Successfully Copied

हामी तीन बहिनी

सम्वन्धहरु प्राय काँचको महलमा सजाइएका फुल जस्ता हुन्छन् । कुनै पनि नरम वस्तुको टकराव सँगै टुक्रिन्छ । तर, कुनै सच्चा काँचका महलहरु यति पक्का हुन्छन् की हथौडाले हिर्काउँदा पनि टुट्दैन । साना कुराले जुट्ने सम्वन्ध, सानै कुराले टुट्छन् ।

सम्वन्धहरु प्राय काँचको महलमा सजाइएका फुल जस्ता हुन्छन् । कुनै पनि नरम वस्तुको टकराव सँगै टुक्रिन्छ । तर, कुनै सच्चा काँचका महलहरु यति पक्का हुन्छन् की हथौडाले हिर्काउँदा पनि टुट्दैन । साना कुराले जुट्ने सम्वन्ध, सानै कुराले टुट्छन् ।

संयोगले एउटा घुम्तीमा भेटिए केकि, वेनिषा र रिमा । त्यसपछि कहिल्यै टुटेनन् । टुट्यो भने ? रिमा रिसाईन्, ‘सकारात्मक बन्न सिक्नुस्, यो सम्वन्ध टुट्नका लागी जोडिएकै थिएन ।’ उनिहरुलाई सुरुवातमा के लागेको रहेछ भने, भेटिएपछि सँगै अघि वढौं जहाँसम्म पुगिन्छ र त्यसपछि बाई भन्नुपर्ला । अचम्म भैदियो, कसैलाई बाई भन्नै परेन ।

फोटोसुटको कार्यक्रम थियो । मिठाईकी पारखी वेनिषा मिँठाई खाँदै भनिन्, – खान असाध्यै मन पर्छ, मोटाएर वर्वादै भयो । रेगुलर जिम गरेर अब शरिर घटाउनुपर्ने भो, वेनिषा भन्छिन्, ‘लामो समयदेखी निरन्तर जिम गर्दै आएकी थिएँ, पछिल्लो समयको व्यस्तताका कारण रेगुलर जान पाएकी छैन ।’

केकिले बेनिषालाई भनिन्, चिटिक्क परिहाल त ∕ छेवैमा मोबाइल चलाइरहेकी रिमाले बेनिषाको अनुहार हेर्दै भनिन्, ‘अघि भर्खरै त गरेको हो, ठिकै देखिएको छ त !' ‘कहाँ देखिनु ? एकपटक कपाल मिलाउ । थोरै मेकअप पनि गर’, केकिले फेरी अर्डर  दिइन् । बेनिषा उठिन् । मेकअपमा लागिन् ।

एकाएक रिमा पनि उठिन् । भनिन्, ‘केकि तँ पनि आईज, सवैले एकैपटक मेकअप गरौं ।’ एकजना मेकअप आर्टिस्टले एकैपटक तिनजनालाई मेकअप गर्न सक्ने को छ यो संसारमा ?’

केकिले फेरी भनिन्, ‘वेनिषाले सकेपछि पालै–पालो गरौँला नी हुन्न ?’

यि तिनजनाको यो दृश्य हेरेपछि मेकअप आर्टिष्ट, फोटोग्राफर मुँस्कुराए । भने, ‘ओहो, कति झगडा गरेको ।’ अलिकति पर रहेकी बेनिषाले चिच्चाएर भनिन्, ‘हामी त सधै यस्तै हो नी !'

झण्डैं १ घण्टाको मेकअपपछि फोटोसुट सुरु भयो । विभिन्न पोजमा मज्जाले खुलेर तस्विर खिचाए । वेनिषालाई सोहि दिन कहाँ जानुपरेको रहेछ, सुटपछि तुरुन्तै भागिन् । केकि र रिमा कफि अर्डर गरे । २ प्लेट चिकन म:म पनि । अनि केकिले वेनिषालाई संकेत गर्दै भनिन्, ‘कहाँ जान पर्‍या रैछ, कति हतार गरेको !'

