Successfully Copied

दसैं खानपिन

स्वस्थ मानिसका लागि सामान्यत: दिनभरमा १ किलोग्राम बराबर १ ग्राम प्रोटिनको आवश्यकता पर्छ । मासुबाट प्रशस्त प्रोटिन पाइन्छ । दिनभरमा मासु मात्र नखाई अन्य खानेकुरा पनि खाइने भएकाले खनपिनमा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ । स्वस्थ मानिसले दिनभरमा १ सय ग्राम मासु खान सक्छन् ।

एकदिनमा कतिसम्म मासु खान सकिन्छ

स्वस्थ मानिसका लागि सामान्यत: दिनभरमा १ किलोग्राम बराबर १ ग्राम प्रोटिनको आवश्यकता पर्छ । मासुबाट प्रशस्त प्रोटिन पाइन्छ । दिनभरमा मासु मात्र नखाई अन्य खानेकुरा पनि खाइने भएकाले खनपिनमा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ । स्वस्थ मानिसले दिनभरमा १ सय ग्राम मासु खान सक्छन् । चाडपर्व त हो नि भनेर धेरै मासु खाँदा निकै सतर्कता अपनाउनुपर्छ ।

राम्रो मासु चिन्ने आधार के हो

मासु सफा ठाउँमा काटेको तथा चिनेको ठाउँको हुनुपर्छ । मासु हेर्दा नीलो, कालो भएको हुनुहुँदैन । मासुबाट गन्ध आउनुहुँदैन । मासु रातो रंगको हुनुपर्छ । कुखुराको भए सेतो हुनुपर्छ अर्थात् जेको मासु भए पनि प्राकृतिक (एक्चुअल) रंगको हुनुपर्छ ।

मासु कसरी सञ्चय गर्ने ? मासु पकाउनुअघि डिपफ्रिजमा राख्नु उचित हुन्छ

मासुलाई पकाएर फ्रिजमा राख्नुभन्दा पनि काँचो मासुलाई प्लास्टिकमा स–साना पोका बनाएर डिपफ्रिजमा राख्नु उपयुक्त हुन्छ । मासु पकाउँदा पनि एकैपटक धेरै दिनलाई पुग्ने गरी पकाउनु हँुदैन । १–२ दिनसम्म पुग्ने मासु मात्र पकाउनुपर्छ । आवश्यक मासु निकालेर बाँकी मासुलाई डिपफ्रिजमा राख्नुपर्छ । त्यसलाई पछि निकालेर खानुपर्दा जति चाहिन्छ त्यति मात्रामा निकाली तताएर खानुपर्छ । मासुलाई तताउने तथा चिस्याउने क्रममा त्यसको स्वाद बिग्रनुका साथै त्यसमा किटाणुसमेत पनि वृद्घि हुने सम्भावना हुन्छ । काँचो मासुलाई डिपफ्रिजमा राख्दा मासुमा भएका किटाणु मर्छन् र मासु स्वस्थ हुन्छ ।

दसैंका बेला मासुको सुकुटी बनाएर राख्ने चलन छ, यसलाई कसरी राख्नुपर्छ

धेरैजसोको घरमा दसैंमा खसी, बोका काट्ने चलन हुन्छ । सबै मासु खाई नसक्नेहरूले यसलाई सुकाएर राख्छन् । मासुलाई सुकाउँदा साना–साना त्यान्द्रा बनाउनुपर्छ । यसैगरी मासुमा झिंगा लाग्न दिनुहुँदैन । मासु सुख्खा हुने गरी सुकाउनुपर्छ । तावा, ओभन तथा घाममा मासु सुकाउन सकिन्छ । सुकेको मासु राम्रोसँग पकाएर मात्र खानुपर्छ ।

मासु कसरी पकाउनु उचित हुन्छ

मासुलाई १ सय डिग्रीभन्दा माथि नै तापक्रममा पकाउनुपर्छ । चाडपर्व त हो भनेर धेरै चिल्लो तथा मसला र पिरो हालेर पकाउनु हुँदैन । मसला भुटेर मासु पकाउनुभन्दा पहिले नै मासुमा मसला मोलेर पकाउनु उपयुक्त हुन्छ ।

चाडपर्वमा शरीर त्यसै मोटाउँछ, यसलाई कसरी मेन्टेन गर्ने

दसैंमा मासु धेरै खाइने भएकाले मोटाइन्छ भने कतिपय मानिसमा कब्जियतको समस्यासमेत देखिन्छ । त्यसैले खानामा मासुसँगै हरिया सागपात, तरकारी तथा मौसमअनुसारका फलफूल, खोस्टे दाल, नफलेको चामलको भात (ब्राउन राइस) आदिलाई समावेश गर्नुपर्छ । पर्याप्त मात्रामा पानी पनि पिउनुपर्छ । खाने–बस्ने काम मात्र नगरी हिँडडुल पनि गरिरहनुपर्छ ।

खाना खाएपछि कस्ता चीज खानुपर्छ

खाना खाएपछि सलाद एवं फलफूल खान सकिन्छ । कतिपयमा खाना र मासुसँगै कोल्ड ड्रिंक्स पिउने बानी हुन्छ । कोल्ड ड्रिंक्समा हुने फस्फोरिक एसिडका कारण क्यालोरी वृद्धि हुन्छ । त्यसैले कोल्ड ड्रिंक्सको साटो मोही, कागती पानी आदि पिउनु उपयुक्त हुन्छ ।

 Image