Successfully Copied

पेपर म्यारिज मोह

नेपालमा विदेश जानकै लागि विवाह गर्ने प्रचलन बढ्दो छ । प्रेम, सांस्कृतिक परम्पराद्वारा गाँसिने लगनगाँठो तथा विवाहका अन्य वैधानिक प्रक्रियाबिना नै कागजी विवाह गरेर विदेश पुग्ने लहड अहिले ह्वात्तै बढेको पाइन्छ । विशेषत: युवापुस्तामाझ झाँगिदै गएको यो प्रवृत्ति विदेश पुग्ने सरल माध्यम साबित

नेपालमा विदेश जानकै लागि विवाह गर्ने प्रचलन बढ्दो छ । प्रेम, सांस्कृतिक परम्पराद्वारा गाँसिने लगनगाँठो तथा विवाहका अन्य वैधानिक प्रक्रियाबिना नै कागजी विवाह गरेर विदेश पुग्ने लहड अहिले ह्वात्तै बढेको पाइन्छ । विशेषत: युवापुस्तामाझ झाँगिदै गएको यो प्रवृत्ति विदेश पुग्ने सरल माध्यम साबित हुँदै गएको छ । यस्तो ट्रेन्ड सही छ कि गलत ? यसले भविष्यमा के–कस्तो समस्या सिर्जना गर्न सक्छ ? भन्ने विषयमा केन्द्रित यसपटकको नारी बहस :

सुष्मा बाँस्कोटा, वरिष्ठ अधिवक्ता

गान्धर्व विवाह गरे पनि, वैदिक विवाह गरे पनि, दर्ता विवाह गरे पनि यी सबै विवाहको महत्व एउटै हुन्छ । सम्बन्ध जोड्ने काम जुनसुकै रूपबाट पनि हुनसक्छ तर सम्बन्ध विच्छेदको ढोका एउटै छ । एउटै कानुनी प्रावधान पूरा गरेर मात्र सम्बन्ध विच्छेद गर्न सकिन्छ । त्यसैले जुनसुकै विवाह गर्नुअघि भविष्यमा कति अघिसम्म जान सकिन्छ भन्ने सोचेर मात्र विवाह गर्नुपर्छ । कुनै जोडी श्रमान्–श्रीमती हुन् कि होइनन् भन्ने कुरा कागजले नै प्रमाणित गर्छ । त्यसैले पेपर म्यारिज र अन्य म्यारिजको अस्तित्व एउटै हो । कानुनका दृष्टिमा सबै विवाह समान छन् । कागजमा हामी श्रीमान्–श्रीमती हौं भनेर दस्तखत गरिसकेपछि उनीहरू श्रीमान्–श्रीमती मानिन्छन् । यति भैसकेपछि उनीहरूले कानुनी अधिकार प्राप्त गर्छन् । त्यसैले कागजी रूपमा गरिएको विवाह पनि वैधानिक विवाह हो । विदेशी इमिग्रेसनले समेत उनीहरूलाई श्रीमान्–श्रीमतीका रूपमा स्वीकार गरेर प्रवेशाज्ञा दिन्छ । श्रीमान्–श्रीमतीका रूपमा आइपर्ने चुनौती व्यहोर्न तयार हुनुपर्छ । अहिले जे–जति अप्ठ्यारा आइपरेका छन् त्यसका कारण यिनै हुन् । भोलि डिभोर्स गर्दा अंश माग्ने वा केटाले पनि केटीलाई हिंसा गर्ने सम्भावना हुन्छ । कुनै पनि काम गर्नुअघि पर्याप्त विचार पुर्‍याउनुपर्छ, असत्य काम गर्नु हुँदैन । झूटो काम गर्दा र कानुनलाई हल्का रूपमा लिँदा राम्रो परिणाम आउँदैन । यसको कानुनी समाधान भनेको सम्बन्ध विच्छेद नै हो ।

रोजिना मानन्धर, मनोवैज्ञानिक

पेपर म्यारिज प्राय: सम्झौता र कन्डिसन्समा हुन्छ । यो विशेषत: युवापुस्ताबीच मौलाउँदो छ । विदेश जानकै लागि मात्र पेपर म्यारिज गर्नेहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ । पेपर म्यारिजकै आधारमा विदेश पुगिसकेपछि छुट्टिने कुरा हुन्छ किनभने त्यो विवाह करार र कन्डिसनल हुन्छ । दुवैजना आधिकारिक रूपमा विवाहित भैसकेका हुन्छन् । जुन कुरा दिमागमा बसिसकेको हुन्छ । म विवाहित हुँ भन्ने कुरा मनमा हुन्छ । उस्तै परे सम्बन्ध विच्छेदअघिको केही समय सँगै बिताउनुपर्ने पनि हुनसक्छ । त्यो अवधिमा जे पनि हुनसक्छ, त्यसबीचमा एउटा गम्भीर भइदियो र अर्को कन्डिसनमै अडिग रह्यो भने त समस्या थप जटिल हुन्छ । यसरी सँगै समय बिताएको मानिससँग छुट्टिनुपर्दा विभिन्न मानसिक समस्या सिर्जना हुन सक्छ । कालान्तरमा गएर डिप्रेसन हुने, विभिन्न लतमा फस्ने, तनावले छोपिरहने कुराले जीवनलाई जटिल बनाइदिन्छ तसर्थ यस्ता कार्य गर्नुअघि राम्रोसँग सोचेर मात्र निर्णय लिनुपर्छ ।

