महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।

मानिस स्वभावैले नयाँ कुरा गर्न मन पराउँछ, नयाँ स्वादमा रमाउन चाहन्छ । एकै किसिमको काम गर्दा कहिलेकाहीँ दिक्क लाग्नु अस्वाभाविक होइन । दैनिक उही र उस्तै प्रकृतिको जीवनमा ताजापन ल्याउन पनि नयाँपन आवश्यक छ तर जोकसैलाई आफ्नो क्षेत्रभन्दा परको दक्षता हासिल गर्न त्यति सहज छैन । त्यसका लागि समय, दृढता, सीप, क्षमता एवं बुद्धि खर्चनुपर्छ ।
प्रसिद्ध लेखिका मेरी डनबरले भनेकी छिन्–‘हामी हरेकले पृथक् एवं महत्वपूर्ण उपहार पाएका हुन्छौं, मात्र यत्ति हो स्वयंले यसको उपयोगिता र उत्साहलाई पहिल्याउन आफूभित्रको विशेष ज्योति प्रयोग गर्नुपर्छ ।’ हो यसरी नै हामीले उक्त ज्योतिको सहयोगमा आफूभित्रका खुबी बाहिर ल्याउन सक्नुपर्छ तब मात्र हाम्रो जीवन इन्द्रेणीजस्तै कलरफूल हुन्छ । अर्का विद्वान् बेञ्जामिन फ्र्यांकलिन भन्छन्–‘आफूभित्रको क्षमता लुकाउने होइन, आफू बन्नका लागि प्रयोग गर जसरी छहारीभित्र पनि सूर्यको प्रकाश रुमल्लिइरहेको हुन्छ ।’
हाम्रो समाजमा यस्ता थुप्रै उदाहरणीय महिला छन् जसले आफ्नो पेसामा विशेषज्ञता हासिल गरेर पनि अन्य सिर्जनशील क्षेत्रमा समेत आफूलाई अब्बल साबित गरिरहेका छन् । कुशल व्यवस्थापकीय क्षमता बोकेका नारी जाति बहुमुखी प्रतिभाका पर्याय हुन् । उहीहरूमा एकै पटकमा मल्टिटास्किङ क्षमता प्रस्तुत गर्नसक्ने स्वभाव हुन्छ । केही त्यस्ता नेपाली महिला जो छेकिएको क्षमता प्रस्फुटन गरी आफ्नो पेसा–व्यवसायका अतिरिक्त थप दक्षता प्रस्तुत गर्दै अघि बढिरहेका छन् :
डा. चन्दा कार्की
प्रिन्सिपल, काठमाडौं मेडिकल कलेज, सिनामंगल
औरही महोत्तरीमा जन्मिएकी चन्दा कार्कीले गाउँकै स्कुलमा कक्षा सातसम्म अध्ययन गरिन् । हजुरबुवाले खोलेको स्कुलमा सात कक्षा पढेपछि थप अध्ययनका लागि उनी काठमाडौंको पद्मोदय स्कुलमा भर्ना भइन् । कक्षामा लेख्न दिइएका निबन्ध, कविता आदिबाटै उनको लेखन यात्राको थालनी भयो । कार्कीले लेखेका कविता–निबन्ध स्कुलका बोर्डमा टाँसिन्थे र साथीभाइ एवं शिक्षक–शिक्षिकाबाट उनले वाहवाही पाउँथिन् । कतिपय अवस्थामा त शिक्षकले उनीभन्दा माथिको कक्षामा लगेर समेत उनको उदाहरण दिन्थे । चन्दा नोस्टाल्जिक हुँदै भन्छिन्–‘त्यही नै मेरो प्रेरणाको स्रोत बन्यो ।’ कार्की फुर्सदको समयमा कथा– कविता आदि लेखिरहन्थिन् । कलकत्तामा चिकित्सा शास्त्र अध्ययनका क्रममा पनि नेपाली विद्यार्थी संगठनले निकाल्ने पत्रिकामा पनि उनका रचना प्रकाशित हुन्थे ।
समय बित्दै गयो तर डा. कार्कीले आफ्नो लेखन यात्रा भने रोकिनन् । अहिले पनि उनी काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरूद्वारा प्रकाशित संजीवनी पत्रिकालाई आफ्ना रचना दिन्छिन् । पत्रपत्रिकामा प्रकाशित रचनाहरू समेटेर उनले केही वर्षअघि ‘छरिएका पानाहरू’ पुस्तक प्रकाशित गरिन् । त्यसो त उनी गीत पनि लेख्छिन् । उनको गीत उनका भाइले गाएर रेकर्ड समेत गराएका छन् । फुर्सद भयो कि केही न केही लेख्ने उनको बानी छ । राति निद्रा लागेन भने पनि उनी लेख्न बस्छिन् । आफन्तसँगको बिछोड होस् वा आफन्तको विवाह, ती विषयमा पनि उनी केही न केही लेखिरहेकी हुन्छिन् ।
बिहान ९ बजेदेखि ४ बजेसम्म बिरामीको जाँच, अप्रेसन, प्रशासनिक काम, अध्यापन एवं मिटिङमा व्यस्त रहने डा. कार्की समय हुनासाथ मनका भावनाहरू टिपोट गर्छिन् अनि राति त्यसलाई मिलाउँछिन् । रिटायर्ड जीवनपछि लेखनलाई नै निरन्तरता दिने सोच बनाएकी डा. कार्की स्वास्थ्यसम्बन्धी पुस्तक तथा बायोग्राफी लेख्ने योजनामा छिन् । छिट्टै उनी छरिएका पानाहरू (भाग–२) प्रकाशनमा ल्याउने योजनामा छिन् । जतिसुकै व्यस्त भए पनि इच्छाशक्ति भए आफूमा अन्तर्निहित प्रतिभा उजागर हुनुका साथै जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् डा. चन्दा कार्की ।