Successfully Copied

गुमनाम सुपरस्टार विष्णु माझी

नसार्वजनिक जमघट, न कुनै सांगीतिक महोत्सव । न कुनै मिडियामा अन्तर्वार्ता न सामाजिक सञ्जाल झन्डै भूमिगत जीवन । तैपनि स्वरको जादुकै भरमा करोडौं फ्यान । त्यसैले गुमनाम सुपरस्टारको उपनाम पाएकी छिन्–लोकदोहोरी गायिका विष्णु माझीले । युट्युबमा उनका गीतले करोडौं भ्युज पाएका छन् ।

नसार्वजनिक जमघट, न कुनै सांगीतिक महोत्सव । न कुनै मिडियामा अन्तर्वार्ता न सामाजिक सञ्जाल झन्डै भूमिगत जीवन । तैपनि स्वरको जादुकै भरमा करोडौं फ्यान । त्यसैले गुमनाम सुपरस्टारको उपनाम पाएकी छिन्–लोकदोहोरी गायिका विष्णु माझीले । युट्युबमा उनका गीतले करोडौं भ्युज पाएका छन् । देश–विदेशमा जादुयी स्वरकी धनी विष्णुका लाखौं प्रशंसक छन्, तर ती प्रशंसकहरूमध्ये कसैले पनि विष्णुसँग प्रत्यक्ष रूपमा भेटेर भलाकुसारी गर्न पाएका छैनन् । 

आखिर गुमनाम यी गायिकामा त्यस्तो के छ ? सहकर्मीहरू भन्छन्, उनको स्वरमा मोहनी लगाउने शक्ति छ । विष्णु माझीको मौलिक स्वरसँग कसैले प्रतिस्पर्धा गर्न सकेका छैनन् । उनको तुलना अरू कुनै लोकगायिकासँग गर्न सकिँदैन । गायक खुमन अधिकारी भन्छन्–विष्णु दिदीलाई म स्यालुट गर्छु । किनभने उहाँको स्वरमा आफ्नै मौलिकता छ । उहाँको त्यो मौलिकतासँग कसैले प्रतिस्पर्धा गर्न सक्दैनन् । नेपाली सांगीतिक इतिहासमै उहाँ सर्वाधिक पारिश्रमिक लिनुहुन्छ । यो भनेको अन्य विधाका गीतलाई लोकदोहोरी गीतले चुनौती दिएको हो । 

गायिका माझीले १२ वर्षदेखि लोकदोहोरी क्षेत्रमा एकछत्र राज गरिरहेकी छिन् । उनको स्वरमा एक प्रकारको जादु नै भएकाले उनी यति लामो समयसम्म पनि राम्रो छविका साथ संगीत बजारमा टिकिरहेको संगीतकर्मीहरू बताउँछन् । माझी अहिले एउटा लोकदोहोरी गीतमा स्वर भरेबापत ५० हजार पारिश्रमिक लिन्छिन् । यति पारिश्रमिक लिएर गीत गाउने गायक–गायिका नेपाली सांगीतिक क्षेत्रमा छैनन् । उनले अहिलेसम्म करिब ५ हजारभन्दा बढी गीत गाइसकेको संगीतकर्मीहरू बताउँछन् । तीमध्ये केही महिनाअघि सार्वजनिक सालको पात टपरी हुने गीतले लोकदोहोरीको इतिहासमै सर्वाधिक भ्युज पाएको छ । उक्त गीतमा विष्णु र कुलेन्द्र विश्वकर्माको स्वर छ । त्यो गीतले युट्युबमा हालसम्म तीन करोडको हाराहारीमा भ्युज पाएको छ । 

