Successfully Copied

विदेशको दसैं

दसैंलाई पारिवारिक तथा भ्रातृत्वको चाड मानिन्छ । धेरैजसो मानिस दसैंमा सकेसम्म परिवारका सम्पूर्ण सदस्य एकै ठाउँमा जम्मा भएर खुसी साटासाट गर्ने, मीठोमसिनो खाने तथा रमाइलो गर्ने आदि काम गर्छन् । समुद्रपारि भएकाहरू पनि मान्यजनको टीका–आशीर्वाद ग्रहण गर्न आफ्नै जन्मभूमि फर्कन्छन् ।

दसैंलाई पारिवारिक तथा भ्रातृत्वको चाड मानिन्छ । धेरैजसो मानिस दसैंमा सकेसम्म परिवारका सम्पूर्ण सदस्य एकै ठाउँमा जम्मा भएर खुसी साटासाट गर्ने, मीठोमसिनो खाने तथा रमाइलो गर्ने आदि काम गर्छन् । समुद्रपारि भएकाहरू पनि मान्यजनको टीका–आशीर्वाद ग्रहण गर्न आफ्नै जन्मभूमि फर्कन्छन् ।

विदेशलाई कर्मभूमि बनाएकाहरू अर्काको माटोमा चाडपर्व मनाउनुपर्दा खल्लो महसुस हुने बताउँछन् ।

आफ्नो भूमिमा पर्व मनाउँदाको जस्तो विदेशी भूमिमा नहुने मल्लको तर्क छ । अरू समयको तुलनामा माइती–मावली, परिवारका अन्य सदस्य तथा आफन्तजनको सम्झनाले सताउने हुँदा आस्था कहिलेकाहीँ बिदा मिलाएर परिवारसहित घुम्न निस्कन्छिन् ।

दक्षिण कोरियाका नेपाली महिलामध्ये सम्भवत: उच्च स्थानमा पुग्न सफल वातावरणविद् आस्था जहाँ र जस्तोसुकै परिस्थितिमा भए पनि यो मन त मेरो नेपाली हो भन्ने यथार्थ बिर्सन नहुने कुरा बताउँछिन् ।

बिन्दु मल्ल ठकुरी

वातावरण मन्त्रालय दक्षिण कोरियामा कार्यरत आस्था बिन्दु मल्ल ठकुरीलाई निक्कै महत्वपूर्ण लाग्ने पर्व हो दसैं । संस्कार–संस्कृतिका धनी हामी नेपालीहरूसँग उत्तिकै अमूल्य चाडपर्वहरू पनि छन् जुन हाम्रा पुँजी हुन् भन्ने आस्था दसैंलाई यस्तो चाडका रूपमा लिन्छिन् जसले द्वेष, वैमनस्यता तथा मनमुटाव मेटाएर आपसीसद्भाव एवं प्रेम कायम गर्छ । दसैंका सारा रीति आफ्नो भूमिमा बसे जसरी पूर्णरूपमा सम्पन्न गर्न सम्भव नभए पनि आफूहरूले राम्रैसँग दसैं मनाउने उनको दाबी छ । कोरियामा हामी धुमधामका साथ दसैं मनाउँछौं–मल्लले भनिन्–‘नेपालीहरूमध्ये सबैभन्दा पाको उमेरको को छ उहाँकहाँ टीका थाप्न जान्छौं । बालबालिकालाई

आफ्नो परम्परा एवं संस्कृति सिकाउन घरमा जमरा राखी दुर्गापूजा गर्छौं । टीकाका दिन मर्यादाक्रमअनुसार टीका लगाउँछौं । दसैंमा बालबालिकालाई नयाँ पहिरन किनिदिन्छौं । व्यस्तताका कारण खल्पी हाल्ने, मसला बनाउने, इन्टेरियर परिवर्तन तथा रंगरोगन गर्ने आदि कुरामा भने उति समय निकाल्न सकिँदैन ।’

केमिका भण्डारी

संयुक्त राज्य अमेरिकाको बाल्टिमोर निवासी केमिका भण्डारी एनआरएन एनसीसी (गैरआवासीय नेपाली संघ) अमेरिकाकी उपाध्यक्षकी उम्मेदवार थिइन् । कृषिविज्ञ केमिकाले केही समय नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा समेत काम गरिन् । आफू केटाकेटी हुँदा मनाएको दसैंले उनमा आज पनि छुट्टै किसिमको तरङ्ग पैदा गर्छ । चितवनमा अभिभावक, परिवार एवं आफन्तसँग मनाएको दसैं सम्झदा अहिले उनको मन चसक्क हुन्छ ।

विदेशी भूमिमा बसेर नेपाली चाड गतिलो गरी मनाउँछु भन्नु कुरा मात्र हुने उनको तर्क छ । कतै न कतै केही कुराको कमी भैहाल्छ । एक त व्यस्तताका कारण समय अभाव अर्कातिर कता परिवार, कता साथीभाइ कता आफन्त–इष्टमित्र ?

