Successfully Copied

बोली र व्यवहारबीचको  ग्याप हटाउनेछु 

म मानिसहरूको बोली–व्यवहारमा ठूलै ग्याप देख्छु । कुराहरू ठूल्ठूला गरिरहेका हुन्छन् तर काम उल्टो । सरकारले गरेन, फलानाले गरेन भन्नुभन्दा पहिले आफूबाटै सुरु गरौं । संसार, देश, समाज, परिवारभन्दा अघि म आफू हुन्छु । त्यसैले सर्वप्रथम आफ्नै व्यवहारलाई परिवर्तन गर्दै लानुपर्छ ।

मिस नेपाल वर्ल्ड–२०१९ अनुष्का श्रेष्ठ फेसन डिजाइनर मुक्ता श्रेष्ठ तथा बैंकर्स अनिल श्रेष्ठकी छोरी हुन् । विगत पाँच वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएकी अनुष्काले गत वर्षको डिसेम्बरमा अस्ट्रेलियामा सम्पन्न मिस नेपाल ओसियानामा विजयी भएपछि मिस नेपालमा स्थान पाएकी हुन् । मिस नेपाल वर्ल्डका साथमा उनले यामाहा मिस फेसिनाको उपाधिसमेत जितेकी थिइन् । २३ वर्षीया अनुष्काले अब डिसेम्बरमा थाइल्यान्डमा आयोजना हुने मिस वर्ल्ड–२०१९ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।     

बाल्यकालमा अनुष्का 

अनुहार र बोली–व्यवहार आमाको जस्तै भए पनि हिँडाइ बुवाको जस्तै थियो । बलिउड नायक सञ्जयदत्तझैं हिँड्ने हुँदा मलार्ई घरमा सञ्जु बाबा भनेर बोलाइन्थ्यो । म सानैदेखि असल विद्यार्थी थिएँ । विद्यालयमा हुने वादविवाद, वक्तृत्वकला, स्पेलिङ कन्टेस आदिमा सधै उत्कृष्ट हुन्थें । नृत्य र गायनमा पनि अब्बलै थिएँ तर खेलकुदमा भने जिरो । साथीहरू विभिन्न खेल खेल्न जाँदा म एक्लै नाच्दै–गाउँदै बस्थें । एकदमै पढ्ने हुँदा साथीहरू मलाई पढाइको किरो भनेर जिस्काइरहन्थे । सानैदेखि म जे पढ्थें, त्यसलाई व्यावहारिक रूपमा आफै विश्लेषण गरेर बस्थें, जुन बानी अहिले पनि छ ।

अस्ट्रेलिया कर्मभूमि

मैले स्नातक तहसम्मको अध्ययन मात्र पूरा गरेकी छु । एमबीए गर्न बाँकी छ । मलाई अस्ट्रेलियाको शिक्षा मन पर्छ । त्यसैले अध्ययन पूरा गर्न मात्र भए पनि अस्ट्रेलिया फर्कन्छु । मेरा लागि अस्ट्रेलिया पहिलो कर्म भूमि रह्यो । त्यहाँ मैले धेरै कुरा सिक्न पाएँ । पढाइ पनि एकदमै राम्रो छ । म पढाइ सकेर नेपालमै फर्कन्छु । सिक्ने समय यही हो, त्यसैले पढाइ चाहिँ अस्ट्रेलियामै पूरा गर्छु । पछि नेपाल आएर विकासमूलक काममा व्यस्त हुनेछु । 

आमाको काममा सपोर्ट

मेरी मामुले नेपाली फेब्रिकमा आधारित भै पहिरन डिजाइन गरेको देख्दा सारै खुसी लाग्छ । म अस्ट्रेलियामा बस्दा पनि उहाँको मुक्कु बुटिकको सोसल मिडिया ह्यान्डल गर्थें । म उहाँको नेपालीपन मिसिएको डिजाइनर वेयरबाट प्रभावित पनि छु ।

पहिरनमा निकै चुँजी

मलाई जस्तो पायो त्यस्तो पहिरनले छुँदैन । म फेसन ट्रेन्डको पछाडि कहिल्यै गइन । लगाउन मिल्ने, साधारण तर स्टाइलिङ गर्न मिल्ने पहिरनहरू मन पर्छन् । 

