Successfully Copied

सेल्फ मेकअपको क्रेज

सेल्फ मेकअपको क्रेज बढ्नुमा फेसबुक, टिकटक तथा इन्स्ट्राग्रामको पनि उत्तिकै हात छ । फोटो र भिडियो पोस्ट गर्दा अरूभन्दा फरक र आकर्षक देखिनु महिलाहरूको आमस्वभाव हो । कतिपयले त युट्युबमा सेल्फ मेकअपको भिडियो हेरेर पनि सिक्छन् ।

कतै पार्टीमा जाँदा टिनएजरदेखि मिडिल एजसम्मका महिलाहरू डिजाइनर पहिरनमा मेकअप गरेर हिँड्छन् । पहिले विवाह भोजतिर जाँदा दुलही र दुलहीको घरका केही महिला मात्र शृंगार गरेर पुगेका हुन्थे तर अहिले मेकअपविना पार्टीमा आउनेहरू कमै देखिन्छन् । महिला भन्नासाथ सौन्दर्यका पर्यायवाची नै हुन्, सबैजसो महिला सुन्दर देखिन आतुर हुन्छन् । त्यसका लागि उनीहरू आफ्नो हैसियतले भ्याएसम्म खर्च गर्न पछि पर्दैनन् । पहिले मेकअप आर्टलाई पनि पार्लर भित्रै जोडिन्थ्यो ।

विदेशमा मेकअप, हेयर तथा स्किन केयरका बेग्लाबेग्लै पार्ट हुन्थे तर नेपाली परिवेशमा एउटै ब्युटिसियनले मेकअप आर्टिस्ट, हेयर स्टाइलिस्ट तथा स्किन केयरको भूमिका निभाउनुपर्थ्यो । केही वर्षअघिदेखि नेपालमा पनि थुप्रै मेकअप आर्टिस्ट तयार भएका छन् जसले पार्लरसम्बन्धी कुनै सेवा प्रदान नगरी सिर्फ मेकअपको पार्ट मात्र हेर्छन् । नेपालमा मेकअप आर्टिस्टका रूपमा काम गर्ने प्रथम महिला स्नेहा राणा हुन् । अहिले उनका पछाडि सयौं मेकअप आर्टिस्ट छन्, जसले मेकअप मात्र गरेर नाम र दाम कमाइरहेका छन् । श्रद्धा मास्के, रज्जु, रश्मि, सीमा गुरुङ, सानु गुरुङ, लेमी तामाङ, अम्मु रुचाल, प्रजिना श्रेष्ठ, रचना शाक्य, सकिल कुँवर, आर्डिन, सोफी आदि नाम चलेका नेपाली मेकअप आर्टिस्ट हुन् । 

३–४ वर्षयता आएर युट्युब आदिले गर्दा सेल्फ मेकअप गर्ने चलन पनि उत्तिकै छ । अहिले मेकअप आर्टिस्टहरूले १ दिनदेखि १५ दिनसम्मको सेल्फ मेकअपको प्रशिक्षण प्रदान गर्छन् । यो सुन्दर देखिन चाहने हरेकका लागि राम्रो अवसर साबित भएको छ । सेल्फ मेकअपको क्रेज बढ्नुमा फेसबुक, टिकटक तथा इन्स्ट्राग्रामको पनि उत्तिकै हात छ । फोटो र भिडियो पोस्ट गर्दा अरूभन्दा फरक र आकर्षक देखिनु महिलाहरूको आमस्वभाव हो । कतिपयले त युट्युबमा सेल्फ मेकअपको भिडियो हेरेर पनि सिक्छन् । भैंसेपाटी बस्ने कक्षा १२ की सर्मिन राईलाई आफ्ना ठूला गाला पटक्कै मन पर्दैनथे ।