सन्तोषी रायमाझी थापा, बैंकर्स

मेरो विचारमा विदेश जानकै लागि पेपर म्यारिज गर्नु ठीक होइन । किनभने कानुनी रूपमा दस्तखत गरेर विवाह गरिसकेपछि पक्कै पनि त्यो वैधानिक हुन्छ । यसरी वैधानिक रूपमा गरिएको विवाहलाई टुंग्याउने भनेको सम्बन्ध विच्छेदले नै हो । हाम्रो कानुनमा सम्बन्ध विच्छेदपछि श्रीमान्को आधा सम्पत्तिमा हकदाबी गर्न पाइने व्यवस्था भए पनि यसरी गरिएको पेपर म्यारिजमा त्यसको कुनै सम्भावना हुँदैन । आफू आर्थिक रूपमा सक्षम हुने कुरामा पनि यसले बाधा सिर्जना गर्न गर्नसक्छ । यदि दुवै जनाको उद्देश्य र नियत ठीक भएको खण्डमा नेपाल बसेर यत्तिकै समय बर्बाद गर्नुभन्दा विदेश गए राम्रो पैसा कमाउन सकिन्छ र एड्भान्स पनि भइन्छ । युवाहरूलाई स्वदेशमै आर्थिक रूपमा सबल बनाउने योजना तथा कार्यक्रम ल्याउन सकेको खण्डमा कसैलाई अर्काको मुलुकमा गएर पसिना खर्चिने रहर हुँदैन ।

सेफाली गौतम, विद्यार्थी

हो, आजका हरेक युवा काम गर्ने, पढ्ने वा विभिन्न किसिमका प्रोफेसनल ट्रेनिङ लिने बहानामा बिदेसिन आतुर छन् । मेरै कुरा गर्नुपर्दा भर्खरै प्लस टु सिध्याएकाले म केही दिनमै अस्ट्रेलिया जाँदैछु तर पेपर म्यारिज गरेर होइन, स्कलरसीपमा हाई–स्कोर प्राप्त गरेर । आजका युवा जसरी भए पनि विदेश पुग्ने सपनामा हुन्छन् चाहे जस्तोसुकै बाटो अपनाएर होस् । यही सिलसिलामा पेपर म्यारिजलाई सहज र भरपर्दो माध्यम मान्न थालिएको हो । यसका कतिपय बेफाइदासमेत छन् । कतिपय युवामा सम्झौता बिर्सिएर प्रेमको भावना जागृत हुने, नौलो स्थानमा सँगै पुगेपछि दुई–चार दिन सँगै बस्दा फिजिकल्ली नजिक भएर गर्भवती हुने वा कालान्तरमा विभिन्न कानुनी तथा मानसिक समस्या आइपर्ने हुनसक्छ । हामीजस्ता युवाहरू परिपक्व हिसाबले निर्णय गर्न सक्ने अवस्थामा नहुने कारण यो उमेर र यस्तो अवस्थामा गलत बाटोतर्फ उन्मुख हुन सकिन्छ । पेपर म्यारिजमा भनेजति पैसा तिरेकै भए पनि सहयोगी पक्षले गलत माग गरी फाइदा उठाउने सम्भावना हुन्छ । स्वदेशमै युवा रोजगार यो समस्या न्यूनीकरण गर्ने प्रभावकारी उपाय हो ।

सलोनी न्यौपाने, म्यानेजर

इनटु द वाइल्ड ईको रिजर्ट

पेपर म्यारिजका कारण कालान्तरमा आइपर्ने समस्या धेरै हुन्छन् यसर्थमा पनि यसलाई म राम्रो मान्दिन । यही विषयमा काम गर्दाको अनुभवका आधारमा भन्नुपर्दा नेपालबाट पेपर म्यारिज गरेर बिदेश जाने र उतै भासिनेहरूको संख्या धेरै छ । मुख्यत: यो क्रम युवा जमातमा तीव्र देखिन्छ । निर्णय क्षमता परिपक्व नभएका आलाकाँचा युवाहरूलाई यस्तो बाटोमा धकेलेर उनीहरूको भविष्य कुन बाटोबाट कहाँ पुग्छ ? विचारणीय छ । यस्ता समस्यालाई मध्यनजर गर्दै मुलुकमै युवा उत्प्रेरित कार्यक्रम ल्याइनुपर्‍यो, रोजगारी सिर्जना गर्ने, उनीहरूमा भएको क्षमताको कदर गर्दै त्यसको उपयोग गर्ने कार्यमा सरकारलगायत नागरिक समाजले पनि जोड दिन सके यो समस्या आफै कम भएर जान्छ ।

 Image