जति नै सुविधासम्पन्न मुलुकमा बसे पनि मनमा केही न केही खड्किरहने कुरा बताउँदै केमिकाले भनिन्–वर्ष दिनअगावै अर्को वर्षको दसैंमा त घर जाने भन्ने योजनाले मात्र पनि पुलकित बनाउँछ । अर्काको देशमा फरक लबाइ–खबाइ, फरक परिवेश, फरक साथीसंगत आदि कुराले हाम्रो संस्कारमा पनि फरक पार्दाे रहेछ । अहिले त जसोतसो स्काइप, विच्याट आदिमा कुरा हुन्छ अलि अघिसम्म त त्यो सुविधा पनि उपलब्ध थिएन । केमिकालाई यता मनाएका पर्व त्यति स्वादिला पनि लाग्दैनन् ।

रजनी प्रधान

बेल्जियम निवासी रजनी प्रधान विदेश बस्न थालेको ३ दशक भैसकेको छ । उनी हरेक नेपाली चाडपर्व विधिपूर्वक मनाउँछिन् । त्यसैले उतै जन्मिएका उनका ३ जना छोरा पनि नेपाली संस्कृति नै मन पराउँंछन् । नेपाली खाना, नेपाली पोसाक, नेपाली भाषा, नेपाली शैली, नेपाली चालचलनमा उनीहरू पनि रमाउँछन् । बेल्जियम निवासी थोरै नेपालीबीच अभिभावकको भूमिका निर्वाह गरिरहेकी प्रधान एनआरएन वुमन एनसीसी युरोपकी महिला संयोजक पनि हुन् ।

दसैंको केही समयअघि उनको दैनिकी परिवर्तन हुन थाल्छ । नेपाल पठाउने मात्र होइन उतैका लागि पनि आवश्यकताका सामान किनमेल गर्ने, घर सरसफाइ एवं खाद्यान्न स्टोर गर्ने काममा उनको समय बित्छ । बेल्जियम बस्ने धेरैजसो नेपाली उनीकहाँ टीका थाप्न आउने हुँदा पाहुनाका लागि उनीकहाँ विभिन्न नेपाली परिकार पाक्छन् ।

म त विदेशमा बसे पनि पूर्णरूपमा नेपालमै बसे जसरी पर्वहरू मनाउँदै आएकी छु–रजनीले भनिन्–नेपालमा गरिने सबै पूजा विधिपूर्वक गरे पनि कताकता के नपुगेजस्तो हुन्छ । सम्भवत: आफन्त, इष्टमित्र, पिङ, हाम्रा मठ–मन्दिरजस्ता कुराहरूको अभावले होला, मनभित्र केही खल्लोपन पनि हुन्छ । अघिपछि कामको चटारोले उति ध्यान नगए पनि चाडपर्वका बेला नेपालको परिवेश–वातावरण अनि साथीभाइ, परिवार तथा आफन्तजनको सम्झना आउँछ । यद्यपि हामीले आफ्नो संस्कार–संस्कृतिलाई विदेशीहरूमाझ चिनाउने र सिकाउने अवसर पाएका छौं त्यसलाई पनि म उपलब्धि नै मान्छु ।

रिकी अधिकारी

अष्ट्रेलियाको मेलबर्न निवासी रिकी अधिकारी कर्मचारी हुन् । विकसित मुलुकमा सुविधासम्पन्न जीवन बिताउँदा पनि कहिलेकाहीँ देश र परिवारको माया मात्र नभएर संस्कार र रीतिरिवाजले तानेर उनको मन यहीँ ल्याइदिन्छ ।

रजिस्टर नर्स श्रीमतीसँग १२ वर्षदेखि विदेशी भूमिमा जीवन बिताइरहेका रिकी मुख्यत: दसैंमा आमाको हातको खाना र मान्यजनको हातको टीका–आशीर्वाद निकै मिस गर्छन् । उनका अनुसार विदेशको जीवन अत्यन्तै व्यस्त छ । फेरि नेपालमा जस्तो वरपरका छरछिमेक सघाउन आउने वा चासो–चिन्ता लिने कुरा हुँदैन । कसैलाई कसैको मतलब पनि छैन । यस्तो समाजमा रीतिरिवाज, संस्कार–संस्कृति, सेलिब्रेसन आदि त्यति रमाइलो हुने कुरै भएन । रिकी भन्छन्–शरीर विदेशमा भए पनि मन स्वदेशी नै भएकाले हाम्रा चाडपर्व हामीमा छुट्टै उल्लास लिएर आउँछन् ।

नेपालमा जस्तो शतप्रतिशत नभए पनि यहाँ आंशिक रूपमा दसैं मनाइन्छ । नेपालीहरू जम्मा भएर टीका ग्रहण तथा खानपान गरी खुसी साटासाट गरिन्छ । हामी विदेशमा बस्ने नेपालीले आफ्नो संस्कृति मर्न दिएका छैनौं बरु विदेशीमाझ चिनाएका छौं ।

 Image