कहिले झगडा गर्छन् । कहिले एकसाथ सँगै रुँन्छन् । नेपाली चलचित्र क्षेत्रका यि तिन सुन्दर अभिनेत्रीको सम्वन्धको अचम्मको छ । उनिहरुको बारेमा धेरैलाई थाहा भएको एउटै कुरा हो, एकदमै मिल्छन् । तर, कसले पनि सम्वन्धको भित्री स्टोरी पढ्न पाएका छैनन् ।

हालै सिटिसेन्टरस्थित हिमालय जाभामा भेटिए उनिहरु । केकिले सुरुमै भनिन्, ‘लेट्स स्टार्ट विथ कफि है ?’

गफको सुरुवात् केकि आफै गरिन् ।

‘हामी ९ वर्षदेखिका मिल्ने साथी । मलाई त के लाग्छ भने हाम्रो सम्वन्ध कहिल्यै टुट्दैन ।’ साइडमा रहेकी रिमा नरम शैलीमा भनिन्, ‘छुट्यो भने के हुन्छ केकु ?’ मलाई त त्यस्तो लाग्दैन, केकिले जवाफ दिईन् । लगत्तै, रिमाले भनिन्, ‘जष्ट किडिङ बेबी ।’

दुईजनाको गफ सुनिरहेकी बेनिषाले भनिन्, सहि हो !'

केकिले रिमालाई ९ वर्षअघि नेशनल टेलिभिजनमा जाँदा भेटेकी थिइन् । त्यतिवेला केकि म्युजिक क्षेत्रमा भर्खरै वामे सर्दै थिईन् । रिमा टेलिभिजनमा भर्खरै भिजेको काम सुरु गरेकी थिइन् । ‘त्यो बेला सामान्य गफ मात्रै भयो है हाम्रो ?’ केकिले विगत सम्झिइन् । भनिन्, ‘तिम्रो अनुहार त धेरैले चिनिसकेका थिए नी !' ∕’त्यतिवेला सामान्य गफगाफ भएपछि उनिहरु छुट्टिएका रहेछन् । रिमा थप्छिन्, ‘मैले त्यतिवेला हामीहरु दिनरात भेट्ने र दु:ख–सुख साट्ने यति नजिकका साथी हुन्छौं भनेर सोचेकै थिइँन ।

प्रशन्न पौडेल त्यतिवेलाका सवैभन्दा धेरै व्यस्त म्युजिक भिडियो निर्देशक । पोखरामा उनको म्युजिक भिडियो सुटिङको सेडुअल परेको थियो । सोहि सुटका लागी केकि पोखरा गइन्, विमलेष अधिकारीसँग । केकि र विमलेष उतिवेला म्युजिक भिडियोका चल्तीका जोडी थिए । पोखरा सेटमा पुगेका केकि र विमलेषलाई देखेर रिमा छक्क परिन् । अचम्मको कुरा रिमा पनि प्रशन्नको अर्को भिडियोका लागी त्यहाँ पुगेकी रहिछन् । मोडलिङमा नाम चलेका कलाकार देख्दा म त हेरेको हेर्‍यै भएँ, रिमा भन्छिन्, – ‘बोलौं–बोलौं भन्ने त लागेको थियो, तर सुरुमा आँट आएन ।’

रिमालाई केकि घमण्डी र बोल्न हिचकिचाउने स्वभाव छ की जस्तो लागेको थियो, तर भयो अर्कै । रिमाले वोल्न खोजिरहेकी थिइन्, तर सुरुमै केकिले उनलाई हाई भनिन् । रिमाको पहिलो म्युजिक भिडियो भएकाले केकिले सुभकामना दिईन् । केकि र रिमाको खास सम्वन्धको औपचारिक सुरुवात् यहि सेटबाट भयो ।

