Successfully Copied

परिवारबाटै महिलालाई सम्मान हुनु पर्छ : नीति शाह

समाजसेवा गर्दा कम्तीमा आफूसँग भएको खुसी बाँड्न खोजेजस्तो लाग्छ । यसले मलाई पूर्णरूपमा खुसी प्रदान गर्छ । यदि आफूले बोलेर मात्र पनि परिवर्तनको सम्भावना हुन्छ भने हामीले किन मौन बस्ने ?

तपाईंको विचारमा सेलिब्रेटी भएपछि सामाजिक तथा राजनीतिक जिम्मेवारी वृद्धि कत्तिको हुन्छ ?

हरेक व्यक्तिका आ–आफ्नै मनपर्ने सेलिब्रेटी हुन्छन् र उनीहरूको जीवनमा ती सेलिब्रेटीको ट्यालेन्ट, परिश्रम आदिले प्रभाव पारेको हुन्छ । सेलिब्रेटीहरू आफ्ना प्रशंसक तथा फलोअर्सका लिडर पनि हुन् । त्यसैले पनि सेलिब्रेटीहरू समाजप्रति उत्तिकै उत्तरदायी हुनुपर्छ । मलाई राजनीतिका बारेमा सोच्न मन लाग्दैन तर एक सचेत नागरिकको नाताले राजनीतिका बारेमा सचेत भने हुनुपर्छ । राजनीतिका बारेमा म पनि सचेत छु । हामीले आफूले पाएको मतदानको अधिकार उपयोग गरी सक्षम नेता छान्न चुक्नु हुँदैन । 

तपाईं एसिड पीडित महिलाको सहयोगमा होस् वा जोन्था क्लबमार्फत समाजसेवामा होस् समाजको हितमा अग्रसर देखिनुहुन्छ ? समाजसेवामा लाग्ने सोच कसरी आयो ?

समाजसेवा गर्दा कम्तीमा आफूसँग भएको खुसी बाँड्न खोजेजस्तो लाग्छ । यसले मलाई पूर्णरूपमा खुसी प्रदान गर्छ । यदि आफूले बोलेर मात्र पनि परिवर्तनको सम्भावना हुन्छ भने हामीले किन मौन बस्ने ? विभिन्न संघसंस्था एवं व्यक्तिले पीडितहरूलाई सहयोग गरिरहेको देखेपछि ममा पनि समाजका लागि केही गर्नुपर्छ भन्ने सोचको विकास भएको हो । म आफ्नो अध्ययनपछि समाजसेवालाई नै पहिलो प्राथमिकता दिएर अघि बढ्नेछु । 

मिस नेपाल इन्टरनेसनलका रूपमा तपाईंको भूमिका कस्तो रहन्छ ?

महत्वपूर्ण रहन्छ । यदि कोही सेलिब्रेटी हुन्छ भने त्यो उसको कडा मेहनतका साथमा आममानिसहरूको शुभकामना र मायाले बन्ने हो । त्यसैले आम मानिसहरूप्रति उनीहरूको जिम्मेवारी पनि उत्तिकै रहन्छ । हामीले यस्ता प्लेटफर्म प्रयोग गरी आममानिसहरूप्रतिको उत्तरदायित्व बहन गर्नुपर्छ । मलाई लाग्छ, कुनै राम्रो वा नराम्रो परिवर्तन नेतृत्वमा भर पर्छ । म समाज परिवर्तनका लागि सदैव समर्पित रहनेछु किनभने मेरा प्रशंसकहरूले गर्दा नै मेरो परिचय स्थापित भएको हो ।

महिला हिंसा तथा बालबालिकाको शोषण रोक्न के–कस्तो कदम चाल्नुपर्ला ?

महिला हिंसा भएपछि चालिने कदमभन्दा हिंसा हुनै नदिने उपाय खोज्नु उपयुक्त हो । परिवारबाटै महिलालाई सम्मान, समानताको भावना, अवसर, पारिवारिक तथा सामाजिक जीवनमा निर्णय गर्ने अधिकार दिएर यस्ता हिंसा कम गर्न सकिन्छ । बालहिंसाले उनीहरूको स्वास्थ्यदेखि हरेक कुरामा नकारात्मक असर पार्छ । त्यसैले हामीले खोज, प्रशिक्षण, सामाजिक शिक्षा आदिबाट यसको समाधान खोज्नुपर्छ । परिवार, समाज र देशका हरेक व्यक्तिले यो समस्यालाई आफ्नै समस्याका रूपमा लिई अघि बढ्यौं भने यस्ता हिंसा पक्कै समाप्त भएर जान्छन् । 

सुन्दरताका लागि मानसिक सुन्दरताको आवश्यकता कत्तिको छ ?

वास्तविक सुन्दरता भनेकै बौद्धिक सुन्दरता र शारीरिक सुन्दरताको मिश्रण हो ।

मिडियाका विषयमा अध्ययनरत हुनुहुन्छ, भविष्यमा मिडियामै संलग्न हुने सोच छ ?

हो, मैले मास मिडियामा ब्याचलर डिग्री गरेकी छु । अहिले एमबीए गर्दैछु । भविष्यमा मिडियामा लाग्ने कि नलाग्ने निर्णय गरिसकेकी छैन तर सोसल वर्कमा भने संलग्न हुने कुरा पक्का छ ।

 

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

मेकअप तथा हेयर स्टाइल :श्रद्धा मास्के

पहिरन :पिजेज कलेक्सन, सिभिल मल, त्रिपुरेश्वर

लोकेसन :एलिस बैंकेट, गैरीधारा

 Image