माझी २०४३ साल असार १२ गते स्याङ्जाको चापाकोटस्थित कालीनदीको किनार खोरियाघाटमा जन्मिएकी हुन् । उनका बारेमा विभिन्न मिडियाले उनी रहस्यमय ढंगले गुमनाम रहेको रिपोर्ट सार्वजनिक गरेका थिए । रहस्यमा रहेकी तथा श्रीमान्बाट दबाबमा परेर बाहिर आउन नसकेकी भन्ने रिपोर्ट सार्वजनिक भएपछि माझीको खोजीमा प्रहरी प्रशासनले समेत चासो देखाएको थियो । प्रहरीको चासो र सूचनाका आधारमा माझी श्रीमान् सुन्दरमणि अधिकारीका साथमा जिल्ला प्रहरी कार्यालय स्याङ्जासमेत पुगेकी थिइन् । प्रहरीले उपस्थित हुनू भन्ने उर्दी जारी गरेपछि जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी माझीसँग उनका बुवा ताराबहादुर माझीले ११ वर्षपछि भेट्न पाएका थिए । प्रहरीसामु गायिका माझीले आफूखुसी नै बाहिर आउन नचाएको सार्वजनिक कार्यक्रमहरूमा उपस्थित नभएको बताएकी थिइन् । प्रहरीले विष्णुसँग सोधेका धेरैजसो प्रश्नको उत्तर सुन्दरमणिले नै दिएको प्रहरीले जानकारी दिएको थियो । त्यसैले सुन्दरमणिले उनलाई धेरै नबोल्न दबाब दिएको आशंका संगीतकर्मीहरूको छ । 

१२ वर्षअघि बुटवलमा सम्पन्न महोत्सवमा विष्णुको मीठो स्वर सुनेर सुन्दरमणि अधिकारीले गायिका बनाउँछु भन्दै उनलाई काठमाडौं ल्याएका थिए । त्यसपछि गायिका माझीको लोकप्रियता निरन्तर चुलिँदै गयो । उनको निकै माग भयो । सर्वाधिक माग भए पनि विष्णु त्यतिबेलादेखि नै गुमनाम जीवन बिताउन थालिसकेकी थिइन् । कुनै सर्जकले आफ्नो गीतमा विष्णुको स्वर भर्न चाह्यो भने सुन्दरमणिसँग कुराकानी गर्नुपर्छ । सुन्दरमणिले नै विष्णुको पारिश्रमिक तथा समय निर्धारण गरिदिन्छन् । उनका समर्थकले भेट्न खोजे पनि उनी अझै सार्वजकि रूपमा बाहिर आउन सकेकी छैनन् । विष्णु र सुन्दरमणि व्यक्तिगत जीवनका बारेमा खासै खुल्दैनन् । उनीहरूलाई कसैले व्यक्तिगत सम्बन्धका बारेमा सोध्ने हो भने रिसाउँछन् । त्यसैले अहिलेसम्म विष्णु काठमाडौंको कुन ठाउँमा बस्छिन् कसैलाई थाहा छैन । उनी घरबाट बाहिर निस्कँदा आँखाबाहेक अरू सबै भाग पूरै कपडाले ढाकेर निस्कन्छिन् । रेकर्डिङ स्टुडियोमा पनि लुकेर गीत गाउँछिन् अनि सुटुक्क घर फर्कन्छिन् । 