परिवर्तन आफैबाट गरौं

म मानिसहरूको बोली–व्यवहारमा ठूलै ग्याप देख्छु । कुराहरू ठूल्ठूला गरिरहेका हुन्छन् तर काम उल्टो । सरकारले गरेन, फलानाले गरेन भन्नुभन्दा पहिले आफूबाटै सुरु गरौं । संसार, देश, समाज, परिवारभन्दा अघि म आफू हुन्छु । त्यसैले सर्वप्रथम आफ्नै व्यवहारलाई परिवर्तन गर्दै लानुपर्छ । परिवर्तन र विकास फरक–फरक तरिकाले हुन्छ तर मेरो लक्ष्य भनेको बोली, बानी र व्यवहारको समायोजन हो । घरमै छोराछोरीमा विभेद, काम गर्ने दिदीहरूलाई गरिने विभेद त सरकार आएर निर्मूल गर्ने होइन । यसका लागि हामी आफै सचेत हुनुपर्छ । 

फुर्सदमा 

गीतहरू सुन्छु, मुभी हेर्छु ।

मन परेको गीत

धेरै गीत मन पर्छन् । मलाई मन छुने शब्द भएका गीत बढी मन पर्छन् । अहिले मलाई गायक सजनराज बैद्यको हतारिँदै बतासिँदै गीत सारै मन परेको छ ।

बढी रिस

मलाई बोली र व्यवहारमा तालमेल नहुने व्यक्तिहरूसँग रिस उठ्छ । त्यसबाहेक समयको उचित व्यवस्थापन नगर्नेहरूप्रति पनि रिस उठ्छ । 

प्रभावित मिस नेपाल 

मिस नेपाल–२०१८ शृंखला खतिवडाबाट प्रभावित छु । उनको बोल्ने शैली एवं प्रस्तुति उत्कृष्ट छ ।

मिस नेपालमा सिकेको मुख्य कुरा

कुनै पनि कुरा अरूले गरिदिन्छ भनेर मुख ताक्नुभन्दा आफैले गर्नुपर्छ । आँटे असम्भव के छ र ? साथै सेल्फ म्यानेजमेन्ट गर्नुपर्ने अर्को महत्वपूर्ण कुरा पनि सिकें  भने समयलाई कसरी व्यवस्थापन गर्नुपर्ने रहेछ भन्ने जानें । गर्न खोज्यौं भने छोटो समयमै धेरै काम गर्न सकिने रहेछ भन्ने कुरा मिस नेपालकै प्रशिक्षणका क्रममा सिकें । समयको सदुपयोग गर्न सके हरेक व्यक्ति सफल हुन सक्छ ।

मिस वर्ल्ड–२०१९ को तयारी 

यसपटकको मिस वर्ल्ड–२०१९ डिसेम्बर ७ का दिन थाइल्यान्डमा हुँदैछ । मिस नेपाल वर्ल्डका रूपमा नेपालको प्रतिनिधित्व गर्दै त्यसमा सहभागी हुन आवश्यक तयारी प्रारम्भ गरिसकेकी छु । त्यसका लागि अघिल्लो वर्षकी मिस वर्ल्ड नेपाल शृंखला खतिवडासँग जानकारी लिइरहेकी छु । त्यहाँ मुख्य प्रतिस्पर्धा हुने ब्युटी विद द पर्पस प्रोजेक्टलाई उत्कृष्ट बनाउने विषयमा रिसर्च थालिसकेकी छु । त्यसबाहेक हिडन ट्रेजरले तालिका नै बनाएर हाम्रा लागि ग्रुमिङ क्लास सञ्चालन गरिरहेको छ । पहिरन, नृत्य तथा ट्यालेन्ट शोमा प्रस्तुत गरिने सामग्रीहरूको पनि तयारी गरिरहेकी छु । मेरो क्षमताले भ्याएसम्म नेपाललाई उत्कृष्ट स्थानमा पुर्‍याउने प्रयास गर्छु । 

 Image