Successfully Copied

जसलाई विदेशले तान्यो फेरि छोडेन

नेपाली चलचित्रमा राम्रो स्थान बनाएर विदेश भासिने अभिनेतृहरूको सूची लामै छ । धेरै अभिनेतृहरूले अमेरिकाका विभिन्न सहरलाई आफ्नो कर्मथलो बनाएका छन् । कुनै समय ठूलै चर्चा कमाएका अभिनेतृहरू नेपाली चलचित्रमा अपेक्षाकृत प्रगति गर्न नसकेपछि विदेश भास्सिएका छन् ।

 

करिअरको सुरुवातमा मेरो संसार नै यही हो भनेर संघर्ष गर्ने धेरै अभिनेतृ अहिले नेपालमा छैनन् । सिने नगरीमा कमै मात्र महिलाको उपस्थिति हुँदा नै राम्रो नाम बनाएका धेरै अभिनेतृ विदेशी भूमिमा संघर्षरत छन् । पछिल्लो समयका धेरै कलाकारले त अभिनयलाई विदेश जाने बाटो नै बनाउन थालेका छन् । केही चलचित्रमा अभिनय गरेपछि विदेश हान्निएका धेरै अभिनेतृले जीवनसाथीका रूपमा एनआरएन रोजेर विदेशिने बाटो सहज तुल्याएका छन् ।

कुनै समय थियो हरेकजसो नेपाली चलचित्रमा अभिनेतृ निरुता सिंह र विपना थापा हाराहारीमा देखिन्थे । अभिनयमा राम्रो दख्खल राख्ने दुबै अभिनेतृले राम्रा प्रशंसक कमाएका थिए । यद्यपि अहिले यी दुवै अभिनेतृ नेपाली सिने नगरीबाट टाढा छन् । चलचित्र क्षेत्रमा राम्रो काम गर्दागर्दै अभिनेतृ विपना थापाले भारतीय नागरिक डा.आशुतोष भारद्वाजसँग लगनगाँठो कसिन् र घरव्यवहार सम्हाल्न त्यतै बसाइ सरिन् । त्यस्तै सन् १९९३ मा निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दक्षिणा’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी निरुता पनि अहिले नेपाली सिने नगरीसँग मात्र होइन नेपालबाटै बेखबरजस्तै छिन् । मनमन्दिर, दर्पण छाया, बन्धकी, दुई किनारा, दु:ख, आमाको काख, आफन्त, माइती, माइली, सन्तान थरीथरीका, लहना आदि दुई दर्जन बढी चलचित्रमा अभिनय गरेकी निरुता यतिबेला भारतमै छिन् । सुन्दर र भलादमी नायिकाको उपमा पाएकी निरुता सिंह मुम्बईमा इन्टेरियर डिजाइनको काममा व्यस्त भएको बताइन्छ ।

नेपाली चलचित्रमा राम्रो स्थान बनाएर विदेश भासिने अभिनेतृहरूको सूची लामै छ । धेरै अभिनेतृहरूले अमेरिकाका विभिन्न सहरलाई आफ्नो कर्मथलो बनाएका छन् । कुनै समय ठूलै चर्चा कमाएका अभिनेतृहरू नेपाली चलचित्रमा अपेक्षाकृत प्रगति गर्न नसकेपछि विदेश भास्सिएका छन् । नेपाली अभिनेतृहरू विभिन्न देशमा छरिएका छन् । त्यसमध्ये सबैभन्दा बढी नेपाली अभिनेतृ कार्यरत देश हो– अमेरिका ।

सोझी नायिकाको छवि बनाएकी अभिनेतृ गरिमा पन्त अहिले बेल्जियममा व्यापार गरेर बसेकी छिन् । ‘झोला’, ‘तीनघुम्ती’ जस्ता ऐतिहासिक चलचित्रमा अभिनय गरेर गम्भीर प्रकृतिका दर्शकको प्रशंसा कमाएकी गरिमा एक एनआरएनसँग लगनगाँठो कसेपछि बेल्जियम पुगेकी हुन् । केही चलचित्रमा अभिनय गरेकी अभिनेतृ ऋचा सिंह ठकुरी पनि अहिले अष्ट्रेलियामा छिन् ।

एक समय चर्चामा रहेकी अभिनेतृ हुन्–कृष्टि मैनाली । उनी हाल न्युयोर्कमा बसोबास गर्छिन् । अमेरिकामा रहेका केही नायिकाको नेपाल आउने–जाने क्रमले संचारमाध्यममा स्थान पाए पनि कृष्टिको भने खासै

चर्चा पाइँदैन ।

अमेरिकाको बाल्टिमोरमा व्यवसाय चलाउदै आएकी अर्की अभिनेतृ हुन्–पूजा परियार चन्द (हाल : लामा) । नेपाली कला क्षेत्रमा लामो समय बिताएकी पूजा लामो समयदेखि अमेरिकामा छिन् । सारंगा श्रेष्ठ, ऋचा घिमिरे, अरुणिमा लम्साल आदि अभिनेतृ पनि बाल्टिमोरमै बस्छन् । अमेरिकाका अन्य सहरको तुलनामा बाल्टिमोरमा बढी नेपाली कलाकार छन् । सारंगा श्रेष्ठले अमेरिकामा नृत्य कक्षा संचालन गर्दै आएकी छिन् भने श्रीमानसँगै अमेरिका पुगेकी ऋचा घिमिरेले ग्रिनकार्ड पाइसकेकी छिन् ।

