ला–जिल्लामा पुगेर जानकारी गराउने तयारी गरिरहेकी छु । उक्त प्रतियोगितामा नेपालको राष्ट्रिय झन्डा फहराउँदै नेपाललाई अहिलेसम्मकै उत्कृष्ट उपलब्धि दिलाउने प्रयास गर्नेछु । 

सफलताको राज

मैले इमान्दारितापूर्वक देखेको सपना, त्यो सपना पूरा गर्ने गहिरो आत्मविश्वास तथा कडा परिश्रमले नै मलाई सफल बनाएको हुनुपर्छ । म जेमा लाग्छु त्यसमा शतप्रतिशत समय दिन्छु । म सक्छु, मैले जित्छु भन्ने आँट र विश्वास नै मेरो सफलताको मन्त्र हो ।

बोल्दै अन्तर्राष्ट्रिय स्टेजको अनुभव

म सानैदेखि वादविवाद प्रतियोगिताकी राम्री प्रतिस्पर्धी थिएँ । विद्यालयमा पढ्दा नै मैले नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड, सिंगापुर, नेदरल्यान्डजस्ता देश पुगेर अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागिता जनाइसकेकी थिएँ । त्यही प्रेरणाले मिस नेपाल मेरा लागि उपयुक्त हुन्छ भन्ने लागेर यसमा सहभागिता जनाएकी हुँ । त्यसैले पनि मिस युनिभर्सका लागि म निकै कन्फिडेन्ट छु । 

भविष्यको योजना

मेरो भविष्य स्वास्थ्य क्षेत्रमै हुनेछ । अर्को वर्ष म एमबीबीएसको चौथो वर्षमा पुग्नेछु । एमबीबीएस तथा एमडीको अध्ययन पूरा गरेपछि स्वास्थ्यकर्मीका रूपमा सक्रिय हुनेछु । भविष्यमा विश्व स्वास्थ्य संगठनको उच्च पदमा पुगेर नेपालको नाम अझ उचाइमा पुर्‍याउने प्रयास गर्नेछु । 

रुचिहरू 

म पूर्वनेसनल डिबेटर पनि हुँ । मलाई बोल्न सारै मनपर्छ । कतिपय ठाउँमा बोलेरै पनि अनेकन कुसंस्कारहरू हटाउन सकिन्छ । मसँग भएको डिबेट गर्ने क्षमतालाई भरसक राम्रो काम र सकारात्मक कुरामा लगाउनेछु । मलाई नृत्य, योग तथा यात्रामा रुचि छ । फुर्सदमा नाच्न, विभिन्न ठाउँ घुम्न रुचाउँछु भने आफ्ना लागि योग गर्छु ।

सबल पक्ष  

अनुशासन तथा स्पष्ट धारणा नै मेरो सबल पक्ष हो ।

 Image