Successfully Copied

कर्णालीका डाक्टर

सुर्खेतको गाउँटोल र छेउछाउका डाँडाकाँडा डुल्दै डा. नवराज केसीको बाल्यकाल बित्यो । बालरोग विशेषज्ञ भएपनि उनी अहिले महिलाका डाक्टर हुन् ।

सुर्खेतको गाउँटोल र छेउछाउका डाँडाकाँडा डुल्दै डा. नवराज केसीको बाल्यकाल बित्यो । बालरोग विशेषज्ञ भएपनि उनी अहिले महिलाका डाक्टर हुन् । सुर्खेतस्थित ‘एसओएस हर्मन माइनर स्कुल’बाट प्राथमिक शिक्षा हासिल गरेका उनले कक्षामा सधै प्रथम हुन्थे । ‘प्लस टु’ काठमाडौंबाट गरेका उनी एमबीबीएस भने नेपालगञ्ज मेडिकल कलेजबाट र नेसनल चिल्ड्रेन हस्पिटल मनिला फिलिपिन्सबाट बालरोगमा (एमडी) विशेषज्ञता हासिल गरे । उनी भन्छन्, ‘पढाइ सकेपछि आफ्नै देश त्यसमा पनि सुदूर नै फर्किने हुटहुटीले सताउन थाल्यो । नेपाल आएर कर्णाली प्रदेश अस्पतालमा आठ वर्ष काम गरें । सुरुवाती दिनमा जुनसुकै डाक्टरले पनि आफ्नो विशेषज्ञताभित्रै रहेर काम गर्ने हो । पहिला बच्चाको डाक्टर भए पनि पछिल्लो समय म आमाको डाक्टर भएजस्तो लाग्छ ।’ 
नवराजको लेखनमा पनि उत्तिकै रुचि छ । उनको पहिलो पुस्तक ‘शून्यको मूल्य’ हालै प्रकाशित भएको छ । पाँच खण्डमा विभाजित पुस्तकका चार वटा खण्डमा महिलाको मानसिक, शारीरिक, आध्यात्मिक एवं सामाजिक स्वास्थ्यका विषयमा चर्चा गरिएको छ । पाँचौं खण्डमा भने महिलाको वास्ताविक समस्या के हो र त्यसलाई एकजना अन्तिम पात्रमार्फत समाधान खोज्ने प्रयास गरिएको छ । अन्त्यमा राज्यले महिलाको स्वास्थ्यमा (रोगी भइसकेपछि होइन, रोग नलाग्दै) लगानी गर्नु टड्कारो आवश्यकता भएको उनको पुस्तकले सुझाउँछ । यसले राज्यको ठूलो अर्थतन्त्र धानिने उनको भनाइ छ । ‘यतातिर सोचिएकै छैन, यसबारे सोच्न सकियो भने राज्यको अर्थतन्त्र बलियो हुन्छ’ केसीले भने, ‘महिला अरु (सन्तान, श्रीमान्, आफ्ना मान्छे) का लागि अत्यन्तै बार्गेनिङ गर्छन् तर आफ्ना लागि बार्गेनिङ गर्न सक्दैनन् । त्यसैले बच्चा त मेरो बहाना मात्रै हो मुख्य त म महिला स्वास्थ्यमै केन्द्रित छु । मैले बालबालिकाको धेरै उपचार गरें । दैनिक ३ सय बच्चा हेर्छु, तर महिला स्वस्थ नभई बच्चा स्वस्थ हुँदैनन् भन्ने मेरो अन्तरमनले बोलेको कुरा हो । मूल नै धमिलो भयो भने खोला, नदी एवं धारा सङ्लो हुन्छ र ? मुलुकको अर्थतन्त्र बलियो र सशक्त बनाउने हो भने महिलामा लगानी नगरेसम्म अर्को विकल्प छैन, जति नै ठूला अर्थशास्त्री कराए–उफ्रिए पनि अर्थ छैन ।’