केहि महिनापछि प्रशन्न पौडेलले एउटा चलचित्र निर्माण गर्न लागेको सुनाए । चलचित्रको मुख्य पात्रका लागी रिमा र केकिलाई प्रस्ताव गरे । उनिहरुले नाई भन्ने कुरै भएन । चलचित्रमा काम गरेर हिरोइन् हुने रहर थियो । प्रशन्नले दुवैजनालाई साइन गर्न बोलाए, आफ्नो अफिसमा । उनिहरु त्यहाँ एकसाथ पुगे । प्रशन्नले निर्माण गर्न लागेको चलचित्र थियो, स्वर ।

केकि–रिमा गफ गरिरहेका बेला एउटा सुन्दर युवती भित्रिईन् । उनको इन्ट्रि फिल्मी शैलीमा थियो । केकि र रिमा हेरेको हेर्‍यै भए । केकिले रिमाको कान नजिक पुगेर भनिन्, ‘खास हिरोइन त बल्ल पो देखियो नी !'' रिमा कोर्के नजर पारेर ति युवतीलाई हेरेको हेरै भइन् । ‘त्यो वेला वेनिषाको ईन्ट्रि स्टायल देख्दा हामी असुरक्षित भयौं, यो चलचित्रमा हाम्रो अव डेट सक्कियो भन्ने लागेको थियो’, रिमाले त्यतिवेलाको कुरा सम्झँदै भनिन् । रिमाको गफ नसकिँदै केकिले तुरुन्तै भनिन्, ‘तिमीलाई त त्यस्तो लागेको रहेछ, मलाई त वर्वादै भयो भन्ने लागेको थियो नी !'

रातो पहिरन, दमदार पहिरनमा अग्लो कदकी सुन्दर युवती देख्दा एकछिन केकि र रिमालाई तनाव भएपनि कथा भने अर्कै हिसावले मोडियो । रिमाले पोखराको सुटिङ सेटमा केकिलाई सोचेजस्तै थिइन्, वेनिषा । एकछिनपछि निर्देशकले तिनैजनालाई उक्त चलचित्रमा साईन गराएपछि उनिहरु मख्ख परे । एकछिन परिचय गरे । बेनिषा हिडिन्, केकि–रिमा पनि लागे । उनिहरु तिनजनाको सम्वन्ध जव चलचित्रको सुटिङ सुरु भयो, राम्रैसँग जम्यो । बलियो भयो । एउटै प्लेटको खाजा वाँडेर खान थाले । जुठो–सुठो वाल मतलव भन्न थाले ।

यति लामो समय यो सम्वन्ध कसरी टिक्यो ? वेनिषा भन्छिन्, ‘हामी तिनजनाकै कारण हो जस्तो लाग्छ ।’ केकिलाई सवैको सोँच मिलेका कारण टिकेको जस्तो लाग्छ । त्यसो भए अहिलेसम्म एकपटक पनि झगडा गरेका छैनन् ? वेनिषाले मुख खोलिन्, ‘केकिसँग त कहिलेकाहि फ्याट्टफुट्ट किचकिच भयो होला, तर रिमासँग भने झण्डैं २ महिना बोलचाल ठप्प भएको रेकर्ड छ ।’ झगडा भएपछि केकिले मिलाइन् । कहिल्यै झगडा नगर्ने बाचा गराइन् ।

केकिले जसरी उनिहरुको झगडा मिलाइन्, स्वभाव पनि त्यस्तै खालको छ । बेला–बेलामा सम्झाउँने, वुझाउँने र गाली गर्ने गर्छिन् । उनिहरुको सम्वन्ध देख्दा एउटै आमाका तिन छोरी हुन् की जस्तो देखिन्छ । उमेर अन्तर त उनिहरुले खुलाएनन् तर व्यवहार हेर्दा लाग्छ, केकि जेठी, रिमा माइली र वेनिषा कान्छि छोरी । माईली र कान्छिको झगडा सधै जेठिले मिलाउनुपर्छ । कहिलेकाँहि आफुले नखाएर पनि बहिनिहरुलाई खु:सी बनाउन आफ्नो प्लेटको खानेकुरा दिनुपर्छ । केकि पनि एउटै आमाका छोरीहरु जस्तै, सधै स्नेहपुर्ण व्यवहार देखाउँछिन् । यि दुइको अनुहार सधै चन्द्रमा जस्तो उज्यालो होस् भन्ने चाहन्छु, केकि भन्छिन् ।