कुनै समय जल शाह समकालीन अभिनेतृहरूमा अग्रणी मानिन्थिन् । लोकप्रिय यी नायिकाले पनि आफूलाई नेपालमा टिकाउन सकिनन् । उनी अमेरिकाको साल्ट लेक सिटीमा बस्दै आएकी छिन् । करिब १० वर्ष युटामा बसेकी जल शाह अमेरिकाका लागि पनि पुरानी भैसकेकी छिन् । उनले बेलाबेलामा अमेरिकामा आयोजना गर्ने सांस्कृतिक कार्यक्रमले त्यहाँका नेपालीहरूलाई लोभ्याउँदै आएको छ ।

केही चलचित्रमा अभिनय गरेर राम्रै पहिचान बनाएकी अभिनेतृ अनुपमा कोइरालालाई पनि अमेरिकाले तान्यो । अमेरिका छिरेपछि कोइरालाले पनि स्वदेश फर्कने खासै मन गरिनन् । उनी भर्जिनिया राज्यमा आफ्ना निर्देशक श्रीमान् अनिश कोइरालाका साथ छिन् ।

नेपाली चलचित्रमा राम्रो पहिचान बनेपछि अमेरिका भास्सिएकी अर्की अभिनेतृ हुन् –सज्जा मैनाली । हास्यकलाकार स्वर्गीय गोपालराज मैनालीकी छोरी सज्जा अमेरिकाको पेनसल्भिनियामा छिन् । सज्जा नेपाली दर्शक तथा कलाकारहरूको खासै सम्पर्कमा छैनन् ।

चलचित्र ‘पर्खि बसें’को अभिनयमार्फत चर्चामा आएकी अभिनेतृ युना उप्रेतीका रहरलाई पनि नेपाली कला क्षेत्रले जोगाउन सकेन । आधा दर्जन चलचित्रमा अभिनय गरेपछि अमेरिका पसेकी युनाले उतै बसोबास गर्ने विकास अधिकारीसँग घरजम गरिन् ।

अभिनयसँगै संचार क्षेत्रमा पनि आफ्नो समय खर्चिएकी निष्ठा शाहले नेपाली कला क्षेत्रलाई निरन्तरता दिन सकिनन् । एक समयको चर्चित कार्यक्रम ‘गिताञ्जली’की संचालिका निष्ठा हाल बोस्टन राज्यकी बासिन्दा भएकी छिन् ।

निर्देशक श्याम भट्टराईकी पूर्वपत्नी रञ्जना शर्मा अमेरिका भास्सिएको एक दशक नाघिसकेको छ । एक सांस्कृतिक कार्यक्रमका सिलसिलामा अमेरिका पुगेकी रञ्जना त्यसपछि नेपाल फर्किनन् । न्यूयोर्कमा आफ्नै ब्युटिपार्लर चलाउँदै आएकी रञ्जनाले देशसँगै छाडेकी हुन् श्रीमान पनि । रञ्जनासँग प्रेम विवाह गरेका श्यामले लामो समय रञ्जनाको सम्झनामा प्रेमभाव अभिव्यक्त गरिरहे । अहिले श्यामसमेत अमेरिका पुगेका छन् तर उनीहरू अलग–अलग छन् ।

फिल्मी करिअर खस्कँदै गएपछि अभिनेतृ नन्दिता केसीले पनि अमेरिका रोजिन् । नन्दिताले अमेरिकाको ग्रिनकार्ड हात पारिसकेकी छिन् । चलचित्र ‘मुनामदन’मा मुनाको भूमिकामा अभिनय गरेर राम्रै प्रशंसा बटुलेकी अर्की अभिनेतृ उषा पौडेल पनि सिने क्षेत्रमा टिक्न सकिनन् । बलिउडमा समेत संघर्ष गरेकी उषाले अन्त्यमा अमेरिका नै रोजिन् । उनले उतै स्थायी रूपमा बसोबास गर्दै आएका नायक सुधांशु जोशीसँग लगनगाँठो कसिसकेकी छिन् । ३ वर्षअघि स्थायी बसोवास गर्ने गरी अमेरिका पुगेकी अरुणिमा लम्सालले चाहिँ अमेरिकामै आफ्नो एक दशक लामो वैवाहिक जीवनमा पूर्णविराम लगाएकी छिन् ।

लामो संघर्ष गरेर बनाएको नाम र पहिचान सम्पूर्ण रूपमा गुमाएर विदेशमा शून्यबाट संघर्ष गर्न किन तयार छन् नेपाली नायिकाहरू ? यो अहिलेको टड्कारो प्रश्न हुनसक्छ । विविध प्रविधि भित्रिसक्दा पनि नेपाली सिने उद्योग सोचेजति व्यवसायिक हुन नसक्नुले पनि कतिपय नायिकालाई विदेशतिर धकेलिरहेको छ । नेपालमा हरेक क्षेत्रमा जस्तै महिला कलाकारहरूले समान कामको समान पारिश्रमिक नपाउने यथार्थता सिने उद्योगमा पनि छ । धेरै अभिनेतृले विदेशमा काम गर्दा नयाँ पुस्ताका कारण नेपाली सिने क्षेत्रले निकै फड्को मारिसकेको छ जहाँ उनीहरू अपरिचतजस्तै बन्न पुग्छन् । त्यसैले पनि एक कालखण्ड विदेशमा विताएर नेपाल फर्किएपछि फेरि सिने नगरीमै फर्कनसक्ने अवस्था उनीहरूको छैन । तथापि सदाबहार नायिका करिश्मा मानन्धर तथा अभिनेतृ गौरी मल्ल भने अमेरिकाको बसाइलाई बिट मारेर नेपालमै छन् ।

 Image