Successfully Copied

पशुबलि कम गर्दै मनाऔं दसैं

नेपालमा हरेक मठ–मन्दिरमा देवी–देवताका भिन्दाभिन्दै मूर्ति राखेर पूजाआजा गरिन्छ र मन्दिरैपिच्छे पूजा गर्ने विधि पनि फरक छ । विभिन्न देवीका मन्दिरमा पशुपक्षीको बलि दिने चलन छ । विभिन्न देवीका शक्तिपीठहरूमा पनि पञ्चबलि दिइन्छ । शक्तिस्वरूपा दुर्गा भवानीको पूजा–आराधना गर्ने क्रममा बोका, हाँस, कुखुरा

 

नेपाल मन्दिरै–मन्दिरको देशका रूपमा सुपरिचित छ । यहाँ थुप्रै मठ–मन्दिर छन् जहाँ बलि दिने नाममा थुप्रै पशुको काटमार गरिन्छ । विशेष गरी चाडपर्वमा शक्तिपीठहरूमा पूजापाठसँगै पशुबलि दिने चलन छ । देवी–देवताले सबैको रक्षा गर्न पशुको रगत पिउँछन् भन्ने अन्धविश्वासका कारण पशुबलि दिने चलन चलेको पाइन्छ । बलि प्रथाका विषयमा कुरा गर्दा कुनै समयमा नर बलि अर्थात् मानिसलाई नै बलि चढाइने प्रथा पनि थियो । त्यस्तै श्रीमान् मरेपछि श्रीमती पनि सँगै जलेर मर्नुपर्ने सती प्रथा पनि कुनै बेला थियो जुन एक प्रकारको बलि नै हो । त्यस्तै दास प्रथालाई पनि एक किसिमको बलि प्रथाकै रूप मान्न सकिन्छ किनभने दासलाई वस्तु मात्र मानिन्थ्यो ।

यस्ता किसिमका प्रथाहरू समाजमा जनचेतना फैलँदै जाँदा हट्दै गए । त्यसरी नै पशुबलिलाई पनि बिस्तारै हटाउने अभियान सुरु गर्न सकिन्छ जसबाट ‘अहिंसा परमो धर्म’ भन्ने उक्ति सार्थक हुन्छ । समाजमा जरो गाडेर बसेको बलि प्रथा हटाउने कार्य एकैपटक गर्न सकिँदैन, तर बिस्तारै–बिस्तारै हटाउने अभियानमा भने अवश्य लाग्न सकिन्छ । कुनै पशुको हत्या गरेर धर्म प्राप्त हुन्छ भन्ने मान्यता एउटा कुप्रथा र अन्धविश्वास मात्र हो ।

नेपालमा हरेक मठ–मन्दिरमा देवी–देवताका भिन्दाभिन्दै मूर्ति राखेर पूजाआजा गरिन्छ र मन्दिरैपिच्छे पूजा गर्ने विधि पनि फरक छ । विभिन्न देवीका मन्दिरमा पशुपक्षीको बलि दिने चलन छ । विभिन्न देवीका शक्तिपीठहरूमा पनि पञ्चबलि दिइन्छ । शक्तिस्वरूपा दुर्गा भवानीको पूजा–आराधना गर्ने क्रममा बोका, हाँस, कुखुरा एवं राँगाको पञ्चबलि दिने परम्परा छ । हिन्दू धर्ममा कतै पनि यस किसिमले पशुको मासु खाने, बलि दिने आदि कामलाई प्रश्रय दिइएको पाइँदैन यद्यपि त्यही धर्मका नाममा बलि दिने प्रथा भने फस्टाएको छ ।