सवैभन्दा रिसाउँने स्वभावकी हुन् वेनिषा । सानो कुरामा पनि ठुस्स पर्ने !  रिसाएपछि केकि र रिमाले फकाउनुपर्ने । वेनिषा भन्छिन्, ‘कहिलेकाहि एकाएक कमजोर फिल भैरहेका बेला उनिहरुको साथ पाए भने शरिरमा उर्जा आउँछ । उनिहरु नजिक भए भने सवै ठिक हुन्छ ।’ सवैभन्दा माया जसलाई गरिन्छ उनिहरुसँग त रिसाउने हो, मलाई उनिहरुसँग झगडा गर्न मज्जा लाग्छ अनि गाली खान पनि, – वेनिषाले भनिन् ।

रिमालाई मन दुख्यो भने दुईजनासँग गफ सेयर गरिहाल्छिन् । रिमा वेनिषा जस्तो निरिसाएपछि किच–किच भने गर्छिन ।

केकि दुईजनासँग सकेसम्म रिसाउन नपरे हुन्थ्यो भन्ने स्वभावकी छिन् । वेनिषा र रिमाको जस्तो केकिको स्वभाव छैन । केकिले हरेक कुरा आफ्ना साथीहरुलाई सुनाउँदिनन । हरेक कुरा भनेर किन उनिहरुको मन दु:खाउनु ? उनि भन्छिन्, ‘उनिहरुले सानो कुरामा मन दु:खाउनुभन्दा म आफै समाधान गर्न गरिहाल्छु ।’ तर साना–तिना कुरा भने खोलिरहने उनले सुनाईन् । ‘केकि हरेक प्रवलमहरु आफै समाधान गर्न खोज्ने स्भावकी छ’, रिमाले भनिन्, ‘उ एकदमै साँेचेर मात्रै वोल्ने र सकेसम्म धेरै कुरामा लुकाउने बानी छ ।’ हामी तिनजनामा सवैभन्दा धेरै समझदार केकि हो, रिमाले फेरी थपिन् ।

उनिहरुलाई के लाग्छ भने आफुहरुको सम्वन्ध परिवारपछि सवैभन्दा नजिकको हो । वेनिषालाई आफ्नो बुबा–आमापछि रिमा र वेनिषा सवैभन्दा भरपर्दा पात्र लाग्छ ।

आफुहरुको सम्वन्ध धेरैले विगार्न खोजेपछि सफल नभएको केकि बताउँछिन् । हामीहरुका नकारात्मक गफ हामीहरुभित्रै सुँनाउनेहरु पनि भेटिएको छ, केकि भन्छिन्, ‘साँझ सँगै बस्छौं र कफिको स्वादमा ति गफलाई सित्तन वनाएर सकाईदिन्छौं ।’

जतिसुकै मिल्ने साथी भएपनि तिनजना २४सै घण्टा सँगै हुन त सम्भव भएन । तिनै जना व्यस्त कलाकार भएकाले कहिले को कहाँ पुग्छ, थाहा हुन्न । रिमा पोखरा पुग्दा वेनिषा धरान र केकि नेपालगन्ज । यद्यपी उनिहरु दिनको एकपटक अनिवार्य फोनमा गफ गर्छन् । वेनिषाले त रातको दुई बजेपनि फोन गर्छिन् रे । यदि काठमाडौंमा तिनजना भएको संयोग पर्‍र्यो भने त एकपटक भेट भैहाल्छ, नत्र फोन जिन्दावाद्, वेनिषाले भनिन् ।