केही समयअघिसम्म विष्णुले सुन्दमणिसँग विवाह गरेको हो कि होइन भन्ने कुरामा लोकदोहोरी क्षेत्रका कलाकर्मीहरूसमेत अन्योलमा थिए । यद्यपि विष्णु र सुन्दमणिले २०६८ साल मंसिर २९ गते पोखराको राम मन्दिरमा विवाह गरेको पुष्टि भएको छ । उनीहरूले तत्कालीन लेखनाथ नगरपालिका वडा नम्बर– ९ हालको पोखरा महानगरपालिका वडा नम्बर–३१ को वडा कार्यालयमा २०६९ मंसिर ५ गते विवाह दर्ता गरेको प्रमाण वडा कार्यालयमा सुरक्षित छ । विष्णु माझी सार्वजनिक रूपमा नखुले पनि पारिवारिक स्रोतका अनुसार उनले जुम्ल्याहा छोरा जन्माएकी छिन् । त्यसो त सुन्दरमणिको परिवारसँग माझीको सम्बन्ध राम्रो रहेको पारिवारिक स्रोतले जनाएको छ । त्यतिमात्र होइन डेढ वर्षअघि सुन्दरमणिका बुवा विष्णुप्रसादको निधन हुँदा विष्णु किरिया गर्न पोखरा पुगेकी थिइन् । यद्यपि विष्णुले आफ्नो माइती घरको आँगन नटेकेको वर्षौं भयो । यो उनको व्यक्तिगत कुरा हो । कतिपय कलाकार उनको व्यक्तिगत कुरामा चासो नदिँदै राम्रो हुने बताउँछन् । कोरियोग्राफर शिव वि.क. भन्छन्–विष्णु माझी एउटा पहिचान बोकेकी गायिका हुन् । मलाई उहाँको स्वर एकदमै मनपर्छ । म उहाँसँग एकदमै नजिक छु । उहाँको पहिलो एल्बम माकुरीको जालको भिडियो मैले नै कोरियोग्राफी गरेको थिएँ । त्यसैले उहाँका बारेमा जति पनि नकारात्मक कुरा आएका छन्, त्यसमा मलाई दुःख लाग्छ । यस्तै गायक तथा संगीतकार एकनारायण भण्डारी पनि आफू विष्णु माझीको गायकीको प्रशंसक भएको बताउँछन् । विष्णुको स्वर मौलिक प्रकारको छ, हाई, लो दुवै लयमा गीत गाउन सक्नु, कामप्रति जिम्मेवार हुनु आदि विष्णुका विशेषता हुन् । भण्डारी भन्छन्–अहिलेसम्म विष्णुको घाँटी बसेको अथवा स्वर बसेको भनेर उनी रेकर्डिङ स्टुडियोबाट फर्किएको कुनै घटना छैन । गायक तथा संगीतकार वसन्त थापाले पनि विष्णुले गाएका थुप्रै गीतमा संगीत भरेका छन् । वसन्तको संगीतको सालको पात टपरी हुनी गीतमा विष्णुको स्वर सुन्न सकिन्छ । त्यसो त वसन्त पनि विष्णुको गायनका प्रशंसक हुन् । थापा भन्छन्–विष्णु माझीको स्वर लोकदोहोरी गीतको एउटा प्रतिनिधि महिला आवाज हो । उहाँमा मेलोडीमा डुबेर गाउन सक्ने क्षमता छ, यो उहाँको मुख्य विशेषता हो । फिलिङ र भोकल राम्रो भएकाले माझीले यो सफलता हासिल गरेको संगीतकर्मीहरू बताउँछन् । गायक कुलेन्द्र विश्वकर्मा भन्छन्–विष्णु माझी स्वरकी रानी नै हुन् । उनको स्वर बत्तीसै लक्षणले भरिपूर्ण छ । त्यसैले म उनको गायकीको बयान गरेर सक्दिनँ ।

के भन्छन् विष्णुका प्रशंसक ? 

विष्णु माझीको आवाजको गीत जब युट्युबमा अपलोड हुन्छ तब उनका समर्थकहरूको प्रतिक्रियाको ओइरो नै लाग्छ । युट्युबमा आउने कमेन्ट माझीको स्वरको प्रशंसाले भरिएको हुन्छ । पछिल्लो समयको सर्वाधिक हिट लोक गीत सालको पात टपरी हुनीमा माझीको स्वर छ । उक्त गीत हेरिसकेपछि संकल्प निर्मोही लेख्छन्–जति सुने पनि सुनिरहुँ लाग्छ विष्णु दिदीको स्वर । सोही गीतमा प्रतिक्रिया दिँदै सोनुख चाम लेख्छन्–आहा, कति मीठो लोकदोहोरी गीत मलाई पनि नाचौं–नाचौं लाग्यो, तर लोक गायिका विष्णु माझी दिदी कहाँ बेपत्ता हुनुभयो जसरी भए पनि उहाँलाई मिडियाकर्मीहरूले मिडियामा ल्याउनुपर्‍यो । यस्तै विष्णुको स्वरको मर्ने मिति गीतमा प्रतिक्रिया दिँदै करण श्रेष्ठ लेख्छन्–यो लोक गीतले मेरो मन छोयो । मलाई मन पर्ने गायिका विष्णु दिदी । केही हप्ताअघि धेरैजसो विरहका गीत गाउने गायिका माझीको तिमीसँग छुटेको गीत सार्वजनिक भएको थियो । उक्त गीतको कमेन्ट बक्समा विष्णुलाई मिडियामा आउन आग्रह गर्दै गणेश बोहोरा लेख्छन्–आत्माबाटै सम्मान छ, विष्णु दिदी एकपटकका लागि भए पनि मिडियामा आउनुहोस् । विष्णुका गीतमा युट्युबको कमेन्ट बक्स यस्तै प्रशंसा र आग्रहले भरिएका हुन्छन् ।

 Image