हिन्दू धर्मअनुसार विभिन्न देवी–देवतालाई रिझाउन तीन प्रकारका विधिले पूजा गरिएको पाइन्छ– तान्त्रिक, यान्त्रिक र याज्ञिक । बलि दिने प्रथा भने यान्त्रिक विधिअन्तर्गत पर्छ । यो विधिबाट पूजा गर्ने अधिकार जो बढी तामसी हुन्छन् जसले धेरै मात्रामा मासु प्रयोग गर्छन् उनीहरूलाई छ । नेपालको सन्दर्भमा विभिन्न जातजातिले आफ्नै विधिअनुसार पूजा गर्ने चलन छ । बाहुन, क्षेत्री, राई, लिम्बू, मगर, नेवार जातिहरूले आफ्ना देवी–देवतालाई खुसी पार्न विभिन्न पशुपक्षीको बलि दिने प्रचलन सुरु भयो । बाहुन–क्षेत्री यस किसिमको प्रथामा आफै अग्रसर नभए पनि यसको पूर्णरूपले बहिष्कार गरेको पनि पाइँदैन । पशुको रगत–मासु चढाएर देवी–देवतालाई खुसी तुल्याए आफूलाई धर्म प्राप्त हुने र आफ्ना सन्तानको रक्षा हुने अन्धविश्वाससँगै यसको प्रचलन पनि बढ्दै गएको मानिन्छ । यही सुरुवातलाई अघि बढाउँदै प्रसादका रूपमा मासु खाने चलन सुरु भयो । बाबुबाजेको पालादेखि दसैंमा पशुबलि दिनुपर्ने प्रचलनले प्रश्रय पाउँदै जाँदा अहिले यो परम्परा नै बन्न पुग्यो । यसरी दसैंमा धेरैका घरमा देवीलाई खुसी पार्न बलि दिनुपर्छ भन्ने मान्यताअनुरूप यो चलनले धार्मिक रूपमै प्रश्रय पाएको पाइन्छ ।

दसैंलाई धार्मिक रूपमा मात्र नभएर परम्परागत संस्कारका रूपमा पनि मनाइन्छ । यो पर्व विभिन्न धर्ममा आस्था राख्ने व्यक्तिहरूले पनि मनाउँदै आएका छन् । दसैंमा हजारौं बोका, पाठापाठी, हाँस, कुखुरा एवं राँगाको बलि दिइन्छ । दसैंमा व्यक्तिले मात्र नभई सरकारी स्तरमै पनि पशुबलि दिइन्छ । दसैंको नवमीका दिन हनुमान ढोकाभित्र नासलचोकमा एकैपटक थुप्रै पशुको बलि दिइन्छ । सरकारी पक्षबाट प्रत्येक वर्ष दसैंमा हनुमानढोकाभित्र कोतपर्व भएको चोकमा यस प्रकारको पशुबलि दिने परम्परा चलिआएको छ । नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा हर्ष बढाइँ र निशान पूजा गर्दै बलि दिइन्छ । यही समयमा नेपालीका घर–घरमा पनि पशुको बलि दिइन्छ र जो शाहाकारी छन् उनीहरूका घरमा पनि कुभिन्डो, घिरौंला, नरिवल एवं पायस चढाउने प्रचलन छ ।

यस प्रकार धर्मको नाममा हुने बलि प्रथालाई सरकारी क्षेत्रबाट त रोकिएको छैन भने व्यक्ति–व्यक्तिले आ–आफ्ना घरघरमा दिने बलि एकैपटक निर्मूल हुन निकै गार्‍हो छ । धर्मका नाममा भगवान्लाई खुसी पार्न भन्दै मन्दिर–मन्दिर धाउँदै निर्दोष पशुको बलि दिने चलन अन्धविश्वास मात्र हो । यो कुनै धर्मप्रेरित कार्य होइन । विशेषत: नेपालमा विभिन्न शक्तिपीठहरूमा देवी–देवताको विशेष किसिमको पूजाआजाका साथै पशु बलि दिने प्रथासँगै मन्दिरहरूमा बधशालाका रूपमा छुट्टै ठाउँको व्यवस्था समेत गरिएको हुन्छ ।