उनिहरु केहि समयअघि थाइल्याण्ड गए । नेपालमा धेरै ठाउँ घुमिसकेपछि आफ्नै पैसाले उनिहरु घुम्नका लागीनै थाईल्याण्ड गए । विभिन्न पोजमा तस्विर खिचाए, त्यतिवेला समुन्द्रको किरानामा खिचाएका उनिहरुका तस्विर भाईरल समेत भएका थिए ।  अन्य कामले वाहिर गैरहेका थियौं । तर, तिनजना एउटै ट्रिपमा जाने संयोग मिलेको थिएन, रिमा भन्छिन्, ‘एक हप्ताको घुमघामका लागी थाइल्याण्ड गएका हौं ।’ कहिलेकाहि कामको वोझ कम गर्न पनि यस्ता घुमघामले अर्थ राख्दोरहेछ, केकिले थपिन्, ‘तिनै जनाको फुर्सदिलो समय जुट्यो भने फेरी कुनै देश जाने मन छ ।’

यति मिल्ने साथीहरु कहिलेकाहि नशाको तालमा कत्तिको झगडा हुन्छ होला ? ‘हामीहरु जव भेट भएर गफ गर्न थाल्छौं, गफनै नशालु बन्छ, यो नशाको तालमा क्यैयन रात बिते, क्यैयन घण्टा विते । – रमाईलो प्रश्नको त्यस्तै जवाफ दिईन् केकिले ।

फोन चलाइरहेकी वेनिषाले एकाएक केकिसँग हात मिलाउँदै भनिन्, ‘सहि हो, गफ त जानेकी छ क्या केटिले ।’

चलचित्र स्वरवाट डेव्यु गरेका यि तिनजनामध्ये केकिले सवैभन्दा धेरै चलचित्र र गितमा अभिनय गरेकी छिन् । उनले लभ सासा, मुटु, राज्जा रानी, घामपानी, महसुश, वितेका पल, माई प्रमिस, भाग् सानी भाग्, श्री ५ अम्वरे, वागमती, हाउ फन्नी लगायतका चलचित्रमा काम गरेकी छिन् । वेनिषाले झ्यानाकुटी, किङ, मोक्ष, व्लाइण्ड रक्स लगायतका चलचित्रमा काम गरेकी छिन् । रिमाले ऋतु, स्केप, कोहलपुर एक्सप्रेस, भिजा गर्ल, वाटो मुनीको फुल–२ लगायतका चलचित्रमा काम गरेकी छिन् । रिमाले पनि दर्जनौं म्युजिक भिडियोमा काम गरिसकेकि छिन् ।

उनिहरुमध्ये एकजनालाई कोहि युवाले मन पराएको प्रताव गर्‍र्यो भने तिनजनामा पुग्दोरहेछ । कहिलेकाहि एउटै केटा पनि तिन तिर घुम्ने क्या, रिमा भन्छिन्, ‘हामीले यस्तो कुरालाई कहिल्यै सिरियस लिन्नौं, एकछिन रमाइलो गफ हुन्छ अनि सकिन्छ ।’

तिनजना अविवाहित युवतीहरु कसैले पनि आफुहरु प्रेममा परेको खुलाउन चाहेनन् । केकि भन्छिन्, ‘पत्रकारले त हामी प्रेममा छौं की छैनौं भनेर आफै खोज्नुपर्‍र्यो नी ।’ उनिहरु राम्रो श्रीमानको खोजिमा छन् । समय आएपछि विहे गर्ने सोचमा पनि छन् । तर तिनैजना भन्छन्, ‘हामिहरुले सोचेजस्तो मान्छे भेट्टाउनै सकेनौं ।’

सानो कुरामा पनि मन दु:खाउने वेनिषा भन्छिन्, ‘तिमीहरु दुईजना मसँग कहिल्यै रिसाउन पाईन्न है ।’

रिमा भन्छिन्, ‘तिमी आफ्नै कारणले रिसाउँछौं, हाम्रो कारणले त हैन नी ।’

केकि भन्छिन्, ‘तिमी रिसाउँदा मात्रै हैन हामी जो कोहि रिसाउँदा एकले अर्कालाई फकाउनुपर्छ, ओके ?’

केकि फेरी बोलिन्, ‘तिमिहरु मलाई एकदमै मायाँ गर्नु, तिमिहरुलाई फकाउन म छँदैछु नी !'

 Image