सुदूर पश्चिमका विभिन्न भूभागमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने नवराज सुरुमा त बच्चाको डाक्टर भएर काम गरे । तर, जरो खोज्दै जाँदा उनले नेपालमा बालबालिकाको स्वास्थ्य अवस्था ठीक नहुनुको मूल कारण आमाकै स्वास्थ्य भएको ठम्याए । ‘तल्लो तहका स्वास्थ्य चौकी, साना अस्पतालको विकास गरौं भन्ने सरकारसँग भिजन नै छैन । नेपालमा जति पनि बिरामी बालबालिका छन् तिनमा छिप्पिएको रोग छ । दोस्रो कुरा बालबालिकाको स्वास्थ्य बढी आमामै निर्भर हुन्छ’ उनले भने, ‘सन् २०१६ को सरकारी तथ्यांकले ४९ प्रतिशत बालबालिकालाई कुपोषण र रक्तअल्पता छ भन्ने देखाएको थियो, सोही रोग आमामा पनि देखियो । कर्णालीमा ५१ प्रतिशत महिलामा कुपोषण छ । सरकारले नीति बनाउँदा सामाजिक निर्माण र विकासमा ध्यान दिनुपर्छ ।’
आफ्नो विगततिर फर्किदा उनलाई महिलामा भएको अदम्य साहस र शक्तिको स्मरण हुन्छ । ‘मेरो घरमा दाइ, दिदी, बुवा र म सबै पढ्ने र बाहिर काम गर्ने मात्रै थियौं । हामी सबैलाई हेरविचार गर्ने, सन्चोबिसन्चो अनि खानपानमा हेर्ने एक्ली आमा मात्रै हुनुहुन्थ्यो’ उनले भने, ‘उहाँमा विशेष व्यवस्थापकीय क्षमता थियो । प्राकृतिक रूपमा महिला असाध्यै व्यवस्थित र शक्तिशाली हुन्छन् भन्ने कुरा मैले सोही बेलादेखि जानेको हुँ ।’ श्रीमती डा.अर्चना कार्की (मेडिकल अफिसर) को आगमनपछि जीवन सहज, शान्तिपूर्ण, सुखद र सिर्जनात्मक भएकोमा उनी आफूलाई भाग्यमानी ठान्छन् । 
महिलाबारे उनले भने, ‘आमाको पाठेघर माटो हो, आमाको दूध मल हो, आमाको शरीर सृष्टि मैदान हो । उनलाई मानसिक एवं शारीरिक रूपमा स्वस्थ, तन्दुरुस्त र खुसी राख्नुपर्छ भन्ने हामीले कम बुझेका छौं । किनभने महिला भनेका मानव हुनुको अस्तित्व हुन् । महिलाकै कारण हामी यो धर्तीमा आयौं र जीवित छौं ।’ 


नियमित रूपमा सुदूरपश्चिम र कर्णालीका गाउँहरूमा निःशुल्क स्वास्थ्य सेवा लिएर पुग्ने उनी आफू सदैव बालबालिका र महिलाको समस्यामै केन्द्रित रहने बताउँछन् । उनले भने, ‘आङ खस्ने, पाठेघरको संक्रमण जस्ता रोग छिप्पिएर बसेका छन् । कर्णालीका ९२ प्रतिशत महिलाको नाममा सम्पत्ति नै छैन । आफ्ना नाममा सम्पत्ति नहुँदा उपचारमा पहुँच नै हुँदैन जुन अदृश्य कुरा हो । यो सुन्दा कसरी ? भन्ने लाग्छ तर महिलाले एकपटक उपचारका लागि पैसा माग्न सक्छन् तर दोस्रो पटकदेखि उनीहरू बोल्न सक्दैनन् । त्यसैले सुदूर र कर्णालीमा राज्यद्वारा नै महिला स्वास्थ्य नीति बनाउने कामको सुरुवात गर्न ढिलो गर्नुहुँदैन ।’ 


हजुरआमा : मीठो चकलेट ।
आमा : सबैथोक ।
श्रीमती : जसको छायाँ म हुँ ।
छोरी : सबैभन्दा ठूलो चाहना (छोरीको चाहना थियो, छोरा जन्मिएको दिन दुवै जना निकै रोयौं)
दिदीबहिनी : काँख ।
महिला सहकर्मी : संस्थाको जग र भित्ता ।
प्रभावशाली महिला पात्र : मदर टेरेसा ।
 

 Image