मानिस आफू एउटा प्राणी भएर आफूजस्तै अर्को प्राणीको हत्या गर्नु भनेको निकै ठूलो पाप हो र यो अमानवीय व्यवहार पनि हो । अझ देवी–देवताका नाममा हुने यस्तो हिंसा भनेको महापाप हो । आजको समयसम्म आइपुग्दा नेपालीहरूले पशुको मासु खान कुनै चाडपर्व मात्र पर्खिरहनु पर्दैन । उनीहरूलाई सानातिना बहाना मात्र भए पुग्छ । कुनै पनि मेसिनरी सामानको पूजा गर्दा होस् वा सवारी साधनहरूको पूजा गर्दा पशुपक्षीको बलि दिने चलन व्यापक हुँदै गएको छ । यो कुनै धार्मिक नीति–नियम नभएर मानिस स्वयंले मासु खाने इच्छा पूर्ति गर्न बनाएको नियम हो । यस प्रकारको पशुबलिलाई पूर्णरूपले एकैपटक समाप्त गर्न नसकिने हुनाले प्रत्येक व्यक्ति, समाज तथा राज्यबाट सत्प्रयास प्रारम्भ हुनुपर्छ ।

मानिसलाई प्रकृतिले नै खानेकुराका रूपमा विभिन्न वस्तु उपलब्ध गराइदिएको छ तैपनि मानिसलाई अर्काको शरीर नै मारेर खाने बानी बसिसकेको छ । संसारमा हरेक प्राणीको आहारा प्रकृतिले नै जुटाएको छ जसअन्तर्गत पशुले पशु खाने नियम पनि छ । जंगलमा ठूला जनावरले साना जनावरलाई मारेर खान्छन् जुन प्राकृतिक कुरा हो तर मानिसले मासु खानु प्राकृतिक कुरा होइन । मानिसले बाँच्नका लागि मासु नै खानुपर्छ भन्ने बाध्यता छैन ।

प्रकृतिको नियमअनुसार हरेक प्राणीलाई बाँच्ने अधिकार हुन्छ र उसले आफू सुरक्षित रहन पनि आफ्ना प्रतिद्वन्द्वीसँग संर्घष गर्नुपर्छ । यसरी नै प्रकृतिको इकोसिस्टम चलिरहेको हुन्छ । यसमा एकले अर्कालाई मारेर आफ्नो आहारा पूरा गरिन्छ । यो एउटा प्राकृतिक नियम पनि हो । मानिस पनि यही इकोस्टिमभित्र बाँच्ने प्राणी हो तर उसमा यो नियम पूर्णरूपमा लागू हुँदैन । मानिस प्राणीहरूमा सर्वश्रेष्ठ प्राणी हो । उसमा हरेक कुरा अनुभूति गर्ने क्षमता छ । त्यसैले मानिस कसैको हिंसा नगरी अबोध प्राणीको मासु नखाए पनि बाँच्न सक्ने एक मात्र त्यस्तो प्राणी हो, जो प्राणीहरूमा सर्वश्रेष्ठ मानिन्छ तसर्थ मानिसले बलि प्रथालाई निरन्तरता दिइरहनु उपयुक्त हुँदैन किनभने यस्तो किसिमको प्रथाले मानिसलाई हिंसात्मक बन्न उत्प्रेरित गरिरहेको छ ।

सरकारी पक्षबाट दसैंजस्तो चाडमा सरकारी कर्मचारीका साथै राज्यको उच्च तहमा रहेका राष्ट्रपति, उप–राष्ट्रपति, प्रधानमन्त्री कार्यालय तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति कार्यालय, हनुमानढोका दरबारलगायतका सरकारी कार्यालय एवं व्यक्ति विशेषलाई प्रसाद स्वरूप पशु वा तिनको मासु प्रदान गर्ने चलन छ । यस्तो कामलाई प्रोत्साहित गरिनु हुँदैन तर सरकारी पक्षबाट नै यस्तो कार्य भएपछि अरूबाट त स्वत: भैहाल्छ । गलत कुरालाई सांस्कृतिक प्रचलन वा परम्परा पालनाका नाममा अँगालिरहनु ठीक होइन । संस्कृतिभित्रको कुरीति हो भन्ने बुझेपछि त्यसलाई क्रमश: हटाउँदै जानु सचेत नागरिकको कर्तव्य हो ।  

 Image