त्यसैले उनले युट्युबबाटै सेल्फ मेकअप सिकिन् । अहिले उनी गालालाई मेकअपले कटिङ गरी न्युड मेकअपमा हिँड्छिन् । सर्मिनका अनुसार उनलाई सेल्फ मेकअपले प्रशस्तै सहयोग गरेको छ । पहिलो त आकर्षक देखिने अर्को मिलेको अनुहारमा हिँड्दा आफ्नो आत्मविश्वाससमेत बढ्ने सर्मिन बताउँछिन् । बिहान कलेज जानेहरू अहिले आफै आइब्रोज मिलाउँछन् । टिनएजरहरू पनि न्युड देखिने गरी हेबी मेकअप गरेर हिँड्छन् । उनीहरू युट्युबबाट आफू कसरी आकर्षक देखिन सकिन्छ, कस्तो हेयर स्टाइल बनाउने भन्ने जानकारी लिइरहेका हुन्छन् । 

अहिले निकै व्यस्त मेकअप आर्टिस्टमध्ये रश्मि मानन्धर पनि एक हुन् । उनी मेकअप वाई रश्मिको नामबाट मेकअप गर्छिन् र मेकअप गर्न समेत सिकाउँछिन् । रश्मि एक हप्ताको सेल्फ मेकअपका क्लासहरू लिइरहेकी हुन्छिन् । रश्मिका अनुसार १ हप्ता समय मिलाएर मेकअप सिक्ने हो भने सधैंका लागि हुन्छ । अहिले मेकअप नगरी पार्टीमा नजाने ट्रेन्ड छ । यस्तोमा आफै मेकअप गर्न जानियो भने पैसा र समयसमेत बचत हुने रश्मि बताउँछिन् ।

सेल्फ मेकअप सिकेपछि घरका सदस्यहरूको समेत मेकअप गर्न सकिने र आफूले पनि पार्लर धाउनु नपर्ने भएकाले अहिलेको पुस्ता सेल्फ मेकअप सिक्न लालायित छ । रश्मिकहाँ सेल्फ मेकअप सिक्न १८ वर्षका किशोरीदेखि कामकाजी महिलाहरू बढी आउँछन् । सेल्फ मेकअपको ६ महिना लामो कोर्स गर्न नभ्याउने र आफ्नै लागि मेकअप सिक्नेहरूका लागि राम्रो मौका भएको कुरा बताउँदै मानन्धर भन्छिन्–तर कतिपयले यसरी १ हप्ताको सेल्फ मेकअप कोर्स गरेरै प्रोफेसनल मेकअप आर्टिस्टका रूपमा काम गरिरहेका छन् । यद्यपि यसका लागि एड्भान्स कोर्स गर्नैपर्छ । 

लक्स मेकअप आर्टिस्टकी लक्ष्मी नकर्मीले १ दिन, १ हप्ता तथा १ महिनाको मेकअप क्लासको व्यवस्था गरेकी छिन् । अहिले टिनएज लाग्नासाथ किशोरीहरूले मेकअपमा रुचि राख्ने हुँदा पनि सेल्फ मेकअप क्लासको माग निकै बढेको छ । सेल्फ मेकअपका लागि कम्तीमा १ हप्ता क्लास लिनुपर्ने भए पनि उनले कामकाजी तथा व्यस्त महिलाहरूलाई टार्गेट गरी १ दिनको कोर्स तयार गरेकी हुन् । १ दिने क्लासमा पनि मेकअपसम्बन्धी सबै जानकारी लिन सकिने नकर्मीको दाबी छ । 

मेकअप आर्टिस्ट लेमी तामाङले पनि ६ दिनको सेल्फ मेकअप क्लास दिइरहेकी छिन् । अहिले बलिउडमा काम गरिरहेकी लेमीले समय–समयमा काठमाडौं, पोखरा, धरान, चितवन आदि सहरमा सेल्फ मेकअपको प्याकेज गराउँदै आएकी छिन् । तामाङको अनुभवमा पनि नेपालमा सेल्फ मेकअप सिक्नेहरूको संख्या निरन्तर बढ्दो छ ।

 

 Image